बलात्कारीसंगको विवाह


प्रकाशित मिति :2020-01-05 11:41:38

आफ्ना श्रीमानले विहे गरेको ६ महिना बितिसक्दा पनि वास्ता नगरेको भन्दै ३० वर्षकी युवतीले गहभरी आँशु पारिन् । उनका लोलाएका आँखा कयौं दिनदेखि नसुतेका जस्तै थिए ।

एकोहोरो घोरिएका उनका नजरमा मरिरहेका सपनाहरू म देख्न सक्थे तर सायद उनले देख्न छोडिसकेकी थिइन् । एउटी नारी जो खुशीका निम्ती जिन्दगीको सम्झौता गर्छे, उसको न बैंसको रहर पूरा भयो न जिन्दगीको साथीले बाचा पूरा गर्यो ।

नियतिले त त्यसै दिन उनलाई लल्कारी सकेको थियो, जुन दिन उनले एक बलात्कारीसँग विवाहको सम्झौता गरिन् । त्यो बलात्कारी जसले उनको अस्मितामाथि धावा बोल्ने दुस्साहस गर्यो । अनि आफ्नो ‘इज्जत’ जोगाउन भन्दै उनले त्यसै बलात्कारीसँग विवाह गर्नुगर्‍यो ।

अधिवक्ता, मञ्जु मिश्र

यो विवाह कम र आफैँ बिरुद्धको अपराध थियो । जुन उनले आफैँमाथि गरिन् । बलात्कारीसँग विवाह गरेर ।

फेसबुकमार्फत इलाम जिल्ला घर भएको रबीन्द्र बराइली भनिने रबीन्द्र विश्वकर्मासँग सामान्य चिनजान भएपछि उनीहरू विस्तारै गफिन थालेका थिए । कुराकानीको सिलसिलाले प्रेमको रुप लियो । अनि विवाह गर्ने योजना बन्यो । केटो बैदेशिक रोजगारीमा भएकाले नेपाल आएर विवाह गर्ने पक्का भयो । शर्मिलाले घरमा कुरा राखिन् । जातभात मिल्ने भएपछि बावुआमाले नाइनास्ती गरेनन् । उनलाई उसको प्रतिक्षा हुन थालेको थियो । एकदिन उ नेपाल आयो, उसलाई लिन एयरपोर्ट पुगेकी शर्मिलाको खुशीको सिमाना थिएन् । कारण–उनलाई प्रेमी भेट्न आएको थियो । चाँडै उसैसँग विवाह हुनेवाला थियो ।

भेटघाटपछि केटाले शर्मिलालाई काठमाडौं हुञ्जेल आफू अन्तै गएर बस्न नसक्ने बतायो । एकदुई दिनको न कुरा हो, उनले यही सोचिन् त्यसबेला । अन्ततः सँगै बस्ने कुरामा सहमति दिइन् । शर्त थियो–सँगै बसे पनि शारीरिक सम्बन्ध नराख्ने ।

चाडै विवाह हुने कुरा थियो, हुनेवाला श्रीमानलाई आफूसँग राख्दैमा अन्यथा के होला र ? पूरै जिन्दगी उसलाई सुम्पने शूर थियो उनको । अविश्वास त कसरी गर्नु ? रबीन्द्रले आफूलाई माया गर्छ भन्ने कुरामा उनलाई गर्व थियो । तर पहिलो दिननै उसले आफ्नो हवस् पूरा गर्ने चेष्टा गर्‍यो । अर्थात जर्वजस्ति हात हाल्यो । उनले इन्कार गरिरहिन् । उसले आफ्नो यौन चाहना पूरा गरेरै छाड्यो ।

त्यस रात उनी सुत्न सकिनन् । रबीन्द्र घुरघुर घुर्दै निदायो । राती फेरि अर्को एकपटक बलात्कार गर्‍यो । उनले प्रतिकार गरिनन् । समाजले, परिवारले के भन्छ भन्ने डर बढ्न थाल्यो । केही दिन बस्छु भन्ने रबीन्द्र विवाह गर्न घरसल्लाह गर्छु भनेर हिड्यो । त्यसपछि सम्पर्क गरेन । एकाएक हराएपछि उनले हारगुहार गरिन् । प्रहरीमा उजुरी गर्न गईन् । प्रहरीको सहयोगमा विवाह चाडै गर्ने सहमति भयो । फेरि केटो बेपत्ता बन्यो । हारदिक भएपछि काठमाडौं जिल्ला अदालतमा जर्वजस्ती करणीको मुद्दा दायर गरिन् । यो २०७५ सालको कुरा हो ।

विवाहको फोटो ।

अदालतमा मुद्दा परेपछि रबीन्द्रलाई प्रहरीले पक्राउ गर्यो । पुर्पक्षको लागि थुनामा राख्यो । थुनामा रहेको बेला रबीन्द्रका आँखाबाट मूल फुट्न थाले । निरन्तर रोइरहे । क्षमा याचना गर्न थाले । परिवारले गर्दा विवाहदेखि भागेको तर आफू तिमी बिना बाँच्न सक्दिन भन्न थाले । आफूले माया गर्ने बतायो । बाहिर निस्कने बित्तिकै विवाह गरेर काठमाडौंमै बस्ने भनेर उनलाई विश्वासमा पार्यो । उनी पनि चाहन्थिन् जोसंग सेक्स भयो, उसैसँग विवाह गर्न । ‘‘आफूले माया गरेको मान्छे गल्ती स्वीकार्छ भने कसको मन पग्लिदैन र ?” उनलाई त्यसबेला उसले गरेको बलात्कार अपराध लागेन् । गल्ती ठानेर माफ गरिन् । केटाको तर्फबाट लडिरहेका वकिलले आफ्नै उपस्थितीमा विवाह गराईदिने भनेर शर्मिलासँग बाचा गरे । र विवाह पनि आफू र आफ्ना साथीहरुकै उपस्थितीमा गरिदिए पनि ।

घरपरिवार सबैले विवाह गर्न उनलाई आग्रह गरे । अन्त्यमा उनले विवाह गर्ने निधो गरिन् ।

‘‘फेरि एक पटक ‘गु’ खाएँ जानी जानी मुद्दालाई कमजोर पारियो । वकिलले उपाय सिकाए । मैले विश्वास गरें । जीवनमा कहिल्यै गर्न नहुने विश्वास गरें’’ उनले भनिन् ।

उनीहरूबीच गत जेठमा विवाह भयो दुवै परिवार, वकिल र केही साथीहरूको उपस्थितीमा, काठमाडौंस्थित भद्रकाली मन्दिरभित्र । मन्दिरमा विवाह भएकाले उनलाई भगवानको डरले पनि धोका दिँदैन भन्ने लाग्यो त्यसबेला ।

विवाह गरेको एक महिनासम्म दुवै परिवारबीच भेटघाट, संस्कार सबै आदानप्रदान भयो । रबीन्द्रले श्रीमान् हुनुको कर्तव्य निभाए । जिन्दगीप्रति एक्कासी माया लागेर आयो । अब केही चाँहिदैन खुशी हुनलाई । त्यस्तै भावना आउथ्यो उनलाई ।

विवाहको फोटो ।

पहिलेदेखि नै कतारमा बसेर कमाउने मान्छे । नेपालमा बसेर सुख दिन नसक्ने बताउदै रबीन्द्र फेरि लाहुर गए । श्रीमतीलाई छोडेर । आफ्ना लागि श्रीमान् कमाउन गएकोमा मनमा छुट्टिनुको पीडा त छँदै थियो खुशी पनि कम थिएन । तर. एक दिन, दुई दिन गर्दै ५ महिना बित्यो । श्रीमान्ले उनको हालखबर सोधेनन् । माया गरेनन् । बरु मेरो घर छोडेर जा भन्दै नानाथरी गाली गर्न थाल्यो । ‘एक दिन सुत्दैमा मेरो जिन्दगी बिगारिस्’ भन्दै अश्लील गाली गर्न थाल्यो ।

त्यतिमात्र होईन नन्दलेसमेत नानाथरी गाली गरिन् । तँ जस्तो आइमाईलाई यस्तै गर्नुपर्ने हो भन्दै अपमान् गरिन्, एकपटक होइन पटक पटक ।

‘‘विवाह दर्ता पनि गरेको छैन ।” उनलाई कतै विवाह गरेको प्रमाणपत्र नहुदा अब ऊ आफ्नो श्रीमान् नकहलाउने हो कि ! भन्ने डर रहेछ । अबेरसम्म उनका बारेमा घोत्लिएपछि लाग्यो यसलाई बलात्कार मान्न सक्छु कि सक्दिन ? नेपालको फौजदारी संहिताले यसलाई बलात्कार मान्न सक्छ कि सक्दैन ? काठमाडौं जिल्ला अदालतले गरेको मागदावी बमोजिम बलात्कार भएको पुष्टि हुदैन भन्ने फैसला मिलेको छ वा छैन ? उनको केस लडिरहेका सरकारी वकिलले उच्च अदालतमा यस मुद्दालाई किन लगेनन् ? सबै प्रश्नको उत्तर खोज्दै छु ।

अपराध संहिताको परिच्छेद १८ करणी सम्बन्धी कसूर अन्र्तगत २१९ दफामा यस सम्बन्धमा अस्पस्ट व्यवस्था छ । उपदफा २ को –क) वमोजिम करकाप, अनुचित प्रभाव, डर त्रास र झुक्यानमा पारी वा शरीर बन्धकमा लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन भनि व्यवस्था गरेको छ ।

सोही महलकै उपदफा ५ मा क देखि घ सम्म पतिले पत्नीलाई विवाह पछि गर्नुपर्ने दायीत्वहरूबारे उल्लेख छ । उनको पतिले न उनलाई बस्ने बास उपलब्ध गराएको छ, न त पालनपोषण वा अन्य खर्चहरू नै जुटाईदिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: