आफ्नै घरमा सुरक्षित तरिकाले क्वारेन्टाइनमा बसेको पनि आज १६ दिन भएछ । बाहिर के के भइरहेको भन्ने कुराको सबै जानकारी समाचार, सामाजिक संजाल र साथीहरूसंगको लिखित वा मौखिक भलाकुसारीबाट थाहा भइरहेको छ । यतिमै सिमित छौं हामी । साथीहरूसंग कुरा गरिरहँदा सबै जना अत्तासिएको महसुस हुन्छ । जेनतेन एक–अर्कालाई जबर्जस्ती शान्त पार्न कोसिस गरिरहेका छौं । बिहान उठ्नेबित्तिकै के छ त आजको नयाँ समाचार भन्दै मोबाइलमा नजर दौडाएर दिन सुरु भरहेको छ ।
केही दिनदेखि भारतका प्रधानमन्त्रीले अप्रिल ५ मा दीप प्रज्वलन गरि विश्व शान्तिको कामना गर्दै हुनुहुन्छ भन्ने सन्देश आयो । कुरा बेठिक लागेन । मलगायत हामी धेरै नेपालीहरूले आ–आफ्नो घरमा दीयो बाल्यौं र विश्व शान्तिको कामना गर्यौं । हामीले बालेको दीयोले वायु मण्डलमा कस्तो असर पार्यो त्यो त थाहा छैन, भरोसा न हो । हाम्रो कामना प्रकृति माताले सुनिन् कि सुनिनन् त्यो पनि प्रमाण पेश गर्न सकिन मैले ।

जिवन्ती पौडेल
तर दीयो त सधै बाल्छु मैले मेरो घरमा । मलार्ई मेरो जन्म दिने आमा र सासूआमाले सिकाउनुभएको संस्कार हो यो त । हरेक साँझमा दीयो बाली आफ्नो परिवारको सुख सम्वृद्धिको कामना गर्न मलार्ई असाध्यै मन पर्छ । हिजो त सारा विश्वको लागि धेरै साथीहरूसंग एउटै समयमा दीयो बाली प्रकृति मातासंग शान्तिको कामना गर्दा मन शान्त पनि भयो । कमसेकम सबैको भलो होस् भन्न त आयो मलार्ई पनि ! सामाजिक संजालमा पनि आए धेरैका घरमा मैले जस्तै दीयो बाली विश्व शान्तिको कामना गरेका फोटाहरू । रमाइलो पनि लाग्यो ।
दीयो बालेर विश्व शान्तिको कामना गरेकय फोटाहरु सामाजिक संजालमा सार्वजनिक भएपछि विभिन्न खालका प्रतिकृयाहरू पनि आए । क्रान्तिकारी नेताज्यूहरूले दीयो बालेको प्रसङ्गमा मजाक उडाएको देख्दा मन झस्कियो र आफैलाई प्रश्न गरे भारतका प्रधान मन्त्रीको आव्हानमा विश्व शान्तिको कामना गरि दीयो बाल्न के अपराध गरें त मैले पनि ? मैले देखेकी छु हाम्रा क्रान्तिकारी नेताहरूको घरमा पनि सधैं दीयो बल्छ । हरेक बिहान निधारमा चन्दन, अबिरको टीका र शिरमा फूल सिउरेको देख्छु । प्राय सांस्कारिक कर्म काण्डका कार्यक्रममा मलार्ई पनि निम्ता आउँछ, निम्ता मान्न पनि आउने जाने हुन्छ । मैले त क्रान्तिका नाममा आफ्नो संस्कार चटक्कै छोडेर अर्कै केही नयाँ संस्कार स्थापित गरेको भेटेकी छैन । किन आडम्बरी कुरा गर्नुहुन्छ महोदय ? दीप प्रज्वलन त हाम्रो संस्कृती हो । विश्वमा फैलिएको यो कोरोना भाइरस आतङ्क शान्त पार्न आज विज्ञान असफल भइरहेको हो कि जस्तो भान परेको छ सारा मान्छेलार्ई । मानसिक त्रास बढेको छ, मान्छेमा मानवता हराएको छ । स्थिति असामान्य भइरहेको बेला विश्व शान्तिको कामना गरि एउटै समयमा दीयो जलाउनुमा के अपराध भयो र ?
सन्देश एउटा आउँछ, त्यो भन्दा धेरै बुझेर नेपालीहरूले कोरोना भगाउने भन्न थालेछन्, थाल, नाङ्लो ठटाउन थाले रे…..! कठै हाम्रो मानसिकता ! के गरौं र कसो गरौं भनेर अत्तालिएको मानसिकता छ सबैमा ।
आज संसार ठप्प छ । यस्तो बेला पनि कसैलार्ई भ्रस्टाचार गर्ने चिन्ता छ, कसैलाई सरकार संचालकहरूको कालो दागमा मात्रै ध्यान छ । सरकारलाई कसरी लुकाउने भन्ने खेल पनि कमजोर छैन । आखिर जनता यतिबेला के चाहान्छन्, कसैलार्ई चासो छ ? कोरोना संक्रमणको डर मन्त्रीहरूलाई छैन र ? अस्पतालमा डाक्टरहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्न उपयुक्त उपकरणको चरम अभावले गर्दा असुरक्षित महसुस गरिरहेका छन्, सुरक्षाकर्मी मित्रहरू लकडाउन सफल पार्न हामीलाई घरभित्र बसिदिन आग्रह गर्दै भोकै, प्यासै सडकमा खटिरहेका छन्, यो अवस्था पार गर्न हामी भने सरकारको आदेश पालना गरि सुरक्षित बस्न पनि अफ्ठ्यारो मानिरहेका छौं ।
संसार हल्लिरहेको यो दैबी प्रकोपको सामना गर्न आज सडकमा, हस्पिटलमा खटेका हाम्रा दाजुभाइ दिदीबहिनीलाई हौसला दिनु पर्दैन र हामीले ? हामीले टेकेको जग नबिर्सौ प्लिज ! घरमा दीयो बाल्ने चलन त सधैं देख्दै र गर्दै आएको कुरा हो । कामना गर्नु सिवाय हामीसंग अरु के बिकल्प छ त ? बत्ती बालेको प्रसंगमा टिप्पणी देख्दा झन् बैराग लाएर आयो मलाई त ।
संयोग पर्यो होला भाजपा स्थापना दिवसको, आखिर के बर्बाद हुन्छ होला त भाजपा स्थापना दिवसमा दिपावली भएकै भए पनि ? किन यति साहे नकारात्मक चिन्तन आउँछ हाम्रो मनमा ? संसारमा सबैको कल्याण होस्, सबैको मंगल होस् भन्न किन कन्जुस्याँइ गर्नु छ र ? आफ्नो आस्थाको आदर्श बचाइ राख्न अर्काको मजाक उडाउन जरुरी छ र ? हामी चाहिँदो भन्दा र क्षमता भन्दा धेरै विज्ञ देखिन खोजेर हुन्छ र ? नेपाली समाजको मानसिकताको नेतृत्व गरौं न !
कुरीति, कु–संस्कारहरू मजाक उडाएर अन्त्य हुदैनन्, प्रमाणित गरि महसुस गराउन सक्नु पर्छ । आम जनताको भावनाको प्रतिनिधि बनौं हामी अगुवाहरू । हामीले बोकेका वाद र हामीले ल्याउन खोजेको तन्त्र जनताले कसरी बुझेका छन् ? हामीले बुझाउन सकेका छौकी, छैनौं ? आफैलाई फर्केर महसुस गरौं । जनताले बुझ्ने भाषा व्यवहार हो, हामी व्यवहारमा रुपान्तरण हुन पर्दैन र ? अप्रिल ५ मा बत्ती बाल्ने जति रुढिवादी, नबाल्ने जति क्रान्तिकारी भन्ने कित्ता तोकेर मजाक नगरौं । बरु यति धेरै भइसकेपछि मानसिकता र वैज्ञानिक तथ्य केही छ कि भनेर खोजौं, मेरो अनुरोध छ ।
(यो लेखकको नीजि विचार हो ।)
Comment Here!