समताको क्षमताले दिलायो डेपुटी सिइओको कुर्सी


प्रकाशित मिति :2020-01-30 19:47:31

८२ वर्ष पुरानो नेपाल बैंक। कुनै बेला टाट पल्टिने अवस्थामा पुगेर फर्किएको। जथाभावी नउठ्ने गरी कर्जा प्रवाह गरेर बिसं २०५५/५६ तिरै एकदमै खराब अवस्थामा पुगेको बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै आफ्नो जिम्मामा लिएको थियो। बैंकको त्यसबेला १२ अर्ब रुपैयाँभन्दा बढी ऋणात्मक नेटवर्थ थियो।

बैंकको खराब कर्जा ५६ प्रतिशतभन्दा बढी पुगेको र पुँजी कोष १० अर्बभन्दा बढीले ऋणात्मक भएपछि वित्तीय क्षेत्र सुधार कार्यक्रमअर्न्तगत राष्ट्र बैंकले २०५८ चैत १ देखि नेपाल बैंक ‘टेक ओभर’ गर्‍यो। राष्ट्र बैंकले नेपाल बैंकको व्यवस्थापन लिँदा कर्मचारी संख्या पाँच हजार नजिक थिए। त्यसैबेला बैंकले पुराना कर्मचारीहरुलाई स्वेच्छिक अवकास दिँदै धमाधम नयाँ कर्मचारी भर्ना सुरु गर्‍यो।

राम्रो शैक्षिक योग्यता भएका कर्मचारीहरू सार्वजनिक सूचना जारी गरेर नै नियुक्त गर्न थालिएको अवस्थामा समता पन्त पनि नेपाल बैंक छिरिन्। जतिबेला उनी नेपाल बैंक आइपुगेकी थिइन्, त्यसबेला बैंक निकै कठिन परिस्थितिबाट गुज्रिरहेको थियो। काम गरेर देखाउनुपर्ने चुनौतीले भरिएको समय पनि थियो त्यो।

बिसं २०६१ साल कात्तिक १६ गते छैटौं तह अर्थात् अफिसरको इन्ट्री लेभलबाट नेपाल बैंक प्रवेश गरेकी समता हाल बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत हुन्। १५ वर्षको अवधि अनि अफिसर लेभलदेखि टप लेभलसम्मको यात्रा। यो यात्राले समतालाई बैंकरको परिचयसँगै पैसासँग जोडिएर आउने जस अपजसका घटनाहरुसँग साक्षात्कार गराएको छ। उनले बैंकमा काम गरेर पैसासँग जोडिएका तमाम कुरा सिकिन्। तर सबैभन्दा महत्वपूर्ण भने पैसालाई सँधै ‘लोभ’ बाट अलग राख्नुपर्ने मनोविज्ञान आत्मसात् गर्न सकेको बताउँछिन्।

निमित्त प्रमुख कार्यकारी अधिकृत बन्नु अघि समताले शाखाको अनुभवदेखि हरेक विभागमा कामको अनुभव गरिन्। जब निमित्त प्रमुख कार्यकारी अधिकृत बन्नुपर्ने दिन आयो त्यस कुर्सीमा बस्दा उनीभित्र एक किसिमको डर थियो रे ! मैले राम्रो गर्न सकिन भने के भन्लान् भन्ने उनलाई लागेछ।

‘अगाडि त कसैले केही भन्न सक्दैनथे तर काम गर्न सक्लिन् र ! भनेजसरी हेर्ने आँखाहरूलाई जवाफ पनि दिनु थियो। काम गर्दै गएँ। आत्मविश्वास बढ्दै गयो। कसैले औंला ठड्याउने अवस्था नआउने गरी काम गर्छु भन्ने आफूमाथि भरोसा थियो,’ उनले भनिन्, ‘जब तलबाट साइन गर्दै आएका फाइलहरुमा धमाधम गल्ति पक्डिन थालेँ, अनि पो ममाथि सबैको भरोसा बढ्न थाल्यो। तारिफ पाउन थालेँ। अहिले हाम्रो काम बैंकको पर्फर्मेन्समा झल्किन्छ। अहिलेको टिम एकदमै राम्रो बनेको छ।’

बैंकले गत पुस २५ गतेको वार्षिक साधारणसभामा २५% लाभांश पारित गर्‍यो। सेयरधनीहरूका लागि यो विशेष थियो किनकी उनीहरूले पछिल्ला २३ वर्षयता पहिलोपटक २५ प्रतिशत लाभांश पाएका थिए। सेयरधनीका लागि मात्र होइन समताका लागि पनि यो खुशी ल्याउने खबर थियो। लामो समयदेखि बैंकको अवस्थामा सुधार ल्याउने योजनाहरुमा त उनी पनि जोडिएकी थिइन्। यसैका लागि दुई/तीनवटा प्रोडक्ट आफैंले बनाएर अघि सारेकी पनि थिइन्। बिभिन्न विभागका प्रमुखहरू भएर काम गर्नुका साथै यसअघि लामो समय कर्जा विभागमा बसेकी समता अझ खुशी हुने अर्को डेटा हो, हालका दिनमा बैंकले खराब ऋणको हिस्सा २.७४ प्रतिशतबाट घटाएर २.६६ प्रतिशतमा झार्न सकेको छ।

‘हामी प्रगति उन्मुख नै छौं। एग्रेसिभ ग्रोथ भन्दापनि प्रोग्रेसिभ र सस्टेनेबल ग्रोथ होस् भन्ने नै हामी चाहन्छौं,’ उनी भन्छिन्, ‘ऋण लगानी गर्दा कतै पनि कसैले ‍औंला ठड्याउने गरी काम नगर्नु र आफ्नो इथिक्समा बसेर काम गर्नुपर्छ।’ बिगतमा ऋणका ६ वटा पोर्टफोलियो हेर्ने गरेकी उनी हाल पनि ऋण लगानी गर्दा ‘इन्टेन्स्नली इरर’ नहोस् भनेर विशेष सचेत गराइरहेकी हुन्छिन्।

‘निक्षेप र ऋण विस्तार दुवैमा नेपाल बैंक रफ्तारमा रहेको तथ्यांकले बताउँछ। बैंकले विगत ६ महिनामा ६ अर्ब ४ करोड ऋण विस्तार गरिसकेको छ। ६ महिनाको कुल ऋण विस्तारमध्ये पछिल्लो तीन महिनाको हिस्सा ५ अर्ब ८० करोड रुपैयाँ छ। बैंकले कुल ९८ अर्ब ४५ करोड रुपैयाँ ऋण विस्तार गरिसकेको छ।’ रंगरोगन गरेर उज्यालो बनाइएको भूगोलपार्क स्थित नेपाल बैंकको भवनभित्र आफ्नै फराकिलो कार्यकक्षमा उज्यालो अनुहार लगाएर समताले यो खुशी बाँडिन्।

सिस्टममा चले सफल

‘हामी अब पुरानै ढर्राको होइनौं नि त।’ समताकै आफन्तहरुले पनि अचेल त तिम्रो बैंक पनि प्राइभेटकै जस्तो सर्भिस दिने भएछ है भनेर सुनाउँदा मख्ख पर्दै उनले भन्ने वाक्यांश हो यो।

बैंकले प्रविधिमा निकै ठूलो फड्को मारिसकेको छ। बचतकर्तालाई घन्टौं लाइनमा राखेर सेवा दिने बैंकले अहिले केही मिनेटमै भुक्तानी दिन थालेको छ। बैंकका सबै शाखाबाट अत्याधुनिक बैंकिङ सेवा पाउन सकिन्छ। उनी भन्छिन्- हामीलाई सेवा गर्ने मौका दिनुस्। आइदिनुस् सेवा लिनुस् अनि कमी कमजोरी पनि केलाइदिनुस्।

इन्टरनल मिटिङ ११ बजेभित्र सक्ने त्यसपछि बिजनेसमा फोकस गर्ने नयाँ कल्चर सुरु गरेको पनि समताले बताइन्। बिहानै आएर पेन्डिङ फाइलहरु पल्टाउनु समताको नियमित काम नै हो। कर्जाका महत्वपूर्ण फाइलहरु हुन्छन्। कर्जा प्रवाह गर्दा दाग नलाग्नेगरी काम गर्नुपर्छ भन्ने उनको मुख्य सिद्धान्त पनि। उनी मानव संसाधन तथा पदपूर्ति समितिकी अध्यक्ष समेत हुन्। त्यहाँको जिम्मेवारी पनि सानो छैन। ‘अहिले त सिंगो बैंकको जिम्मेवारी काँधमा बोकेर हिँडेको छु जस्तो लाग्छ। यसले अझै गम्भीर बनाउने रहेछ,’ उनले अनुभूति बाँडिन्।

उमेर जम्मा ४२ वर्ष। समताले निकै छिटो खुड्किला चढ्दै गइन्। उनको प्रमोसन पनि धेरै भयो। नियमित बाटै योग्यता पुगेर सातौं तहमा पुगिन्। आठौं र नवौं तहमा पुग्न भने उनले खुलाबाटै भिडिन्। शाखा प्रमुख भएर तीन वर्ष पोखरा पुग्दा काखमा १ कक्षा पढ्ने सानो छोरो थियो। उताबाट फर्किएपछि मानव संसाधन विभागको प्रमुख भइन्। बिभिन्न विभागका प्रमुख पद सम्हालेर असिस्टेन्ट सिइओ हुँदै उनी डेपुटी सिइओ पदमा पुगेकी हुन्।

‘मैले बैंकमा जुन बेला काम गरें। ५२/ ५३ सालपछि बैंकको रिक्रुटमा एकदमै ग्याप भयो। एकैपटक पछि रिक्रुट भयो। त्यसैले पनि त्यसबेला रिक्रुट भएका हामीजस्ता धेरैको छिटो ग्रोथ भएको हो। फेरि म यहाँसम्म आइपुग्दा मेरो क्षमताले पनि साथ दिएको हो,’ उनी भन्छिन्।

जब उनी कर्जा विभागमा प्रमुख थिइन्, त्यसबेला बैंकिङ सेक्टरमा लिक्विडिटी एकदमै धेरै अनि कर्जाको ब्याजदर एकदमै घटिरहेको अवस्था थियो। तर नेपाल बैंकमा ब्याजदर बढी नै थियो। तत्कालीन सिइओ थिए देवेन्द्रप्रताप शाह। उनले समतालाई बोलाएर भने ‘अब हामी यसरी सस्टेन गर्न सक्दैनौं। ब्याज दर घटाउनुपर्‍यो ।’

त्यसबेला समताले सोचिन् ७ ८ अर्बको पोर्टफोलियो थियो १ प्रतिशत घटाउँदा ७ ८ करोड घाटा लाग्ने। ‘मैले प्रोडक्ट पेपर बनाएँ देवेन्द्र सरले १ घण्टा पेपर पढिसकेपछि बोर्डमा पेश गर्न भन्नुभयो। वहाँकै सपोर्टमा यसलाई अघि बढाइयो।’

समताकै कन्सेप्टमा बैंकका दुई तीनवटा नयाँ प्रोडक्टहरु आए। कन्जुमर लोनतिर फ्लेक्जी लोन ल्याउने समता नै थिइन्। ‘त्यो प्रोडक्ट यति राम्रो भयो नि अहिलेसम्म पनि त्यस लोनमा डिफल्ट हुने रेट एकदम कम छ। त्यो सम्झिँदा मलाई एकदम आत्मसन्तुष्टी मिल्छ।’- यसलाई बैंकको हितमा गर्न सकेको सबैभन्दा राम्रो काम भनेर उनी सम्झिन्छिन्। -‘बीचमा मैले रिकभरी हेरें। त्यहाँ पोलिसी पेन्डिङ थियो। त्यसबेला मैले नै रिकभरीलाई ट्रयाकमा ल्याएको हो। यसलाई प्रोसेसमा जाने बनाएकोमा पनि मलाई असाध्यै खुशी लाग्छ।’

समताका अनुसार हाल बैंकको मुख्य लक्ष्य भनेको डिपोजिट र लेन्डिङ नै हो। स्टेबल ग्रोथको लागि भने आगामी चार वर्षभित्र अहिलेको बिजनेस भोलुमलाई दोब्बर बनाउने लक्ष्य छ। पहिले डिपोजिटतिर खासै ध्यान नदिएपनि हाल बैंकले छुट्टै मार्केटिङ विभाग खडा गरेर लेन्डिङ र डिपोजिट दुवैलाई उस्तै गरी अघि बढाएको समताले बताइन्।

‘अहिले हाम्रो ग्रोथ एग्रेसिभ छैन। इन्डस्ट्री एभरेज नै छौं। तर हाम्रो क्रेडिट टिम एकदम राम्रो छ। यहाँको क्रेडिट नलेज त इन्डस्ट्रीमै सबैभन्दा राम्रो छ। प्रोपोजलहरु हेर्दा सोच्दै नसोचेको ठाउँबाट रेस्पोन्स आइरहेको छ। हामीले सोचेको टार्गेट मिट हुन्छ जस्तो लाग्छ।’ उनी आशावादी छिन्।

बैंकर परिवार

समताका श्रीमान ऋषिकेश भट्ट नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक छन्। एउटै क्षेत्रमा काम गर्दा परिवारले कुरा बुझ्ने समताको अनुभव छ। ‘हामी त घरमा पनि बैंक रिलेटेड कुराहरु नै बढी गरिरहेका हुन्छौं। केही कन्फ्युजन भए हामी एक आपसमा सेयर गर्ने गर्छौं।’- समताका अनुसार उनलाई बैंकिङ क्षेत्रमा लाग्न घचघच्याउने भने उनकी कान्छी नन्द सरिता अधिकारी रहिछन्। उनी नन्दलाई नै आफ्नो ‘ट्रु इन्स्पिरेसन’ भन्छिन्। सरिता अधिकारी राष्ट्र बैंकको ३० वर्षे सेवा अवधि पूरा गरी हालै रिटायर्ड भइन्। उनका श्रीमान पनि राष्ट्र बैंकमै कार्यरत थिए। समताकी जेठी आमाजुले पनि राष्ट्र बैंकमै आफ्नो करियर बनाएकी रहिछन्। घरका अधिकांश सदस्यहरु बैंकर भएकैले होला समताका १२ पढ्ने ठूलो छोरा दिवेशले पनि बैंकर बन्ने इच्छा सुनाइसकेका छन् रे।

बुवा आमाको गफ सुनिरहँदा ८ पढ्ने सानो छोरा शाश्वत भने अक्सर प्रश्नै प्रश्न तेर्स्याउँछन्- बुवा र मम्मीले बैंकमा गर्ने काममा के फरक छ? नोट कहाँ कसरी छापिन्छ? बैंकबाट पैसाको बण्डल झिक्दै ल्याउन मिल्छ मिल्दैन? बुवा र मम्मीमा को धेरै ट्यालेन्ट?

छोराले गर्ने यस्ता प्रश्नहरु सुनेर उनीहरु हाँस्छन्। कहिले समझदारीपूर्वक जवाफ दिन्छन् कहिले नाजवाफ पनि हुनुपर्छ।

१ कक्षा पढ्ने सानी छोरीलाई भने अझै पनि बुवा र आमाका बैंकबारे धेरै कुरा थाहा भइसकेको छैन। भर्खरै बुवा र आमाले काम गर्ने बैंकको नाम सही भन्न सक्ने भएकी छन्।

उनी बच्चाहरुलाई सँधै पैसामा लोभ गर्नु हुँदैन भन्ने सिकाउँछिन्। जे आफ्नो कामले कमाइन्छ त्यही मात्र आफ्नो हो भनेर सम्झाइरहन्छिन्। बच्चाले केही माग्यो भने पनि भन्ने बित्तिकै दिनुहुँदैन। पैसा कमाउन धेरै दुःख हुन्छ मिसयूज गर्नु हुन्न भनेर सानैदेखि बुझाउनुपर्छ भन्छिन् समता।

‘पैसाको काम गर्ने सेक्टरमा अर्काको पैसाको लोभ गर्ने बानी लाग्यो भने त बर्बादै हुन्छ। इथिकल भ्यालु सानैदेखि सिकाउनुपर्छ।’- उनले भनिन्।

बुवाआमाको ब्यस्तता बुझेर जेठो छोराले सघाउने भैसकेको छ। घरको ब्यवस्थापनका लागि एकजना सहयोगी छिन्। दैनिक तरकारी किन्ने जिम्मा भने श्रीमानको। जेठो छोरालाई घरायसी किनमेलकालागि दिइएको डेबिट कार्डले दैनिकी सरल भएको छ। समताले भने सरसामान किनमेलका लागि शुक्रबारलाई छुट्याएकी छन्। उनी खाद्यान्न र आवश्यक सरसामानको लिस्ट बनाएर राख्छिन् र शुक्रबार बेलुकी किन्छिन्। भान्छामा समताभन्दा बढी समय श्रीमानले नै बिताइरहेका हुन्छन्। बेलुकी उनी पुग्दा बच्चाहरु होमवर्क गरेर खाना पनि खाइसकेका हुन्छन्। बिहान भने बच्चाहरुलाई स्कुल बसमा चढाएपछि मात्र उनी बैंकरको भूमिकामा हुन्छिन् रे।

काकाहरुले बनाइदिएको बाटो

पकनाजोलमा जन्मिएकी समताका बुवा शशीराज पन्त सानैमा बितेपछि आमा र दिदीसँग संयुक्त परिवारमा हुर्किइन्। तीनै जना काका रविराज, ध्रुवराज, बृहस्पतिराज निजामती सेवामा थिए। भान्छा फरक भएपनि घर एउटै भएकाले छोरीहरुको हुर्काईमा काकाहरुको विशेष माया र अनुशासन झल्कियो।

लैनचौर कन्या हाइस्कुलबाट स्कुलिङ र शंकरदेवबाट एमबिए सकेकी समताका मामाहरुको जोडबल पनि लोकसेवा दिनु भन्ने तिरै थियो। तर पढाइ नसकी जागिर नखानु भन्ने काकाहरुको उर्दी। पढाई बिग्रेला भन्नेमा आमा र काकाहरु सचेत भएकै कारण पढ्ने क्रममा उनले जागिर थालिनन्। एमबिए पढ्दा पढ्दै उनको बिहे भयो। कमर्सियल बैंकमा जागिर खाने रहर हुर्काएकी समता ‘फर्स्ट जब’कै रुपमा नेपाल बैंक छिरेकी हुन्। ‘यता छिरेपछि अन्त जाने सोचाई पनि आएन।’- उनले भनिन्।

बिहेपछि नै करियरमा फोकस्ड भएकी समतालाई पढाईका क्रममा श्रीमानले निकै साथ दिए। एमबिएको अन्तिम परीक्षाका बेला सानो छोरालाई आफैंले स्याहारेर डेढ महिना पढाईका लागि माइती पठाइदिएको उनी अझै सम्झिन्छिन्। सासु ससुरा बिनाको एकल परिवारमा बच्चा हुर्काउँदै करियर अघि बढाउन धेरै नै समस्या भयो। बच्चाहरु बिरामी भएको बेला पनि समय दिन नसक्दा गिल्टी फिल हुन्थ्यो। तर श्रीमान श्रीमती मिलेर त्यो अवस्था पार गरेको उनले बताइन्।

‘पोखरामा ब्राण्च म्यानेजर भएर जानुपर्दा ठूलो छोरा ४ कक्षामा पढ्थ्यो। सानो १ कक्षामा। त्यस बेला पनि वहाँले नै पछिका लागि तिमीलाई सिक्ने अवसर हो भनेर पठाउनुभयो। अपरेसनको नलेज भएन भने पछि तिमीलाई समस्या पर्छ भन्दै श्रीमानले ठूलो छोरा आफूले काठमाडौंमा राख्नुभयो। म सानो छोरो च्यापेर पोखरा लागें।’- करियरका लागि मुटु मिचेर गरेका ‘सेक्रिफाइस’का फेहरिस्त लामा छन्। तर तिनै कठिन समयले आजको दिनसम्म ल्याइपुर्याएको जस्तो समतालाई लाग्छ। भनिरहन्छिन्, ‘परिवारको सहयोग भयो भने जस्तो अफ्ठेरामा पनि अघि बढ्न सकिन्छ।’

समताको टार्गेट अब ‘नेपाल बैंकको सिइओ’ नै हो। तर चाँडै करियर सकिने चिन्ता पनि उनलाई छ। ‘म त ५० वर्ष नै नपुगी रिटायर्ड हुन्छु। सकारात्मक सोचकी समताले भनिन्- ‘त्यसपछिको समय पनि बैंकिङ क्षेत्र निकट भएर नै बिताउन मन छ।’

-भावना शर्मा/बिजमाण्डू

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: