सेतो सारी लगाउने रहर


प्रकाशित मिति :2020-04-20 14:09:32

-बिमला तुम्खेवा-

दस वर्षको उमेर छँदै मभित्र एउटा सपना हुर्कियो- कवि बन्ने । यो सपना घटेन झनझन् बढ्यो ।

घर नजिकैको घना जंगल उबेला फाँडेपछि फेरि वन बिभागले वृक्षरोपण गरेको थियो । म दिनभर त्यही नर्सरीमा खेल्न अनि पढ्न जान्थे । त्योबेला देशमा भर्खर बहुदल आएको थियो । यहीबेला पथरीमा जंगल धेरै मासियो । जंगल मासिएपछि वन विभागले लगाएको सिसौको नर्सरी थियो, म त्यही नर्सरीमा दिनभर खेल्न र पढ्न जान्थे । सिसौको रुख र हरियो चउर । हरियो जंगल, खोला, गाउँको फराकिलो बाटो, पहाडको तेर्सो कुईनेटो खोला र त्यहाँ भेटिने साना साना माछा हेरेरै घन्टौं बसिरहन मन लाग्थ्यो । नजिकै बगिरहेको पथरी खोला नजिकको भुल्के पानीको कुवा सबै त थियो मलाई खेल्नलाई ।

किन किन त्यो चउरप्रति गहिरो लगाव थियो मेरो । चैतको गर्मिलो तराई । पातसम्म नहल्लिने । अचानक हावाले ल्याएको चिसो बतास र सिसौको पातसंग खेलिरहेका रङ्गी बिरङ्गी पुतली मलाई साँच्चिकै रमाइलो दृश्य लाग्थ्यो ।

यसैबेला हो गोर्कीको आमा उपन्यासको पाभेलप्रति मेरो गहिरो अभिरुची बढेको । एकोहोरो मन पराए । त्यसपछि धेरै समयसम्म म पाभेलसंगको एकोहोरो आर्कषणमा रहिरहे । पाभेलकै सम्झनामा कति रात अनिदो बित्यो । अहिले त्यस्तो हुनु नि ……….. ।

आमासंग झगडा गर्दै मागेको पैसाले लक्ष्मी दिदीको पसलमा गएर थुप्पा खाएपछि मेरो दिन प्राय त्यही नर्सरीमै बित्यो । त्यैबेला हो “जेठासुब्बाको छोरी बिग्रिएर गई” भनेर टोलभरी हल्ला चलेको । नचलोस् पनि किन ? संगैको केटी साथीहरु काममै व्यस्त । म कतिसम्म अराजक भने यहीबेला हो सेतो साडी लगाएर कवि गोष्ठीतिर हिंड्न थालेको । छोरी मान्छेले लोग्ने मरेपछि सेतो साडी लगाउनुपर्छ भन्ने प्रचलनविरूद्ध मैले उबेला सेतो साडी लगाए । तर चर्चा हुन्थ्यो विमलाले किन सेतो साडी लगाएको ? घरबाट बाहिर निस्कदा मान्छेहरु भन्थे “कलिलै उमेरमा नानी बिधुवा भैछिन्” तर म अविवाहित भएको थाहा भएपछि चकित हुन्थे । त्यसपछिका दिनमा नै हो सेतो सारी लगाएको कारण मैले धेरै कुरा सुन्न परेको । तर मैले अरुको कुरा सुने पो ।

म कति जिद्दी भने अब त झन् सेतो साडी मात्र होईन, कुर्ता सुरुवाल पनि सेतै लगाउथे । तर मसंग अरु पनि कपडाहरु त थिए नि । तर सधै सेतै लगाउथे । बुबाले पेन्सन थापेको दिन कि कपडा ल्याईदिने, कि एक सय पक्का दिने । हरेक अंग्रेजी महिनाको एक तारिख बुबाले पेन्सन थाप्ने । तर दशैँ मेरो आउने । उबेला भर्खर रंगिला फिल्म आएको थियो । उर्मिलाले लगाएको रंगीला बुट फेशनमा थियो । झगडा गरेरै त्यो रंगिला बुट बुबालाई किनि मागेको थिए । त्यसपछि बुट र वान पिस जामा लगाएर कविता भन्न मोरङको सुन्दरपुर कवि गोष्ठीमा गएको त्यहाँ त एउटा कविले रङ्गिला बुटकै कविता भनेपछि म लाजले भुतुक्कै भएको थिए । अहिले पनि सम्झिदा यस्तो लाग्छ- लाज लुकाउने ठाउँ हुन्नरहेछ ।

घरसम्म आउन मलाई कति सकस भएको थियो भने त्यसपछि मैले कहिले त्यो बुट लगाईनँ ।

बाहिर सेतो साडी लगाउने कवि भनेर चिने पनि खासमा भित्री रुप अर्कै थियो मेरो । भागेर फिल्म हेर्न जानु, ग्याङ फाईट खेल्नु , स्कुलबाटै उताउतै साथीहरुसग जंगल गएर कुसुम टिपी खानु, स्कुलबाट भागेर पौडी खेल्न जानु यस्तो उपद्रोचाही दिनहुँ जसो नै गर्थे ।

पथरी बजार नजिकको कुनै खोला र पोखरी बाकी छैन मैले पौडी नखेलेको । आमाले अघिल्लो दिन जे गर्नु हुन्न भनेर सम्झाउने भोलिपल्ट म त्यही काम गरिछाड्ने । कति पल्ट त मेरै कारणले आमा बुबाको कुटाकुट नै हुन्थ्यो । अहिले सम्झिदा सन्तान भनेको पनि दुस्खकै कारणहरु मध्ये एक रहेछ । मैले उबेला घरमा दिएको तनाब लेखिसक्नु छैन । उबेला मैले अविवाहित युवतीले सेतो साडी लगाउन हुन्न भन्ने थाहा पाएपछि नै हो सेतो सारी लगाएको । तर घरमा कहिल्यै सोधेनन् सेतो साडी किन लगाएको भनेर । मैले भने अहिले बुझे, मलाई किन उबेला बिग्रेको छोरी भनिएको रहेछ । तर पनि ठिक छ मलाई कुनै गुनासो छैन ।

पथरी खोलाको किनारमा घण्टौं खुट्टा डुबाएर म डुब्न लागेको घाम हैर्दै बस्थे र सोच्थे एकदिन काठमाडौं गएर कवि बन्छु । त्यो बेला मध्यरातमा महेन्द्र राजमार्गमा दौडिरहेको मालवाहक ट्रकको एकोहोरो आवाज सुन्नैको निम्ति आधारातसम्म अनिँदो बस्नु त मेरो निम्ति लत जस्तै थियो । आज सम्झदा लाग्छ हो नि ती रातहरु नितान्त मेरा थिए ।

२०४१ सालमा आगो लागेर पहिलेका साना छाप्रोहरु सबै मासिएपछि नै हो बिस्तारै टिनका घरहरु बन्न थालेको पथरी बजारमा । नत्र त पोथ्राहरु जस्तै लाग्थ्यो पथरी बजार । उबेला पूर्वी पहाडबाट मधेस झर्नेहरुको गन्तव्य मोरङ र झापाका बस्तीहरु हुन्थे । पथरीमा बिहिबार र आईतबार गरि हप्तामा दुईपटक बजार उठ्थ्यो । आमाले दिएको एक रूपैयाँले पापड, बरफ र छाप्री कोला किनेर खादा पनि अझै चाराना गोजीमा बाकी हुन्थ्यो । त्यति चाराना पैसा फ्रकको गोजीमा बोकेर बजारमा देखाईने बादर नाच , ईन्द्रजाल अनि डाईस सबै सबै हेर्न भ्याईन्थ्यो । सम्झेर ल्याउदा बास्तवमा सुख र शान्ति पनि जीवनमा यही बेला नै खास भोगिएको रहेछ ।

उबेला खरभुजा खादै बजार घुम्नुको मज्जा नै बेग्लै । बजारदेखि दक्षिण भेगमा शनिश्चरे, अमरदह हुँदै बोर्डरसम्मैका सबैको बजार पथरी बजार नै हो । फेरि म पिङ भनेपछि हुरुक्क । आमासंग झगडा गरेर घरछेउमा ठल्किएर उभिएको सालको रुखमा पिङ लगाएपछि मेरो बास त्यसै । अहिले सम्झन्छु आमा र बुबाले सन्तानहरु मर्दा मर्दा एउटा बाचेको पिउसो पनि फेरि चिप्लीहाले भन्ने त्रास र मायाले नै मलाई यो किसिमको स्वतन्त्रता दिएको रहेछ । पछि आमा भन्नुहुन्थ्यो, “सन्तानको माया आफै आमा भएपछि मात्र थाहा हुन्छ । तैले पनि आफै व्याएपछि मात्र चाख्छस् ।”

म यतिबिघ्न स्वतन्त्र भएर बाच्न पाउनु लिम्बुकै छोरी भएर मात्र सम्भव भएको हो भन्ने मेरो बुझाई छ । लाग्छ कहिलेकसो मेरो आमाबुबाले मलाई आम छोरी जस्तो बनाउन नचाहेकै रहेछन् । नत्र त बुबाले मलाई सधै किन “कुटाई खाएर होईन, कुटेर आउनु परेको म बेहोर्छु” भन्नुहुन्थ्यो त । फाईट खेल्दा बुबाको यो कुराले खपिनसक्नु हिम्मत आउने । कस्तो भने चार चारजनासंग एक्लै फाईट खेल्ने भनेपछि सकिगो नि । बेलुका स्कुलबाट घर आईनपुग्दै तिम्रो छोरीले पिट्यो भन्दै आमालाई उजुर गर्नेहरु कोही न कोही हुन्थ्यो नै हरेक दिन जसो । तर मेरा साथीहरु दयान, दिवस, काजी अमिर रेणुका, सेतो मुना, रातो मुना, बबिता, राजेन्द्र ती सबै अहिले हङकङ छन् । राजिन्द्र मात्र कतार छ ।

घरछेउमा काईली दिदीको आमा बोजु हुनुहुन्थ्यो उबेला । साह्रै भाका हालेर लोक गीत गाउने । प्राय आमाबुबा बोजुहरु लोकगीत गाएरै रात बिताईदिने । बुबा पनि गीत गाउनचाहिँ खोज्ने तर स्वर नराम्रो । बरु आमाको राम्रो । हुन त बुबा पेशाले आर्मी तर देबकोटा, बम देवान र बैरागी काईलाको बारेमा भनिरहनु हुन्थ्यो । खासगरि देबकोटाले कोटलाई चिया खुवाएको सन्दर्भ । यी कुराहरु बुबाले रक्सी खाएकै बेला पनि भन्ने । सायद यही कुराहरु गहिरोसंग मनमा रह्यो । हुनसक्छ यी अवस्थाहरुबाट म कविताप्रति आकर्षित भएकी । अहिले सम्झिदा कता कता त्यस्तै लाग्छ ।

बुबाले नारायण गोपालको गीतको मर्मको बारेमा आमालाई सुनाउनुहुन्थ्यो । तर आमाले बुझे पो ! कहिलेकाही आमालाई “बुढी मेरो छोरीलाई जे गर्न मन लाग्छ गर्न दे । मर्दा मर्दा बाचेको बुटी जस्तो । म पनि युद्वबाट बाचेर आएको हुँ बुझिस ” भन्नुहुन्थ्यो । तर यस्तो भनाभनचाहिँ बुबाले मात्र होईन, आमाले पनि बुबालाई भनेको सुन्थे । “आखिर मेरो एउटा छोरी जसरी पनि पाल्छु ।”

सम्झन्छु – आमासंग झगडा गरेर लगाई मागेको त्यो पिङ अनि पिङमा मच्चिदै गाएको त्यो गीत पनि मात्र थाहा पाए मैले गाएको “चादनी रातको चन्द्रझै” भन्ने यो गीत राजा महेन्द्रले लेखेको रहेछ । तर उबेला यो गीत सबैको मुखमा झुन्डिएको थियो । अहिले सम्झिन्छु छक्क लाग्छ मेरो जिद्वीपनप्रति । जे गर्नुहुन्न भन्यो त्यही गर्ने मेरो बानीले मलाई कतिसम्म जिद्वी बनाएको रहेछ ! जस्तै हरेक दिन लाप्पा खेल्दै साझ घर आउनु । पानी देख्नै नहुने जस्तै भेलमा पनि पौडी खेली हाल्नु । कतिपल्ट त झण्डैले खोलाले बगाएर लगेको छ र। खोलासंग गासिएका मेरो किस्साहरु पनि कुनै दिन भन्नेछु । तर त्यसरी सेतो साडी लगाउने मेरो जिद्वी पछि पछि त पूर्वमा सेतो साडी लगाउने केटी भनेर चिन्न थाले । त्यसपछि धेरै वर्षसम्म मैले सेतो साडी नै लगाए । अहिले सम्झदा लाग्छ यो समाजसंग मैले सेतो साडी लगाउन जति बिद्रोह गरे, त्यो भन्दा ठूलो बिद्रोह त मेरो आमा बुबाले गर्नु भएको रहेछ- मेरो सेतो साडी लगाउने जीतलाई स्वीकार गरेर ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: