लैङ्गिक समानता र महिलावाद


प्रकाशित मिति :2020-02-17 12:32:18

–सावित्रा ढकाल–

युएन ओमनले संचालन गरेको अभियान जेनेरेसन ईक्वालिटीले सामाजिक मिडीयामार्फत लैङ्गिक समानता सम्बन्धी जानकारीमूलक सूचनाहरू सम्प्रेषण गर्दछ । त्यस अन्तरगत एउटा विषय छ, जसमा तपाईंलाई महिला र पुरुषले समान अधिकार र अवसर प्राप्त गर्नु पर्दछ भन्ने लाग्दछ ? भन्ने प्रश्न गरिएको छ । लाग्छ भन्नेलाई तपाईं महिलावादी भएकोमा बधाई छ भनिएको छ भने लाग्दैन भन्नेलाई फेरि प्रयास गर्न अनुरोध गरिएको छ । यसले महिलावादीहरू उग्र आन्दोलनकारी होईनन्, उनीहरू मानव अधिकारवादी हुन् भन्ने सन्देश दिएको छ । महिला अधिकारलाई मानव अधिकारको रुपमा स्थापित गर्नका लागि अन्तर्राष्ट्रिय स्तरदेखि नै धेरै प्रयासहरू भएका छन् । महिलाहरूलाई मानवको रुपमासमेत गणना नगर्ने कुनै क्षेत्र वा राष्ट्र विशेष चरित्र नभई विश्वकै साझा समस्या हो । त्यसकारण महिला अधिकार स्थापनाको लागि विभिन्न अन्तर्राष्ट्रिय अभियानहरू संचालनमा आएका छन् । लैङ्गिक समानताको क्षेत्रमा आज हामी जुन रुपमा खुलेर बोल्ने र काम गर्ने हैसियत राख्छौं, यो रातारात प्राप्त भएको उपलब्धि भने होईन ।

पहिलो पुस्ताको महिलावादी आन्दोलन उन्नाईसौं शताब्दीको पछिल्लो समयदेखि २० औं शताब्दीको शुरुआतसम्म संचालित भएको मानिन्छ जसले महिलाको मताधिकारलाई समानताको मुद्दा बनाएको थियो । मताधिकारको आन्दोलन महिलाको लागि मात्र नभएर काला जातीका पुरुषहरूका लागिसमेत लक्षित गरिएको थियो । मताधिकारबाट शुरु भएको आन्दोलनले शिक्षा, रोजगारी र सम्पत्तिमाथिको अधिकारका मुद्दालाई समेत उठाएको थियो । यो लहरको आन्दोलनले अमेरिका लगायत विभिन्न पश्चिमी राष्ट्रहरूलाई राम्रो प्रभाव पार्यो ।
पश्चिमी राष्ट्रहरूमा पहिलो पुस्ताको महिलावादी आन्दोलन चलिरहेको बेला नेपालमा राणाहरूको जहानिया शासन थियोे । नेपालमा यो कालखण्ड योगमाया न्यौपानेको नेतृत्वमा सांस्कृतिक र सामाजिक अभियान संचालन गरेको समय हो । आफ्ना मागलाई राणा शासकहरूले जालझेल गरेर पूरा नगरेपछि उनले आफ्ना ६८ जना अनुयायीसहित अरुण नदीमा हाम फालेर देह त्याग गरेको ईतिहास छ । योगमायाले सन् १९१८ तिर नै महिला अधिकारको लागि नारी समिति गठन गरेर सती प्रथा उन्मूलनको लागि अभियान संचालन गरेकी थिईन् । त्यसको दुई वर्षपछि सन् १९२० मा चन्द्र समशेर राणाले सती प्रथालाई कानूनी रुपमा दण्डनीय बनाए ।

दोश्रो विश्वयुद्ध पश्चात सन् १९६३ मा बेटी फ्रिडनको पुस्तक The Feminine Mystique” को प्रकाशनसँगै दोश्रो पुस्ताको महिलावादी आन्दोलनको शुरुआत भएको मानिन्छ । यसभन्दा अगाडि नै सन् १९४९ मा प्रकाशित प्रान्सेली लेखक Simone de Beauvoir को पुस्तक “Second Sex” ले महिलावादी वहसलाई नयाँ उचाई दिईसकेको थियो । यो चरणको आन्दोलनले पुरुष केन्द्रित सामाजिक मुल्य मान्यतामाथि प्रश्न उठायो र महिलाको महिनावारी हुने, गर्भवती हुने, शिशुलाई दूध चुसाउने जस्ता प्राकृतिक भूमिकाको कारण उनीहरूलाई दोश्रो दर्जाको मान्ने सामाजिक मान्यतामाथि धावा बोल्यो ।

यौन, पारिवारिक सम्बन्ध, गर्भपतनमा पहुँच, महिलाको घरेलु भूमिका जस्ता सवाल व्यक्तिगत जस्ता लागे पनि यसको सम्बन्ध बृहत सामाजिक, सांस्कृतिक र राजनैतिक संरचना र प्रणालीसँग हुने कुरामा वहस शुरु भयो । यस्ता मान्यतालाई महिला अधिकार स्थापनाको लागि बाधकको रुपमा लिईयो । दोश्रो पुस्ताको आन्दोलनले मताधिकार मात्र नभएर प्रजनन् स्वास्थ्य, परिवार, कार्यक्षेत्र, यौनिकता जस्ता मुद्दालाई समेटेको थियो । यो आन्दोलनले घरेलु हिंसा र वैवाहिक बलात्कारको मुद्दालाई पनि छलफलमा ल्यायो । अमेरिका लगायत विभिन्न पश्चिमी राष्ट्रहरूमा न्यायिक हिरासत, सम्बन्ध बिच्छेद सम्बन्धी कानूनी प्रावधानमा परिवर्तन ल्याउन सक्यो ।

विन्दा पाण्डेको सन् २०१८ अक्टोवरमा प्रकाशित ‘नेपालमा महिलावादको ईतिहास’ सम्बन्धी लेखका अनुसार नेपालमा सन् १९४७ को नागरिक आन्दोलनमा महिलाहरू पहिलो पटक सडकमा निस्किएको प्रशंगलाई दोश्रो पुस्ताको महिलावादी आन्दोलनसँग जोडेर हेर्न सकिन्छ । जसमा सहाना, साधना, स्नेहलता, कनकलता लगायतका महिला नेताहरू गिरफ्तारमा परेका थिए । त्यो समयमा महिलाहरू जेल जाने भनेको सामाजिक रुपमा अति नै उग्र र अमान्य मानिन्थ्यो । उनीहरू जेलबाट निस्किएपछि मंगलादेवी सिंहको संयोजकत्वमा महिलाहरूको पहिलो राजनैतिक संस्था गठन भयोे । नेपालमा महिलाहरूले राणा शासनविरुद्ध सात सालको क्रान्तिमा डटेर लडेको समय यही हो, जसले १०७ वर्ष लामो जहानिया राणा शासनको अन्त्य गर्नका लागि ठूलो योगदान पुर्‍यायो ।

राणा शासनको अन्त्यसँगै राज्यको शासन प्रणालीमा आएको परिवर्तनले महिलाहरूको भोट हाल्न पाउने अधिकार, शिक्षामा पहुँच, समान कामको समान ज्यालालाई संवैधानिक अधिकारको रुपमा स्थापित गर्‍यो । पञ्चायत कालमा राजनैतिक दल र नागरिक समाजलाई लगाईएको रोकविरुद्ध सैलजा आचार्यको विरोध र जेल जीवन, झापा आन्दोलनमा सिता खड्का, गौरा प्रसाईं, लिला कुँवर लगायतका महिलाहरूको सकृय सहभागिता, अष्टलक्ष्मी शाक्यको भूमिगत राजनीति, सबै क्षेत्रमा समानता र लैङ्गिक हिंसाको अन्त्यका मुद्दा समेटिएको विद्यार्थी आन्दोलन दोश्रो पुस्ताको महिलावादी आन्दोलनसँग जोडिएका राजनैतिक घटनाहरू हुन् ।

तेश्रो पुस्ताको मुख्यतः कार्यक्षेत्रमा हुने यौनजन्य दुव्र्यवहारलाई सम्बोधन गर्ने र नेतृत्व तहमा महिलाको पहुँच बढाउने सवालमा बढी लक्षित छ । यो चरणको आन्दोलन सन् १९९० को दशकमा शुरु भएको थियो । यसले वयस्क महिला मात्र नभई किशोरीका मुद्दालाई पनि समेटेको छ । घरेलु काममा खुशी नहुने महिलाहरू जिद्दी र मुर्ख हुन भन्ने पितृसत्तात्मक मान्यतासंग दोश्रो पुस्ताका वयस्क महिलाहरूले लडे भने किशोरीहरू कामुक, कमजोर र मुर्ख हुन्छन् भन्ने सामाजिक मान्यतासँग तेश्रो पुस्ताको आन्दोलनमा किशोरीहरूले लडे ।

तेश्रो पुस्ताको महिलावादी आन्दोलनले समानताका अन्य आयाम जस्तै जात, अपाङ्गता, लैङ्गिक पहिचान, रंगलाई समेत समेटेको छ । पितृसत्ताले महिला र किशोरीहरूको लागि विभिन्न मापदण्ड तयार गरे जस्तै महिलावादी आन्दोलनले फेरि अर्को मापदण्ड तयार गरेर उनीहरूमाथि नियन्त्रण जमाउन नहुने कुरालाई युवा पुस्ताले वहसमा ल्याए । महिलाभित्रको विविधतालाई स्वीकार गर्नु पर्दछ भन्ने मान्यतामा आधारित यो चरणको आन्दोलनले व्यक्तिको चाहाना र रोजाईलाई सम्मान गर्नु पर्ने कुरालाई जोडतोडले उठायो । त्यसकारण तेश्रो पुस्ताको आन्दोलनले फिल्म, मोडलिङ लगायतका मनोरञ्जन क्षेत्रलाईसमेत समेट्न सक्यो ।

उनीहरूले अंग्रेजी मोडलको महिलावादले श्वेत श्रेष्ठतालाई महत्व दिएको र भाषा, रंग र क्षेत्रको आधारमा हुने विभेदलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । महिलावादको यो मोडलको व्यापकता र उपलब्धि भने हेर्न बाँकी नै छ । नेपालमा पनि गणतन्त्र स्थापना भईसकेपछिको अवस्था लैङ्गिक समानताको लागि धेरै आशावादी देखिएको छैन ।

नेपालमा पञ्चायत कालको अन्त्य र प्रजातन्त्रको उदय भएको समयमा तेश्रो पुस्ताको महिलावादी आन्दोलन शुरु भएको देखिन्छ । यो समयमा माओवादी युद्ध चरम उत्कर्षमा पुग्योे । महिलाहरूले युद्धमा आफ्नो बलियो उपस्थिति देखाए । संविधान सभामा विभिन्न दलका महिलाको संलग्नताले गणतन्त्र नेपालको संविधान समावेशी बन्न सक्यो । यसै समयमा वेईजिङ सम्मेलनमा नेपाली महिलाको संलग्नताले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यो समय नेपाली महिलाको लागि ठूलो आशा बोकेर आएको समय हो । यस अवधिमा गणतन्त्रको उदयसँगै महिलाहरूको राजनैतिक सहभागिता र नेतृत्व, प्रजनन् स्वास्थ्य र यौनिकता, नागरिकता, शिक्षा, सम्पत्ति र रोजगार जस्ता धेरै क्षेत्रमा संवैधानिक अधिकार सुनिश्चित भएका छन् । गणतान्त्रिक नेपालको स्थापना र समावेशी संविधान निर्माणको लागि नेपाली महिलाले ठूलो मुल्य चुकाएको समय पनि हो यो । युद्धको समयमा महिलाहरूमाथि राज्य र विद्रोही दुबै पक्षबाट ज्यान मार्नेदेखि यौन हिंसा र बलत्कारका विभत्स घटनाहरू घटेका कुराहरू बाहिर आउने क्रम अझै जारी छ ।

चौथो पुस्ताको महिलावादी आन्दोलन सन् २०१० तिरबाट शुरु भएको मानिन्छ । महिलावादी आन्दोलनको यो चरण यौन दुव्र्यवहारमा संलग्न शक्तिशाली व्यक्तिहरूको विरुद्ध आवाज उठाउन र समानतामा विश्वास राख्नेहरूको बीचमा सहकार्य बढाउनका लागि अखबार, ईन्टरनेट र सामाजिक संजालको प्रयोगमा लक्षित छ । व्यक्तिगत स्वायत्तता र शरीरमाथिको अधिकारका विषयहरू यो चरणमा वहसमा आएका जल्दाबल्दा विषय हुन् । महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले संप्रेषण गरेका सूचनामा नेपाली युवाहरूको पहुँच बढेको छ । Orange the World, Generation Equality, Bring Back Our Girls, Yes All Women, Why I Stayed, I Will Go Out, Every Day Sexism, Women You Should Know, End FMG, Me Too, We Too, With You, Women’s March जस्ता अभियानहरूले विश्व समुदाय, उच्च तहका सरोकारवालादेखि राज्यका निकाय र शक्तिमा रहेका व्यक्तिहरूको जवाफदेहिता बढाउन खबरदारी गरेका छन् । नेपालमा पनि साईबर अभियानको प्रभाव स्पष्ट परेको देखिन्छ । अखबारमा लैङ्गिक समानताका विषयले स्थान पाउन थालेका छन् । सामाजिक संजालमासमेत यस्ता विषयवस्तुमा वहस शुरु भएको छ । यौनजन्य दुव्र्यवहारमा परेका व्यक्तिहरूले आफ्ना कथा बाहिर ल्याउने क्रम बढ्दो छ ।

संसारभर नै दक्षिण पन्थि राष्ट्रवादको लहरले समानता र समावेशीको मुद्दालाई वेवास्ता गरेको समयमा सन् २०१८ मा ईबेरो अमेरिका अन्तरगतका राष्ट्रहरू चिली, अर्जेन्टिना, स्पेन र ब्राजिलका महिला अधिकारकर्मीले पाँचौ पुस्ताको महिलावादी आन्दोलनको उद्घोष गरेका छन् । उनीहरूले अंग्रेजी मोडलको महिलावादले श्वेत श्रेष्ठतालाई महत्व दिएको र भाषा, रंग र क्षेत्रको आधारमा हुने विभेदलाई सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । महिलावादको यो मोडलको व्यापकता र उपलब्धि भने हेर्न बाँकी नै छ । नेपालमा पनि गणतन्त्र स्थापना भईसकेपछिको अवस्था लैङ्गिक समानताको लागि धेरै आशावादी देखिएको छैन । राजनैतिक दलका महिला नेताहरू आफ्नै दलभित्रको पितृसत्तासँग लडिरहेका छन् ।

महिलावादको झण्डै दुई शताब्दी लामो ईतिहासमा भएका प्रयासहरू प्रशंसायोग्य छन् । तर लैङ्गिक समानताको क्षेत्रमा भएका उपलब्धिहरू भने सन्तोषजनक छैनन् ।

यूएन ओमनले नै दिएको अर्को सूचना अनुसार हाल जुन दरमा उपलब्धि हाँसिल भएको छ, यही दरमा अघि बढ्ने हो भने विश्वले राखेको लैङ्गिक समानताको लक्ष प्राप्त गर्न अरु ९९.५ वर्ष लाग्छ । समानताको लक्ष हाँसिल गर्ने यी वर्षहरू घटाउनका लागि व्यक्तिगत तहदेखि नै प्रतिवद्धता र एक्सनको खाँचो छ । ठूला कुराले होईन, साना साना कामले परिवर्तन आउँछ । त्यसैले हाम्रै पालामा समानताको पुस्ता निर्माणको लागि प्रतिवद्ध बनौं । लैङ्गिक समानताको लागि आवाज उठाउँ, आफ्नो अधिकारको बारेमा जानकारी राखौं । रुढीवादी सोच र अभ्यासलाई घृणा गरौं, विषाक्त पुरुषत्वको प्रदर्शन बन्द गरौं । शरीर र अंगको आधारमा गरिने र गराईने लज्जाबोध बन्द गरौं । जात, लिङ्ग, यौनिक पहिचान, छालाको रंगको आधारमा गरिने विभेदलाई कुनै पनि तरिकाले समर्थन नगरौं र आउँदो पुस्तालाई सही शिक्षा दिउँ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: