बालश्रममुक्त छैन, मनोरञ्जन क्षेत्र


प्रकाशित मिति :2019-12-31 13:35:50

–लोग्शरी कुँवर–

मेरो घर नवलपरासी हो । अहिले म १९ वर्षकी भएँ । १४ वर्षकी छँदा नाता पर्ने दिदीले काठमाडौंमा पढाइदिने आश्वासनमा काठमाडौं ल्याउनु भो । आर्थिक रुपमा बिपन्न मेरो परिवारले काठमाडौंमा पढाइदिने भनेपछि नाइ नास्ती गर्ने कुरै थिएन । दिदीलाई पनि सहयोग हुने र मेरो पढाइले पनि निरन्तरता पाउने आशामा म उहाँसंगै काठमाडौं आए ।

गाउँ, घर, धेरै आफन्त छोडेर पढ्ने लालसामा काठमाडौं आएकी मलाई यहाँका अग्ला अग्ला घर, बाक्लो बस्ती, मान्छेको भिडभाड देख्दा सुरुसुरुमा निकै आनन्द आउथ्यो । जिल्ला जस्तो थिएन काठमाडौं । निकै खुल्ला परिवेश, खुल्ला सोच भएका मान्छे । यहाँका त केटीहरूले पनि कति छोटोछोटो लुगा लगाउन पाएका । मैले पनि त्यस्ता आकर्षक लुगा लगाउन पाएको भए हुन्थ्यो । त्यस्ता लुगामा म पनि कति राम्री देखिन्थें होला म जस्ता कुराहरू मनमा खेल्थे ।

मनमा कुराहरू पनि किन नखेलुन् त । पढ्न भनेर काठमाडौं ल्याइएकी मलाई दिदीले पढ्न दिए पो । घरको कामले एकछिन फुर्सत नहुने । जतिबेला पनि काम अह्राको छ अह्राको छ । यो काम भ्याएको छैन, अर्को काम तयार भइसक्छ । कहाँको पढ्न पाउनु ? दिदीले झुठो बोलेको थाहा पाएँ । उहाँको पेलान धेरै दिन सहन नसक्ने अवस्थामा पुगे । साथीहरूसंग हाँसी खुशीका साथ विद्यालय जानु पर्ने उमेरमा दिदीको टोकसो थेग्न सकिन । अनि केही चिनेका साथीहरूसंग भेट भएपछि उनीहरूसंगै छुट्टै बस्ने निधो गरें । र मैले उहाँको घर छोडे ।

साथीहरूसंगको संगतले मलाई पनि केही पैंसा आउने काम गर्नुपर्छ भन्ने लाग्न थाल्यो । नलागोस् पनि कसरी ? गुजाराको कुनै माध्यम छैन । घरबाट पैंसा आउने कुरो भएन । घरमा पनि भए पो पैंसा आउछ ? म साथीसंगै पैंसा आउने कामको खोजी गर्न थालें । कामको खोजीमै दोहोरी रेष्टुरेन्टमा काम गर्न पाइने भो । काम गर्न पाइने र पैंसा पाइने भएपछि म निकै खुशी भएँ ।

रेडियो, टेलिभिजन, गाउँमा हुने मेला, महोत्सव, पर्वबाहेक अन्त दोहोरी गाएको नदेखेकी मलाई झमक्क रात परिसकेपछि रेष्टुरेन्टभित्र चिटिक्क परेका केटाकेटीहरूले संगै बसेर यसरी मस्किदैं, रमाउदै गित गाएको देख्दा निकै रमाएँ पनि म । तर मेरो गित गाउँने थिएन । गित सुन्न, नाँच्न, रमाउन आएका ग्राहकलाई खुशी पार्नुपर्ने काम थियो । त्यो पनि प्राय पुरुष ग्राहकलाई । महिलाहरू त आउने, खाने, नाँच्ने, रमाउने खालका हुने । त्यो संगसंगै पुरुष ग्राहकका त केही भिन्न चाहाना हुने रहेछन् । सबै होइन, अधिकांश पुरुष ग्राहकसंग मस्किनु पर्ने, उनीहरूका छाडा, अश्लील शब्दमा प्रतिकार गर्न नपाइने, उनीहरूले हामीलाई छुँदा, मुर्सादा, चिमोठ्दा पनि केही भन्न नपाइने । यदि केही गरेर प्रतिकार गर्यो भने मालिकको प्रहार । कामबाट निकालिदिने धम्की, गाली खानुपर्ने रहेछ ।

मलाई कलिलो उमेरमै आइपरेका अनेक समस्या देखेर भाग्य धिकार्न मन लाग्यो । त्यो बाहेक त विकल्प पनि थिएन । फर्केर गाउँ जान पनि मन छैन । पढ्न भनेर काठमाडौं आएकी म कसरी गाउँ फर्किनु ? त्यसपछि फरक फरक दोहोरीमा काम गर्दागर्दै समय बितिरहेको छ ।

अहिले म गोंगबुको एउटा गेष्ट हाउसमा बस्छु । दोहोरीमा काम गर्ने भनेपछि कोठा भाडामा पनि नपाइने रहेछ । केही गरि ठगेर कोठामा बस्यो भने राती राती घर फर्किनु पर्दा घरबेटीले थाहा पाएर निकालिदिने । त्यसो हुँदा सधैं अस्त व्यस्तको जीवन ।

दिउसोको समयमा मसाज पार्लरमा काम गर्छु । बेलुका दोहोरीमा र राती क्लबमा । तीन ठाउँमा काम गर्दा आम्दानी पनि ठिकठिकै हुन्छ ।

काम गर्न थालेपछि किनेको मोबाइलमा फेसबुक पनि चलाउन थाले । फेसबुक चलाउदा चलाउदै एउटा केटासंग प्रेम बस्यो । उसले मलाई निकै रेखदेख गर्दथ्यो । मलाई कस्तो छ, सञ्चो बिसन्चो ख्याल राख्थ्यो । किशोरावस्थामा पहिलोपटक कुनै केटाबाट प्रेम पाएपछि ममा निकै धेरै जिज्ञासा उठे । म उसंग निकै खुशी हुन्छु जस्तो लाग्न थाल्यो । उसले पनि मलाई बिहेको प्रस्ताव गर्यो । उ निकै मन परिसकेकाले मैले नाइ नास्ती गर्ने कुरै थिएन । हुन्छ भने । हाम्रो उमेर पनि एउटै थियो । अहिले हामी संगै बस्छौं । श्रीमान्ले केही काम गर्न थालेका छैनन् । मेरै कमाइले कोठा भाडा सबै खर्च जुटाउनु पर्छ ।

अहिले गाउँकै एक १५ वर्षकी बहिनी पनि म संगै बस्छिन् । उनी पनि मसाज पार्लरमा काम गर्छिन् ।

गरिबी र अभावले म जस्तै कलिला बालिकाहरू दोहोरी, मसाज र क्लवहरूमा काम गरिरहेका छन् । तर हामी हाम्रो वास्तविक उमेर कसैलाई भन्दैनौं । कसैले उमेर सोधिहालेको खण्डमा २१/२२ वर्ष भन्छौं । नत्र भने प्रहरीले छापा मारेको खण्डमा कम उमेरको भन्दै घर फर्काइदिन्छन् रे । यो कुरा मैले मसंगै कामगर्ने साथी र मालिकबाट थाहा पाएको । त्यसैले मैले पनि आफ्नो वास्तविक उमेर कहिल्यै कसैलाई भन्दिन ।

‘आश्वासनमा फसिन् छोरी’

मेरो श्रीमान् आर्मीमा हुनुहुन्थ्यो । ८ वर्षदेखि सम्पर्कमा हुनुहुन्न । श्रीमान् भेटिन्छन् भन्ने आशमा जुम्लाबाट काठमाडौं आएँ । लागे पुगेसम्म सबै ठाउँ खोजें । कुनै घटनामा हराएका भए पो उनको अवस्था थाहा हुन्थ्यो । नियतवस् हराएको मान्छेलाई खोज्न सकिन । उहाँ ज्यूँदो हुनुहुन्छ कि मरिसके केही अत्तोपत्तो छैन ।

म काठमाडौं आउदा १३ वर्षकी १ छोरी र ८ वर्षको छोरा साथमा लिएर आएँ । काठमाडौंमा मेरो कोही थिएन । गाउँमै छँदा आफूले जोहो गरि राखेको पैंसा आठमाडौंमा हप्ता दश दिनलाई पुगेन । श्रीमान्को खोजीसंगै आफ्नो लागि काम खोज्नु पर्ने भो । त्यसका लागि मैले कहाँ कहाँ चहारिन ?

काम खोज्ने क्रममा म घर सफ ागर्ने र लुगा धुने काम गर्न थाले । यसैबाट तीन आमा छोराको पेट पालिन थाल्यो । एउटा संस्थाको पहलमा छोराछोरी विद्यालय भर्ना भए । नियमित स्कूल जान थाले ।

मान्छे सबै एकनास त कहाँ हुनु र ? तर पनि कोही पनि मान्छेहरू यति पापी हुँदारहेछन् कि यो कुरा मैले काठमाडौं आएर थाहा पाए । १३ वर्षकी कलिलो छोरीलाई म भाडामा बस्ने घरमै बस्ने एक महिलाले विभिन्न लोभलालच देखाउने रैछिन् । आफू काममा जाने, धेरै समय घरमा नहुँदा छोरीको मन पनि लोभिएछ । त्यो महिलाका कुरामा विश्वास गरिछिन् । मेरो थोरै कमाईले पेट गुजारा र भाडा तिर्नै ठिक्क हुने । काम गर्नुपर्छ । राम्रा राम्रा केटाहरूसंग भेट हुन्छ । संगत हुन्छ । रमाइलो हुन्छ । पैंसा पनि कमाइन्छ भनेर छोरीको मनमा अनेक लोभहरू भरिदिएपछि मैले जति सम्झाउदा पनि उसले मलाई टेर्न छाडिन् ।

डान्सबार बाहेक उनको सम्बन्ध त्यहाँ आउने ग्राहकसंग हुन्छ । कतिपयले काठमाडौं बाहिर पोखरा, चितवन, नगरकोट लगायतका ठाउँमा केही दिनका लागि घुम्न जाने प्रस्ताव राख्छन् । त्यो प्रस्ताव उनलाई सिधैं पनि आउछ, डान्सबार संचालक वा दलाल (एजेन्ट)बाट पनि आउछ । प्रायजसो ग्राहक एजेन्टहरुले खोज्छन् । दुई तीन दिनका लागि २५/३० हजार को मोलमोलाइ हुन्छ । तर त्यसबाट उनलेचाहिँ चार पाँच हजार मात्रै पाउछिन् । ग्राहक खुशी भए किनमेल गरिन्छिन् ।

छोरीले बिस्तारै बाहिरका केटीहरूसंग संगत गर्न थालेको थाहा पाएँ । उ त मलाई छलेर, ढाँटेर खाजा घरतिर पो काम गर्ने रहेछ । त्यो थाहा पाएर निकै दुःखी भएँ । जति गर्दा पनि छोरीलाई सम्झाउन सकिन । उसको पढाई एकदमै राम्रो छ । दिमाग निकै तिक्ष्ण छ । मलाई छोरीले पढेर केही गरोस् भन्ने चाहाना छ । त्यसैले उसलाई गलत साथीहरूको संगत र खाजा घरतिरको कामबाट छुटाउन मनोविमर्शकर्ताको सहयोग लिएँ । त्यसले उनका केही सुधार भो । अहिले छोरी त्यसरी हिँडेकी छैनन् ।

गाउँबाट राजधानी आएका बालबालिकाहरू मध्ये केहीले यहाँको रमझम देखेपछि आफूलाई सम्हाल्न नसक्ने रहेछन् । त्यसैमा गलत मान्छेको संगत भो भने त झनै मुस्किल । सही के हो र गलत के हो भन्ने छुट्याउन मुस्किल हुने उमेरका केटाकेटीहरूलाई शहरको वातावरणले निकै प्रभाव पार्दोरहेछ ।

‘आमाले कुटाइ खाएको देख्न नसकेर घर छाडे’

पश्चिम बर्दिया जिल्ला घर बताउने १५ वर्षकी बालिका पनि डान्सबारमा काम गरिरहेकी छन् । कलिलो उमेरमा पढाइ छोडेर कामको खोजीमा काठमाडौं पसेकी उनलाई घर फर्किनु भन्दा डान्सबार झेल्न सजिलो छ । उनी त्यसमै खुशी छिन् ।

घरप्रति किन यस्तो वितृष्णाचाहिँ किन त ? उनले कारण खोलिन् । “बुबाले बिना कारण आमालाई कुटपिट गर्ने । घरमा सधैं अशान्ति । आमाको त्यो दुःख देखेर घरमा बस्न सकिन ।” बुबा बाचुञ्जेल त्यो घरमा कहिल्यै नफर्कने उनले बताइन् । सानैदेखि आमामाथि बुबाको दुव्र्यवहार देख्दै आएकी उनी घरको अशान्त वातावरणले घर फर्किने चाहाना नभएको बताउछिन् ।

काठमाडौंमा बस्दा उनले पनि कोठा भाडामा पाइनन् । कारण उनी डान्सबारमा काम गर्छिन् । त्यसैले उनी पनि अहिले मासिक ९ हजार तिरेर गेष्ट हाउसमा कोठा लिएर बसिरहेकी छन् ।

डान्सबार बाहेक उनको सम्बन्ध त्यहाँ आउने ग्राहकसंग हुन्छ । कतिपयले काठमाडौं बाहिर पोखरा, चितवन, नगरकोट लगायतका ठाउँमा केही दिनका लागि घुम्न जाने प्रस्ताव राख्छन् । त्यो प्रस्ताव उनलाई सिधैं पनि आउछ, डान्सबार संचालक वा दलाल (एजेन्ट)बाट पनि आउछ । प्रायजसो ग्राहक एजेन्टहरुले खोज्छन् । दुई तीन दिनका लागि २५/३० हजार को मोलमोलाइ हुन्छ । तर त्यसबाट उनलेचाहिँ चार पाँच हजार मात्रै पाउछिन् । ग्राहक खुशी भए किनमेल गरिन्छिन् ।

उनलाई डान्सबारमा काम गर्नु नराम्रो लाग्दैन । तर आफू कम उमेरको छु भन्ने उनलाई थाहा छ । घर छोडेर हिँडेकी उने पेट पाल्न शुरु गरेको यो पेशा छोडेर कहाँ जाने केही थाहा छैन उनलाई । आफूले डान्सबारमा काम गरेको र ग्राहकसंग घुम्न गएर उनीहरूको यौन साथी बनेकोमा हिनताबोधचाहिँ भइरहको छ । तर त्यही काममा अभ्यस्त भइसकेकी छन् उनी । उनको दिनचर्या नै काममा जाने र केही दिनका लागि घुम्न जाने नयाँ तथा पुराना ग्राहकको खोजी हो ।

अभिभावकको कलह सहन नसकेर घर छोड्ने बालबालिकाको प्रतिनिधि हुन् उनी । आफ्नो बोली नफुट्दैदेखि आमाले सहेको अनावश्यक गाली बेइजती र कुटपिट आफूले रोक्न नसक्ने, बरु त्यो भन्दा घर छोड्नु नै जाति मानेर उनले घर छोडिन् । बाल्यावस्थामा हेर्न पनि जान नमिल्ने ठाउँमा काम गर्न बाध्य भइन् । घरको तनावपूर्ण वातावरणबाट आजित भएर नेपालमा धेरै बालबालिकाहरूले घर छोड्ने र बेसहारा र एकल जीवन बाँचिरहेको कुराको प्रमाण पनि हुन् यी बालिका ।

यसरी विविध समस्याले कामको खोजीमा हुने बालिकाले काम पाउने ठाउँ भनेकै अनौपचारिक तथा मनोरञ्जन क्षेत्र हो ।

कुनै कार्यालय वा कम्पनीमा काम गर्नलाई उसको उमेर, योग्यता र क्षमता हेरिन्छ । तर मनोरञ्जन क्षेत्रमा भने उमेर ढल्किसकेका भन्दा कम, जुनसुकै उमेरका महिला तथा बालिकाले काम पाइहाल्छन्, काउन्टर सम्हाल्नेदेखि, भाँडा मस्काउनेसम्म ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने बालिका तथा महिलालाई सेवा दिँदै आइरहेको गैर सरकारी संस्था चेन्ज नेपालकी कार्यक्रम इन्चार्ज सृजना दाहाल मनोरञ्जन क्षेत्र बालश्रममुक्त हुन नसकेको बताउछिन् ।

फितलो सरकारी अनुगमनका कारण मनोरञ्जन क्षेत्रमा काम गर्ने बालबालिकाहरूले निकै जोखिमपूर्ण तरिकाले काम गर्नु परिरहेको र श्रम शोषणमा रहेको उनले बताइन् ।

बालश्रमको अवस्था

अन्तर्राष्ट्रिय श्रम संगठन सन् २०१७ को Global Estimates of Child Labour, Results and Trends, 2012-2016 प्रतिवेदन अनुसार विश्वमा बालश्रमको संख्या १५ करोड २० लाख छ । यस मध्ये स्वास्थ्य, सुरक्षा र नैतिक विकासमा प्रत्यक्ष रुपमा जोखिमयुक्त काममा ७ करोड ३० लाख बालबालिका संलग्न छन् । एशिया प्यासिफिक क्षेत्र बालश्रमको संख्या ६ करोड २० लाख छ ।

केन्द्रीय तथ्यांक विभागबाट प्रकाशित बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण (Multiple Indicator Cluster Survey-2014) का अनुसार नेपालमा ५ देखि १७ वर्ष उमेरसम्मका ३७.४ प्रतिशत बालबालिका बालश्रममा संलग्न छन् ।

यसो भन्छ संविधान

हुन त संसार भरि नै बालश्रम कानून विपरित मानिएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको छ । जोखिमपूर्ण काममा लगाउन बन्देज लगाउनुका साथै प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक सुनिश्चित गरेको छ । जोखिममा रहेका बालबालिकालाई विशेष संरक्षण प्रदान गदै बालश्रम लगायत श्रम शोषणका सबैरुपको अन्त्य गर्ने गरि राज्यलाई नीतिगत मार्गदर्शन गरेको छ ।

श्रम ऐन, २०७४ ले सबै प्रकारका श्रम शोषणको अन्त्य गर्ने उद्देश्यका साथ कसैले पनि बालबालिकालाई कानून विपरित हुने गरि काममा लगाउन नपाइने व्यवस्था गरेको छ । बालश्रम (निषेध र नियमित गर्नेे) ऐन, २०५६ ले पनि उमेर नपुगेका बालबालिकालाई श्रीमकको रुपमा काममा लगाउन निषेध गरेको छ ।

यस्तै नेपालबाट सबै प्रकारका बालश्रम पूर्ण रुपमा निवारण गरि मुलुकलाई बालश्रमरहित बनाउने उद्देश्यले नेपाल सरकारले बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरू योजना (२०७५–२०८५) बनाएको छ ।

वि.स.२०७९ सम्ममा निकृष्ट र शोषणयुक्त प्रकारको बालश्रम निवारण गर्ने र यसका लागि आवश्यक पर्ने नीति, रणनीति तथा कानून पहिचान, संसोधन वा सुधार गर्ने र वि.स. २०८२ सम्ममा सबै प्रकारका बालश्रम निवारण गर्ने गुरू योजनाको लक्ष्य छ ।

तर मनोरञ्जन क्षेत्र बालश्रममुक्त छैन । उमेर नपुगेका बालबालिकालाई काममा लगाउन नपाउने संवैधानिक व्यवस्था हुँदाहुँदै कानूनको धज्जी उडाउने काम भएको छ । समस्यामा परेर कामको खोजीमा हुने सहाराविहीन बालिकाको अवस्थाको फाइदा उठाएर मनोरञ्जन क्षेत्रले कानूनलाई नै चुनौती दिइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: