चोथाले आईमाईदेखि उग्र महिलावादीसम्म


प्रकाशित मिति :2020-02-05 14:15:32

-सावित्रा ढकाल-

झन्डै पच्चीस वर्ष अगाडिको कुरा हो, म मेरो एकजना आफन्तसँग गोरखा बजारको कुनै पसलमा समान हेर्दै थिएँ । मैले हरियो कुर्ता र सेतो सलवारमा सेतै सल ओडेको थिएँ । एक जना बुवा मेरो छेउमा आएर भन्नु भयो, यति सानै उमेरमा यस्तो अनर्थ भएछ कठै ! के गर्छौ छोरी चित्त बुझाउ । वर्ष धेरै बिते, ठूला ठूला परिवर्तनको ईतिहास लेखियो तर महिलाहरूलाई यस्ता प्रश्न सोधिने क्रम रोकिएको छैन । केही महिना अगाडि मात्र कार्यालयको कामको सिलसिलामा म धादिङ गएको थिएँ । कार्यक्रम चल्दै थियो, दिउँसोको खान खाने बेलामा एक जना महिला सहभागी मेरो छेउमा आएर सोध्नु भयो, हजुरको परिवारमा को को हुनुहुन्छ ? दुई छोरीहरू, श्रीमान र म भने पछि उहाँले आश्चर्य मान्दै अर्को प्रश्न गर्नु भयो, मैले किन सोधें त थाहा पाउनु भयो होला नि ? हाम्रो गाउँ घरतिर त श्रीमान हुनेले चुरा पोते नलगाई कहाँ हिड्न पाईन्छ र यसरी ?

एक पटक पोखरा जाने क्रममा काठमाडौँ एयरपोर्टमा जहाजको उड्ने समय कुरेर बसेको थिएँ । एक जना पाको उमेरको बुवाले कहाँ जाने नानी भनेर सोध्नु भयो । मैले पोखरा जाने भनेपछि उहाँले फेरि सोध्नु भयो, नानीको घर पोखरा ? मैले मेरो घर त चितवन भनें । उहाँको अर्को प्रश्न थियो माइती पोखरा ? मैले भनें होईन बुवा मेरो माइती त गोर्खा हो । बुवाको जिज्ञासा मेटिएन सायद, पुनः प्रश्न गर्नु भयो । श्रीमान पोखरामा काम गर्नु हुन्छ हो ? मैले भनें, होईन म मेरो आफ्नै कामले पोखरा जान लागेको । बुवा रोकिनु भएन । ठिक गरेउ छोरी । काम गर्नु पर्छ । श्रीमान घर माइती मात्र भनेर बस्नु हुन्न । मैले उहाँको अनुहारमा अनौठो गरि हेरेछु सायद । बल्ल उहाँ रोकिनु भयो ।

सात आठ वर्ष अगाडि बालविवाह सम्बन्धी अनुसन्धानको क्रममा म र एकजना साथी कपिलवस्तुको एउटा गाउँमा गएका थियौं । हातमा चुरा नदेखेपछि एकजना आमाले मेरो साथीलाई किन चुरा नलगाएको भनेर सोध्नु भयो । घडी लगाएको छु नि त, काममा हिँड्दा झन्झट हुन्छ । चुरा खासै मन लाग्दैन जस्ता कुनै जवाफले उहाँको चित्त बुझाउन सकिएन । मेरो साथीको अन्तिम जवाफले भने आमा चुप लाग्नु भयो, साथीको जवाफ थियो, श्रीमान्लाई सुत्ने बेला मेरो चुराले बिझायो रे क्या ! अनि श्रीमानलाई असजिलो हुने काम गर्नु भयो त !

चितवन हुँदा मेरो एकजना छिमेकी बुवा म भेट भएपछी मलाई सधैं प्रश्न गर्नुहुन्थ्यो । हरेक पटक उहाँको एउटा प्रश्न भने दोहोरिरहन्थ्यो । आईमाई मान्छे भएर पनि तिम्रो तालुको कपाल किन खुईलिएको ? जवाफ पनि के के दिनु । कहिले कपालले लिङ्ग छुट्याउन सकेन होला नि भनेर टार्थें । कहिले बैज्ञानिकको तालुमा कपाल हुन्न रे नि त भनिदिन्थें । केही महिना अगाडि लामो समय पछिको भेटमा उहाँले आश्चर्य मान्दै भन्नु भयो – बाँकि रहेको कपाल पनि फुलेछ त । मैले हाँसेर उत्तर दिएँ, भेरी भेट हुने मौका मिल्यो भने मेरो कपाल फलेको देख्नु हुन्छ बुवा ।

यी त केवल उदाहरण हुन् । महिलाहरूले यी र यस्ता प्रश्नको जवाफ हरेक दिन दिनु पर्छ । प्रश्न कपालको लम्बाई, कपडाको रंग, खाली निधार, जस्ता नितान्त व्यक्तिगत कुरासंग जोडिएका हुन्छन, महिलाहरूको बौद्धिकता, कामप्रतिको लगनशिलता, पेशागत जीवनका प्रगति र उपलब्धिसंग उनीहरूलाई सोधिने प्रश्नको कुनै तालमेल हुँदैन ।

औपचारिक तालिम गोष्ठी संचालनको क्रममा होस् वा अरु कुनै भ्रमण । सगैं गएका पुरुष साथीहरू अनुमान पनि गर्न सक्दैनन् कि महिला सहकर्मीहरूले कस्ता कस्ता प्रश्नको सामना गरेका हुन्छन् । औपचारिक कार्यक्रमको बारेमा त समिक्षा गरिन्छ । सफलता र असफलताको जस अपजस संस्थाले लिन्छ तर महिला कर्मचारीहरूले सामना गरेका यस्ता प्रश्नहरू उनीहरूको निजी चुनौती हुन्छन् र महिलाहरू यसको एक्लै सामना गर्छन् ।

प्रश्न गर्नेहरूलाई यत्ति पनि हेक्का हुँदैन कि कसैलाई पनि आफ्ना ब्यतिगत कुरामा अरुको अनाबश्यक चासो मन पर्दैन । महिलाहरू यी र यस्ता प्रश्नको जवाफ रहरले होईन, बाध्यताले दिँदैछन् । महिलाहरूले उनीहरूमाथि उठेको प्रश्नको जवाफ दिनुपर्ने चुनौती एकातिर छ भने आफ्ना कुरा सुनाउनु पर्ने अर्को जिम्मेवारी छ । त्यसकारण महिलाहरू नचाहेर पनि धेरै बोल्न बाध्य छन् ।

एउटा परीयोजनामा काम गर्ने क्रममा एक जना साथीको प्रश्न म अहिले पनि सम्झन्छु । सावित्राजी तपाई बैठक गोष्ठीहरूमा किन ठूलो स्वरले बोल्नु हुन्छ ? तथ्यगत कुराहरू त सानो स्वरले बोल्दा पनि हुन्छ नि होईन र ? मेरो जवाफ थियो “म मेरा कुरा सुन्न नचाहनेहरूसंग बोल्दै छु, मेरा शब्द र तर्क बुझाउन पहिला त सुनाउनु पर्यो नि ! पुरुष प्रस्तुतकर्ताले आफ्ना कुरा बुझाउँदा पुग्छ तर महिला प्रस्तुतकर्ताले सुनाउन र बुझाउन दुवै पर्छ । बोल्दै गर्दा मलाई लाग्छ, नीति निर्माता र निर्णयकर्ताहरूले मेरा कुरा नसुनेर मात्र हो, सुने भने अबश्य बुझ्नेछन् । मेरो ठूलो आवाज उनीहरूलाई सुन्नको लागि तयार गराउने प्रयास हो ।”

मलाई कहिलेकाँही ‘मयल’ त raise your voice, improve your argument” भन्ने तर्क नै पुरुषबादी र पुर्वाग्रही लाग्छ । बालविवाह गलत हो भन्ने बुझ्नका लागि हामीसंग तथ्यांकको अभाव छ र ? कि अनुभवको कमि छ ? अनि किन बालविवाहको उन्मुलन राज्यको प्राथमिकतामा पर्दैन ? किन बालविवाह जस्तो गलत अभ्यासले आज पनि निरन्तरता पाईरहेको छ ? छाउपडी प्रथाले महिला र किशोरीको ज्यानसमेत गएको तथ्यांकको अभावले यो कुप्रथाले निरन्तरता पाएको हो जस्तो लाग्छ ? त्यसो हो भने सुदूर पश्चिमलाई एकछिन छोडौं, काठमाडांैका शिक्षित घर परिवारहरूलेसमेत किन महिनावारी छुवाछुत जस्तो कुप्रथा त्याग्न सकेका छैनन् ? निर्मलाको लागि न्यायको माग गर्दै राजधानीदेखि देशका प्रमुख शहरसम्म उठेको आवाजमा कुनै तर्क थिएन त ? निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको राजीनामाको सवाल होस् वा सभामुखमा उम्मेदवारी, यसमा शिवमायाको तार्किक अडानको कुनै कमि थियो ? धेरै निरुत्तरित प्रश्न छन्, धेरै तर्कहीन उदाहरण छन् ।

महिलाहरूको मुद्दा अगाडि ल्याउन सधैं तत्थ्यले काम गरेको छैन । त्यो तथ्यलाई नसुन्नेहरूको जमात ठूलो छ हाम्रो वरिपरि । महिलाहरू उनीहरूलाई समाज, राज्य, धर्म, संस्कृतिले गरेको बेवास्ताको विरुद्ध पनि बोल्नु छ । अनि त उनीहरू धेरै बोलिरहेका छन् । चर्को आवाजले बोलिरहेका छन् । महिलाहरूलाई जति बेवास्ता गरे पनि, उनीहरूमाथि जति प्रश्न गरे पनि चुपचाप सुन्नु र सहनु पर्छ भनेर सिकाउने समाजले महिलाहरू बोलेको सहनै सकिरहेको छैन । हिजो धेरै बोल्ने महिलाहरूलाई चोथाले आईमाई भनिन्थ्यो, आज उग्र महिलावादीको ट्याग लगाउने क्रम बढ्दो छ । यहाँनेर श्याम तमोटले लेखेको नेपथ्यको “गाउँ गाउँबाट उठ” बोलको गीतले “साथमा केही नहुनेहरू, आवाज लिएर उठ” भन्दै गरेको सशक्त आव्हानलाई सम्झन मन लाग्यो । आर्थिक, राजनैतिक, सामाजिक रुपमा शक्तिबिहीनहरूको सशक्त हतियार नै आवाज हो, महिलाहरूले यो कुरा बुझ्न थालेका छन् । त्यसैले त चोथाले आईमाई भने पनि, उग्र महिलावादीको बिल्ला लागे पनि महिलाहरू बोल्न छाडेका छैनन् । यसै गरि आवाज उठ्दै गयो भने थोपा थोपा मिलेर समुन्द्र बने झैं एक एक आवास मिलेर एक दिन चित्कार बन्नेछ । आशा गरौँ यो चित्कार परिवार, समाज र राज्यले अवश्य सुन्ने छ, छिट्टै ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: