विश्वास टुटेको त्यो रात


प्रकाशित मिति :2020-02-28 12:37:21

भनिन्छ, यो संसार विश्वासमा अडेको छ । विश्वास एउटा यस्तो कडी हो, जसलाई प्राप्त गर्न जति कठिन छ, गुमाउन त्यति नै सजिलो । आहा कति आनन्द छ यो शब्दको उच्चारणमै । जिउने आधार पो हो त विश्वास । कसैलाई विश्वास गर्दा जति आनन्द आउँछ, गुमाउदा त्यो भन्दा धेरै पीडा हुन्छ । भनिन्छ, संसारका हरेक सम्बन्धहरू विश्वासमा अडिएका छन् । आज यदि विश्वास भन्ने शब्द नहुदो हो त हामी सभ्य र विकसित मानिने मानव पनि हुने नै थिएनौं । विश्वासमा यहाँ के–के मात्रै भएको छैन होला ? व्यापारमा होस्, पारिवारिक सम्बन्धमा होस्, लेनदेनमा होस्, यी यावत् विषयमा विश्वासलाई साँक्षी राखिएको हुन्छ । अब सोचौं जब यो साँक्षी नै विष्फोट भै दियो भने ! विश्वासमाथि घात भैदियो भने !

किरण र लिली बालसखा, जो सँगै हुर्के बढे । सँगै पढे । बाल्यकालसँगै बित्यो । किशोरास्थासँगै बिताए । युवा अवस्थामा पढाइको सन्दर्भमा टाढिए । जब एक अर्काबाट टाढिए, उनीहरूलाई महसुस भयो कि उनीहरूमा प्रेम बसिसकेको रहेछ । किरण बैंगलोरमा पढ्दाको त्यो ३ वर्ष बिताउन उनीहरूका लागि ३ दशक झैं गारो भो रे । उनीहरूकै मुखबाट सुनेको मैले । दुरीबाट टाढा भए पनि संचार माध्यमबाट उनीहरू नजिकै थिए । यहाँसम्म कि उनीहरू एक अर्को बिना बाँच्न नसक्ने अवस्थासम्म पुगे । प्रेमको अन्तिम रुप विवाहमा गएर टुंगिन्छ भन्छन् । उनीहरूले पनि विवाह गरेर आफ्नो प्रेमलाई जिवन्त राख्ने निधो गरि दुवै परिवारको सल्लाहमा विवाह गरे । समय बित्दै गयो । उनीहरूका मायाका चिनाहरू छोराछोरी पनि भए । घरबार राम्रै चल्दै थियो ।

समय बित्दै गयो । उनीहरू सुन्दर भविष्यको सपना देखेर गाउँबाट काठमाडौं छिर्छन् । अब उनीहरूको असली संघर्षको जीवन शुरु हुन्छ । किरणले एउटा नाम चलेको प्राईभेट बैंकमा काम गर्न शुरु गर्छन् भने लिलीको भागमा घर सम्हाल्ने काम पर्छ । काठमाडौंको रहनसहन, बैंकको टिपटपको जागिरी । किरण दिनप्रतिदिन परिपक्क हुँदै अगाडी बढ्दै जान्छ । यता गृहस्थीमा रमाईरहेकी लिली बाह्य संसारको दाँजोमा आफूमा परिवर्तन गर्न नसके पनि घरपरिवार, बालबच्चा सम्हालेर बसेकी थिईन् । किरण बिहान ९ बजे घरबाट निस्कने, बेलुका ढिलामा ७ बजेसम्म घर पुगिसक्थे ।

देवका केसी

समय बित्दै जान्छ, किरणका व्यबहारहरू परिवर्तन हुँदै जान्छन् । अब उसले लिलीमा भएका कमजोरीहरू कोट्याउँदै जान्छ । कहिले उ लिलीलाई तिमी कस्तो मोटाको, तिमी त कस्तो समय अनुसार अपडेट हुन नसकेकोे, तिम्रो त ड्रेस अप नै राम्रो भएन । आदि इत्यादी गुनासाहरू गर्दै लिलीलाई मानसिक हिंसा गरिरहन्छ ।

बिचरा लिलीलाई बाहिरी संसारमा के भैरहेको छ के थाहा ? एउटा घरको, एउटा फ्लाटमा सिमित उसको दिनचर्या । घर, घरदेखि बच्चाहरूको स्कुल अनि घर । यही थियो उसको संसार । घरायसी कामले एकछिन फूर्सद छैन उसलाई । उता किरणको दिनचर्या बद्लिँदै छ । बिहान छिट्टै घरबाट निस्कने, बेलुकी ९ बज्दासम्म घर नआउने । फोन गर्दा नउठाउने । कि सँधै फोन व्यस्त हुने आदी इत्यादी । भनौं न, किरण एक प्रकारले बद्लिसकेको थियो । उसको लवाई खवाई, बोली, व्यबहार सबै परिवर्तन हुँदै जान्छ । किरण पहिलाको जस्तो किरण रहेन । उ मैले पढनुपर्छ, म अलग्गै कोठामा सुत्छु । तिमीहरू एउटा कोठामा सुत भन्न सक्ने अवस्थासम्म पुग्छ । लिली यी सबैकुरा बिना प्रतिबाद सहेर बसिरहन्छिन् । सहेर बस्नुको विकल्प पनि त के थियो र उनीसँग ।

किरणको बद्लिँदो व्यबहारले आजित लिलीले बिस्तारै बाहिर अरुसँग पीडा पोख्दै जान थालिन् । भन्छिन्, ‘मेरो त भाग्य यस्तै रहेछ । माया गर्ने श्रीमान् आजभोली बद्लिएको छ ।’ मन भारी भएर पनि उनी खुशी भएको भान गर्दै थिइन् ।

एक दिन बेलुकी ९ बजे लिलीको फेसबुकमा एउटा सन्देश आउँछ–नयाँँ फेसबुक आईडिबाट । जहाँ लेखिएको थियो, ‘प्रेम नै नभएको सम्बन्धमा के तिमी खुसी छौ ? तिमीलाई सायद अलिअलि थाहा छ होला किरणले तिमीलाई होईन, मलाई प्रेम गर्छ आजभोली । के तिमी उस्लाई साँच्चिकै प्रेम गछ्यौ ? के उसलेतिम्रो प्रेम पाएको भए मसँग आउथ्यो होला त ? के उसलाई मेरो आवश्यकता पर्दथ्यो ? म तिमीलाई दोष दिन्न । तर तिमी आफूले आफूलाई समय अनुसार परिवर्तन गर्न सकिनौं । तिमी किरणको लायक हुन सकिनौं । तिमीले उसलाई माया गर्न जानिनौ । तिमी देखाउनकै लागि एक प्रेमविहीन विवाहलाई किन निभाइरहेकी छौ ? तिमीहरूको विवाह नामको मात्र छ । किरणले मलाई प्रेम गर्छ, तिमीलाई होईन । त्यसैले किरण र मैले विवाह गरेर अब बाँकी जीवन सँगै बिताउने निधो गरेर यो ठाउँ छोडेर जाँदैछौ ।’

यसमा दोष ती महिला र किरण दुवैको बराबरी छ भन्न रुचाउछु म । यो भन्दा बढी अरु केही भन्दिन । विचरा निरीह लिली ।

यो ईलेक्ट्रोनिक सन्देश पढिसकेर भुइँमा थचक्क बसेकी लिली त्यहाँबाट उठ्नै सकिनन् । मानौ उनले टेकेको त्यो धर्ती फाटेर चिराचिरा भएको थियो । घरको छत खसेर उनलाई माथिबाट थिचिरहेको थियो । बच्चाहरूलाई खाना खान दिन सकिनन् । उनीहरू आमालाई खाना माग्दा माग्दै त्यही ठाउँमा निदाए । उनले पनि खानै नखाई त्यो रात बिताईन् । त्यो रात किरण न घरमा आए, न त्यो घरको बत्ति नै रातभरि निभ्यो । फोन गर्दा अफ थियो । सुनसान रात, कुकुरहरू भुकेको मात्रै सुनिन्थ्यो । तर किरण घर आएन । उनलाई लाग्यो अब साँच्चिकै किरण मसँग आउँदैन । उसले मसँग नबस्ने नै निधो गरेछ । उ हामीलाई छोडेर गयो । शहर बजारको बसाई, छोराछोरी, कोठाभाडा, स्कुलको फी यी सबै म कसरी सम्हालौं ? हे भगवान ! भन्दै निधार भित्तामा ठोक्दै भक्कानिएर रोईरहिन् लिली । तर त्यो चित्कार र पीडा सुनिदिने त्यहाँ को हुनु र ? सिवाय घरको भित्ता । त्यही रात थियो किरणप्रति विश्वास टुटेको ।

सोचिन्हा, मी सँगै हुर्के बढेका । सँगै पढेका । एक अर्कालाई चिनेका । घरपरिवार सबै बुझेको । तर आज ? किरण भन्दा म केमा कमी थिएँ र ? एसएलसी पछि किरण घर छोडेर बाहिर गएर राम्रोसँग पढ्ने मौका पायो, म घर नजिकैको सामान्य क्याम्पसमा पढेँ । विवाह पछि किरणले घर बाहिर गएर काम गर्ने मौका पायो, म घरभित्रै सिमित भएँ । किरणको जस्तै अवसर र मौका मैले पनि पाएको भए म पनि त उ भन्दा केही कमी हुने थिइन । मैले पनि त्यही मौका र अवसर पाएको भए आज म यसरी कमजोर त हुनु पर्ने थिएन ।

म छोरी भएकै कारण, म महिला भएकै कारण म अवसरहरूबाट बंचित भएँ । किरणले अवसर पायो । काम गर्यो । हामी एउटै तहका हौं । तर समयको परिवर्तनसँगै बिस्तारै म उसको लायक हुन सकिन । कारण, म अवसरबाट बंचित भए । विवाह पछि छोराछोरी हुर्काउने जिम्मा मेरो मात्र काँधका पर्यो । उसले बाहिर गएर आफ्नो क्षमता विकास गर्दै गयो, म यता आफूमा भएको क्षमता पनि दिन प्रतिदिन गुमाउँदै गएँ र शून्यमा झरें । आज उ बिना जीवन कसरी जिउने भनेर अलमलमा परें । जस्लाई विश्वास गरें, जोसँग जिन्दगी बिताउने निधो गरें, उसैले मलाई बीच बाटोमा धोका दिएर गयो । म मात्र होईन, यी कलिला मुनाहरूको बारेमा पनि नसोचेर स्वार्थी भएर गयो आज किरण ।

समय परिवर्तनशील छ । हिजो जे तिम्रो थियो, त्यो आज नहुन सक्छ । र भोली जे हुन्छ, त्यसको कल्पना आज गर्न सकिदैन । यो संसारमा विश्वास कसैको छैन । आजको यो पुँजीवादी विश्वमा कोही कसैको भरमा बाँच्ने, जीवन जिउने आशा नगरौं । छोराछोरी कसैमाथि विभेद नगरि समान अवसर र मौकाहरू दिलाउँ । आफ्नो खुट्टामा आफै उभिएर मात्र विवाह गरौं, ताकी लिलीको जस्तो अस्तव्यस्त जीवन भोलीका दिनमा कसैको पनि नहोस् । आफ्नो क्षमता अनुसारको आय आर्जन हुने काम गरौं, क्षमता विकास गरौं । सधै अरुकै भर पर्दा र आँखा चिम्लेर विश्वास गर्दा भोली लिली जस्ता सयौं लिलीहरूको संख्या नबढोस् ।

पितृसत्ताले जरो गाडेको नेपाली समाजमा महिलाहरूको विकास र उत्थान हुन निकै गाह्रो छ । लिंग भेद बिकराल छ । लंैगिक समानता भन्ने नारा नारामै सिमित छ । महिला विकास र उत्थानका लागि लिंग भेद नगरौं । विद्यमान कुरीति कुसस्कारको अन्त्य गरौं छोराछोरीमा भेदभाव नगरौं, छोरीको सानैमा विवाह नगरिदिउँ । यसका लागि महिला र पुरुष दुवैको समान दायित्व छ । महिला मात्रैको एकल प्रयासले यो अभियान कुनै हालतमा पूरा हुदैन । यो कुरा कहिल्यै नभुलौं कि, महिलाको उत्थान, विकास, समृद्धि र सशक्तिकरणमा पुरुषको साथ र सहयोग एकदमै आवश्यक छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: