कामकाजी आमाका लागि सन्तान बोझ कि गौरव ?


प्रकाशित मिति :2020-05-23 16:41:52

केही दिन अगाडि सामान खरिदका लागि एउटा सुपर मार्केट चहार्दै थिएँ । एउटा ल्यापटप ब्याग मन प¥यो । ब्याग हेर्दै थिएँ, माथिल्लो तल्लामा रहेको सो स्टोरको पछिल्लो भागमा सेक्योरिटी र एड्मिनको अफिस रहेछ । अचानक एडमिन (लेखा) शाखाभित्र एक महिला हतार हतार छिरिन् । हेर्दै सम्भ्रान्त र व्यवसायीक देखिने ती महिला अफिस छिर्नेबित्तिकै केही भनाभन् भएको र नानीहरू रोएको आवाज आयो । बाहिरबाट के कुरा हुँदै थियो स्पष्ट नसुने पनि बाझाबाझ गरेको र एकले अर्कोलाई औंला उठाएको म देखिरहेकी थिएँ । मेरो ध्यान ल्यापटप ब्याग भन्दा सो कोठामा भईरहेको गतिविधिमा केन्द्रित रह्यो, निकै बेर । धेरै बेरसम्म भित्र खोई के कुरामा वादविवाद भईरह्यो । अति भएपछि संगै रहेका सेल्स गर्लसंग के भएको भनेर सोधें । उनले अप्ठेरो मान्दै सानी केटीहरूले चोरी गरेका र उनका अभिभावक र एड्मिन बीच कुरा भई रहेको बताइन् । मन मानेन र सो कोठातिर लागेँ । ढोकामा अडेस लगाई रहेकी एक महिलाले मलाई बाटो छोडिदिइन् । म भित्र आउन सक्छु कि ? अनुमति माग्दै म भित्र छिरें । भित्र दुई सुरक्षा गार्ड, चार महिला र भर्खर ११ र १२ वर्षका बालिकाहरू थिए । स्कुलकै पहिरनमा निकै डराएका नानीहरू मलाई देखेपछि झन् कालो निलो देखिए । के भयो ? मेरो प्रश्नको उत्तरमा लेखा शाखाकी महिलाले बेलिविस्तार लाईन् ।

काठमाडौका नाम चलेका अत्यन्त महंगा स्कुलमा गनिएका स्कुलमा कक्षा सातमा पढिरहेका ती नानीहरू स्कुल पश्चात रहरैले सुपर मार्केट घुम्न आएका रहेछन् । उनीहरूको घरमा खानका लागि त्यहाँ पाईने कुनै पनि खानेकुराको कमी थिएन । न त स्याम्पु, कोल्ड क्रिम लगायतका सामग्रीको । अभाव थियो त मात्र पैसाको । अभिभावकबाट पैसा दिने नगरेको नानीहरूले बताए । ‘के चोर्नकै लागि आएको हो त ?’ मैले सोधें । नानीहरूले जवाफ दिन नपाउँदै लेखा शाखाकी कर्मचारी जंगिइन् ‘इन्टेन्सनली चोर्नकै लागि हो, यी हेर्नुस् त घरको झोलासमेत बोकेको छ, सामान पनि त्यसैमा राखेको छ….।’ उनको कुरा बीचमा काट्दै मैले भने, ‘नानीहरूका कुरा सुन्न दिनोस् न पहिला ।’ अविवाहित जस्ता देखिने ती कर्मचारी महिलाले मेरो कुरा सुनेपछि बोलीमा लगाम लाइन् ।

बिस्तारै ती नानीको टाउको मुसार्दै सोधें, ‘नडराई भन त नानु, तिम्रो साथीको बर्थ डे थियो हो ? घरबाट पैसा नदिएर गिफ्ट दिन चोरेको हो ?’ मैले फकाउँदै सोधें । मेरो सोध्ने शैलीले होला अलि सहज भयो उनलाई । र भक्कानिदै जवाफ दिईन्, ‘इन्टेन्सनली चोर्न आको होइन । घरमा कोइ थिएनन्, बोर लागेर हामी घुम्न आको । अरु बेला पनि हामी आएथ्यौं तर यस्तो कहिले गरेका छैनौं । आज त्यो चकलेट (आफूले लिएको सामानबाट देखाउँदै) देखेर लोभ लाग्यो । अनि त्यो टिप्यौंं । खोइ के भो के भो त्यसपछि अरु सामान पनि लिन मन लाग्यो । हामी पक्रियौं’ यति भनेर उनीहरू निक्कैसंग रोए । साथमा तिनीहरूका आमाहरू पनि । वातावरण निकै रुग्ण बन्यो । अघिसम्म रिसाइरहेकी लेखा शाखाकी कर्मचारी महिलाका पनि आँखा रसाए ।

मीरा राभण्डारी अमात्य

गल्ती सबैबाट हुन्छ । नानीहरूको उमेर, घरको परिस्थिति स्कुलले नानीहरूमाथि गर्ने व्यवहार । शायद केही त्यस्ता व्यवहार र नैराश्यताका कारण नानीहरूबाट गल्ती भएको हुन सक्छ । आफ्नो क्यारियरमा मात्र होइन, आफ्ना नानीहरूलाई पनि समय दिनुहोस् भन्दै निकै बेर ती निरीह आमाहरू र लेखा शाखाका कर्मचारीलाई भनियो । बल्ल ती नानीहरूलाई आइन्दा फेरि गल्ती नगर्ने सर्तमा लेखा शाखा छोड्यो । यस बारेमा घरमा कसैलाई नभन्न र नानीहरूलाई घरमा पिट्न वा गाली नगर्न अनुरोध गर्दै म आफ्नो सामान लिएर लेखा शाखा बाहिरको भिडलाई चिर्दै निक्ले ।

कयौं दिनसम्म ती नानीहरू र रोइरहेका तिनीहरूका आमाहरूको सम्झना आइरह्यो । धन्यबादसहित आआफ्नो फोन नम्बर दिएका थिए ती नानीका आमाहरूले । तर फोन गरेर उनीहरूलाई हिनताबोध गराउन चाहिन मैले । म आफै पनि एक आमा हुनुको कारण सहजै बुझ्न सक्थें ती आमाहरूका पीडा । अन्तर्राष्ट्रिय संगठनहरूमा हाइ प्रोफाइलमा रहेकी ती आमाहरूले तिनै नानीहरूका लागि रात दिन मेहनत गरिरहेका छन् । तर कार्यालय र संगठनमा समय दिनु पर्ने बाध्यताका कारण आफ्ना नानीहरूलाई आवश्यक समय दिन सकेनन् र ती नानीहरूबाट सो अपराध भएको मेरो आफ्नो व्यक्तिगत बुझाई छ ।

समयको माग र समाजको चरित्र परिवर्तनसंगै हाम्रो विगतको फराकिलो समाज अहिले क्रमस एक्लिदै छ । त्यससंगै मानिसको माग, चाहना र सोचाइमासमेत क्रमस बदलावले निरन्तरता लिँदै छ । हिजोका दिनमा महिलाहरू घर र नानी स्याहार्दै श्रीमान्ले कमाएर ल्याएको आर्थिक आयमा संतोष गर्दै व्यवस्थापन र गुजारा गर्थे । कमाई खासै नभए पनि घरमै स्वेटर बुन्ने, बत्ति कात्ने, धुप बाट्ने, टोपी सिउने, चर्खामा धागो कात्ने र लुगा सिउने जस्ता कामबाट थोरै भए पनि कमाउथे, रमाउँथे र व्यस्त रहन्थे । सासूससुरा नन्द आमाजुको बुर्हातन खप्दै, महिलाहरू घर सम्हाल्थे । महिलाहरूका आफ्ना मुल्य मान्यता, पहिचान र आत्म सम्मानमा खासै बहस पनि हुन्थेन । बिहेपछि परिवार र समाजकै काममा सिमित रहन्थे। नानीहरू हजुरबा हजुरआमासंग हुर्कन्थे । ठूलो परिवार र समाजमा हुर्कने हुँदा नानीहरूका हरेका क्रियाकलापमा नजर हुन्थ्यो अभिभावकको । अनुशासन, अदब र संस्कार उनीहरू आफूभन्दा ठूलासंग सिक्थे ।

महिलाका जिम्मेवारी र काम सिमित थिए । अहिले समाज परिवर्तन भएको छ । महिलाहरू लेखपढ गर्न थालेका छन् । पढेलेखेपछि स्वाभाविक रुपमा जागिर गर्न थालेका छन् र आफ्नो पहिचान र अस्तित्वलाई प्राथमिकतामा राख्ने संस्कार बढ्दो छ । समग्रमा खान लगाउन र दुई पैंसा आफै खर्च गर्न महिलाहरू सक्षम छन् अचेल । महिलाहरूले राजनीतिदेखि हरेक क्षेत्रमा आफ्नै पहिचान बनाएका छन् । तसर्थ अहिलेको समाजमा हिजोका दिनहरूमा जस्तो श्रीमान् र परिवारका अन्य सदस्यहरूबाट हेपिएर, दबिएर बस्नुलाई बर्बरता र दासत्व सम्झिइन्छ । त्यसैले हिजो समाजले खासै पचाउन नसकेको सम्बन्ध विच्छेदका घटना अहिले नेपाली समाजको लागि सामान्य हुँदै गएको छ । तर त्यसको प्रत्यक्ष मारमा भने निर्दोष नानीहरू पर्दै गएका छन् । आमाबाबा दुवैको माया पाउनु पर्ने उमेरमा उनीहरू डिप्रेशनका शिकार भएका छन् । त्यसको प्रभावले लागु पदार्थ दुव्र्यसनमा फसेर सामाजिक अपराधसमेत उनीहरूबाट हुने गरेको छ । जसका कारण उनीहरूको भविष्यसमेत धरापमा पर्दै गएको वास्तविकता अभिभावकले मनन् गर्न सकेको छैनन् ।

मनोविद् गंगा पाठकको क्लीनीक अहिले डिप्रेशनमा परेका नानीहरू बोकेर रुँदै आउने अभिभावकहरूले भरिने गरेको छ । आमा र बुबाको आपसी मन मुटाव, दिनहुँको कलह र सम्बन्ध विच्छेदका कारण नानीहरू डिप्रेशनमा पर्ने गरेको बताउनु हुन्छ, मनोविद् पाठक । त्यस्ता नानीहरूलाई सामान्य अवस्थामा ल्याउन कठिन हुने गर्छ । कति अभिभावकलाई नानीहरूका लागि मिलेर बस्न सुझाव दिँदा परिवार मिलेर फेरि खुशी साथ जोडिएको उदाहरण पनि प्रशस्तै छ उहाँसंग । तर शिक्षाको कमी, समाजको डर, आफन्तको हेपाइ पाईने त्रास र अनावश्यक इगो कै कारण धेरै महिला पुरुष मनोपरार्मबाट बञ्चित रहने गरेका छन् । त्यसै कारण आजकल अनेक सामाजिक समस्या बढ्दै गएको निश्कर्ष छ, पाठकको । घरायसी बोझ, कार्यालयमा हुने खिचातानी, प्रतिस्पर्धा र संगठनका व्यावसायीक समस्या सम्हाल्नु पर्ने कारण पनि महिलाहरू संधै तनावमा रहने गर्छन् । जसका कारण सामाजिक र पारिवारिक समस्याबाट सकेसम्म टाढिन खोज्ने, झिँजो मान्ने र कम प्राथमिकतामा राख्ने गरेकै कारण अहिले महिलाहरू आफ्ना नानीहरूबाट समेत टाढिँदै गएका छन् । बुझ्नै पर्ने बास्तविकता त के हो भने प्राकृतिक रुपले नै नानीहरू आमासंग बढी समय बिताउन चाहन्छन् । एक हिसाबले आमाको साथ नानीहरूका लागि सहज पनि हुने गर्छ । चाहे त्यो बुबासंग केही माग राख्न होस् वा बदमासी गर्दा कुटाईबाट बच्न होस् ।

समाजले झट्ट नदेख्ने तथ्य के हो भने महिलाहरू समाज निमार्णका अगुवा हुन् । यो समाजले सहजै स्विकार्न नसक्ने वास्तविकतालाई महिलाहरूले गौरवका रुपमा लिन आवश्यक छ । सन्तान र परिवारप्रतिको दायित्व भार होइन, गौरवको विषय हो । देश र समाजका लागि योग्य नागरिक दिएर आमाहरूले ठूलो गुण लगाएका छन् ।

विवाह सामाजिक संस्था हो । सो संस्थालाई हराभरा बनाउन सन्तानको आवश्यकता पर्छ । विवाह पश्चात सन्तान नहुँदा वा ढिलो हुँदा हुने ग्लानी, त्रास लगायत समाजबाट व्यहोनु पर्ने थप मानसिक तनाव समेतको भागी हुन्छन्, महिला–पुरुष । अझ थप महिलाहरूलाई यस मामिलामा सबैभन्दा बढी जिम्मेवार देखाईन्छ । बाँझी भन्ने लाञ्छना लगाइन्छ । तर सन्तान भएकाहरूलाई नानीहरूको चकचक र थोरै बहुत जिद्दिपनले चिडचिडा किन हुने गर्छ ? यसको कारण केलाउन लाग्दा कहिलेकाहीँ अचम्म लाग्छ । यदि यी यस्ता साना मसिना तर गम्भीर विषयमा ध्यान दिने हो भने समाज र राष्ट्रका लागि योग्य नागरिक दिन हरेक आमाहरू सक्षम हुने छन् । यो बलियो विश्वास हरेक महिलामा हुन आवश्यक छ ।

मनोविज्ञ पाठकको अनुभवमा जब नानीहरू डिप्रेशनमा पुग्छन् वा उनीहरूको मनोविज्ञान बिग्रने गर्छ, तब मेरो नानीलाई मनोपरामर्स दिन र उपचार गर्नु प¥यो भन्दै रुँदै धाउने पंक्तिमा बुबा भन्दा आमाकै संख्या बढी हुने गरेको छ । भन्नलाई त तेरो नि सन्तान हो नि, जिम्मेवारी तेरो पनि हो भन्दै बाबुलाई सन्तानप्रतिको दायित्व दिन खोजे पनि भावनात्मक रुपले आमाहरू सजिलै पन्छिन सक्दैनन् । समाजले झट्ट नदेख्ने तथ्य के हो भने महिलाहरू समाज निमार्णका अगुवा हुन् । यो समाजले सहजै स्विकार्न नसक्ने वास्तविकतालाई महिलाहरूले गौरवका रुपमा लिन आवश्यक छ । सन्तान र परिवारप्रतिको दायित्व भार होइन, गौरवको विषय हो । देश र समाजका लागि योग्य नागरिक दिएर आमाहरूले ठूलो गुण लगाएका छन् ।

अहिलेको बदलिँदो परिवेशमा आर्थिक उत्पादन र महिलाहरूका आत्म सम्मान र शिक्षामा गरेको लगानीलाई सदुपयोग गर्नकै लागि पनि घरको दहलिज पार गर्नु पर्ने आवश्यकता र बाध्यता अहिलेका महिलालाई छ । तर आफू अनुपस्थित रहँदा सासूससुरा, आमाबुबा वा अन्य बुजुर्गहरू संगै साथमा रहने र भविष्यमा आफ्ना सन्तानलाई उचित संस्कार दिने वातावरणका लागि सानातिना मन मुटावलाई नजर अन्दाज गरि परिवारमा मेल मिलापसंग रहने गरेमा भविष्यमा आउन सकने थुप्रै समस्याबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

नानीहरूको आवश्यकता र मनोविज्ञानलाई समेत बुझ्नु अभिभावकहरूको कर्तव्य हुन्छ । किशोरावस्थाका नानीहरू स्वभावैले चञ्चल, उद्दण्ड र परिवर्तनमुखि हुन्छन् । छिटोछिटो हर्मोनमा भई रहने परिवर्तनका कारण उनीहरूमा के गर्दा ठीक वा बेठिक खुट्याउने क्षमता प्रायमा हुदैन पनि । स्कुल कलेजमा थरिथरिका पारिवारिक पृष्ठभूमि र आर्थिक हैसियतका साथीहरुसंग हुर्कन्छन् । उनीहरूको आवश्यकतालाई अभिाभावकले बुझिदिने र समय अनुसार धेरै थोरै पैसा खर्च गर्न दिनु उचित हुन्छ । बरु के कति खर्च कहाँ गरे भन्ने जानकारी समय समयमा लिने गर्नु, साथीसंगत के कस्ता छन्, ती कुरामा सँधै सजग रहनु पनि अभिभावकको प्रमुख जिम्मेवारी हुन्छ । जसले एउटा असल नागरिक हुर्कने र मौलाउने बलियो वातावरणको खाका कोर्ने गर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: