छाउगोठ भत्काउदै अछामी महिला


प्रकाशित मिति :2020-02-05 13:57:51

-तपेन्द्र कुँवर-

अछाम । साँफेबगर नगरपालिका वडा नं. १४ पातलकोटकी लक्ष्मी साउद अहिले महिनावारी भएको समयमा ढुक्कले घरमा सुत्न थालेकी छन् । दुई महिना अघि वडाले सुरु गरेको छाउगोठ भत्काउने अभियानको सुरुमा उनले बिरोध गरिन् । देउता रिसाउने डरले घरमा सुत्न मानेकी थिइनन् । तर छाउगोठमा बस्दा महिलाले पाएका दुःखका बारेमा वडाले चेतनामूलक कार्यक्रम गरेपछि उनी दुई महिनादेखि सुरक्षित रुपमा घरमै बस्दै आएकी छन् ।

महिनावारी भएका बेला छुट्टै गोठमा राख्दा विभिन्न जंगली जनावरको सिकार हुनुपर्ने, यौनजन्य हिंसामा पर्न सक्ने भएकाले यस्तो बेलामा घरमा बस्दा भगवान रिसाउने नभई खुशी हुने कुरा वडाले बताएपछि आफूमा चेतना आएको उनले बताइन् । भगवानको डरका कारण महिलाले भोग्ने पीडाविरुद्ध अहिले उनी सक्रिय रुपमा लागेकी छन् ।

वडा नं.१४ पातलकोटमा एक महिनामा १ सय २० भन्दा बढी छाउगोठ भत्काइएका छन् ।

Image may contain: mountain, tree, plant, outdoor and nature

वडा नं.१४ पातलकोटकी लक्ष्मी साउदले विगतमा छाउगोठमा बस्दा पाएको दूःख अझै विर्सन सकेकी छैनन् । उनी छाउगोठलाई ज्यानमारा छाउगोठको संज्ञा दिन्छिन् । छाउगोठ बस्दा आफूले पाएका पीडा अबका महिलाहरुले नपाउनुन् भनेर वडाले थालेको छाउगोठ भत्काउने अभियानमा उनी पनि सक्रिय भएर लागिन् । पातलकोटका केही ठाउँमा भत्काइएका छाउगोठ पुरुषका कारण फेरि निर्माण भए पनि अहिले पूर्ण रुपमा छाउगोठ मुक्त भएको भत्काएको खड्काको भनाई रहेको छ । छाउगोठ भत्काउने अभियान सफल भएकोमा दंग छिन् उनी ।

साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानकी हरिना ओडले छाउगोठमा बस्न छोडेको १५ वर्षभन्दा बढी भईसकेको छ । उनले सुरु सुरुमा सुरक्षित रुपमा घरमा बस्दा कम्ता प्रहार सहनु परेन । “के के पो सहिन र सुनिन मैले” ओडले भनिन्, “गाउँघरमा स्थानीयले मलाई छिमेकीको घरमा आवातजावत गर्नसमेत दिएनन् । धारामा पानी भर्न, बाँडेर खानसमेत रोक लगाए ।” छिमेकीसँग उनको दिनहुँ झगडा पर्न थाल्यो । छाउप्रथा नमानेकै कारण १५ वर्षसम्म ओडले गाउँलेको भनाई र विभेद सहनुपर्यो । पछि ओडकै वडा छाउ गोठमुक्त भयो । १५ वर्षपछि वडाका दिदीबहिनीलाई सम्झाई बुझाई गर्दा स्थानीय तहको निर्वाचन पछि देविस्थान अछाममा पहिलो छाउगोठमुक्त वडा घोषणा गर्न सफल भयो । यसर्थमा यो जित आफ्नो भएको उनको बुझाई छ ।

“देउता त हामी पनि मान्छौं । तर हाम्रा देउता त कहिल्यै रिसाएनन् ।” सुरक्षित रुपमा घरमा बस्दा अहिलेसम्म कुनै अनिष्ट नभएको उनको भनाई छ । देविस्थानका महिनावारी हुने सबै महिला छाउगोठ भत्काएर सुरक्षित रुपमा घरमा बस्न थालेको ओडले बताइन् ।

Image may contain: one or more people, outdoor and nature

साँफेबगर नगरपालिका वडा नं.७ रिडिकोटकी ७२ वर्षीया कालि सुनार आफूले पाएको जस्तो दुःख अरुले महिला दिदीबहिनीले पाउनु नपरोस भनेर छाउगोठ भत्काउने अभियानमा सक्रिय भएकी छन् । छाउ भएका बेला बलात्कृत हुनेदेखि सर्पले टोकेर वा चिसोले कठ्याग्रिएर मृत्यु हुने गरेका घटनाले आपूmहरुलाई झस्काउने गरेको उनले बताइन् ।

वडा नं.८ चण्डिकाकी कालि ताम्राकारले पनि छाउगोठमा बस्न छोडेको १८ वर्ष पुगेको बताइन् । १८ वर्षसम्म महिनावारी भएका समयमा सुरक्षित रुपमा बस्दा कुनै समस्या नभएको उनले बताईन् । आफूलेमात्रै नभई छोरीलाई समेत छाउप्रथा मान्नबाट टाढै राखेकी उनले भनिन्, “हामी देउता मान्छा । तर छाउ मान्दैनौं ।”

साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथमा बस्ने निरञ्जना शाह पनि अहिले छाउगोठ भत्काउने अभियानमा सक्रिय छन् । महिनावारी हुनु हरेक महिलाका लागि जीवनको सबैभन्दा ठूलो खुशी र सुखद् अनुभूति भएको शाहको भनाई छ ।

Image may contain: one or more people, people standing, tree, sky, outdoor and nature

साँफेबगर नगरपालिका वडा नं.५ नवाठानाकी नरपता बुढाले सुरक्षित रुपमा घरमा बस्न थालेको १७ वर्ष पुगेको बताइन् । उनी महिनावारी भएको बेला सुरक्षित रुपमा घरमा मात्रै बसेकी छैनन्, महिनावारी भएका बेला खाना पकाउने, पानी ल्याउने, घाँस काट्ने र भैंसी दुहुनेदेखि सकेसम्मका सबै काम आफै गर्ने गरेको बताउँछिन् ।

महिनावारी हुँदा आफ्नो छोरीलाईसमेत गोठ नपठाएकी उनी अहिले छाउप्रथा विरुद्ध गाउँगाउँमा चेतना फैलिएपछि महिलाहरु घरमै बस्न थालेको देख्दा खुशी लागेको उनले बताइन् ।

अधिकारकर्मी पशुपति कुँवर छाउगोठ अन्त्यको लागि छाउगोठ भत्काउने सरकारी रणनीति असाध्यै सकारात्मक हो भन्छिन् ।

अब छाउगोठको अन्त्य गरेर सुरक्षित रुपमा घरमा बस्नको लागि छाउगोठ भत्काउनुको विकल्प अन्तिम भएको उनी बताउछिन् ।

जिल्लालाई छाउगोठमुक्त बनाउने अभियानमा सक्रिय कुँवर छाउगोठ भत्काउने क्रममा महिलाहरुले पूर्ण रुपमा सहयोग गरेको अनुभव सुनाइन् ।

गोठ भत्काउने क्रममा केही पुरुषले विरोध गरे पनि छाउगोठ भत्काएपछि सुरक्षित रुपमा महिला घरमा बस्न पाएकोमा महिलाहरु निकै खुशी भएको पनि कुँवरको भनाई छ ।

मुलुकी अपराधसंहिता ऐन २०७४ को दफा १६८ को उपदफा ३ ले महिलालाई रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा अन्य कुनै किसिमको अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन भन्ने व्यवस्था गरेको छ । यस्तै, यस ऐनको दफा ४ ले त्यस्तो कसुर गरेमा तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: