टेकु अस्पतालमा कोरोना संक्रमितको उपचारमा व्यस्त डाक्टर छोरीकी आमाको मनोविज्ञान


प्रकाशित मिति :2020-03-29 20:37:45

-उजिर मगर-

काठमाडौं । ‘आमा’ । सबैको सबैभन्दा यो प्यारो शब्द । आमाको दशधार दुध चुसेर भौतिक काखमा हुर्केका जो कसैले मातृत्व मायालाई बिर्सन सकौंला र ? हरेक दुःख, शुख जुनै समय छोराछोरी सम्झिन्छिन आमा । भौतिक सुखसएल त कस्ले गरेको छैन र ? तर, आमा हुञ्जेल पाइने मायाको अर्थ र धन पैसाले लिने सुखसएलमा आकाश–जमिनको भिन्नता छ ।

आमा बारे विश्व चर्चित ‘आमा’का लेखक मेक्सिम गोर्कीले एक  प्रसंगमा भनेको भनाई बिर्सी नसक्नुछ । गोर्कीले भनेका छन्– ‘म सधैँ विजय र मेरी आमालाई माया गर्छु ।’

यतिबेला कोरोना भाइरस (कोभिड–१९)ले विश्वलाई संक्रमित बनाएको छ । संक्रमण भईसकेपछि त्यसबाट मुक्त हुने उपाय एक मात्रै अस्पताल हो, प्रभावकारी उपचार हो । कयौं कोरोना संक्रमितहरु अस्पतालको उपचार पश्चात संक्रमणबाट मुक्त भएर घर फर्केका छन् ।

मुक्त बनाउने डाक्टर, नर्सहरुलाई पनि संक्रमणले भने छोडेको छैन । हरेक संकटमा देखिन तीन संस्थाका व्यक्ति हुन्छन । सुरक्षाकर्मी, चिकित्सक नर्स र मिडियाकर्मी । अहिलेको महामारीमा पनि उनीहरुकै भरमा संसारभर सुरक्षा, उपचार र सूचना प्रवाह भइरहेको छ । कोरोना भाइरस संक्रमितको पहिलो घेरामा यतिबेला भने चिकित्सक नर्स छन् ।

राज्यसत्तासँग सिधै पहुँच पुग्ने सांसद डाक्टरकी आमा । नीति निर्माण तहमै उनी । सत्तारुढ दलकै सांसद, त्यसैमाथि पार्टीको स्वास्थ्य विभागकी सह–इन्चार्ज । तै पनि छोरी डाक्टरप्रति आमाको माया कति ? यो गजबको संयोग जुरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा आइसोलेशन कक्ष, (आईसीयू)मै कार्यरत छोरी डाक्टरप्रति सांसद आमाको माया । कोरोनाको संक्रमणपछि आम मान्छेको मनोदशा कस्तो बनेको छ भन्ने सानो तस्वीर यी सांसद आमाको डाक्टर छोरीप्रतिको मायाले झल्काउँछ । ………………………………………….

नीति निर्माणकर्ता आफैं तर, आत्मग्लानी !

सांसद अञ्जना विशंखे, नारी मुक्ति आन्दोलनकी एक निरन्तर अभियान्ता । छोरी डाक्टर । डाक्टर छोरीको ड्युटी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा । पहिलो संक्रमितदेखि अहिले आइसीयूमा रहेकी संक्रमितको रेखदेखमै छिन विशंखेकी छोरी। पार्टीको जिम्मेवारी अनुसार विशंखेको स्वास्थ्यप्रति चासो स्वभाविक थियो । स्वास्थ्य जनताको पनि, उपचारमा संलग्न चिकित्सक नर्सका लागि पनि जानकारी लिइराख्नु पर्नेछ ।

‘नेपालका कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएको खबर आयो । छोरी २४ घन्टे डियुटीमा थिइन । राती २ पटक म्यासेज गरें, जवाफ आएन ।  मन आगोको रापले पोले जस्तो भयो । मन थाम्न सकिनँँ । फोन गरेँ । सानो स्वरमा विरामीको हेरचाहमा छु भनि । किन ? भनिनँ । बरु, पीपीई (व्यक्तिगत सुरक्षात्मक उपकरण) कस्तो छ भनेर सोधें । उनी अक्मकाइन, राम्रो, नराम्रो भन्न सकिनन्’, विशंखेले समाचारदैनिकसँग भनिन ।

‘आज मेरो छोरी शुक्ररात सरुवारोग केन्द्र टेकुमा २४ घन्टे डियुटी सकेर घरमा आएकी छिन् । कोरोना पोजेटिभ देखिएको बिरामीलाई मेडिकल अफिसरको रुपमा सेवा गरेर आएपछि उनी छुट्टै कोठामा क्वारेन्टाईनमा बसेकी छन र आफ्नो सामान सरसफाई छुट्टै आफैले गरेकी छन् । हामीलाई छुन दिएकी छैनन् र भन्छिन मलाई सरेपनि तपाईहरुलाई सर्न दिनु र्हुदैन । तपाईंहरु सुरक्षित बस्नुस् । आज सबै स्वास्थ्यकर्मीको घरमा यस्तै स्थिति वा योभन्दा नजुक छ होला । कतिपयका त परिवारमा बुढाबुढी नै स्वास्थ्यकर्मी अनि बच्चाहरु मात्र, त्यो पनि भाडामा बसेको अबस्थामा तिनको बारेमा छिट्टै व्यबस्थापन सहितको योजना बनाउन ढिलो भयो सरकार ।’

विशंखेलाई राम्ररी जानकारी थियो अहिलेको स्वास्थ्य क्षेत्रको प्रणाली र व्यवस्था । पार्टीको विषयगत जिम्मेवारी पाएकी कारण विशंखेले स्वास्थ्य संस्थाहरुको प्रणाली, भौतिक संरचना, आपत्कालिन अवस्थाको तयारी बारे धेरै तथ्याङ्कहरु संकलन गरेकी छन् । त्यही अनुभवका आधारमा आमाकै नाताले डाक्टर छोरीलाई पहिलो प्रश्न गरिन– ‘पीपीई कस्तो छ ?’

यी प्रणालीगत समस्या कुनै व्यक्ति, सरकारका कारण नभएको उनको धारणा छ । ‘स्वास्थ्य विषयमा मैले अलिक बढि जानकारी राख्छु । तर, यसमा यो सरकार, यो व्यक्तिको कमजोरीका कारण भन्ने अवस्था छैन । जब, महामारी आइलागेपछि हाम्रो जस्ता थोरै स्रोत साधन भएको मुलुकमा झन् समस्या हुन्छ । अहिले विकसित मुलुकको अवस्था हेर्दा छर्लङ्गै भएको छ’, उनले भनिन ।

जनताका लागि धेरै काम गर्न सकिन्छ र गरेका छौं जस्तो फिलिङ थियो विशंखेमा । तर, पछिल्लो विपतले उनको धारणामा भिन्नता आएको छ । आफूमा पटक–पटक आत्मग्लानी भएको फिलिङ्गमा पुगिन । नीति निर्माणकै तहमा भएर पनि केही गर्न सकिएको रहेनछ भन्नेमा उनको आत्मग्लानी छ ।

सांसद भएर पनि नीति निर्माण तहमा केही गर्न सकिएको रहेनछ भन्ने हेक्का उनलाई भयो । र, संसद पदलाई अलिक पर राखेर टेकु अस्पतालमा कार्यरत डाक्टरकी आमाका हैसियतले अनुहार पुस्तिाका (फेसबुक) भित्तामा आफ्नो बिचार पोखेको उनी बताउँछिन । गत विहीबार विशंखेले डाक्टर छोरी र सरकारको तयारी बारे लेखेकी थिइन्–

‘आज मेरो छोरी शुक्ररात सरुवारोग केन्द्र टेकुमा २४ घन्टे डियुटी सकेर घरमा आएकी छिन् । कोरोना पोजेटिभ देखिएको बिरामीलाई मेडिकल अफिसरको रुपमा सेवा गरेर आएपछि उनी छुट्टै कोठामा क्वारेन्टाईनमा बसेकी छन र आफ्नो सामान सरसफाई छुट्टै आफैले गरेकी छन् । हामीलाई छुन दिएकी छैनन् र भन्छिन मलाई सरेपनि तपाईहरुलाई सर्न दिनु र्हुदैन । तपाईंहरु सुरक्षित बस्नुस् । आज सबै स्वास्थ्यकर्मीको घरमा यस्तै स्थिति वा योभन्दा नजुक छ होला । कतिपयका त परिवारमा बुढाबुढी नै स्वास्थ्यकर्मी अनि बच्चाहरु मात्र, त्यो पनि भाडामा बसेको अबस्थामा तिनको बारेमा छिट्टै व्यबस्थापन सहितको योजना बनाउन ढिलो भयो सरकार ।’ …………………………………………………..

डाक्टर होम क्वारेन्टाइनमा डा.को दैनिकी:

‘मैले फेसबुक स्टाटसमै लेख्नु पर्ने अवस्था आयो । मेरी छोरी र अन्य चिकित्सक, नर्सका परिवारमा यो सन्देश पुगोस् र जनता पनि सू–सूचित होउन भनेर’, विशंखेले भनिन् ।

संक्रमितको उपचारमा संलग्नपछि छारी होम क्वारेन्टाइनमा रहेको दृश्य उल्लेख गरिन उनले । ‘अस्पतालको व्यवस्था, संक्रमितको स्वास्थ्य अवस्था बारे हामीसँग समेत केही शेयर हुँदैन । गोपनीयता राख्ने उनीहरुको जिम्मेवारीभित्र पर्ने कुरा भयो’, उनले भनिन ।

डाक्टर छोरीको होम क्वारेन्टाइन बारे विवरण सुनाउँदै विशंखे भनिन्–  ‘डियुटीबाट छोरी घर आउँदा गेट, मूल ढोका हामीले खोलिदिन्छौं । एक मिटर परबाट उनी आफ्नो कोठामा पस्छिन । नुहाई धुवाईपछि कपडा चेन्ज गरेर कोठाबाटै खान माग्छिन । उनले खाने थाल, कचौरा, गिलास, चिया कप, पानीको बोतल सबै छुट्टै छ । आफ्ना लुगा आफैं धोएर छुट्टै सुकाउने र उठाउने गर्छिन । कहिलेकाही हामीले खाना, चिया बनाउँन ढिला गरियो भने कोठाबाटै बोलाउँछिन । उनले खाएका भाँडा भित्रै माझेर छुटटै राख्छिन । उनले थाल, गिलास, कप ढोकामा निकालिदिएपछि हामीले अलग्गैबाट खाना, दाल, तरकारी राखिदिन्छौं र झिकेर खान्छिन । फेरि डियुटी जाने क्रममा उनी अलग्गै भएर जान्छिन गेट, मूल ढोका हामीले नै खोलिदिन्छौं ।’ ………………………….

आमाको मन :

सधैं जनताका लागि सोचिन्छ भन्ने फिलिङ्ग थियो उनमा । तर, विश्वभरी फैलिएको महामारी कोरोनाले आमाको मनमा उथलपुथल ल्याईदिएको छ । हुन त जैबिक हिसाबले महिला पुरुष भन्दा बलिया हुन्छन । तै पनि मन कमलो र कमजोर जस्तो भएको उनले अनुभव यसपटक गरेकी छन् ।

महिलाहरुमा आइस्टोन, प्रोजेस्ट्रोन र हर्मोन हुन्छ । जसका कारण पुरुष भन्दा महिलाहरु जैविक रुपले बलिया हुन्छन । बाहिरी रोगका किटाणुसँग लड्ने शक्तिसँगै मुटु बलियो हुन्छ भन्ने तथ्य हो । तर, कता कता विशंखेको मनमा भने पटक–पटक कमजोर जस्तो भएको फिलिङ्ग भईरहेको छ ।

उनी आमा, डाक्टर छोरीको विगत र वर्तमान सोंच्दै भन्छिन्– ‘तीन–चारवटा कुरा मनमा खेलिराछ यसपाली । मेरी छोरी यतिबेला मेडिकल अफिसर हुन । उनलाई हुँर्काउँदा, पढाउँदाका सारा दुःख बिर्सेकी छु । एक्ली आमाले छोरी कसरी हुर्कायो ? भन्ने धेरैलाई थाहा छ । तीनवटा कुराले मलाई यसपाली बेचैन बनाएको छ ।’

‘मनमा एकदम घमण्ड जाग्छ किन कि यस्तो महामारीको बेला ज्यानको बाजी राखेर संक्रमित विरामीलाई पहिलो घेरामा बसेर मेरी छोरीले बहादुरीका साथ डियुटी गरेकी छे भनेर । फेरि अर्को मन, आमा न हुँ संसारभरी संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्सको पनि मृत्यु भएको खबर पढ्छु । त्यो बेला मन भित्रबाट सबैभन्दा बढि छोरीको डियुटी र उसले लगाएको पीपीईको झल्को सम्झेर कमजोर फिलिङ गर्छु ।

अझ भन्नु न आफैं सत्तारुढ दलकी सांसद । तर, व्यक्ति, सरकारलाई मात्रै दोष दिने अहिलेको अवस्था छैन । म सांसद भएर के भयो र ? आखिर अहिले त निरिह प्राणी भन्दा के फरक भइयो र भन्ने आत्मगलानी महशुस गरिराछु ।’

विशंखे डाक्टरकी आमा प्रतिनिधि पात्र मात्रै हुन । तर, संक्रमितहरुलाई बचाउन पहिलो घेराका रक्षाकवज चिकित्सक, नर्सहरुको जीवनशैली र उनीहरुको आमाको वेदना यो भन्दा भिन्न छैन । पीपीईसहित सुरक्षा अप्नाएर उपाचारमा संलग्न डाक्टरकी आमाको यो दशा छ । संक्रमित विरामीको परिवारले कति पींडा भोगिराखेको होला सहजै अनुमान गर्न सकिन्छ ।

यी डाक्टरकी आमाको छट्पटी देख्दा लाग्छ मेक्सिम गोर्कीकै ‘आमा’ पुस्तकको सार निकै मेल खान्छः ‘लोभ र ईष्याबाट मुक्त आमा । आफ्नो व्यक्तिगत सुख–दुःखको चिन्ता नगर्ने–आमा । अथक योद्धा आमा । लक्ष्यको निम्ति आहुती दिन तम्सने, आमा ।’

सुरक्षा लगायतका कारण उपचारमा संलग्न टेकु अस्पतालकी डा.को परिचय खुलाईएको छैन -सम्पादक । साभार : समाचार दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: