मसाज पार्लरमा म


प्रकाशित मिति :2019-12-30 15:53:00

-लोग्शरी कुँवर-

किनमेल गर्ने, घुम्ने र रम्नेहरूको ठेलमठेल नै हुन्छ ठमेलमा । प्राय नेपालीपनका सरसामान किन्नेहरूको पहिलो रोजाइको बजार पनि हो ठमेल । अनि त्यो ठमेल जसले नेपाल र नेपालीपन झल्किने वस्तुको विश्वव्यापीकरण गरिरहेको छ, त्यही बजारका गगनचुम्बी घरका अँध्यारा कोठाभित्र पैंसासंग जोवन साटिरहेका आफ्नै चेलीहरूलाई पनि चिन्न सक्दैन । जहाँ रात होइन, दिनदहाडै मदिराको मातमा युवतीसंग मोज मस्ती गर्ने एक हुल आउँछ, अर्को जान्छ । तर पनि चिन्दैन ठमेलले । या बेवास्ता गर्छ । र भन्दैन पनि कि, “लौ न, यो त भएन नि । यो नेपाली संस्कृति विरुद्ध भयो । नारीलाई देवता मान्ने परम्पराको खिलाप भयो । यसो नगर ।”

सायद ठमेल पनि पुलिंगी हो कि ! नत्र भने त किन महसुस भएन उसलाई, जहाँ दशकौंदेखि लिपपोत नभएका फुस्रा घरभित्र कलकलाउदो उमेरका युवतीहरू वस्तुसरह छानिन्छन् । उभिन्छन् कुनै यौनका भोकाहरूको अगाडि र जान्छिन् उसैलाई डोर्याउदै सानो कोठाभित्र । अनि गर्न थाल्छिन्, अनेक उत्तेजनात्मक हाउभाउ । ताकी पुरुष धित मरुञ्जेल मस्ती गरोस् उसंग । जिस्कियोस् । अह्राओस् उसलाई । मगाओस् मदिरा, चुरोट वा कुनै नशालु पदार्थ । र रमाओस् उसको शरीरसंग ।

न्यू स्पा एण्ड मसाज सेन्टरको मसाज गर्ने कोठा ।

साँच्चै ठमेलले थेगेका महिला कस्ता होलान् ? बारम्बार घोचिरहेथ्यो यो प्रश्नले । ठूला ठूला घर भएका, व्यापारी र पर्यटक महिला थिएनन् मैले सोचेका । मैले खोजेका, भेट्न चाहेका महिला थिए –पैंसाको लागि परपुरुषको शरीर मुसार्ने । उनीहरूको शरीरका मृत कोशिकाहरूलाई जीवन दिन उभिएका । र स साना लालाबाला र आफ्नो पेट पाल्न पुरुषको पुतली बनिरहेकाहरू ।

यस्तै यस्तै सोचेर गत हप्ता त्यही ठमेलका केही मसाज सेन्टरमा पस्ने निधो गरें । डान्सबार, दोहोरी रेस्टुरेन्ट, क्याबिन लगायत मनोरञ्जन क्षेत्र र त्यहाँका कामदार महिलाहरूको पक्षमा धेरै पटक कलम चलाइयो । तर त्यही क्षेत्रको मसाज सेन्टर र त्यहाँ काम गर्ने महिलाहरूको बारेमा अनभिज्ञ थिएँ म । त्यो ठाउँ र महिलाहरूको बारेमा मनका अनेक कौतुहलता अरुका कुराले मेटिनेवाला थिएन । र मलाई मेट्नु पनि थिएन । म चाहान्थे मेरा आफ्नै दुई नांगा आँखाले त्यो र तिनीहरूको दृश्यावलोकन गरुन् । जस्तो छ त्यस्तै देखुन् र मज्जाले बुझ्न सकियोस् । अनि लागे ठमेल र त्यहाँका केही मसाज सेन्टरमा ।

न्यू स्पा एण्ड मसाज सेन्टर । सडकबाटै देखियो बोर्ड । कालो ब्याकग्राउण्डमा सुन्दर मान्छेका खुट्टा, ढाड र टाउकोमा मसाज गरिरहेका तीन आकर्षक फोटा । ति फोटोको तल अंगे्रेजीमा लेखिएको छ–फुट मसाज, बडी मसाज र हेड मसाज । त्यो बोर्डले तान्यो मलाई । लाग्यो बोर्ड जस्तै सुन्दर छ होला भित्र पनि । यस्तै सफा ठाउँ, चिटिक्क पारिएका कोठा, आर्कषक बेड, ग्राहकको रोजाई अनुसारका वास्नादार तेल । आहा ! यस्तै थियो मसाज सेन्टरप्रतिको मेरो कल्पना ।

म सरासर भित्र जाँदै थिएँ । गल्लीभित्र छिर्दै मेरो मानसपटलमा प्रश्न उठ्न थाले । गल्मीमा पस्दापस्दै धुलो र फोहोरको नमिठो गन्धले स्वागत गरिहाल्यो । गलाको सलले नाक छोपे र फेरि अगाडि बढें । सोचे बाटो मात्रै यस्तो होला । भित्र त बोर्ड जस्तै आर्कषक छ होला । घरको दो्रस्रो तलामा रहेको त्यही मसाज सेन्टरको बोर्ड भित्तामा झुण्ड्याइएको देखेपछि यही हो ठाउँ भन्ने अनुमान भो । भर्‍याङबाटै अगाडिको कोठामा एउटी ३०/३५ वर्ष जतिका युवती देखिइन् । गहुँगोरो वर्णकी उनी हेर्दा ठिकैकी छन् । शरीरको पहिरन पनि ठिकठिकैको । सामान्य घरकी युवतीको जस्तो । त्यो कोठाको ढोकामै तीनटा झुठा थालहरू छन् । थालमा छरपस्ट जुठो । कोठाको भित्तामै जोडिएको मसिनो सानो बेञ्चमा २५ ननाघेकी युवती मस्तले सुतिरहेकी छन् । सानो टेबुलसंगै रहेको कुर्सीमा छन्, १३/१४ वर्षकी बालिका । उनले लगाएको खैरो रंगको ज्याकेटको टोपीले उनको नाकलाई ढाकिरहेको छ । उनले उँभो टाउको गरेर मलाई हेर्दा पनि उनको पूरै अनुहार देखिन्न । जे होस् उनको कलिलो अनुहार, शरीरले भन्छ, उनी १४ नाघेकी छैनन् ।

न्यू स्पा एण्ड मसाज सेन्टरको कार्यालय ।

मैले आफ्नो बारेमा बताइसकेपछि उनीहरूको बारेमा सोध्न थाले । त्यहाँ बसिरहेकी (काउन्टर सम्हालिरहेको जस्तो देखिने) युवतीलाई यसको संचालक तपाईं हो ? उनले सहजै इन्कार गरिन् । मालिक अरु नै भएको र कहिलेकसो मात्रै यहाँ आउने गरेको भन्दै आफू पनि त्यही काम गर्ने कामदार हो भनिन् ।

उहाँ नानीचाहिँ को नि ? मैले बालिकातिर इंगित गर्दै सोधें । उनले उनी आफ्नो बहिनी भएको र आफूलाई खाना पुर्याउन त्यहाँ आएको बताइन् । त्यति सोध्दासोध्दै उनले आत्तिएको पाराले भनिन्, “नानी तँ रुम गइहाल त । जा चाँडो ।” दिदी भनिने युवतीको कडा निर्देशनसंगै बालिका जुरुक्क उठिन् । जाकेटको खल्तीमा हात पसाइन् र लागिहालिन् आफ्नो बाटो ।

त्यहाँका कामदार महिलाले मसाज सेन्टरको मालिक चितवन घर भएकी ज्योती लोप्चन भएको बताए । यद्यपि उनले काठमाडौं महानगरपालिकामा दर्ता गरेको व्यवसाय प्रमाण पत्रमा भने उनको जिल्ला रौतहटको चन्द्रनिगाहपुर भएको उल्लेख छ । मैले ज्योतीको सम्पर्क नम्बर मागे । कुरा गर्नुपर्छ भने । तर उनीहरू सबैले आफूहरूसंग उनको नम्बर नभएको, बताए । काम पर्दा उहाँ आफैले फोन गर्ने गरेको तर फोन गर्दा सधैं अर्कै अर्कै नम्बर हुने गरेको बताए ।

न्यू स्पा एण्ड मसाज सेन्टरको व्यवसाय प्रमाण पत्र नविकरण पनि थिएन । व्यवसाय प्रमाण पत्र खोई भनेपछि टेबुलभित्र राखिएको दागैदाग लागेको प्रमाण पत्र २०७२ भदौ १४ गते नविकरण गरिएको छ ।

यति कुराकानी हुँदै गर्दा माथिबाट थप तीन जना युवतीहरू आए । तीमध्ये एक जना रबरले कपाल बान्दै आइन् । कुर्ता सुरुवालमा ज्याकेट, सल हालेकी उनले लुगा राम्ररी मिलाएकी थिइनन् । उनलाई देख्दा लाग्यो उनी बेडबाट उठेर सिधै आएकी हुन् । उनको हाउभाउ पनि सामान्य थिएन । कुनै नशालु पदार्थ सेवन गरेजस्तो । आँखा पनि लठ्ठ अवस्थामा थिए । उनको अवस्था देखेर मैले तपाईं पनि यही काम गर्नुहुन्छ ? भनेर सोधेपछि उनले हो भनिन् । कहाँबाट आउनु भो भन्दा माथिबाट भनिन् । अनि किन तपाई यस्तो अवस्थामा भनेपछि उनले प्रश्न खस्न नपाउदै भनिन्, “कस्तो हुनुपर्ने त ?” उनको प्रतिप्रश्नले म केहीबेर अवाक् भए । म कुरा मिलाउनतिर लागे । म राम्रोसंग नबोलेको खण्डमा मैले खोजेको जानकारी पाउदिन कि भन्ने डर लाग्यो । मसाज सेन्टरमा काम गर्ने मान्छे अलि कपडाहरू मिलाएर लगाएको भए हुन्थ्यो मात्रै भन्न खोजेको हो भने । त्यसपछि उनी पनि केही बोलिनन् ।

मैले उनीहरूलाई तपाईंहरूको मसाज गर्ने ठाउँ कस्तो हुन्छ, हेर्न मिल्छ भनेपछि सहजै हुन्छ भने । म उनीहरूसंगै माथिल्लो तला गएँ । साँघुरो साइजको कोठाभित्र एउटा सिंगल बेडको खाट अटेकै छ । बिस्तरमा बिछ्याइएको सेतो तन्नामाथिका खैरा खैरा दागहरू ढोकाबाहिरबाट प्रष्टै देखिन्छन् । तन्नामाथि त्रिकोणात्मक तरिकाले सानो रुमाल मिलाएर राखिएको छ । हरियो उज्यालो रंगको भित्ता सद्दे कहीँ छैन । कतै पुकार खाएर थुकेका राता दाग छन् त कतै रंग र सिमेन्ट पोखिएको जस्तो ।

फेरि म अर्को कोठा जान्छु । त्यसको हालत झन् अघिको कोठा भन्दा कहाँ कम हुनु ? त्यसमा अट्याच बाथरुम छ । बिस्तराको हाल उस्तै । भित्तामा स साना प्वालहरू पनि छन् । प्वालमा चुरोटका ठूटा । बाथरुम ह्वांगै छ । त्यसभित्रबाट पिसावको गन्ध सजिलै नाकमा ठोक्किरहेको छ । भूइँभरी पानी पानी । दिसा पिसावले निकै च्यापेको अवस्थामा पनि शौचालयको हालत देख्दा दिसा पिसाव नै भित्र जाला जस्तो ।

म सोध्छु “मसाज गर्ने ठाउँमा चुरोट पनि खान पाइन्छ ? अनि ट्वाइलेट पनि किन यति फोहोर ?” उनीहरू जवाफ दिँदैनन् । मुखामुख गर्छन् । एउटीले मुख खोलिन्, “अँ दिदी, फोहोरै छ । यस्तै त हो । चुहिने घर । जति सफा गरे पनि फोहोर भइहाल्छ ।” कुरा गर्दागर्दै एक युवक माथिबाट आउछन् । मैलो मैलो हल्का सेतो रंगको पाइन्टमाथि बाक्लो, न्यानो खालको खैरो ज्याकेट र टोपी लगाएका छन् । जाडो मानिरहेको जस्तो देखिने उनी केही बोल्दैनन् । पाइन्टको खल्तीमा हात हालेर हाम्रो कुरा सुनिरहन्छन् । मलाई मज्जाले हेर्छन् पटक पटक । मैले युवतीलाई सोधें उहाँ ग्राहक हो ? उनीहरूले होइन भने । एउटीले भनिन्, “हाम्लाई माया गर्ने दाई हो । बेलाबेलामा आइराख्नुहुन्छ ।”

सगरमाथा आयुर्वेदिक सेन्टरको मसाज गर्ने कोठा ।

न्यू स्पा एण्ड मसाज सेन्टरमा भेटिएका युवतीहरू कसैसंग नियुक्ति पत्र छैन । न त सबैको तलब बराबर छ । कसैले आफ्नो तलब ६ हजार भएको बताए, कसैले सात हजार र एउटीले १० हजार । अनि एउटै काम गर्दा किन सबैको तलब अलग अलग त ? भन्ने प्रश्नमा पनि उनीहरूको जवाफ आएन । खोइ यस्तै हुन्छ बाहेक कुनै शब्द बोल्दैनन् ।

मसाज गर्न आउने ग्राहकले एक घण्टाको १६ सय तिर्नुपर्छ । जसबाट मसाज गर्ने युवतीलाई ३ सय मालिकबाट कमिसन पाइन्छ । यदि ग्राहकलाई खुशी बनाउन सकियो भने पनि थप टिप्स पाइहाल्छिन् । तलवका अलावा युवतीले पाउने सुविधा हुन् यी ।

त्यो भन्दा अलि पर रहेको सगरमाथा आयुर्वेदिक सेन्टर छ पाँच तलामाथि । पुरानो घरमा रहेको उक्त मसाज सेन्टर जाने भर्याङमा चढ्दै गर्दा पाइला त अगाडि बढे पो । निकै डर लाग्यो मलाई । तर पनि जे पर्ला पर्ला भन्दै मोबाइलको उज्यालोले अँध्यारो छिचोल्दै अघि बढें । यताउताबाट घर बनाउदै गरेको जस्तो ड्याङडुङ ड्याङडुङ आवाज आइरहेको छ । पाँच तला पुग्दासम्म त सास नै बढ्यो । एकछिन रोकिएर मज्जाले सास लिएपछि नर्मल भए । पाँचौ तलामा सगरमाथा आयुर्वेदिक सेन्टरको बोर्ड देखिन्छ । त्यो बोर्ड पनि निकै सुन्दर छ, न्यू स्पा एण्ड मसाज सेन्टरको जस्तै ।

भित्र पस्नु अघि अनुमति मागें । ढोकानेरै सोफा राखिएको छ । त्यसमा पलेटी कसेर बसेकी छन्, एक २२/२३ वर्षकी सुन्दर युवती । उनले सकेजति अनुहार लिपेकी छन् । ओठ, आँखा, गाला सबैतिर । सानो त्यो कोठाभरि चुरोटको धुँवाको मुस्लो छ । बाहिरबाट नदेखिने कुनामा ३५/३६ वर्षकी देखिने एक युवती र भर्खर १८/१९ कि देखिने युवती चुरोट सर्काइरहेका छन् । मलाई देखेपछि उनीहरूले आधामात्रै खाएको चुरोट ठोस्छन् । पाको उमेरकी युवती हत्तपत्त अगरबत्ती सल्काएर भित्तामा राखिएको भगवानको फोटानेर राख्छिन् ।

अघिको भन्दा यो मसाज सेन्टर अलि चिटिक्क छ । सफा छ । तर मसाज गर्ने कोठाहरू निकै अँध्यारा छन् । मोबाइलको बत्तीमा बिस्तरामा सेतो रंगका तन्ना सफा देखिन्छन् । त्यहाँ नमिठो गन्ध त्यति धेरै छैन । जे होस् मसाज गर्न जाने ग्राहकले फोहोर र दुर्गन्धको सामना गर्नुपदैन ।

त्यहाँ पनि तीनै जना युवतीको तलब अलग अलग रहेछ । यी तीनै जनाले यहाँ काम गरेको कसैको पनि एक वर्ष पुगेको छैन । यिनीहरूको आयस्रोत पनि अघिको मसाज सेन्टर जस्तै हो । ग्राहक रिझाउन सके त राम्रै हुन्छ आम्दानी पनि । नत्र त उही हो । महिनामा १२÷१५ हजार पनि मुस्किलले मिल्ने ।

साँच्चै ग्राहक आएपछिका नियम के हुन् ? जसले पनि मसाज गर्दा हुन्छ कि के हुन्छ ? मेरो जिज्ञासामा भर्खरकी बहिनी अलिअलि लजाउदै बोलिन्, “हैन दिदी । उहाँले हामीमध्ये कोबाट मसाज गराउने रोज्नुहुन्छ । जसलाई रोज्यो उसैले मसाज गरिदिनु पर्छ ।” लौ यस्तो पनि हुन्छ ? मेरो प्रश्न खस्न नपाउदै उनले थपिन्, “हजुर ।”

त्यो मसाज सेन्टरको मालिकलाई उनीहरूले चिन्दैनन् । त्यहाँ भएकी सबैभन्दा पाको उमेरकी युवतीले काम गरेको वर्ष दिन पुग्न थालेछ । उनैले हरेक दिन ३ हजार रुपैंया फाइनान्समा जम्मा गरिदिनु पर्छ । उनले लेखेपढेकी छैनन् । नजिकैको फाइनान्समा रकम जम्मा गर्ने गरिएको छ । त्यहाँ काम गर्ने एक जना भाइले भौचर भरिदिन्छन् । भौचर आफैसंग राख्छन् । त्यसैले कसको नाममा त्यो रकम जम्मा हुन्छ, मालिक को हो उनीहरू चिन्दैनन् रे ।

यी दुवै मसाज सेन्टरमा काम गर्ने युवतीका कुराहरू लगभग उस्तै हुन् । कुरा मात्रै होइन, उनीहरूले गर्ने काम र पाउने सेवा सुविधा पनि उस्ता उस्तै हुन् । उनीहरू आफ्नो नाम, ठेगाना, थर, जिल्ला खास केही खुलाउन चाहादैनन् । नाम भन्दा थर भन्दैनन् । घर सोध्दा पूर्व, पश्चिम भन्ने जवाफ दिन्छन् । १६/१७ वर्षकय लाग्नेहरू पनि २० वर्ष भन्दा कम उमेर भन्दैनन् । कारण किन भन्दा मनोरञ्जन क्षेत्रमा काम गर्ने संघसंस्था, स्थानीय निकाय र प्रहरीको अनुगमनबाट बच्न यस्ता रेडिमेट जवाफ हुँदोरहेछन् ।

ठमेलमा कार्यालय राखेर लामो समयदेखि मनोरञ्जन क्षेत्रका महिला तथा बालिकाको हक हितका लागि काम गर्दै आइरहेको संस्था चेन्ज नेपालकी कार्यक्रम संयोजक गरिमा श्रेष्ठका अनुसार एउटा कुनै मसाज, डान्सबार वा दोहोरी रेष्टुरेन्टमा अनुगमनमा गयो भने त्यो सूचना सबैतिर पुगिसक्छ । अनि कम उमेरका बालिका, किशोरीहरू लुकाइन्छन् । भएकाहरूलाई पनि २० वर्ष भन्दा माथि उमेर भन्न लगाइन्छ । मालिकहरू कहिल्यै फेला पदैनन् ।

श्रेष्ठ मसाज पार्लर धेरै दीन दुःखी महिलाको जीविकोपार्जनको माध्यम भएको बताउछिन् । श्रीमान्संग विछोडिएका, घर निकाला भएका, हातमा अरु कुनै सीप नभएका, नपढेका महिलाहरूको गतिशिलता र आम्दानी गर्ने थलो भए पनि यसलाई व्यवस्थित र मर्यादित बनाउने सरकारी पहल प्रभावकारी नहुँदा त्यहाँ काम गर्ने महिलाहरूले यौनकर्मी महिलाको संज्ञा पाउने गरेको उनको बुझाइ छ ।

यही लाञ्छनाका कारण मसाज पार्लरहरूमा काम गर्ने महिलाहरू आफ्नो परिवार र समाजमा त्यहाँ काम गर्छु समेत भन्न सक्दैनन् । अन्त अन्तै काम गर्छु भनेर ढाटेर घरबाट निस्किने गर्छन् ।

यी क्षेत्रमा किशोरी तथा बालिका कामदारको संख्या ठूलो छ । लहलहैमा, पेट पाल्न, पढाइ खर्च जुटाउन अनौपचारिक क्षेत्र अथवा मसाज पार्लरजस्ता ठाउँमा काम गरेका बालिका, किशोरी वा युवतीहरू त्यहाँ भोगिने अपमान, तिरस्कार र आरोप सहन बाध्य छन् ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलालाई हेयको दृष्टिले हेरिँदा उनीहरूले आफ्नो काम र पहिचान लुकाउछन् । कारण हो उनीहरूले काम गर्ने क्षेत्र व्यवस्थित छैन । सामाजिक दृष्टिकोणमा सम्मानित छैन । हरेक दिन, महिनामा यो क्षेत्रमा बालबालिकाको नयाँ नयाँ अनुहार देखिन्छ । कोही कोही त धेरै दिन यो क्षेत्रमा टिक्नै सक्दैनन् । काम छोड्छन् । तर संचालक, ग्राहक र सहकर्मी बीच परिचित भइसकेको अनुहार धेरै टाढा कहाँ लुक्नु ? संचालक, ग्राहकबाट खोजिन्छन् उनीहरू । डराइन्छन् । धम्काइन्छन् । र फर्केर फेरि त्यही दलदल । उम्कि नै मुस्किल ।

श्रमजीवि महिलाहरुप्रति डान्स रेष्टुरन्ट, डान्सबार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्ने सम्बन्धी सर्वोच्च अदालतबाट भएको फैसला र निर्देशिका २०६५ ले श्रीमजीवि महिलाहरुको हकमा बोल्छ । उनीहरुको नियुक्ति पत्र, सरसफाइ, सुरक्षा हुनुपर्छ भन्छ । तर व्यवहारमा कहीँकतै लागु भएको पाइदैन ।

यस्तै मनोरञ्जन क्षेत्रलाई व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति छ । जसको सदस्य सचिव महिला तथा बालबालिका कार्यालय थियो । भने सम्बन्धित जिल्लाको प्रहरी प्रमुख सदस्य । सदस्य सचिव रहेको कार्यालय नै अहिले नभएपछि दुई सदस्यीय समितिको बेलाबेलामा बैठक त बस्छ तर ठोस काम केही हुन्न । कहिलेकसो आक्कल झुक्कलबाहेक अनुगमनै नहुने, स्थानीय निकायले पनि वास्ता नगर्ने भएपछि मसाज पार्लरहरु चल्न त चलेका छन्, तर व्यवस्थित हुन सकेका छैनन् ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउदै छ । पुस १६ गते दशरथ रंगशालाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्षको उद्घाटन गर्दैछन् । के नेपाल घुम्न आएका विदेशी लगायत स्वदेशी पाहुनाले शारीरिक र मानसिक थकान मेटाउने जाने मसाज पार्लरको हालत सुधार्न सरकारी पहल होला ?

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: