पुरुष एक चरित्र अनेक


प्रकाशित मिति :2020-02-02 11:49:27

-देबका के.सी-

पुष महिनाको जाडोमा कठ्याङ्ग्रिदै, केही अस्वस्थ महसुस गर्दागर्दै पनि अलि जरुरी नै भएकाले मैले एउटा यात्रा तय गरें । तराईको जाडो, निकै दिनदेखि घाम लागिरहेको थिएन । दिउँसै भए पनि अध्यारो थियो तराई । यात्राको लागि सार्वजनिक यातायात रोजें । मेरो गन्तव्यसम्म पुग्नलाई यस्तै गाडीबाट एक घण्टा समय लाग्थ्यो । गाडी सानो थियो । यात्रुहरू कोचाकोच गरि बसेका थिए । मैले मुश्किलले एउटा सिट पाएँ । बसेँ । गाडीमा मन बहलाउने गीतहरू बजिरहेका थिए । ती गीतहरू सुन्दै म पनि यात्राको लागि तयार भएँ ।

मेरो छेउमा एकजना महिला यात्रु हुनुहुन्थ्यो । आधा बाटो पुगिसकेपछि उहाँको यात्रा समाप्त भएछ । उहाँ ओर्लनु भयो । त्यो सिट खाली भयो र एकैछिनमा एक जना पुरुष त्यही सिटमा बसे, जुन सिटमा ती महिला बसेकी थिईन् । ती पुरुष कुनै फोर्समा कार्यरत जस्तो । खाईलाग्दो ज्यान । हेर्दा आर्कषक नै थिए । एकछिनसम्म चुप लागेर बसेका उनी मानसिक रुपमा केही बिचलित पनि देखिन्थे ।

केही समयपछि तिनले एउटा नम्बरमा फोन गर्छन् । जब उता फोन उठछ, फोनमा एकजना महिलाको आवाज आउँछ । कुराको लवज सुन्दा उनी श्रीमती हुनु पर्दछ । ती पुरुषले महिलालाई नानाथरी शब्द जोड्दै गाली गर्छन् । जुन शब्द म यहाँ उल्लेख पनि गर्न सक्दिन । ती शब्द सुन्दा मलाई अति नै सहिनसक्नु भयो र उनको मुखतिर आँखा तरेर हेरें । सायद उनलाई लाग्यो मेरो यी शब्दले मलाईसमेत असर गर्यो भनेर । अनि उनले आप्नो मुखलाई अलि कन्ट्रोल गरे ।

देबका के.सी

उनले फोनमा भनेका केही शब्दहरू यस्ता थिए, ‘म तेरो अनुहार हेर्न चाहन्न । माथिको कोठामा फ्यान छ, त्यस्मा तेरो सल लगाएर झुण्डेर मर्नु । तेरो अनुहार एक पल पनि हेर्न चाहन्न ।’ एताबाट ति महिलाको पीडादायी आवाज पनि आईरहेको थियो तर बोलीचाहिँ मैले बुझ्न सकिन । उनी बोल्दा बोल्दै पुरुषले फोन काटछन् ।

उनले श्रीमतिसँगको फोन काटिसकेपछि फेरि अर्को फोन नम्बर डायल गर्छन् । त्यो फोनमा पनि फेरि महिलाकै आवाज आउछ । ती महिलाले के बोलिन मैले बुझिन । तर उक्त पुरुष यताबाट भन्दै थिए, ‘सुन्न काली, कसम मैले बिहे गरेको छैन । मलाई विश्वास गर । मेरा शत्रुहरूले तिमीलाई मेरो बारेमा झुटो कुरा सुनाका हुन् । म झुटो होईन ।’ उ बोल्दै थियो, उताबाट फोन कट्यो अनि मोबाईल स्वीच अफ भयो । उस्ले त्यो नं. मा करिब २० पल्ट भन्दा धेरै फोन हान्यो । तर फोन खुलेन । लाग्छ यो महिलालाई उस्ले झुटो बोल्दै माया जालमा फसाउने प्रयास गर्दैछ ।

यति भैसकेपछि उ केही समय चुप लागेर बसिरहेको थियो । एकैछिनमा मोबाइलमा फेरि एक जना महिलाकै फोन आउँछ । ती महिलासँग उस्ले उती राम्रोसँग कुरा गर्दैन । ठाडो भाषा प्रयोग गरि बोल्छ । बोलीमा पटक्कै मिठास छैन । ती महिलाले उस्लाई प्लीज जसरी भए नि मलाई एक पल्ट भेट प्लीज भनेर सम्बोधन गरेको मैले प्रष्ट सुनें । मेरो बुझाईमा ती महिलालाई झुटो प्रेमको प्रलोभनमा पारेर लुटिसकेपछि पन्छिन खोज्दै थियो उ । हामीलाई थाहा छ, महिलामाथि हुने यस्ता घटनाहरूले महिलाहरूको समग्र पक्षमा असर गरिरहेको हुन्छ ।

माथिका यी तीन घटनाहरूलाई विश्लेषण गरेर हेर्दा के बुभ्न सकिन्छ भने किन महिला पुरुषप्रति यति कमजोर भएका होलान् ? के पुरुष बिना महिलाको जीवन रहँदैन ? किन महिला यति चाँडै पुरुषलाई विश्वास गर्छन् होला ? किन महिलाहरू आफूलाई दुःख र पीडा दिने पुरुषप्रति यति आशक्त भएका होलान् ? के पुरुषको साथबिना महिलाको अस्तित्व नै छैन त ? कति दिन महिलाहरू पुरुषको हिंसा, पीडा र अपमानहरू सहेर बस्ने ? यी यावत समस्याको समाधान एउटै हुन्छ, महिला शिक्षा र महिलास सशक्तिकरण ।

यहाँ मैले पुरुष भनेर सबै पुरुषहरूलाई सम्बोधन गरेको होईन । मैले यहाँ त्यस्ता पुरुषलाई सम्बोधन गरेकी हुँ, जस्ले यस्तै काम गर्नु भएको छ । यस्ता घटनाहरू प्ुारुषहरूमाथि पनि हुन्छन् र भएका होलान् मैले त्यो कुरा उल्लेख गरिन । किनकी औषतको कुरा गरेकि छु । यहाँ पुरुषको तुलनामा महिलाहरू बढी हिंसामा छन् । साथै म एक महिला भएको कारण महिलाका मुद्दा महिलाकै नजरमा हेर्ने मेरो आदत भैसकेको छ ।

आज महिलामाथि विभिन्न किसिमले हिंसा हुने गरेका छन् । यो त एउटा उदाहरण मात्र हो, एउटा प्रतिनिधि पात्र मात्र हो । यसरी महिलामाथि हिंसा हुने विविध कारणहरू छन् । जस्तै महिला आफूले आफैलाई कमजोर ठान्ने । हिंसा सहेर बस्ने र खुलेर बिरोध नगर्ने । पृत्तिसतात्मक सोच वा सामाजिक संरचना । पुरुषलाई मालिक ठान्ने प्रवृत्ति । महिलाहरूको आर्थिक परनिर्भरता तथा बेरोजगारी । सत्ता, सम्पति र शक्तिमा असमान वितरण वा पहुँच नहुन तथा महिलाहरूको कमजोर मानसिकता । परम्पराबादी सोच आदि कारणहरू महिला हिंसाका प्रमुख कारण हुन् ।

यी याबत समस्याको समाधान महिलाहरू पूर्ण शिक्षित र सशक्त भए भने हुन सक्छ । शिक्षित महिला स्वाभाविक रुपमा सशक्त हुने भएकाले महिला शिक्षा एकदमै जरुरी छ । त्यसैगरि महिला सशक्तिकरणको मापदण्डले आर्थिक, राजनैतिक र व्यवसायिक क्षेत्रमा महिलाहरूको सहभागिताकोे किसिम र मात्रालाई महिला सशक्तिकरणको घोतकको रुपमा लिईएको छ । शिक्षित र सशक्त महिला भएको खण्डमा अवश्य पनि महिलामाथि हुने यस्ता विभिन्न किसिमका हिंसाहरू आफै अन्त्य भएर जानेछन् भन्ने मेरो बुझाई छ । सम्पूर्ण महिला दिदी बहिनीहरूमा मेरो मनैदेखिको बिन्ति, तपाईंहरू सशक्त बन्नुस् । शिक्षित बन्नुस । तर बिन्ति दयाको पात्र कदापी नबन्नुस् । चाहे हामीमाथि आकासै किन नखसोस् । हामीले टेकेको धर्ती नै किन नफाटोस् । हिमाल जस्तै अडिग र समुद्र जस्तै थिर बनौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: