देउताको विकल्प र भरोसा दे सरकार


प्रकाशित मिति :2020-02-11 14:21:09

-केशवी जोशी-

छाउ प्रथाको त्रासमा बाँचिरहेको मध्य र सुदूरपश्चिम अहिले झनै ठूलो चपेटामा छ । ‘दोस्रो दर्जा’का महिला पनि अहिले झनै पीडामा छन् । छाउगोठ भत्काउन र छाउपडी प्रथा हटाउन सरकारले लिएको दृढ संकल्पले त्यहाँ सन्नाटा छाएको छ । अहिलेसम्म करिब १५ सयको हाराहारीमा छाउगोठ भत्काइएका छन् । छाउगोठ भत्काएपछि, महिनावारी बार्नका लागि पाल, ओडार, जस्ता झनै असुरक्षित स्थानको प्रयोग भएको छ । जसले गर्दा सबैतिरबाट सरकारको उक्त अभियानको आलोचना पनि थालिएको छ ।

अझ बढी त कर्णाली र सुदूरपश्चिका काठमाडौंमा बस्ने शिक्षितहरू नै यसको आलोचना गरिरहेका छन् । ‘आफ्नो गाउँ आफै बनाआंै’ भन्ने संकल्प भने उनीहरूमा छैन । उनीहरू भन्छन्, छाउपडी त्यहाँको संस्कार बनिसकेको छ । यति सजिलै हट्ने देखिदैन । त्यसो भए संस्कार भनेर चुप लागेर बसिरहने त ? प्रश्न अनुत्तरित हुन्छ । उनीहरू परिवर्तन चाहेको बताउँछन् । कस्तो परिवर्तन, छाउपडी निर्मुल या सुधारिएको छाउपडी ? बोल्न सक्दैनन् । अर्काेतिर सरकारले बिना गृहकार्य छाउगोठ भत्काउने काम गर्यो । महिनावारी बार्न महिलाहरूको लागि विकल्प दिनु पथ्र्यो । तर, छाउगोठको विकल्पक के ? कसैले सुझाएको देखिएन । कसैले पनि आफ्ना घरका मानिसलाई देउता रिसाउँदैन्, रिसाए हेरौंला भन्न सकेनन् ।

मध्य र सुदूरपश्चिमका जिल्ला पुगेका र महिनावारी बारिरहेका, छाउगोठमा बसेका महिलासंग प्रत्यक्ष कुराकानी गरेको र दुःख देखेको र बुझेको बताउने काठमाडौंका शिक्षितहरु भने सरकारको छाउगोठ भत्काउने कार्यको प्रशंसा गरिरहेका छन् । सरकार पनि मख्ख छ । छाउगोठमा बस्नु पर्दाको पीडा कति हुन्छ, देख्नेलाई भन्दा भोग्नेलाई थाहा हुन्छ । राजधानीबाट मात्र आवाज उठाएर केही हुदैन । सरकार जति कठोर बन्दै गयो, त्यहाँ महिलाको जनजीवन त्यति नै कष्टदायी बन्ने पक्का छ । पुरुषले त झन् यो विषयलाई महत्व दिदैनन् । जसले गर्दा मनरोगी महिलाको संख्या बढ्ने पक्का छ ।

केशवी जोशी

छाउपडी प्रथाविरुद्ध जनस्तरबाट आवाज उठ्नुपर्छ । त्यो आवाज उठ्नका लागि सरकारले जनचेतनाको आवाज बुलन्द बनाउनु पर्छ । त्यहाँका छोरी, बुहारीले छाउ प्रथाकाविरुद्ध बोल्न नसकुन्जेल छाउपडी प्रथा हट्न सम्मभव छैन । आज छाउगोठ भत्काएर छाउपडी मुक्त घोषणा गरिएका गाउँ केही दिन मै छाउगोठयुक्त बन्ने छन् । अशिक्षा, जनचेतनाको अभाव, सरसफाईको अभाव र स्वाथ्य सेवाको अभाव भोगिरहेका ती गाउँहरूमा जब कोही बिरामी हुन्छ, पहिले उ धामी र पुरोहित कहाँ पुग्छ, अनि देउता रिसाएको देखिन्छ । कारण छाउ नबारेको देखिन्छ । अर्थात महिनावारी भएका बेला महिला घरमा बसेकोले त्यस्तो संकट आएको निक्र्याैल गरिन्छ ।

बिरामी हुँदा धामी र पुरोहित भन्दा चिकित्सक कहाँ जान सक्ने अवस्था, औषधि सजिलै पाउँने अवस्था नहुन्जेल यो प्रथा कायम रहन्छ । किन कि जो कोही पनि बाच्न चाहान्छ, आफ्नो परिवारलाई बचाउन चाहान्छ । जसले जे सल्लाह दिन्छ उ त्यही मान्छ । उसंग बिरामी च्यापेर शहर, बजार जान सक्ने आर्थिक अवस्था हुदैन । अनि, उ पुरातन सोचमा बाँच्न विवश हुन्छ । गाउँमा धामी, झाक्री सजिलै उपलब्ध हुन्छन् । तिनीहरूको शरणमा जानुको विकल्प छैन । सामान्य रुघाखोखी, झाडापखाला लाग्दा र टाउको दुख्दा सिटामोलको अभाव खेपिरहेका त्यहाँका जनताले भगवानको भर नगरी कसको गर्ने ? सरकारले दरो भरोसा दिन नसकुन्जेल जस्तासुकै कार्यक्रम अगाडि ल्याए पनि छाउपडी प्रथा हटाउन गाहृो छ । सरकारले भगवान भरोसाको विकल्प दिनुपर्छ । उचित शिक्षासंगै उचित स्वास्थ सेवा पनि दिनु पर्छ । नत्र देउता रिसाउने डर कहिले सकिदैन । अर्थात छाउगोठ बनिरहन्छन् । त्यहाँको आधारभूत आवश्यकता पुरा गरेर सरकारले म नै देउता हु, ममा विश्वास गर भन्नसक्नु पर्छ । अन्धविश्वासबाट बाहिर आउन सहयोग गर्नुपर्छ ।

खान, बस्न र लगाउने लुगाकै समस्या व्यहोरिरहेका परिवारहरूमा छाउ प्रथा झन् भयावह छ । सरकारको ध्यान त्यता जान जरुरी छ । छाउगोठबाट घरमा सुत्न सक्ने वातावरणको निर्माण गर्ने कार्य पनि सरकारकै हो । समाजबाट वा समाजका अगुवा, धामी, पुरोहितलाई सद्भावना दूत बनाएर उक्त वातावरणको निर्माण हुने अपेक्षा राख्न सकिन्छ, तर विश्वास हैन । किन भने उनीहरूको अन्तर आत्माबाट छाउ प्रथाको सोच जानसकेको हुदैन । अहिले सरकारको कर र डर दुवैबाट केही विचलित अवश्य भएका छन् । जुन द्वन्द्वकालमा देखिइसकेकोे हो । राम्ररी अध्ययन गर्ने हो भने त्यतिबेला बाहिर नआए पनि डर र त्रासका कारण छाउगोठबाट घरमा सुतेका किस्सा त्यहाँका केही महिलासंग छन् । तर, माओवादीले शान्तिको धार समातेसंगै त्यहाँको अवस्था पुरानै रहन पुग्यो ।

त्यस्तै, २० वर्षदेखि काम गर्दै आएका सरकारी र गैर सरकारी संगसंस्थाहरूले छाउपडी गोठ मुक्त घोषणा गरेका गाउँ फेरि पुरानै सोचमा फर्किएका उदाहरण पनि छन् । सकारले किन त्यस बारेमा अध्ययन गर्न जरुरी देखेन र मुढेबलले छाउगोठ भत्काउने अभियान अगाडि बढायो ? त्यसको शिकार महिलाहरू नै बन्न पुगे । किन कि छाउ प्रथा उनको मनको डर हो । वाध्यता र मायाका कारण उनीहरू आफू मरेर पनि परिवार बचाउन चाहान्छन् । तर, परिवार समाज भने उनीहरू मरे पनि हुन्छ तर, देउता भने रिसाउनु भएन सोच्छ । हो, यही सोचलाई भत्काउनु छ । तिमीहरूका बारेमा समाज सोच्दैन भने तिमीले समाजको ठेक्का किन लिने ? भनेर त्यहाँका दिदी बहिनीहरूको आवाज छाउ प्रथाविरुद्ध उठानउन सक्नु पर्छ ।

महिनावारी बार्न बनाएका छाउगोठ त देखिने थिए र भत्काउन सजिलो भयो । तर, छाउगोठ नभएका मध्य र सुदूरपश्चिमका जिल्लाहरूमा महिनावारी भएका महिला बाख्रा, गाई भैसीका गोठमा समेत सुत्ने गर्छन् । के यो अवस्था छाउगोठ भन्दा कम खतरनाक छ ? अब विचार गरौ, त्यहाँ कतिको सरसफाई होला, के ती महिलाहरूले सेनेटरी प्याडका बारेमा सुनेका होलान ? कतिपय ठाउँमा कट्टु लगाउने र कपडाको प्रयोग बारेमा समेत ज्ञान छैन । सेनेटरी प्याड किनेर प्रयोग गर्न सक्ने आर्थिक स्थिति गाउँमा पक्कै छैन । कट्टु र कपडाको प्रयोग गर्न सकिन्छ भनेर कसले सिकाउने ? यस्ता विषयमा बोल्नु भनेको त ठूलो कसरत गर्नु पर्छ । झन् मनाउन त सकस नै हुन्छ ।

जबसम्म त्यहाँका महिलाहरूको चेतना, आर्थिक र सामाजिक स्थिति पुरुषसरह पुग्दैन्, छाउ प्रथाको अत्याचार बेहोरी रहन्छन् । तर, छाउगोठ त भत्काउन सकिन्छ । जुन कार्य सरकारले अहिले गरिरहेको छ । यो धेरै पहिले नै गरिसक्नु पथ्र्योे । कानून बनेको चार वर्ष हुनलाग्दा बल्ल सरकारले आट गर्यो तर, बिना अध्ययन । चार वर्षसम्म सरकार छाउपडी गोठविरुद्ध उजुरी पर्ला र कारबाही अगाडि बढाउने भन्दै बसिरह्यो । कसैले उजुरी गर्न सकेनन् । समाज र परिवारबाट अलग हुनुपर्र्ने डरले महिलाहरू चुपचाप महिनावारीको पीडा सहिरहेका छन् ।

समाजमा विद्रोह गर्ने साहस कसरी आउला र तिमी विद्रोह गर पछाडि म छु भन्ने को होला ? कत्तिको महिलामैत्री छ त्यहाँको समाज, जस्ता कुराहरूको बारेमा बुझन् जरुरी मानेन सरकारले । परिवारबिना कसरी बाँच्ने अनि, समाजबिना परिवार कसरी बस्ने ? समाजबाट अलग्गिनु भन्दा छोरी बुहारी त्याग्न सक्छ परिवार । तर यदि यो समस्या छोरा मान्छेको हुँदो हो भने समाज कायापलट हुन्थ्यो कि !

(नोटः यो लेखकको नीजि विचार हो ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: