छाउपडीः गोठ भत्काउने कि प्रथा ?


प्रकाशित मिति :2020-02-04 14:42:43

संचार माध्ययमा अहिले सुदूरपश्चिममा छाउपडीको गोठ भत्काउने कार्यमा सामाजिक संस्था र राजनीतिक दलको होडबाजि चलेको खबर छापिएका छन् । प्रदेश सरकार र नेपाल प्रहरीसमेत छाउपडी गोठ भत्काउन लागि परेका तस्बिरहरू संचार माध्ययममा छापिएका छन् । एकजना उपल्लो महिला नेतृलाई फोन गरेर समय माँग्दा उनले समेत छाउगोठ भत्काउन जान लागेकाले फर्केपछि भेटौँ है भने पनि छाउपडी जस्ता कुरीतिविरुद्ध लामो समय कार्य गरेका हिसाबले यस विषयमा नलेखि रहन सकिन ।

महिनावारी हुनु भनेको पाप हो र यो बेला महिला अछुत हुन्छन् भन्ने मानसिकताबाट छाउ प्रथा मानिदै आईएको छ । यो बेला महिला अपवित्र हुन्छन् भन्ने आम हिन्दु मानसिकता छ । त्यसैले महिनावारी भएका समयमा महिलाले अरुलाई नछुने, घरमा अलग्गै कोठामा अछुत झै भएर बस्ने, घरको पानी, खाना लगायत अन्य सामग्री नछुने र धार्मिक कार्यमा सहभागि नहुँने सँस्कार छ ।

यो सँस्कार मेचिदेखि महाकाली सम्म फैलिएको छ । फरक यत्ति हो, सुदूरपश्चिममा छाउ भएका समयमा अलग्गै गोठमा बस्दछन् अन्यत्र अलग्गै कोठामा । नेपालका पूर्वी जिल्लाहरू र काठमाण्डौमा छाउलाई नछुने भएको भन्ने गरिन्छ । नछुने भएको बेलामा अलग्गै कोठामा राखि र महिलालाई अछुत भैm व्यवहार गर्ने गरिन्छ । त्यसमा पनि पहिलो पटक महिनावारी भएकी बालिकालाई अझ पनि सात दिनसम्म घरबाट अलग्गै राख्ने प्रचलन आम हिन्दु समाजमा व्याप्त छ । नेवारी समुदायले त्यसलाई गुफा राख्ने भन्दछ । गुफा राख्दा पनि महिलालाई अछुत झैँ व्यवहार गरिन्छ । तसर्थ, गुफा राख्ने प्रथा पनि नछुने भएको भनेझैँ छाउपडी प्रथा कै अर्को रुप हो ।

उत्तम निरौला

त्राशका आधारमा छाउपडीलाई समाजमा कायम राख्न एउटा अन्धविश्वासि कथाको परिकल्पना गरिएको छ । देवताका राजा ईन्द्र धर्तीमा आई राम्रा महिलासँग रमाईलो गरिरहेका बेलामा स्वर्गमा राक्षसले आक्रमणगरि उनको राज्य कब्जा गरिदिएछ । राज्यच्युत ईन्द्रलाई यो सहि नसक्नु भएपछि आवेशमा आई महिलालाई तिमिहरूका कारणले आफ्नो राज्य गुमेको भन्ने आरोप लगाउँदै महिलालाई छाउ हुने श्राप दिएछन् । जसका कारण आज पनि महिला यो पाप भोग्न बाध्य छन् । यो मिथकले महिलालाई आफू पापी भएको स्विकार गर्न धार्मिकरुपमा बाध्य पारेको छ ।

यदि महिनावारी भएका समयमा नियमित नबारेमा के के व्यहोर्नु पर्दछ भन्ने व्याख्या ऋषी पञ्चमीको व्रतकथामा उल्लेख छ । ऋषी पञ्चमीका दिन पढेलेखेका भनेका महिला पनि छाउको पाप पखाल्न उट्पट्यांग लाग्दो व्रत बस्दछन् । ऋषी पञ्चमीका दिन महिला कसरी व्रत बस्दछिन् भन्ने बारे पछि छलफल गरौँला ।

महिनावारी बारेको यो मिथक र सँस्कारले हाम्रो समाजमा पितृसत्तालाई किलो गाढेर बलियो बनाएको छ । छाउ वा महिनावारी महिलाको शरीरसँग जोडिएको अभिन्न जैविक प्रकृया भएकाले यसलाई महिलाबाट अलग गर्न सकिएन ।

माथि उल्लेखित मिथक, व्रतविधि र नछुने हुँदा गरिने सँस्कारले महिलाको शरीर धारण गर्ने मानिसहरू जन्मदै पापी हुन्छन् भन्ने धारणालाई चिरकालदेखि स्थापित गरेको छ । अहिले पनि अन्धविश्वासका आधारमा धर्मलाई बुझ्ने कतिपय मानिस यो हाम्रो धर्म हो भन्ने विश्वास गर्दछन् । मलाई लाग्दछ छाउपडी, नछुने हुने लगायत यस्तै अन्य प्रथाहरू धर्मका आधारमा पितृसत्तालाई स्थापित गर्ने जाल मात्रै हुन् । छाउपछि बारेर बस्ने हरेक महिलाले यो कुरा बुझ्न जरुरी छ । कसरी पुरुषको शरीर धारण गर्ने मानिसचाहिँ जन्मदै शुद्ध र महिलाको शरीर धारण गर्ने मानिस जन्मदै अशुद्ध हुन्छ ?

धर्मका बारेमा जान्ने भन्ने मानिस आज पनि छाउपडी अति वैज्ञानीक सँस्कार भएको दाबी गर्दछन् । उनीहरूको तर्क हुन्छ, यो समयमा महिलाको योनीबाट रगत बग्दछ । त्यस रगत भुईमा झरेमा दुषित गर्ने हुँदा उनीहरूलाई पवित्र स्थानमा जान दिन हुँदैन भन्ने उनीहरूको तर्क रहेको पाईन्छ । त्यसो भए महिनावारी हुने महिलाहरू कसरी पापी भए त? भनि प्रश्न गर्यो भने उनीहरूसँग उत्तर छैन । घुमाउरो तरिकाले उनीहरूले धर्मलाई पितृसत्ताको माध्ययम बनाएको स्पष्ट हुन्छ । त्यस्तै महिलालाई महिनावारी भएका समयमा शारीरीकरुपमा गाह्रो हुने भएकाले छुट्टै बसेर आराम गर्न पनि यो प्रथाले सहयोग गरेको उनीहरू बताउने गर्दछन् । तर अधिकांश समय घरको खाना पकाउने लगायतका काम गर्ने महिलो महिनावारीका समयमा अझ भारी काम गर्न बाध्य छिन् । सो समयमा अधिकांश महिलाहरू घाँस, मल वा बस्तुलाई खुवाउने पानीको भारी बोक्न बाध्य छिन् ।

पितृसत्ताले महिलालाई भौतिक सम्पत्ति भन्दा पनि नीच मानेको छ । परापुर्व कालदेखि मानिसको सबैभन्दा ठूलो सम्पत्ति गाई बस्तु, बोटविरुवा, धातुहरू जस्तै सुन रहँदै आएको छ । ति महिलाले त्यस्ता सम्पत्तिमा महिनावारी भएका बेला छोएका कारण चोख्याउनलाई सुनपानी छर्कने गरिन्छ । पुरुषले दिएको सुनजस्ता धातुले आफूलाई चोख्याउने भएपछि सुन वा पुरुषको सम्पतिभन्दा आफू अशुद्ध र नीच कोटीको भन्ने भावना महिलामा सानैदेखि जगाईन्छ । अब यी सबै कुरा बुझेर कोही महिलाले आफ्नो मुक्तिका लागि बोल्ने चेष्टा गरिन् भने मात्रै पनि धर्मविरोधी वा पापीनी भन्दै पुरा गाउँ नै लागेर उनीमाथी ज्यादती गर्ने पितृसत्ताको आम विशेषता हो । तसर्थ, देवता (कुल देवता, मष्टो ईत्यादी) र पितृसत्ताको त्राशमा छाउपडी प्रथा अडिएको छ ।

देवता र पितृसत्ताको त्राशमा छाउ भएका महिला छाउगोठ भत्काएकै भुईमा खुला आकाशमुनी रात गुजारेका समाचार आएका छन् । उनीहरूलाई आफू मरिन्छ भन्ने चिन्ता छैन किनकी उनीहरूको शरीर पुरुषको सम्पत्तिजति पनि महत्वपुर्ण छैन । बरु देवता र पितृसत्ताले लादेकोे पापीनीको त्राशमय दर्जा प्रति बफादार रहनु उनीहरूको सबैभन्दा ठूलो धर्म हो । परिणमस्वरुप गत तीन महिनामा मात्रै २ जनाले छाउगोठमा ज्यान गुमाएका छन् । जबसम्म यो मानसिकतालाई तोड्नसक्ने वैचारीक अभियानहरू सरकार, राजनीतिक दल र अभियानकर्मीले गाउँघरमा लैजान सक्दैनन् तबसम्म छाउपडी यथावत् रहने छ ।

अब लागौँ छाउगोठ भत्काउने अभियान तर्फ । छाउगोठ व्यक्तिले आफ्नो सम्पत्ति खर्च गरी नीजि जमिनमा बनाईएको हुन्छ । अथवा त्यो व्यक्तिको नीजि सम्पत्ति हो । छाउगोठ बनाउन श्रमको मुल्यसहित करिब करिब ३० हजार खर्च हुन्छ होला । त्यसरी व्यक्तिको सम्पत्तिलाई भत्काउने कार्य नेपालको संविधानको धारा २५ विरुद्ध छ । यदि भत्काई हालियो भने पनि राज्यले क्षतिपुर्ति दिनैपर्दछ । छाउपडी प्रथा बारेमा अदालतले गरेको आदेशमा पनि छाउगोठ भत्काउनु भन्ने आदेश कहिँकतै पाईन्न । गोठ बाँकी रहे बाख्राको खोर बनाउन त मिल्दथ्यो । गरिब किसानका लागि बाख्राको खोर पनि ठूलो सम्पत्ति हो ।

गरिब जनताले बनाएको छाउगोठलाई भत्काउनु भन्दा ति जनतालाई महिनावारी भनेको के हो ? महिनावारी हुनु किन पाप हैन ? देवताको हवाला दिँदै पितृसत्ताले महिनावारीमाथि कसरी राजनीति गर्यो ? भन्ने विषयमा समाजका हरेक मानिसलाई सचेत गराउन राज्य, सामाजिक सँस्था र प्रशासनले अभियान चलाउने हो भने छाउगोठ रहन्थे, छाउपडी प्रथा रहँदैन थियो । यो अभियान नितान्त साँस्कृतिक चेतनाको अभियान हुनुपर्दछ नकि अर्को विध्वंशकारी अभियान । छाउ गोठ भत्काउने अहिलेको फौजि अभियानले त गोठ भत्किए तर छाउ  प्रथा जिवितै रहयो । हामीले जनताको गोठ भत्काउन खोजेको हो कि प्रथा ?

(यो लेखकको नितान्त नीजि विचार हो । यसमा सम्पादक समूहको समर्थन हुनुपर्छ भन्ने छैन ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: