म जन्मे पीडा, तिमी जन्मे प्रभुको लिला
म जन्मे फर्सी, तिमी जन्मे खसी
आखिर किन ?
आखिर किन तिम्रो पास्नी मेरो भन्दा ढिला ?
मलाई घर भित्र खेलौना अर्पिने
तिम्लाई मैदान सुम्पिने
कस्तो जुक्ति ?
कस्तो जुक्ति मलाइ खुम्चाउने तिम्लाई फुकाउने ?
मलाई टीका, लाली, फरियामा भुलाउने
आफू भने संसारलाई खेलाउने
आखिर किन ?
आखिर किन आफूमात्र माथी लम्किने जुक्ति लगाउने ?

नुरा सापकोटा दुर्गा
मेरो जवानी सबैको आँखाको नानी
तिम्रो जवानी अगाडि बढ्ने खानी
कस्तो जुक्ति ?
कस्तो जुक्ति मेरो शरीरमा अधिकार जमाउने ?
मलाई ‘मारे पाप पाले पुण्य’ भनि तिम्लाई सुम्पिने
अनि तिमी मर्दांगी देखाएर हात उठाउने
आखिर किन ?
आखिर किन मलाई बस्तुको भाउमा तौलिने ?
मलाई सिँन्दूर पोते भिडाउने
अनि आफू भने संसार झुकाउने
कस्तो जुक्ति ?
कस्तो जुक्ति मेरो यौनिकता दबाउने ?
मेरो लागि संस्कार, रीति रिवाज
तिम्रो लागि मात्र खुल्ला आकाश
आखिर किन ?
आखिर किन म जिन्दगी काट्ने अनि तिमि चै बाँच्ने ?
म अघि मरे तिमी चाई फुक्ने
तिमी अघि मरे मलाई किन टोक्ने
कस्तो जुक्ति ?
कस्तो जुक्ति आफू मरेपछि पनि मलाई बन्धि बनाउने ?
मलाई दुर्गा, लक्ष्मी, सरस्वती बनाई पूजा गर्ने
तिमीलाई सत्ता, सम्पति र शिक्षाको हकदार मान्ने
आखिर किन ?
आखिर किन आफ्नै देउतालाई बलात्कार गर्ने ?
मचाहिँ मानवता खोज्दै हिँड्ने
तिमीचाहिँ पितृसत्ता जोगाउन भिँड्ने
आखिर किन ?
आखिर किन हामी दुवै केवल मानव भएर बाँच्न नसक्ने ?
Comment Here!