पेशाबाट पेट पालिनुपर्छ


प्रकाशित मिति :2020-05-29 09:01:19

-वसन्ती बास्तोला-

तलबबाटै दैनिक गुजारा चलाउनेको लागि यो बाँच्ने आधार हो । त्यसपछि यसमै टेकेर सपना र योजना बन्छन्, आफ्नो कमाइ अनुसारको । जब हामी काम गरेर तलब पाउँदैनौं हाम्रो हालत के होला ? पेट नै भर्न नपाएपछि योजना र रहर स्वतः नै मर्छन् । अझ आफ्नो मात्र होइन, साना छोराछोरीको पेट भर्न नसक्नु र घरभाडा तिर्न नसकेर घरबेटीको गाली खानु जस्तो अपमान र कमजोर अनुभव कहिले होला ? यसरी कर्मचारीले सपना मारेर पेट पाल्नकै लागि संघर्ष गर्न परेको उदाहरण त संकटकाबेला धेरै हुन्छन् । कोरोना भाइरस संक्रमणपछि समाचार आउन थाले ‘धेरै कम्पनीले कर्मचारीलाई बेतलबी बिदा दिए ।’ खान नपाएर मानिसले आत्महत्या गरे ।’ यिनै खबर दिने सञ्चारमाध्यमले आफ्ना कर्मचारीलाई तलब दिएका छन् त ? व्यक्तिगत स्वार्थ र प्रतिष्पर्धाका लागि आवश्यकताभन्दा बढी सञ्चारमाध्यम सञ्चालन गर्ने र पत्रकारलाई तलब नदिने चलन त पहिलेदेखि नै थियो । अहिले कोरोना भाइरस संक्रमण बहाना बनेको छ ।

अपवादबाहेक सबै पत्रकारले आफूले काम गर्ने कार्यालयलाई सबथोक ठानेका हुन्छन् । अझ घरमा आफन्त बिरामी हुँदासमेत छोडेर कामलाई प्राथमिकता दिने पत्रकार धेरै छन् । यो हाम्रो खुशी र रहरको काम हो । तर पेशा बनिसकेपछि त्यसबाट दैनिक गुजारा चल्नुपर्छ । अहिले कोरोना संक्रमणले विज्ञापन आएको छैन । सञ्चारगृह घाटामा जाने पक्का छ । तर गइनसक्दै पत्रकार कामबाट निकालिएका छन् । यस्ता विषय समाचार बन्दैनन् । किनकी पत्रकार र सञ्चारमाध्यमका निजी कुरा समाचार होइनन् । कतिले महिनौदेखिको तलब दिएका छैनन् । पत्रकार निकालिए पनि रेडियो, टीभी र अनलाइन चलेकै छन् । केही पत्रिका पनि छापिएकै छन् । जो कामबाट निकालिएका छैनन्, उनीहरूलाई कामको बोझ थपिएको छ । यसपटक रोगको कारण संकट देखिएकोले पत्रकारलाई छुट हुने अवस्था छैन । ज्यान जोखिममा राखेर, घरको भात खाएर, आफ्नै पेट्रोल र फोनको पैसा सकेर काम गरिरहेका पत्रकारले पनि तलब पाएका छैनन् । तलब त बेग्लै कुरा यतिसम्म कि संक्रमणको बेला सञ्चारगृहले आफ्ना पत्रकारलाई सुरक्षा सामाग्री दिएर काममा समेत लगाएका छैनन् । कसैको जीवनसँग खेलवाड गर्ने अधिकार के उनीहरूसँग छ ? यस कामको थालनी सरकारी सञ्चारगृहबाटै गर्नुपर्ने होइन र ?

वसन्ती बास्तोला

आफ्नै खर्चमा काम गर्दै आएका पत्रकारलाई समेत भनियो ‘कम्पनी घाटामा छ ‘कन्ट्रिव्युसन’ (योगदान) गर ।’ हैन, सञ्चारमाध्यम देश वा कुनै सामाजिक संघसंस्था हुन् र ‘कन्ट्रिव्युसन’ गर्नु पर्ने ? कामदारलाई कस्ता कस्ता समस्या पर्छन् कहिल्यै सञ्चालकको ‘कन्ट्रिव्युसन’ हुन्छ र ? कम्पनी नै टाट पल्टेको भए कर्मचारी पनि बुझ्छन् । सञ्चालकका लागि त विकल्प निस्केला तर पेट पाल्नैको लागि यही एउटा जागिर भएका मानिसको हालत के होला ? विकल्प नभेट्दासम्म छलफल चलाउने हो कि धमाधम कर्मचारी निकाल्ने ? के उनीहरूसँग मानवता छैन ? आफ्ना कर्मचारी पाल्ने उनीहरूको कर्तव्य होइन ? जब कर्मचारी धान्न सक्ने स्थिती हुदैन, सञ्चालकसहित ‘मिटिङमा’ बस्नुपर्छ र कर्मचारीलाई मानसिकरुपमा तयार बनाएर तलब दिन नसकिने कुरा भन्नुपर्छ । पहिलो र सबैभन्दा ठूलो कुरा बाँच्नु हो । त्यसैले बाँच्नको लागि पहिला उपाय खोजौं अनि सम्पत्ति जोड्ने र नाफाघाटाको कुरा गरौंला ।

मजदुर संगठन र पत्रिकाका सम्पादक त कहिल्यै तल्ला कर्मचारीका कुरा उठाउँदैनन् । यस्ता कुरा गर्नु भनेको आफै धरापमा पर्नु हो । उनीहरूका समस्या र राजनीति अर्कै विषय हुन् । धेरै कर्मचारीले एउटा कार्यालयको लागि यौवन, रहर र जीवन नै सकाएका हुन्छन् । कतिको बाध्यता होला तर रहर, मानवीयता, सामाजिक दायित्व र संस्थाको मायाले काम गरेका छन् आफ्नै घर सम्झेर । तर विपद् पर्दा निस्कन पर्ने घर केका लागि ? वर्षौदेखि आफ्नो श्रम र समय बिताएर संकटमा निस्कनु पर्दा जागिर नहुनुभन्दा बढी पीडा आत्मग्लानीको हुन्छ । घर, आफन्त र चाडपर्व पनि नभनी कार्यालयलाई दिएको समयको उत्तर अब घरमा दिनुपर्ने होला । जागिर गएपछिको आर्थिक पाटो मूल समस्या हो । त्यसपछि यस्ता कुराले निम्ताउने मानसिक तनावको पाटो अर्कै छ । अप्ठ्यारोमा समस्याको समाधान गर्न सक्छु भन्ने व्यक्ति नै व्यवसायी बन्नु पर्ने हो । उसका जिम्मेवारी पक्कै एउटा कर्मचारीकोभन्दा बढी होलान् । हामी यस्तै सोच्छौंतर थोरै लगानी गर्ने पैसा भएपछि नेतृत्व क्षमता नभएका, अरुको सम्मान नगर्ने र सञ्चारगृहको महत्व नै नबुझेका सञ्चालकको मातहतमा बौद्धिक क्षमता, स्वाभिमान र मानवीयता भएका पत्रकारले काम गर्नु परेपछि पेशा छोडेर पत्रकारिता गर्ने रहर मारेका उदाहरण पनि प्रशस्तै छन् ।

कुनै पनि व्यवसाय चलाउनुअघि व्यापारिक योजना पनि हुनुपर्छ । संकट आउन सक्ने अनुमान योजनामै हुन्छ । १/२ वर्ष कम्पनी नचले कर्मचारीलाई तलब दिनको लागि ‘व्याकअप’ पुँजी राख्नुपर्दैन ? एक महिना पनि तलब दिन नसक्ने गरि कम्पनी चलाउन कस्ले अनुमति दियो ? यसको उत्तर अब खोजिनुपर्छ । धेरै पेशा व्यवसायका मानिसले राहतको कुरा गर्न थालिसके । मैले तलब पाएको छैन भन्न त स्वाभिमानले नदिने पत्रकारले राहत कसरी माग्लान ? मागे पनि पाउलान ? पाए पनि के माग्ने र के पाउने ? यी सबै प्रश्नको उत्तर खोज्न पहिला काम गरेको पारिश्रमिक पाउनु पर्छ । उद्योग वाणिज्य महासंघलेसमेत आफ्ना कामदारलाई आधा तलब दिन सकिन्छ भनेको छ । तर संस्थाकै पदाधिकारीले तलब नदिएका समाचार आइसके । यसमा सरकारको सम्बोधन हुनु आवश्यक छ ।

हामीले सञ्चारमाध्यमको लागि मात्र हैन, देशकै नागरिकको लागि विकल्प खोज्नुपर्छ । जनआन्दोलन, माओवादी द्वन्द्व, नेपाल बन्द सबैबेला काम गराउनको लागि विकल्प देख्ने सञ्चालक संकटमा तलबको विकल्प किन देख्दैनन ? अहँ, बिलकुल देख्दैनन् । किनकी सञ्चारगृहबाट कमाएर अन्त लगानी गरेको रकम अब पत्रकारको योगदान हैन, सञ्चालकको कमाइ हो । जब कम्पनी नाफामा चल्छ, उनीहरू नाफालाई अन्त लगानी र ऐस आराममा खर्च गर्छन् । उनीहरू त्यसलाई फाइदा सम्झदैनन् । फाइदा भनेको दैनिक आउनु पर्छ । आउँछ पनि तर सधै तलब दिने वा बढाउने बेला कम्पनी घाटामा किन देखाउँछन् ? के उनीहरू सधैं घाटाको व्यवसाय गरिरहेका छन् त ? नाम कमाउन र राजनीतिक पहुँचको लागि मात्र सञ्चारगृह खोलेर पत्रकारलाई बिनातलब काम लगाइन्छ ? होइन भने उनीहरूले कम्पनी घाटामा गएको घोषणा गरि किन बन्द गर्दैनन् ? के बाध्यता वा स्वार्थ छ सञ्चारगृह घाटामा चलाउनुको ? वा घाटामा देखाउनुको ? यसरी संकट सुरु भएको १ महिनामै कर्मचारीलाई तलब खुवाउन नसकेर घाटामा गएका कम्पनी सञ्चालकको सम्पत्ति कति छ ? सम्पत्ति स्रोत घाटामै चलेका सञ्चारगृह हुन् ? यसको समाचार कसले लेख्ने र छानविन कसले गर्ने ?

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: