महिनावारी र छोरीको विद्रोह


प्रकाशित मिति :2020-01-26 17:27:47

करीब १२ वर्षको उमेरमा मेरो छोरी महिनावारी भइन् । छोरीलाई उनकी आमाले कम्तिमा ५ दिन बाबा संगसंगै डाइनिंग टेबलमा बसेर खान नमिल्ने नियम घोषणा गरिन् । ७ कक्षामा पढ्ने छोरीले सो कुरा नमान्ने भन्दै त्यसको कारण माग गरिन् । आमाले सनातनी प्रचलन भएको र भगवानको लागि आदि भनेर सम्झाइन् । तर छोरीले तत्कालै विद्रोहको स्वरमा सो मान्दिन भन्दै प्रतिवादै गरिन । अलग्गै स्टुलमा राखेको खाना लिएर मसंगै टेबलमा आइन् ।

छोरीले तर्क नगर्दासम्म त म पनि ठिकै छ नि भन्नेमा थिएँ । तर मलाई गर्व महसुस त्यतिबेला भयो, जतिबेला छोरीको तर्क शक्ति र कारण माग सुनें । ७ कक्षाको छोरीको त्यो चेत । तर हामी एम.ए पासको ? मैले तत्काल छोरीलाई हग गरें । संगै टेबलमा राखें । बाबा छोरीले संगै खाना खायौं ।

त्यतिबेला श्रीमतीको नाक खुम्चियो । भमैले नें कि, यो बाल मानसपटलमा अहिले यसरी छुवाछुत सिकाउने हो भने छोरीको बालसुलभ दिमागको सकारात्मक विकासमा प्रतिकूल असर पर्दछ । ठिक छ पिरियडको बेलामा स्वस्थ सफा रहने, आराम गर्ने वातावरण बनाऔं । तर छुवाछुत नगरौं । यदि हाम्ले नै यसो गर्ने हो भने त एक प्रकारको छाउपडी नै भयो नि भन्ने निस्कर्षमा हामी सहमत भयौं । त्यो दिनबाट हाम्रो घरमा यस्तो प्रचलन नै हट्यो । तर अझै पनि ठिक बेठिक के गरियो भनेर यदाकदा छलफल हुन्छ । किनभने वृद्धा आमा पनि हामीसंग हुनुहुन्छ । वहाँको मन पनि दुखाउन नहुने परिस्थिति छ ।

टीएन कुँवर

यस उदाहरणले धेरै परिवारको अवस्था प्रतिनिधित्व गर्छ होला । हामी जत्तिको एम.ए पासले पनि कम्तिमा यति अन्धविश्वासी हुनु भनेको यो समाजलाई अझै पछाडि धकेल्नु हो । महिला तथा बालबालिकाको मानव अधिकारलाई हामी कथित बुझक्कडहरुले नै किन संवेदनशील भएर सोच्न सकेनौं ? भावी पुस्तालाई हामी के सिकाइरहेका छौं ? भनेपछि यसबाट हामी कथित शिक्षितको मनमा अझै केही कस बाँकी हुनुपर्दछ ।

गाउँघरमा छाउगोठमा छुट्टै राख्नु र शहरीयाले घरमै छुवाछुत बार्नुमा म कुनै अन्तर देख्दिन । अन्तर त सोचको मात्र हो । महिलामा मासिक श्राव हुनु जैविक नियम मात्र हो । सोबाहेक अरु छुत अछुत वा देउता रिसाउने आदि केही होइन । तर नेपाली समाजमा यस अन्धविश्वासी सोचले यति जरो गाडेको छ कि, हामी कथित शिक्षित भनाउँदा एमए पासले पनि अशिक्षित पुर्खाले धान्दै आएको बिंडो थामिरहेकै छौं । अर्थात् पश्चिम नेपालका दुर्गम गाउँमा छाउगोठ बनाएर र काठमाडौंका परिवारमा घरमै छोइछिटो बारेर ।

पुर्खाहरुले किन छोईछिटो बारे होलान् ? उनीहरुको जीवन पूर्णतः श्रममा आश्रित थियो । यस्तो बेलामा कडा परिश्रम गर्दा स्वास्थ्य बिग्रिन्छ । त्यसैले आरामको जरुरत पर्दछ । आराम गर्न एकान्त चाहिन्छ । त्यसैले छुट्टै बस्न बेस हुन्छ भन्ने सोच वैज्ञानिक नै थियो । तर प्रचलनलाई भ्रमित पार्दै दाजुभाइले देख्न नहुने, कसैसंग छुन नहुने नियम बसाइएको हुनुपर्दछ ।

एउटा जिज्ञासा उठ्छ यहाँनेर । संसारका आ आफ्नै हरेक धर्म र संस्कृति छन् । मासिक धर्म महिला जातिमा हुने यो अनिवार्य प्राकृतिक नियम हो । तर के अमेरिका वा अफ्रिकाको कुनै महिलाले यस्तो छुवाछुतको चलन गरेका होलान् त ? के देउता रिसाउने भए उनका आस्थाका भगवान छैनन् र ? त्यसकारण यो चलन हाम्रो समाजको कुरीति र कुसंस्कार हो ।

अब भनौं के पश्चिम नेपालमा सम्पूर्ण छाउगोठ भत्काउँदैमा कर्णाली क्षेत्र छाउपडी प्रथा मुक्त भयो भन्न मिल्ला र ? हालै लिएको अभियान पछि छाउगोठ त भत्किए तर देखिंदै छ स्याउलाले बारेका गोठ बनिरहेका छन् । अब त झन् चुनौति थपियो । कम्तिमा पहिलेका गोठ अलि सुरक्षित त थिए । समाजको सोच र प्रभाव अनुसन्धान नगरी कदम चाल्दा राम्रो उद्देश्य भए पनि सफल हुन सकिन्न भनेको यही हो ।

काठमाडौंमा हामी एमए पासको हालत यो छ । साँच्चै भन्ने हो भने काठमाडौंका आधुनिक, शिक्षित, उच्च पदस्थ, सभ्य र पढालेखा एवम् अगुवा नेतृत्वमा रहेका कति परिवारमा सुधारिएको छाउपडी प्रथा कुन अवस्थामा छ ? पहाड वा तराइमा के अवस्था छ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान गर्न र त्यसैका आधारमा योजना बनाउन जरुरी छ ।

छाउगोठको भौतिक संरचना भत्काएर मात्र शदिऔंदेखिको अन्धविश्वासको पर्खाल ढल्दैन । यसका लागि त शिक्षा र चेतनाको ज्योति फैलाउनु आवश्यक छ । त्यो ज्योति योजनाबद्ध रुपमा अगाडि बढाऔं । राज्यले अलिकति लगानी गरोस् । स्थानीय सरकारहरुले प्राथमिकतामा राखेर घर घरमा चेतना पुर्याउन् । बरु मौकामा यसै विषयसंग जोडेर जाँड रक्सी बन्द गरौं । घरेलु हिंसाको स्थिति नियन्त्रण गरौं । बालविवाह रोकौं । चेलीबेटी बेचबिखन हुनबाट बचाऔं । लागू औषधमा युवाहरुलाई फस्न नदिऔं । जातजाति बिच गरिने भेदभावको विरूद्धमा अभियान चलाऔं । देशैभर प्याकेजमा कार्यक्रम लैजाऔं । सभ्य नागरिक समाज निर्माण गर्ने अर्को एउटा नवीन अभियान थालनी गरौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: