अब भन्नुस् कसरी काम गर्ने ?


प्रकाशित मिति :2020-05-30 09:45:09

ओहो पत्रकार आए है ! पत्रकारसँग त डर लाग्छ । पत्रकारसँग विचार पुर्‍याएर बोल्नुपर्छ । पत्रकारबाट टाढै बसौँ । देशका सरकारी कर्मचारीको जमातमा केहीका मुखबाट पत्रकारलाई देख्नेसाथै निस्कने शब्द हुन् यी ।

पछिल्लो समय कर्मचारीको जमातमा उस्तै शब्द खर्चिने जनप्रतिनिधिको पनि प्रतिनिधित्व शुरु भएकै पाएको छु मैले । यो विपत्तिको समयमा किन आयो यस्तो सन्दर्भ ? हो, कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै यतिबेला ठप्प बनाएको छ । कोही कसैलाई इंगित गर्ने भन्दा पनि यो समयका सन्दर्भ प्राय कोभिड –१९ कै सेरोफेरोमा घुमिरहेका छन् । नघुमुन पनि कसरी ? विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा दिन प्रतिदिन फैलँदै गएको छ ।

देशमा यतिबेला १२ सय १२ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने संक्रमणबाटै नेपालमा ६ जना व्यक्तिको मृत्यु भएको पनि सरकारले पुष्टि गरिसकेको छ ।

(बन्दाबन्दी)को समय आफ्नो ज्यान जोखिममा राखेर निरन्तर काम गर्ने स्वास्थ्यकर्मि र सुरक्षाकर्मि पछि पत्रकार पनि जोखिम मोलेरै काम गरिरहेका छन् ।

सुनिता बराल

सन्दर्भ याहाँबाट जोड्न चाहान्छु । बन्दाबन्दीको आज समय शुरु भैसकेपछि मलाई इंगित गर्दै एक स्थानीय तहका प्रमुखले नै मुख खोलेर भने, ‘पत्रकारबाट त टाढै बस्नुपर्छ, पत्रकार संसार घुमेका हुन्छन्’ (कोरोना पत्रकारबाटै सर्छ भन्ने आसय थियो उनको) । कोरोना संक्रमणको त्रास शुरु हुनु पहिले पत्रकारसँग डराउने सरहरू किन डराउनुहुथ्यो ? उहाँहरूले नै जान्ने कुरा भयो । सायद समाजमा भएका बेथितिसँग नाम जोडिन सक्ने डर थियो कि उहाँलाई हामी यही अनुमान मात्रै गर्न सक्छौँ । तर अहिलेको यो परिस्थितिमा पत्रकासँग जो सुकै किन डराईरहेका छन् ? हिजोको दिनमा पत्रकार भनेर सम्मान प्रकट गर्ने समाज, खुशी व्यक्त गर्ने आफन्त, घुलमिल हुन खोज्ने छिमेकी र पत्रकार भनेर गर्व गर्ने परिवार पनि हामीसँग छेउमै पर्न डराएको देखेर साँच्चै आज पत्रकारले गर्ने काम गर्न उर्जा कम हुँदै गएको छ ।

समाजका विविध विषयबस्तु उठाउँदा स्यावासी दिने व्यक्ति आज हामीलाई अपमानित महशुस गराइरहेका छन् । काम गर्न सजिलो छैन । फेरि सजिलो समयमा जोसुकैले काम सहजै गर्न सक्छ । तर विपत्तिको समय पनि जनतालाई सही सूचना समयमै दिनु सम्पूर्ण पत्रकार र संचार संस्थाको पहिलो कर्तव्य हो । हरेक घटनालाई पत्रकारले पुष्टि गरेर लेखेका समाचार नै खोज्छन् आज पनि हर व्यक्तिले । तर त्यही समाचार लेख्ने र खोजिरहने व्यक्तिलाई किन अपमान र तिरस्कार । देशमा पत्रकारलाई पनि संक्रमण देखिएपछि म घरमै छु, सुरक्षित छु, भनेर कसैलाई विश्वास दिलाउँनै सकिएको छैन । अत्यावश्यक कामबाहेक बन्दाबन्दीको समयमा घरबाट निस्कने कुरा पनि भएन । र पनि जनतालाई दिने सूचना विश्वसनीय बनाउनका लागि कतिपय अवस्थामा बाहिर निस्कनै पर्छ ।

निस्किए नै पनि दिमागले भ्याएसम्म सचेतता अपनाएकै छौं । तर घरबाहिर निस्किएपछि अरु व्यक्तिसँग भन्दा पत्रकारसँग छिमेकि देखि परिवारका सदस्यसमेत त्रसित बनिरहेका छन् ।

सरकारले उपलब्ध गराएका सुरक्षा सामाग्री प्रयोग गरिरहेका स्वास्थ्यकर्मि नै संङ्क्रमणको उच्च जोखिममा छन् भने हामी पत्रकारसँग के नै पो छ र ? हामी ढुक्क बन्न सकौँ । त्यसैले म संक्रमण मुक्त छु भनेर भन्ने आधार प्रमाण हामीसँग छैन, त्यसकारण हामी चुपचाप सहन बाध्य छाँै । हामी कुनै सरकार वा संघ संस्थासँग मास्क र सेनिटाइजरसमेत माग्न गएका छैनाँै । प्रत्येक स्थानीय तह र सम्बन्धित पक्षले पत्रकार जोखिम मोलेरै काम गरिरहेका छन् भनेर देखेकै पनि छन् । तर हामीले मागेनौँ, देख्नेले हाम्रो सुरक्षा गर्न जरुरी ठानेनन् । त्यसकारण हामीसँग जे उपलब्ध छ, हामी त्यसैबाट सुरक्षित बन्ने प्रयत्न जारी राखेका छौ । हामी जे जसरी सुरक्षित महशुस गर्छाैँ बेलाबखत त्यसैगरि फिल्डमा पनि पुगिरहेका छौँ । संंक्रमितकै ख्याल गर्न हम्य हम्य परेको सरकारलाई हामीलाई पीपीई सेट चाहियो भन्न खोजेका छैनौँ । तर मुखमा मास्क, हातमा पन्जा र सेनिटाइजरसमेत पाएका छैनौँ भनेर गुनासो गर्ने त हामीले पनि सरकारलाई नै होला नि हैन र ? जनतालाई सुसूचित गराउने जिम्मेवारी हाम्रो हो भन्ने बोध भएकै कारण जिम्मेवारीबाट हामी पछि हटेका छैनौँ । जिल्लामा काम गरिरहेका पत्रकार साथीसँग भेट हुँदा हामी कुरा पनि गर्ने गर्छाै । अहिले समाजले पत्रकारलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारले साँच्चै हाम्रो मन दुखेको छ ।

स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि विरगंजबाट एकजना सिनियर पत्रकार दाईले फाने गरेर मलाई पनि सुरक्षित रहन सल्लाह दिनुभयो । उहाँले भन्नुभयो, ‘काम पछि गरौँला तर जोखिम मोलेर काम गर्नु बेकार रहेछ नानी । हामी जसका निम्ति काम गरिरहेका छौँ, त्यही समाजले हामीलाई हेर्ने र गर्ने व्यवहारको भिन्नताले साहृै दुःखी बनाएको छ’ । उहाँका कुरा सुनेपछि मेरो मन अमिलो भयो ।

संक्रमित पत्रकारलाई लिएर आम पत्रकारलाई नै संक्रमण भएको झै ठान्ने समाजले वास्तवमा संक्रमितलाई कस्तो नजरले हेरिरहेको होला ? पत्रकारलाई यतिबेला समाजमा गएर काम वास्तवमा किनै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ ।

संकटमा चिर्नुपर्ने बेथिति

देशको भारतीय सिमामा कयौँ नेपाली अलपत्र परेका छन् । आफ्नो देशमा आईपुगेका नेपालीको व्यवस्थित क्वारेन्टाइन बनाएर उचित व्यवस्थापन हुन सकेको छैन । स्थानीय तहमा प्रमुख उपप्रमुख एक अर्कालाई दोषि देखाउँदै झगडा पनि गरिरहेकै छन् । जनप्रतिनिधि र कर्मचारीमा समन्वय नहुने र कुरा नमिल्ने पनि नयाँ कुरै भएन । कोरोना रोकथाममा अग्रसर बन्नुपर्ने जिम्मेवारी पाएका प्रमुख व्यक्ति उदासिन बनिरहँदा धेरैले समस्या खेप्नु परेको छ । बन्दाबन्दीको समयलाई मौका बनाएर चोरी निकासी गर्ने र अपराध गर्ने व्यक्ति पनि सलबलाएकै छन् । बन्दाबन्दीको समयमा जिम्मेवार निकायका जिम्मेवार मानिसले आफ्नो जिम्मेवारी बहन गर्न हिचकिचाहट गर्ने हो भने महामारी रोकथाम ठूलो चुनौती बन्ने पक्का छ ।

देशमा कोरोना संक्रमण भित्रिएपछि तीनै तहको सरकारको विकास बजेट कोरोना रोकथाम र उपचारमा खर्च हुने भएको छ । बजेट प्रसस्त भएपनि जिल्लामा सम्बन्धित पक्ष जसरी यसको रोकथाममा लाग्नुपर्ने हो, त्यो देखिदैन । क्वारेन्टाईन व्यवस्थित गरि क्वारेन्टाइनमा बस्नेलाई घरमा बसेको झैँ आभास सरकारले गराउँन सकेन भने रोग नियन्त्रण बाहिर जान सक्छ ।

जिम्मेवारी र कर्तव्यबोधले काम गर्न बाध्य गराउँछ । विश्वसनीय सूचनाका लागि फिल्डमा जाउँ सुरक्षा सामाग्री नभएकै कारण संक्रमणको डर छ । सबैभन्दा ठूलो डर कर्मचारी र जनप्रतिनिधि मात्रै हैन समाज, आफन्त र परिवार नै हामीसँग डराउन थालेको छ । अब भन्नुस् कसरी काम गर्ने ?

महोत्तरीमा अहिले दैनिक ५ सय भन्दा बढी मानिस जिल्लामा भित्रिरहेका छन् । क्वारेन्टाईनमा क्षमताभन्दा बढी मानिस एकै ठाउँमा राख्दा सामाजिक दुरीसमेत बनाउन नसकेपछि संक्रमणको उच्च जोखिममा परेका छन्, क्वारेन्टाइनमा बस्ने व्यक्ति । यसतर्फ सम्बन्धित पक्षको तत्काल ध्यान जान जरुरी देखिएको छ ।

क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई भोक लागेर चिच्याउँनुपर्ने, तिर्खा लागेर छट्पटिनुपर्ने अवस्था स्थानीय सरकारले आउन दिनु हुदैन । क्वारेन्टाइनमा बसेको निरोगि व्यक्तिमा संक्रमण भैलनु पनि स्थानीय तहको लापरवाहि हुनेछ । विकास बजेट लगाएर रोकथाम गर्न थालिएको कोरोना रोग फैलन नदिनु अहिले सरकारको पहिलो काम हो । त्यसैले जिम्मेवार व्यक्ति यस समय उदासिन बन्नु देश र जनतालाई क्षति पु¥याउने पहिलो जिम्मेवार व्यक्ति हुनेछ ।

पत्रकारले कसरी काम गर्ने ?

पत्रकारको काम समयमै सही सूचना दिने नै हो । कर्तव्यनिष्ट भएर लागेका पत्रकारलाई मुखमा मास्क र सेनिटाइरसम्म उपलब्ध छैन ।

आँखाले देखेका र कानले सुनेकासमेत सबै कुरा सत्य हुन भन्न नसकिने अवस्था र घटना पनि हुन्छन् । बन्दाबन्दीको परिस्थितिमा अरुले दिएको सूचना नै सही हो भनेर फोनका भरमा कहिलेसम्म काम गर्ने ?

सूचना दिन तोकेर राखेका सरकारी संस्थाका सूचना अधिकारी सूचना माग्दा उनीहरूको तलब मागेको झैँ व्यवहार पनि देखाउछन् कहिलेकाहीँ । बाध्य भएर जबर्जस्ति दिएका सूचना पनि पुरापुर हुदैनन् हाम्रा सामाग्रीका लागि । यस बन्दाबन्दीको समयमा सूचना माग्दा तपाईले भनेजति सबै सूचना छैन मसँग भनेर सजिलै भनिदिन्छन् । अधुरा सूचना दिने र उल्टै किन चाहियो सबै कुरा ? भनेर प्रश्न पनि तेस्र्याउँछन् उनीहरू नै ।

जिम्मेवारी र कर्तव्यबोधले काम गर्न बाध्य गराउँछ । विश्वसनीय सूचनाका लागि फिल्डमा जाउँ सुरक्षा सामाग्री नभएकै कारण संक्रमणको डर छ । सबैभन्दा ठूलो डर कर्मचारी र जनप्रतिनिधि मात्रै हैन समाज, आफन्त र परिवार नै हामीसँग डराउन थालेको छ । अब भन्नुस् कसरी काम गर्ने ?

समस्या देखाएर पन्छिने कुरा गर्न खोजेको हैन मैले । समस्याहरू समाजमा छन्, त्यसलाई पन्छाउने कुरा गर्न जरुरी छ । जो अनुभव बन्दाबन्दीमा संगालियो यो निकै जटिल र कष्टपूर्ण अनुभव बन्दैछ । गरिबिको रेखामुनि रहेका कयौँ नेपालीलाई अहिले ज्यान जोगाउने चिन्ता छ । धेरै गरिब परिवारको घरमा बन्दाबन्दीले चुलो बल्न सकेको छैन । एक व्यक्तिले अर्काे व्यक्तिको नजिक पर्न नहुने यो रोगका कारण सुरक्षित रहेर हर व्यक्तिलाई बचाउँनु अहिलेको महत्वपूर्ण र अपरिहार्य काम हो ।

विविध समस्या उजागर गर्ने र निराकरणको माध्यम बन्ने पत्रकारको कलम निरन्तर चलिरहनुपर्छ भन्ने नै मेरो मान्यता हो । ज्यान दाउमा राखेर निरन्तर काममा खटिने स्वास्थ्यकर्मि, सुरक्षाकर्मि र पत्रकारको अहिले बन्दाबन्दीमा दुइटा काम छन्,– एक निरन्तर काम गर्नु र सुरक्षित रहनु ।

(पत्रकार बराल कान्तिपुर दैनिकका महोत्तरी संवाददाता हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: