राष्ट्रपति महिला भएपछि लागु भएको हवाई उद्धार सम्बन्धी कार्यविधि वरदान साबित


डेढ वर्षमा दुई सय बढीको ज्यान जोगियो

प्रकाशित मिति :2020-05-05 15:07:27

–महिला खबर–

ललितपुर । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत डेढ वर्षमा एक सय जना महिलाको ज्यान बचाइएको छ । ‘दुर्गम क्षेत्रका ज्यान जोखिमा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७५’ लागु भएपछि आजका मितीसम्म एक सय जना महिला र शिशुसहित २ सयभन्दा बढीको निःशुल्क हवाई उद्धार गरि ज्यान जोगाइएको हो ।

राष्ट्रपति महिला (विद्यादेवी भण्डारी) भएपछि आर्थिक वर्ष ०७३/०७४ देखि ३० जिल्लामा लागु भएको राष्ट्रपति महिला उत्थान कार्यक्रमको २०७५ भदौ २१ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा शाखा स्थापना गरिएको थियो । हवाई उद्धार सम्बन्धी यो कार्यविधि स्वास्थ्य उपचारको अभावमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि वरदान साबित भइरहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका राष्ट्रपति महिला उत्थान शाखा प्रमुख अञ्जु ढुंगानाका अनुसार उपचारको अभावमा कुनै पनि सुत्केरी तथा गर्भवती महिलाले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने कार्यविधिको मुख्य उद्देश्य हो ।

जीविकोपार्जन सुधार र आर्थिक सशक्तिकरण, कुरीतिविरुद्धको सामाजिक अभियान र संरक्षण र उद्धार गरि तीनवटा आयाम बोकेको कार्यविधि २०७५ साल कार्तिक ३० गते मन्त्रीस्तरीय निर्णयबाट पारित भएपछि २०७५ पुस ६ गते पहिलोपटक हुम्लाकी महिलाको हवाई उद्धार गरिएको थियो ।

सदरमुकाम सिमीकोटबाट चार दिनको पैदल यात्रामा पुगिने चंखेली गाउँपालिकाकी मिरा शाही २४ घण्टा भन्दा बढी प्रसव व्यथा लाग्दा समेत सुत्केरी हुन नसकेपछि ज्यान जोखिममा परेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारीले फोन गरेपछि तत्काल नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि आमा र शिशु दुवैको ज्यान जोगाएको मन्त्रालयको राष्ट्रपति महिला उत्थान शाखा प्रमुख ढुंगानाले जानकारी दिइन् ।

ढुंगानाकानुसार लामो प्रसव व्यथा लागेका, पेटमै शिशु मरेका, सुत्केरी हुँदा पहिले टाउको निस्किनु पर्नेमा हातखुट्टा निस्किएपछि योनीमै अड्किएको, अत्यधिक रक्तश्राव भएको, शरीर सुन्निएको, रक्त अल्पता भएका घटनामा मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिसमा महिलाको उद्धार गरिन्छ ।
यसरी उद्धार गरिएका महिलाहरूलाई नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम लागु भएका सरकारी अस्पतालमा उपचार गरिन्छ । जसमा प्रदेश नम्बर एकको कोशी अंचल अस्पताल, प्रदेश नम्बर दुईको सगरमाथा अञ्चल अस्पताल, प्रदेश नम्बर तीनको परोपकार प्रसूति गृह थापाथली, गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, प्रदेश नम्बर पाँचको लुम्बिनी अञ्चल अस्पताल वुटवल, कोहलपुरमा मेडिकल कलेज बाँके र भेरी अंचल अस्पताल बाँके, कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत, र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल तोकिएका छन् ।

बिरामीको अवस्था नाजुक भएमा तथा तोकिएका प्रादेशिक अस्पतालमा उपचार सम्भव नहुँदा भने परोपकार प्रसूति गृह थापाथली र टिचिङ अस्पताल महाराजगञ्जमा ल्याइने गरेको छ ।

एउटा उद्धारमा ५५ हजारदेखि ६ लाखसम्म खर्च

यसरी जोखिमपूर्ण अवस्थाका सुत्केरी तथा गर्भवतीको उद्धार कार्यमा कम्तिमा ५५ हजारदेखि बढीमा ६ लाखसम्म खर्च लाग्ने गरेको छ ।

मौसम राम्रो भएको अवस्था, हावाहुरी नचलेको बिहानको समय, र काठमाडौंबाट छोटो दुरीमा रहेको सानो हेलिकोप्टर जान सक्ने ठाउँ छ भने ५५ हजारसम्म खर्च लाग्छ । यदि हिमाली जिल्ला, हावाहुरी लागेको अवस्था, दिउसो २ बजेपछिको समय वा टाढाको दुरीमा रहेको ठाउँबाट उद्धार गर्नु पर्दा भने एकैपटक ६ लाखसम्म खर्च हुने गरेको प्रमुख महिला विकास अधिकृत ढुंगानाले बताइन् ।

केही समय अघि अपर डोल्पाबाट उद्धार गरिएको घटनामा ६ लाख बढी खर्च भयो । सुत्केरी हुन नसकेपछि पहिलो श्रीमती गुमाएका एक पुरुषको दोस्रो श्रीमती पनि सुत्केरी हुन सकिनन् । स्थानीय स्वास्थ्य चौकीले पेटको शिशु तेस्रो छ र महिलाको ज्यान जोगाउन समेत मुस्किल भएको बताएपछि छट्पटिएका श्रीमान्लाई राष्ट्रपति महिला उत्थान अन्तरगतको यो सेवा बारे कसैले जानकारी दियो । उनले प्रमुख जिल्ला अधिकारीसंग हारगुहार गरे । जिल्ला प्रशासनले तुरुन्त उद्धार गर्नु पर्ने अवस्था बारे बताएपछि नेपाली सेनाको ठूलो हेलिकोप्टरबाट उनको तत्कार उद्धार गरि ज्यान जोगाइयो ।

‘मान्छेको जीवन जोगाउनु नै पहिलो प्राथमिकता भएकाले पैंसा कति लाग्छ भन्नेतिर ध्यान दिइन्न’ राष्ट्रपति महिला उत्थान शाखा प्रमुख अञ्जु ढुंगानाले भनिन्, ‘मृत्युको मुखमा रहेका आमा र शिशुको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता हुन्छ । पैंसा धेरै लाग्ने अवस्थामा उद्धार नगर्ने भन्ने कुरै हुदैन । यो राज्यको जिम्मेवारीभित्रको काम हो ।’

उद्धार गरिएका सय जनामा सबैभन्दा धेरै १४ जना डोल्पाका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: