श्रीमान् जस्तै श्रीमान्


प्रकाशित मिति :2019-12-27 12:08:35

बाहिर हेर्दा जति राम्रो देखिए पनि आजभोली निकै खोक्रो बन्दैछन्, वैवाहिक सम्बन्ध । निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् ।

तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’

२०७२ सालको बैशाख २४ गते विनोद र अनिता वैवाहिक सम्बन्धमा बाँधिए । त्यो मागी विवाह थियो । विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी । उनीहरूको वैवाहिक जीवन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आहानाको आगमनले उनीहरूको खुसी झन् बढ्यो ।

शारदा गैरे

सायद विनोद र अनिताको सुखद् जीवन दैवलाई रुचेन । अनितालाई एक्कासी टाउको दुख्ने रोगले सताउन थाल्यो । उनीहरूले चेकअप गराए । चिकित्सकको सल्लाह बमोजिम औषधि खान थालिन् अनिता । औषधिले सायद काम गरेन । उनलाई ब्रेन हेमरेज भयो । त्यो घटनाले विनोदले सारा खुशी र सपना ऐना फुटेसरह टुक्राटुक्रामा परिणत भएको महसुस गरे । तर पनि श्रीमतीलाई जसरी पनि बचाउने अभियानमा लागे । श्रीमती बिनाको जीवन अधुरो सोचिसकेका उनले पैंसा, समय, हेरचाह जे–जे आवश्यक पर्छ, सबै जोहो गर्ने अठोट गरे । र लागे राम्रो भन्दा राम्रो उपचारको खोजीमा ।

२०७६ जेठ २९ गते भैरहवा युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा अनिताको अपरेसन भयो । अप्रेसन त भयो अस्पतालको ४ महिनाको बसाई पछि पनि अनितालाई पूर्ण निको भने भएन । ४ महिनाको बसाईमा १८ लाख खर्च भयो । अनिताको टाउकोको दिमाग छोप्ने खप्पर (skull)अझै भैरहवा अस्पतालमै छ । उनलाई निको भएपछि त्यो राख्न मिल्छ ।

अनितालाई ब्रेन हेमरेज भएपछि आफन्त र समाजले के मात्रै भनेनन् । आसा भन्दा निरासा जगाइदिनेहरू धेरै थिए । अनितालाई निको हुदैन । माया मार । किन खर्च गर्छस् भन्दै थप उपचार नगर्न सुझाउथे । तर विनोदको मनले कहाँ मान्नु ? सास रहेसम्म आस नमार्ने अड्डी कसे । थप उपचारका लागि काठमाडौं टिचिङ अस्पतालमा ल्याए । अनिता निकै कमजोर बन्दै गइरहेकी थिइन् । हात खुट्टासमेत चल्न छोडे । श्रीमतीको यो हालतले विनोदलाई थप तनाब थपियो ।

टिचिङ अस्पतालमा केही दिनको उपचार पछि अनिताको स्वास्थ्यमा थप सुधार ल्याउन थेरापीको आवश्यकता पर्न थाल्यो । उनी काठमाडौं नेचुरोपेथी अस्पताल बसुन्धारामा पुगे । अस्पताल ल्याउँदा अनितालाई ह्वीलचेयरमा राखेर टाउको विनोदले अडाइरहेका थिए । नाकमा पाइप, पिसाब थैली झुन्डाएको देखेपछि म आफैलाई अप्ठेरो लाग्यो । यस्तो इमरजेन्सीमा राख्नु पर्ने बिरामी किन यहाँ भर्ना गर्न खोज्नु भएको डाक्टर भने । डाक्टर यन्जनले हास्ँदै भन्नुभयो – उहाँलाई सन्चो गराउन सकिन्छ, त्यसैले ।

अस्पतालमा अनिताको जन्मदिन मनाउदै विनोद ।

अनितालाई नेचुरोपेथी अस्पतालमा भर्ना गरेको २ महिना भो । अहिले उनको स्वास्थ्यमा आएको परिवर्तन देखेर म दंग छु । भेट्न आउने मान्छेलाई रेस्पोन्स गर्छिन् । छोरी देखेर हाँस्छिन् । बोल्छिन् । हात खुट्टा पनि चलाउन थालेकी छन् । डाक्टरका अनुसार हिँडनका लागि भने उनमा अझै केही महिना लाग्नेछ । श्रीमतीको अवस्थामा आएको सुधारले विनोदको अनुहारमा पनि खुशीका रेखाहरू देखिएका छन् ।

अनिताको उपचारमा महिनामा १ लाख बढि खर्च हुन्छ, उनको विशेष तागत दिने खाना क्यालोरी र उपचारका लागि । अनितालाई यस्तो नहुनु पूर्व बुटबलमा घर बनाउने योजना थियो विनोदको । तर अब त्यो सम्भव भएन । सात महिनाको अवधिमा २१ लाख खर्च भइसक्यो । घर बनाउन साचेको पैंसा श्रीमतीको उपचारमा खर्च भइरहेको छ । तर पनि उनलाई त्यसमा कुनै लोभ छैन । श्रीमती निको भए यति पैंसा त के ठूलो कुरा भो र भन्छन् ।

विनोद सबै कुरा छोडेर अनिताको सेवामा लागिरहेका छन् । आफैले डाइपर फेरिदिन्छन् । नुहाइदिन्छन् । खुवाउँछन् । सानो बच्चालाई जसरी माया गरिरहन्छन् । अनिता पनि श्रीमानसंग जिस्किएर बस्छिन् । अनिताको जन्मदिन पनि उनले अस्पतालमै मनाए । विनोदले श्रीमतीलाई माया गरेको देखेर अस्पतालका बिरामी, तिनका कुरुवा सबै लोभिन्छन् । विनोदले मात्र होइन, उनको भाई र दिदीले पनि अनितालाई उत्तिकै माया गर्छन् । विनोद भन्छन्, “दुःख पर्दा त हो नि हेर्ने । राम्रो हुदाँ त किन हेर्नु पर्यो र ?” उनको यो भनाइ नेपाली भनाइसंग पनि मेल खान्छ, – ‘श्रीमान्को गरिबीमा श्रीमती चिनिन्छे, श्रीमती बिरामी पर्दा श्रीमान् चिनिन्छ ।’ विनोदलाई सायद यो भन्दा धेरै अब चिन्नु पर्दैन । उनी असल मात्रै होइन, धर्मी श्रीमान् पनि हुन् ।

छोरी आहानाले डाक्टर देख्नसाथ “अंकल मामुलाई छिटो निको गराइदिनुस् न” भन्छिन् । अबोध बालिकाको त्यो अनुरोध सुन्दा जो कोही भाबुक हुन्छन् । आहाना ३ वर्षकी भइन् । उनलाई विनोदको दिदीले हेरचाह गरेकी छन् ।

विनोदको एउटै चाहाना छ, श्रीमतीलाई निको भएको देख्ने । अनिताले निको भएपछि काठमाडौमै बस्ने इच्छा राखेकी छन् । त्यसैले अब काठमाडौमै बस्ने निर्णय गरेका छन् विनोदले पनि ।

अनिता बिरामी हुनु अघि अनिता, आहाना र विनोद ।

“देवीको रुपमा घरमा भित्रिएकी थिइन् । मेरो बुबाआमाले पनि औधी माया गर्नुहुन्छ । अनिताको व्यवहार पनि निकै मायालु छ” विनोद भन्छन्, “श्रीमान्ले आफ्नी श्रीमतीलाई इज्जत र माया दुवै दिनुपर्छ । श्रीमान्ले माया गरे सबैले माया गर्छन् ।” अनिताको प्रवेशले घर परिवारमा माया, ममता, सुख सबै भित्रिएको बताउने विनादे उनी बिरामी भएपछि परिवार तितरबितर भयो भन्छन् । बुबाआमा गाउँमा, छोरी फुपूहरूसंग । आफू अनिताको स्यारसुसारमा ।

अनिताका बुबाआमा पनि ज्वाइँसंग निकै खुशी छन् । छोरीले भगवानजस्तो जस्तो श्रीमान् पाएको भन्दै छोरीको लागि आफूहरूलाई कुनै चिन्ता छैन भन्छन् । विनोदको मायाले नै छोरीको स्वास्थ्य अवस्था सुधार भइरहेको भन्दै उनीहरू भन्छन्, “ज्वाइँ होस् हाम्रो जस्तो, श्रीमान् होस् त विनोदजस्तो ।”

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: