कोरोना महामारी र महिला बालबालिकाको सुरक्षाको सवाल


प्रकाशित मिति :2020-03-30 20:19:23

-इन्द्रराज भट्टराई-

अहिले विश्व मानव जगत एउटा ठूलो संकटका बीच गुज्रिरहेको छ । केही महिनादेखि कोरोना भाईरस (SARS-COV-2) का कारण विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को प्रकोप हालसम्म आइपुग्दा मानव जातिको निम्ति निकै चुनौतीपूर्ण बन्न पुगेको महसूस भइरहेको छ । नेपालको छिमेकी मुलुक चीनबाट सुरु भएको यो संक्रमण हाल विश्वभरि फैलिएको छ, अझ भनौं, विश्वका सम्पन्नशाली मुलुकहरु अमेरिका तथा युरोपमा त सम्हाल्नै गार्‍हो हुनेगरी कोरोनाको संक्रमण देखापरेको छ ।

यो लेख लेख्दासम्मको अवस्थामा हालसम्म विश्वभर ७२४,२०१ व्यक्तिहरू संक्रमित भएका छन् अनि ३४,०२६ व्यक्तिहरूले ज्यान गुमाइसकेका छन् , २६,७१२ अत्यन्त जोखिम अबस्थामा छन् र सँगसँगै ५११,००५ जना उपचारार्थ छन् भने १५१, ८२० जनाले निको भई नयाँ जीवन प्राप्त गरेका छन् । खुशीको विषय के छ भने नेपालमा आजसम्म जम्मा ५ वटा केसहरू देखापरेका छन् । जसमध्ये १ जना पूर्णरूपले स्वस्थ भएको तथा ४ जना उपचारार्थ छन् ।

आजसम्मको अवस्था मध्यनजर गर्दा र यसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले गरेको तयारी र योजनालाई हेर्दा हाम्रो तयारी ढिलो त भएकै हो तर सकारात्मक भने छ । हाम्रोजस्तो स्वास्थ्य सुबिधामा राम्रो व्यवस्थापन नभएको मुलुकका निम्ति युरोप र अमेरिकामा जसरी यो महामारी फैलिएमा नियन्त्रण असंभवप्राय छ ।

यस सन्दर्भमा नेपाल सरकारले सर्वप्रथम सबै अन्तर्राष्ट्रिय उडानहरूमा प्रतिबन्ध लगाएर, छिमेकी मुलुकहरू भारत र चीनसँग रहेका स्थल मार्गहरू अर्थात सीमा बन्द गरेर कोरोना रोकथामका लागि गरेको प्रयास प्रशंसनीय छ । यसका साथै गत चैत्र ११ बाट सम्पूर्ण आवतजावत समेत बन्द गरी लकडाउन घोषणा गरेर जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्नबाट सचेत गराएको, कोरोना परीक्षणका लागि आवश्यक टेष्ट कीट, पीपीई तथा अन्य सामाग्री निर्यात गरेको बिषयलाई अन्य समयमा ढिलासुस्ती गर्ने नेपाली प्रचलनका बाबजुद यसलाई सरकारको सकारात्मक कदम मान्नैपर्छ ।

चैत ११ गतेबाट सुरु भएको लकडाउन आजबाट थप ८ दिन अर्थात चैत २६ गते बिहान ६ बजेसम्मका लागि थपिएको छ। यो समयमा सबको ध्यान केमा होला भन्ने अनुमान गर्न कुनै कठिनाई छैन । संघीय, प्रादेशिक तथा स्थानीय सरकारका प्रतिनिधिहरू आफ्नो क्षमताले भ्याएसम्म जनताका आधारभुत आवश्यकता परिपूर्तिको निम्ति बजार व्यवस्थापन, क्वारेन्टाइनको तथा आइसोलेसन वार्डको प्रबन्ध, डिसइन्फेक्सन अौषधी छर्ने एबं बिभिन्न सचेतनामूलक अभियान लगायतका निम्ति जुटेको देखिन्छ जुन कुरा पनि अहिले सकारात्मक नै छ । यो सँगसँगै दैनिक ज्यालादारीमा जीवन व्यतित गर्ने र अति विपन्न जनताका लागि समेत राहतको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि त्यति नै छ ।

माथिका विषयबस्तुहरूलाई ध्यानमा राखी हेर्दा दैनिक जीवनयापनका बारेमा सबैको चासो र चिन्ता स्वभाविक छ । तर हरेक संकटका बेलामा समाजले बिभिन्नखाले चुनौतिहरू सामना गर्नुपरेका घटनाहरू हाम्रो सामु छर्लङ्ग छन् । यसै सन्दर्भमा समाजमा रहेका एकल महिला, अपांगता भएका नागरिक, तिनका परिवार तथा बालबालिका एबं महिला र बालबालिका माथि हुनसक्ने विभिन्न हिंसा र बेचबिखनमा सन्दर्भमा धेरैको चासो र ध्यान पुग्न नसकेको विषय हो भन्ने लागेको छ ।

नेपालको संघीय शासन व्यबस्था अनुसार अहिलेको देशव्यापी संरचना भनेकै स्थानीय सरकार हो । हरेक स्थानीय तहमा कम्तीमा दुई महिला सदस्य सहितका वडा जनप्रतिनिधिहरू रहेको तथा हरेक पालिकामा उपप्रमुखरउपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति रहेका छन् । तसर्थ यो विषम परिस्थितिमा निम्नलिखित कुराहरूमा ध्यान दिनु जरुरी देखिन्छ:

– हरेक पालिकाले ती जनप्रतिनिधिहरूको अगुवाइमा सामाजिक अभियान्ताहरूलाई सहभागी गराई संभावित जोखिममा रहेका महिला बालबालिकाको लगत संकलन गर्ने

– त्यसरी लगत संकलन गरिसकेपछि ती महिला र बालबालिकाको वर्तमान अबस्थाको अध्ययन गरी आवश्यक साबधानीका लागि सहयोग गर्ने

– त्यसैगरी कुनै घटना भएको खबर गर्नका लागि हरेक टोलटोलमा स्वयंसेवकको व्यवस्था गर्ने

– घटना भएको थाहा पाउनासाथ पीडितरप्रभावितलाई उद्धार, आकस्मिक सुरक्षा र आवश्यक पुनर्स्थापना गर्ने

– घटना भएको जानकारी छिटोभन्दा छिटो न्यायिक समिति संयोजकलाई जानकारी गराउने

– त्यस्तै पीडितरप्रभावितको थप सुरक्षाका लागि नजिकैको प्रहरीको सहयोग लिने

यसर्थ यो विपत्तिको समयमा विभिन्न हिसाबले महिला, बालबालिका, जेष्ठ नागरिक तथा आपङ्गता भएका व्यक्तिहरुको संरक्षणका निम्ति बिशेष ध्यान दिनुपर्ने देखिन्छ। साथसाथै संरक्षण गरिएका आवास गृह तथा सुधार केन्द्रहरुमा संरक्षित व्यक्तिहरुको सुरक्षाका लागि अनिवार्य रुपमा सजगता अपनाउनु पर्ने देखिन्छ ।

(एक दशकदेखि मानव बेचबिखन र लैङ्गिक हिंसाको विरुद्धमा काम गर्दै आएका भट्टराई आफन्त नेपालका निर्देशक हुन् । आफन्त नेपाल नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा गठित मानव बेचबिखन र ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको सदस्य रहेको छ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: