डान्सबारमा आक्रोस पोख्ने ति युवती


प्रकाशित मिति :2019-12-27 14:02:30

सडकबाट डान्सबारको दृश्य देखियो । भित्र जान मन लाग्यो । हामी भित्र पस्यौ । संगीतका झन्कारहरु मन्धम गतिमा थिए । नजिकको टेबलमा हामी बसेको मात्र थियौं, फोनमा कुरा गर्दै एक जना नृत्यगिंना छेउमा आइन् । उनी फोनमा कसैसँग झोक्किदै भन्दै थिइन्, “किन्ने बेच्ने त बजारमा हुन्छ, हाम्रो ठाउँमा हुँदैन । हामी कर्मचारी हौं, व्यापारी होइनौं । तपाई कस्तो पत्रकार अर्काको मर्यादामा आँच पुराएर बोल्ने ? यस्तो प्रश्न गर्न तपाइलाई लाज लाग्दैन ?” भन्दै डयाङ्ग फोन राखिन् ।

सायद उनलार्ई कसैले डान्सबारमा काम गर्ने त हो नि भन्दै गलत भावले प्रश्न गरिरहेका थिए । हामीले त्यही बुझ्यौं । हाम्रो छेउमै आएर भनिन्, “खोइ को हो, चिन्नु न जान्नु तिमी बेचिएको हो रे । तिमिलार्ई यहाँसम्म ल्याउने व्यक्ति को हो थाहा छ ? मलार्ई भन । प्रहरी बोलाएर अहिले नै समात्छौ भन्छ” उनले फोन गर्ने मान्छेले सोधेको प्रश्न बारे रिसाउदै सुनाइन् । रिसले उनका गाला राता राता भइसकेका थिए । उनको आक्रोस नसकिदै फेरि फोन बज्छ । त्योचाहिँ उनको बुवाको फोन रहेछ । उनले भनिन्, “बुवा खाना खाएर नाती लिएर सुत्नुस है । म घर आउन १ बज्छ । घर छेउ पुग्दा म कल गर्छु । ढोका खोलिदिनु होला ।”

रसना ढकाल

बानेश्वरस्थित एक डान्सबारको दृश्य हो यो । बेलुकाको ८ बजेको थियो । बानेश्वर चौकैमा रहेको डान्सबारभित्र धुवा (चुरोट)का मुस्लाहरु उडिरहेका थिए । कोही कामदार महिला टेबल सफा गरिरहेका थिए । भने कोही गितको तालमा डान्स गर्दै थिए ।

त्यतिकैमा एक महिला कामदार नजिक आइन् र उनले सिधै भनिन्, “दिदी हामी बेचिएका होइनौं” म अक्मकिए । “किन यस्तो प्रश्न गरेको” मैले सोधें उनलार्ई । “दिदी यो कस्तो समाज हो, जहाँ हामी काम गरेर पनि खान नपाउने ? कहिले पत्रकारहरुले गलत तरिकाले समाचार लेख्छन् ्कहिले संस्थाको व्यक्तिहरुले बेचिएका । कठैबरा ! जस्ता शब्द प्रयोग गर्छन् ? आखिर किन त ? हामीलाई सबैले खराब देखाएर आफू राम्रो बन्न खोज्छन् ? अचम्म छ दोहरी र डान्सबारमा काम गर्नेहरु बेचबिखनमा परेका हुन् भनेर विदेशी भूमिमा गएर भाषण दिने अनि वाहवाही कमाउने ? के हाम्रो मानव अधिकार छैन ? के यो देशमा हामीबाहेक अरु कुनै विषय नै छैन ? हामीमात्रै अरुको विषय बन्ने ? अचम्म छ” उनी थप आक्रोस पोख्नेवाला थिइन् । त्यतिकैमा उनको डान्स गर्ने पालो आयो र उनी स्टेजमा गइन् ।

साँच्चै एकछिन त उनको आक्रोसले सीमा नाघेको थियो । उनी बोलिरहँदा सुन्नेबाहेक अरु केही प्रतिक्रिया दिने पालो पाए पो । किनकी उनको त्यो आक्रोसमात्रै थिएन, आक्रोसमा सत्यता पनि थियो । उनलार्ई आफूले काम गर्ने क्षेत्रको धेरै ज्ञान रहेछ । पढेलेखेकी, बुझ्ने खालकी रहिछन् । तब न यस्तो जवाफ दिन सकिन् । होइन भने अरुले त कहाँ यस्तो जवाफ दिन सक्नु ? सानैदेखिको डान्सर बन्ने चाहाना पूरा गर्न उनी त्यहाँ काम गर्न पुगेकी थिइन् ।

यो घटनाको दुइ दिनपछि काठमाडौंको एउटा ठूलो सञ्चार गृहमा काम गर्ने वरिष्ठ पत्रकारले फोन गर्नु भो । मैले सर नमस्कार भन्न नभ्याउदै उहाँले एक भन्न सुरु गर्नु भो, “खुबै पैसा कमाइएको छ है । एनजीओमा जागिर खाएर । तपाई दोहरी र डान्सबारमा काम गर्ने महिलाहरुको लागि काम गर्नु हुन्छ है ? के छ त उनीहरुको वास्तविकता ?” मैले उहाँ पत्रकारसँग फोनमा डिसकस गर्न चाहिन । र सिधै भनें, “सर अनुसन्धान गर्दै जाँदा सबैको वास्तविकता बुझिन्छ, चाहे त्यो पत्रकार होस् वा अरु पेशामा आवद्ध व्यक्ति । हामी मात्र कामको सम्मान गरौं । पेशाको आडमा कसैले नराम्रो गरेको छ भने त्यसलार्ई खबरदारी गरौ । होइन भने कसैलार्ई होच्चाएर कसैको मर्यादामा आँच पुर्याएर कुरा नगरौं । तपाईं हामीलार्ई कसैले होच्याएर बोल्यो भने कति नराम्रो लाग्छ ? हो, मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुलाई पनि त्यस्तै लाग्छ । कृपया मेरो कार्यालयमा आउनुस्, बसेर कुरा गरौला ।” मैले फोन काटे । लाग्यो, कस्तो कुदृष्टि ? एनजीओमा जागिर खाएर खुबै पैसा कमाइन्छ भन्ने ।

आजभोली शहरमा खुबै चर्चा छ, दोहरी साँझ र डान्सबारहरुको । तर चर्चा कुन अर्थमा हो भन्ने कुराले प्रमुखता पाउँछ होला ।

हामी कामको सम्मान हुनुपर्ने कुरा गर्छौ । तर दोहोरी साँझ र डान्सबारमा काम गर्नेहरुको कामको सम्मान खै त ? यो क्षेत्रमा श्रम शोषण छ, कसैको आखाँ जादैन । आफूमाथि परेको समस्या बारे भन्न सम्बन्धित ठाउँमा गयो भने जागिर छोडेर अरु काम गर भन्दै फोकटको सल्लाह दिने । के जागिर छोडनु मात्र समस्याको निकास हो त ? उनीहरुले जागिर छोडे उनीहरुमाथि आश्रित परिवारलाई कस्ले पाल्ने ? सायद कसैलाई पनि यो हक छैन कि तिमीहरुले जागिर छोड भन्ने ।

अहिले नेपालमा एक नम्बर श्रेणीमा पर्ने लोक गायक गायिकाहरु पनि कुनै दिन दोहोरी साँभमा गित गाउथे । त्यही हो अधिकांशको जग । उनीहरुलाई राष्ट्रका गहना मान्ने, अनि उनीहरुको गायन कला हुर्के बढेको भूमिमा काम गरिरहेकाहरुलाईचाहिँ हेला गर्न मिल्छ ? त्यो क्षेत्रलाई हेयको दृष्टीले हेर्न मिल्छ ?

प्राकृतिक प्रकोप तथा राजनीतिक कारण आन्तरिक बेचबिखनमा परेकाहरुको पहिलो रोजाइको क्षेत्र दोहोरी र डान्सबार हुने गरेको छ । यसैबाट उनीहरुले आफनो आवश्यकता पूरा गरिरहेका छन् । देश विदेशमा कार्यक्रमहरु प्रस्तुत गरिरहेका छन् ।

अहिले नेपालमा एक नम्बर श्रेणीमा पर्ने लोक गायक गायिकाहरु पनि कुनै दिन दोहोरी साँभमा गित गाउथे । त्यही हो अधिकांशको जग । उनीहरुलाई राष्ट्रका गहना मान्ने, अनि उनीहरुको गायन कला हुर्के बढेको भूमिमा काम गरिरहेकाहरुलाईचाहिँ हेला गर्न मिल्छ ? त्यो क्षेत्रलाई हेयको दृष्टीले हेर्न मिल्छ ?

काठमाडौंभित्र खुलेका डान्सबार र दोहोरीको ठयाक्कै आँकडा कसैसँग पनि छैन । राज्यको उपस्थित यस क्षेत्रमा देखिएको छैन । पर्यटन क्षेत्रलाई बढावा दिने मनोरञ्जन क्षेत्र ओझेलमा पर्दै गएको छ । यही क्षेत्रलाई आधार बनाएर हजारौं युवा युवती आफ्नो जीविकोपार्जन गर्दैछन् । तर नकारात्मक टिप्पणीबाहेक मनोरञ्जन क्षेत्रको वृद्धि विकासका लागि कसैको ध्यान गएको छैन ।

राज्यले सात समुन्द्र पारी गएर काम गर्ने श्रमिकहरुलाई हेर्‍यो। उनीहरुका समस्या बारे बुझ्यो । तर आफ्नै मुलुकमा मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुको अवस्थालाई हेर्न सक्दैन ।

श्रम ऐन २०७४ ले दिएको प्रावधानहरु यस क्षेत्रमा कतिको लागू छन या छैनन् त्यस विषयमा सम्बन्धित मन्त्रालय मौन छ । के यो पितृसत्तालाई महिलाहरु आर्थिकरुपमा सशक्त भएको नपचेको हो ? यदि त्यसो होइन भने वास्तविक श्रमिक महिलाहरुको मानव अधिकारको वकालत गर्न आएका संस्थाहरु किन छायाँमा ? यसको खोजी राज्यले गर्नु पर्दैन ?

नेपाल सरकारले २०७६ लाई लैंगिक हिंसा विरुद्धको वर्ष घोषणा गरेको छ । सोही बमोजिक अभियान गरिरहेको छ । यस अभियानमा महिला र पुरुष बिच समानता कायम गर्नु, दुवैको मानव अधिकारको सुरक्षा गर्नु राज्यको दायित्व हो । भने नागरिक पनि आफू सचेत बन्नु आवश्यक छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: