लकडाउन र ‘धर्ती’ हिंसा


प्रकाशित मिति :2020-04-06 16:50:04

आज विश्वव्यापी महामारीको रुपमा फैलिएर वितण्डा मच्याइरहेको कोरोना भाईरस, जस्ले आम मानव जातीलाई त्राही त्राहीमा जीउन बाध्य बनाएको छ । विश्वव्यापी रुपमै खैलाबैला मच्चाएको छ । साँच्ची भन्नु पर्दा मैले जीवनका कैयौं बसन्तहरू पार गरे तर यस्तो त्रासपूर्ण परिस्थितिको सामान पहिलो पटक गर्दैछु । थाहा छैन मलाई मात्रै यस्तो अनुभूति भएको छ कि अरुलाई पनि ? अरुबेला खोकी लाग्दा वास्तै हुन्थेन, यसो खोकी लाग्थ्यो २,४ दिनमा निको भैहाल्थ्यो, वास्त हुन्थेन । तर अहिले लाग्ने रुघाखोकी भने विशेष छ । त्यसै शंकैशंकामा लंका पुगिएकै छ । बेलुका राम्रै सुत्यो विहान उठ्दा यसो अलि अप्ठेरो महसूस भयो कि बा मलाई त….भनेर फेरि त्यतै त्रास । थाहा छैन यो त्रास कहिलेसम्म हो खै, अन्धकार छ अगाडि । आज विश्वमा यही कोरोनाकै कारण कैयौंले ज्यान गुमाई सके भने कैयौं संक्रमितहरू अस्पतालका बेडहरूमा छटपटाई रहेका छन् ।

म मेरै घरभित्र लकडाउन भएता पनि सारा दुनियाँको ताजा खवर भने तुरुन्त तुरुन्तै पाईरहेकी छु । धन्य छ इन्रनेटको संसार, जसले संसारलाई खुम्चाएर एउटा मोवाईलमा नै सिमित बनाईदिएको छ । हिजो आज म मेरोे कामको प्रकृति अनुसार विहानै उठेर उपलब्ध भएका सबै अनलाईन न्युजहरू हेर्नपुग्छु, कारण यो लकडाउनको अवधिमा लैंगिक हिंसाको अवस्था कस्तो रह्यो, कस्तो रहदैछ भनि विश्लेषण गरि ती घटनाहरूलाई दस्ताबेजीकरण गर्ने र सम्बन्धीत निकायहरूलाई जानकारी दिने । विडम्बना यो समयमा यस्ता घटनाहरूप्रति कसैको चासो छैन । यस सम्बन्धी काम गर्ने संघ सस्थाहरू समसामयीक समस्याले गर्दा प्रभावकारी ढंगबाट काम गर्न सकेका छैनन् । प्रहरीहरू अन्यन्त्र व्यस्त भएको अवस्था छ भने महिला हिंसा भएको खण्डमा महिलाहरूले उजुरी गर्ने एकमात्र स्थान राष्ट्रिय महिला आयोगको हटलाई सेवा पनि यो अवस्थामा निष्कृय नै छ । यही मौकामा महिला हिंसाका घटनाहरू भने अकल्पनीय तरिकाले बढेको बढ्यै छन् ।

देबका के.सी

म यसरी समाचारहरू पढ्दै जाँदा महिला हिंसा तथा लैंगिक हिंसाका अनेक थरि समाचार पाउँछु । हरेक दिन कुनै न कुनै समाचार पत्रपत्रिकाहरूमा आईरहेकै छन् । चाईनामा यही कारणले अत्यधिक सम्बन्ध विच्छेदका घटनाहरू बढे रे । भण्डै ४० प्रतिशतका दरले भने महिला तथा बालिका माथि हिंसा तीन गुनाले बढेको छ भनेर विभिन्न पत्रपत्रिकामा पढ्न सकिन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने हरेक दिन महिला हिंसाका समाचारहरू जस्तै १३ वर्षे बालिका बलात्कृत भएको घटना, १९ वर्षीया युवतीद्वारा आत्महत्या, महिलालाई आगो लगाई हत्या गर्ने प्रयास, युवती घरभित्र मृत अवस्थामा फेला परिन जस्ता अनेक घटनाहरू नआएको त दिनै छैन । भनिन्छ मान्छेको सबैभन्दा सुरक्षित स्थान घर हो । तर सबैभन्दा बढि महिला हिंसा हुने स्थान पनि त्यही घर नै हो ।

अहिले लकडाउनले गर्दा स्कुल, कलेजहरू बन्द छन्, सम्पूर्ण कार्यालयहरू बन्द भएका छन् । सबैजना घरमै बस्ने, घरको सबै काम महिलाले नै सम्हाल्नु पर्ने, विहानै उठेर परिवारको लागि नास्ता, खाना, खाजा, बेलुकाको खाना बनाउने काम महिलाले मात्रै गरेको देखिन्छ । हुन सक्छ यस्मा कहिँ कतै पुरुषको पनि सहभागिता त होला तर एकदमै न्यून, किनकी यो पितृसत्तात्मक सोच र मानसिकता भएको समाजमा पुरुषले घरभित्र वा भान्साको काम गर्न हुँदैन रे । सबै पुरुषले म म गरौं र आफूलाई समयसँगै परिवर्तन गर्न सिकौं । किनकी लैंगिक समानता कायम गर्न तपाईंको ठूलो भूमिका छ । परिवर्तन आफूबाट शुरु गरौं ।

यो अवस्थामा महिलाहरूको स्थिति कस्तो होला हामी आफै कल्पना गरौं । छोराछोरीलाई भोक लागे आमालाई, श्रीमान्, परिवारलाई भोक लाग्यो भनेर सुनाउने तिनै महिलालाई, भान्सामा के छ के छैन के पकाउने भन्ने तनाव उनै महिलालाई, रासन पानी सकियो चिन्ता उनैलाई । रातदिन घरभित्र बस्दा बस्दा सबै मानिसहरू एक प्रकारको विक्षिप्त भएको अवस्था छ अहिले । बच्चाहरू बाहिर खेल्न जान नपाएको पीडा, पुरुषहरू दिनभरि घरभित्र कोचिएर बस्नुको पीडा । यी सबै कुराहरू सम्हाल्नु पर्ने जिम्मा फेरि महिलाको काँधमा । यी सबै समस्याको समाधान गर्ने फेरि उनै महिला । यसो गुनासो गर्यो बोल्यो भने फेरि घरमा कलह । अब हामी सोचौं यो परिस्थितिमा उनको अवस्था ? त्यसै भनेका रहेनछन् हाम्रा पुर्खाहरूले महिलालाई ‘धर्ति’ भनेर । अनेक सहनुपर्ने । अनेक बेहोर्नुपर्ने महिलाले ।

यो त एउटा पाटो भयो, यो भन्दा झन् दर्दनाक छ अर्को पाटो । दैनिक ज्याला मजदुरी गरेर साँझ विहानको छाक टार्ने परिवारको अवस्था के भएको होला अहिले सोचौ त । मैले नजिकबाट नियालेको एउटा त्यस्तो परिवार जस्ले दैनिक रुपमा कमाएर खाने गरेको, कुनै घरको छिँडीमा उसको वास, बच्चाहरू रोएको, कराएको सुनिन्छ । सायद खान नपाएर होलाजस्तो लाग्छ । श्रीमान् श्रीमतीको समय समयमा झगडा भैरहेको सुनिन्छ । अस्ति बेलुका त झन् रुवाबासी नै चलेको सुनियो । थाहा छ यो सबै गरिवीकै कारण हो, यो लकडाउनकै कारण हो । थाहा छैन यसरी नै लकडाउन बढ्दै गयो भने ती महिलाको अवस्था के हुने हो, ती बच्चाबच्चीहरू, त्यो परिवारको अवस्था ! फेरि भन्न मनलाग्छ भगवान भरोसा ।

गरिवी, अशिक्षा र पछौटेपनका कारण सामान्य अवस्थामा पनि नेपालमा महिला हिंसाका घटनाहरू अत्यधिक छन्, त्यसमा पनि घरेलु हिंसा । गएको वर्षको नेपाल प्रहरीको तथ्यांकलाई हेर्ने हो भने महिलाविरुद्ध हुने हिंसाको ७८.८४ प्रतिशत घरेलु हिंसा भएको देखिन्छ । घरेलु हिंसा पछि नेपाली महिलामाथि बलात्कार तथा बलात्कार पछि हत्या पनि त्यत्तिकै भएको छ । नेपाल प्रहरीकै गत वर्षको तथ्यांकले १७.१७ प्रतिशत बलात्कार, बलात्कार प्रयास तथा यौन हिंसाको घटनाहरू भएको देखाएको छ । यो वर्ष कोरोनाकै कारण यो तथ्यांक बढ्ने खतरा छ ।

अहिलेको यो विकराल समयमा महिला हिंसाका घटनाहरू विश्वव्यापी रुपमा अत्यधिक बढेका छन् । फ्रान्समा गत हप्ताको तथ्यांक अनुसार ३२ प्रतिशत घरेलु हिंसाका घटना बढे भए भने पेरिसमा मात्र ३६ प्रतिशतले बृद्धि भयो रे । त्यस्तै इटली, स्पेन, अमेरिका, बेलायत लगायत कोरोना प्रभावित सबै देशहरूमा घरेलु हिंसाका घटनाहरू अत्यधिक बढिरहेका छन्, यस मामिलामा नेपाल पनि अछुतो नरहला । यस्ता घटनाहरूलाई सम्बोधन गर्न युरोपेली देशहरू विशेष गरि फ्रान्स, जर्मनी, स्पेन, इटली, बेलायत ब्राजीलले एकदमै राम्रा सकारात्मक कृयाकलापहरू गरेको देखिन्छ । जस्तै फ्रान्सले घरेलु हिंसा पीडितहरू होटलमा बसे उक्त होटलको बिल सरकारले तिर्ने व्यबस्था गर्यो । जर्मनीले घरेलु हिंसा पीडितहरू बस्नको लागि होटल खाली गरेको छ भने गेष्ट हाउसहरूलाई सेफ हाउसमा परिणत गरेका छ ।

यो विषयमा नेपालमा भने सरकारको ध्यान नगएको अवस्था छ अहिले । यस्तो अवस्थामा सरकार झन् संवेदनशील भएर सोच्नु पर्नेमा झन् भएको सेवा पनि निष्कृय पारिएको छ । एउटी जान्ने बुझ्ने महिलामाथि हिंसा भए पनि कहाँ कुन निकायमा जाने भन्ने अत्यौल छ । सरकारले यस्तो अवस्थामा हिंसा पीडित महिलाहरूको उद्धारको लागि केही योजनाहरू तुरुन्त ल्याउनु पर्ने देखिन्छ । महिला हिंसाको विषयलाई सम्बोधन गर्न सबैपक्ष संवेदनशील हुन अति नै आवश्यक छ आज । महिलामाथि भैसकेका हिंसाका घटनाहरूलाई सम्बोधन गर्नु उत्तिकै जरुरी छ । किनकी यो समस्या महिलाको मात्र समस्या होईन। यो समग्र देशको समस्या हो, महिला पुरुष दुबैको समस्या हो। यस विषयमा संवेदनशील होऔ, संवेदनशील भएर सोचौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: