रुकुम घटनाः बिर्सिएकी एक किशोरी


प्रकाशित मिति :2020-05-26 19:43:58

यस साता पश्चिम रुकुमको चौरजहारीमा अत्यन्त अमानवीय र निन्दनीय घटना घट्यो । एक २१ वर्षीय नव युवासहित उनका दुई जना साथीहरुले अकालमै ज्यान गुमाए । कथित एक दलित युवकले गैर दलित किशोरीसंग गरेको प्रेमको हवाला दिँदै मृतकलाई नायक बनाईयो । प्रेमको इतिहासमा उनको प्रेम अमर भयो । यस्तै बेला हो हामी प्रेमको स्वाद लिने पनि । प्रेमलाई महान् बनाउँछौ । प्रेमले जब मृत्युवरण गर्छ, तब यसको पारख गर्न हामी कत्ती पनि चुक्दैनौं । भलै हामी प्रेमलाई समाजमा खुल्ला रुपमा स्वीकार गर्न सक्दैनौं । यो मान्छेको अर्को कुरुप पक्ष हो ।

नेपालको कानूनमा उमेर पुगेका (२० वर्ष माथी) महिला र पुरुषले प्रचलित सामाजिक परम्परा अनुसार संगै बस्न रुचाएमा विवाह मान्न सकिने प्रावधान छ । यसको अर्थ हो भागेर विवाह गर्नुलाई पनि हाम्रो कानूनले आधिकारिक विवाह भएको मान्छ (मुलुकी देवानी सहिंता, २०७४ को दफा ६७, ६८ को उपदफा १ ६९ को १ र दफा ७० को १(क) को सार) । संक्षेपमा भन्ने हो भने हामी कहाँ गन्दर्भ विवाहलाई अपहरणको संज्ञा दिने चलन छैन । परम्परागत रुपमा यसलाई स्वीकार गरिएको छ । यसर्थ रुकुमको यस घटनालाई ‘किशोरीको अपहरण गर्न आएको जत्था’ भनी अपव्याख्या गर्नु मनासिव हुँदै होईन ।

यो घटना घट्नु अघि ती युवा र किशोरीले भागेर विवाह गर्न खोजेको स्पस्ट छ । स्थानीय प्रशासन, केटा र केटीपक्षले यसअघि पनि किशोरीको विवाह योग्य उमेर नभईसकेको तर्क निकाल्दै उनीहरुलाई विवाह गर्नबाट राकेको बुझिन्छ । यो विषयमा पनि कानून स्पस्ट छ, उमेर नपुगी विवाह गर्न उक्सिएको भए दुवैलाई सम्झाई बुझाई छुट्याई दिने प्रावधान छ हाम्रो कार्यविधीमा । सोही अनुरुप विगतमा मौखिक रुपमा सम्झाई बुझाई गर्ने कार्य भएको मान्न सकिन्छ ।

मञ्जु मिश्र

अर्कोतर्फ दोश्रोपटक सोही कार्य गर्न जाँदा यो दुर्घटना भएको छ । यो दुर्घटना हो या नियोजित हत्या ? अनुसन्धान हुने नै छ ।

हाम्रो समाज रुग्ण र जड पक्षपातयुक्त, समाज हो । समाजको अध्ययन नै नगरी कानून बनाउने र निर्मित कानूनको सामाजिक अडिट नगरेरै जनतामा लाद्ने निकृष्ट प्रणाली छ । जसका कारण हाम्रा कानून हाम्रा मौलिकता नहेरी विदेशी कमिसनको इसारामा बन्दै आएका छन्, यो सर्वबिदितै छ । यो घटनालाई केही महिना अघि नेपालगञ्जमा सर्वसाधारणले छोरीको विवाह १६ वर्षमा नै गर्न पाउनु पर्ने माग राख्दै गरेको आन्दोलनले पनि स्पष्ट पारिसकेको छ कि, हाम्रा लागि बनेका कानूनले हामीलाई समेट्न सक्छन् या सक्दैनन् भनेर ।

अपराध शास्त्रमा कुनै पनि घटना घटिसकेपछि एउटा पाटोलाई प्रमुख रुपमा हेरिन्छ, त्यो हो मनसाय । रुकुमको घटना मनसाय अर्थात (मिन्स रिया) प्रेरित थियो वा थिएन भन्ने । मिन्स रिया बिना कसैको हत्या हुन्छ भने कानूनले कर्तव्य(एक्टस रिया) हुनुलाई मात्र पूर्ण अपराध मान्न सक्दैन । यस घटनामा वडा अध्यक्षसहितका मानिसहरु, जो जसले तीन जनालाई हत्या गरेको (तिनका मतियारसमेत) भन्ने आरोप छ, त्यो पहिले देखि नै सोची सम्झी योजनाबद्ध थियो वा थिएन ? यो प्रश्न पनि संगै आउँछ । के उनीहरुले साँच्चिकै मार्ने योजना बनाएका थिए वा अकस्मात् ज्यानै जानेसम्मको घटना घट्यो ? यो पनि अनुसन्धानको मुख्य पाटो हो ।

अब जोडौं घटनालाई दलितिकरण गर्नेतर्फ । मेरा एकजना विद्धान मित्रको तर्क छ, ‘नवराज लगायतका युवालाई दलित भएकै कारण मारिएको हो । उक्त दिन दलित केटाको ठाउँमा कुनै ब्राम्हण, ठकुरी वा क्षेत्री खलककै कोही पात्र हुन्थ्यो भने मर्ने वा मार्ने स्थिती पक्कै पनि आउँदैन थियो । अर्थात् बढीमा सम्झाई बुझाई यसलाई निम्ट्याइन्थ्यो । केटी भगाएरै लिए बालविवाहको उजुरी पर्दथ्यो ।’ उहाँ थप्नुहुन्छ, ‘तर केटाहरु मारिए, निमर्मत तरिकाले । मार्ने पर्ने कारण त देखिन्न । केटी नाबालिग हुन भन्ने अर्थमा भगाउने केटालाई मार्नै पर्थेन, प्रहरीको जिम्मा लगाए पुग्थ्यो ।’ केटा दलित भएकै कारण यो नरसंहार भयो ।

अर्को मित्र भन्नुहुन्छ, ‘यो मध्यमबर्गीय सोचले ग्रसित, छुवाछुतको धर्मलाई शिरोपर गर्ने तथा कथित उपल्ला भनि टोपल्नेहरुको दलितप्रतिको हेय दृष्टिकोणले भरिएको सामाजिक अपराध हो ।’

दलितवादी संघ संगठनका भनाई वा प्रेस विज्ञप्तिहरुले भने, ‘दलित भएका कारण प्रेम वा विवाह गर्न खोज्दा यो हत्या भएको हो, यसको जिम्मा राज्यले लिनु पर्छ । यसमा कहलिएका मन्त्रीदेखी सांसदसम्म सबैको गरमागरम प्रस्तुतिहरु आए । एउटा निर्दोष मानिसको हत्यालाई हामीले राजनीतिकरण गर्न थाल्यौं । दलित नेताहरुको तर्फबाट आन्दोलन तथा विरोध कार्यक्रमहरुको घोषणा हुन थालेका छन् । एउटा अराजक घटनालाई अर्को अराजक प्रतिक्रियाद्वारा अशुद्ध बनाउन प्रयत्न हुन थालेका छन् ।

यी सबैमा कसैलाई नदुखेको पाटो भने ती किशोरी हुन् । जसलाई के बितिरहेको छ, हेक्का कसैलाई छैन । उनको कुमार प्रेमको गला छिनिएको घटनाले तिनलाई कति पिरोल्दो हो ? मानसिक छटपटी र सामाजिक डर अनि परिवारको सत्तोसरापले तिनलाई कति कारुणिक पारेको हुँदो हो ? यस विषयमा कुनै अधिकारकर्मीको आवाज निस्केको छैन । उनको यस घडीको सामाजिक वा मानसिक मोल कती ? एउटा अपरिपक्क उमेरमा निम्तिएको दुःखद् घटनामा उनले पाउनु पर्ने सहानुभूति खोई ? उनको सामाजिक क्षतीपूर्ती भर्ने निकाय को हुन् ?

कारण ‘त्यो केटीले गर्दा तीन जना निर्दोष युवाहरुको ज्यान गयो, ‘इज्जतदार’ घरको ‘इज्जत’ जोखममा पर्यो वा त्यस केटीले गर्दा देशमा उथलपुथल भयो भन्ने मुखहरु छैनन् त ? ती मुखमा यी विज्ञप्तिले ताल्चा मार्छन् त ?

पीडितशास्त्रले भन्छ, कुनै पनि घटनाको पीडितले न्याय तब मात्र पाउँछ, जब त्यसबाट प्रताडितले सामाजिक र मानसिक पुनरुत्थानको मौका पाउने छ । यो कुरा गर्ने बेला त भएको छैन, यद्यपि अपराध भएको निक्र्योल भईसकेपछि यस घटनाको प्रमुख पीडित ती किशोरी नै हुन् भन्ने हेक्का सम्बन्धित पक्षलाई होस् । उनको जीवनवृत्तीलाई नजरअन्दाज नगरियोस् ।

नेपालको कानूनी दस्तावेजलाई हेर्ने हो भने हामी संविधानसम्मत कुनै पनि छुवाछुत मान्दैनौं । जातको कुरामात्र होईन, धर्म, लिंग, वा कुनै पनि साम्प्रदायिकताको आधारमा नेपालमा भेदभाव गरिदैन (सविंधानको धारा १८ समानताको हक र त्यसका उपधारा १, २ र ३ को आधारमा) । अव प्रश्न आउँछ, व्यवहारमा कानूनमा किटान गरिएजस्तै गरिन्छ त ? अहँ पटक्कै छैन । माथिकै पंक्तिमा भने जस्तै कुनै पनि कानूनको सामाजिक अडिट गरिदैन, त्यसैकारण त हाम्रा कानून फितलो पर्छन् ।

त्यो केटीले गर्दा तीन जना निर्दोष युवाहरुको ज्यान गयो, ‘इज्जतदार’ घरको ‘इज्जत’ जोखममा पर्‍यो वा त्यस केटीले गर्दा देशमा उथलपुथल भयो भन्ने मुखहरु छैनन् त ? ती मुखमा यी विज्ञप्तिले ताल्चा मार्छन् त ?

हामीलाई दलितको दलित नै बनाएर राख्ने सकारको योजना नै छ । संविधानको सोही धारा १८ ले, छुवाछुत वा भेदभाव गरिने छैन भन्दै गर्दा तिनै तीनवटा उपधाराहरुलाई तर संयोजन लगाएर कानून बमेजिम बिशेष ब्यवस्था गर्न भने रोक लगाएको मानिने छैन भनि अथ्र्याएको छ । यहाँ तर्क के हो भने,– दलित कोटा । जसले दलितलाई दलित नै बनाई रहन्छ । दलितमात्र होईन, त्यहाँ उल्लेखित सबै ‘पिछडिएका वर्ग’ भन्ने शब्दले हामी धेरैलाई पछाडि नै राखिरहन्छ, –यो संविधान रहुञ्जेल ।

त्यसमा महिला, जनजाती, मधेसी वा अल्पसंख्यक जे भन्नुस्, हामी त्यहाँ ब्याख्या हुञ्जेल व्यवहार पनि त्यही अनुरुप नै पाउँछौ ।

अन्त्यमा, यो घटना समाजविरूद्धको एक घिनलाग्दो अपराध हो, जसले हामीलाई फेरि एकपटक वर्गीय भएर सोच्न बाध्य बनाएको छ । के यो ‘जिनोसाइट’ कै चरम नमूना हो त ? जिनोसाईट (एक जातिको समूहले अर्को जातिलाई गरेको हत्या)को परिभाषाभित्र अटाउँछ त ? जति नै ठूलो क्रान्ती यो देशमा भयो भनेर छाती फुलाउँदै सिंहदरबारमा सपथ खानेहरुको निकृष्ट बुर्जुवा सोचमा अझै क्रान्ती आएको छैन भन्ने पनि यस घटनाले घनिभूत उजागर गरिदिको छ । हेर्दै जाउँ रुकुम घटनामा बलिदान भएको प्रेमले जित्छ, या सापेक्ष दलित आन्दोलनले । वा यसको फरक पाटोलाई दलित मानसिकताबाट चोख्याएर एक अमानवीय क्रूर हत्या भनेर संबोधन गरिने छ । यदि मान्छेको हत्या भएको हो भने मृतकले न्याय पाउने नै छन्, दोषीमाथि कार्वाही हुने नै छ । तर अहिले भनिएजस्तो ‘दलितको हत्या’ भएको हो भनेचाहिँ भन्न सकिने अवस्था छैन ।

(लेखक अधिवक्ता हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: