–महिला खबर–
ललितपुर । विवाहका लागि बेहुलाको उमेर नपुगेपछि प्रहरीले बालविवाह रोकेको छ । सल्यानको दार्मा गाउँपालिकामा दुलही लिन रोल्पाको गंगादेव गाउँपालिकाबाट आएको जन्तीमा बेहुलाको उमेर २० वर्ष नपुगेको थाहा पाउपछि प्रहरीले विवाह रोकेको हो ।
दुलही लिन करिब ४५ जना सवार बस सल्यान प्रवेश गरेको र विवाहस्थलमा नपुग्दै आधा बाटोबाटै सल्यान प्रहरीको अगुवाइमा जन्तीलाई फिर्ता गरिएको हो । उमेर नपुगको विवाह हुन लागेको खबर पाएपछि प्रहरीले सोधपुछ गर्दा बेहुलाको उमेर नपुगेको कारण जन्तीलाई बाटोबाटै फिर्ता गरेको जनाएको छ ।
बेहुलीको उमेर २० वर्ष पुरा भई २१ मा लागेको तर बेहुलाको उमेर भने २० वर्ष पुग्न अझै तीन महिना बाँकी रहेको थाहा पाएपछि बाटोबाटै जन्ती बोकेको बस फर्काएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख इन्स्पेक्टर लक्ष्मण ओलीले बताए । उमेर नपुगेको विवाह भएपछि कारवाही गर्नु भन्दा पनि पहिले नै विवाह रोकेर ठूलो दुर्घटना हुनबाट रोकेको उनको भनाइ छ ।
बालविवाह गरे गराएमा वा संलग्न भएको खण्डमा दुलहा, दलहीसहित संलग्नलाई समेत तीन वर्ष कैद वा ३० हजार रुपियाँ जरिवाना अथवा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । पछिल्लो समय सल्यानमा बालविवाह न्यूनीकरण अभियान संचालन गरेको प्रहरीलाई स्थानीय तह, अधिकारकर्मी, स्थानीयबासी लगायतले यस अभियानलाई सफल पार्न सहयोग गर्दै आएका छन् ।
Comment Here!