हिंसाको सिलसिलामा यसरी ‘ब्रेक’लाग्यो


प्रकाशित मिति :2020-06-02 15:16:23

-त्रिप्ती शाही-

बैतडी । बैतडीको पुरचौडी नगरपालिकाकी उनी १६ वर्ष पुग्नै लागेकी थिइन् । घरमा विवाहको प्रस्ताव आयो । ९ कक्षामा पढिरहेकी उनलाई बिहे गर्ने मन पटक्कै थिएन । तर निम्न आर्थिक अवस्थाका बुबाआमाले छोरीको बिहे गरिदिएपछि आर्थिक भार कम हुने आसामा छोरीको बिहेको प्रस्ताव स्वीकार गरे ।

केटाको खानदान राम्रो । बानी व्यहोरा पनि ठिकै । सदरमुकाम आसपासमा घर । अरुको लहलहैमा लागेका छोरीले भागेर बिहे गर्नुभन्दा कन्यादान गरिदिए पूण्य पाइने सोच । केटी पक्षले छोरीका लागि खोज्ने यति नै त हो नि ! उनका बुबाआमाले पनि यो भन्दा धेरै सोचेनन् । तर प्रस्ताव पक्कापक्की हुनु अघि एउटा प्रस्ताव राखे,–छोरीले पढ्न पाउनु पर्छ । केटा पक्ष राजी भए । उनको बिहे भो ।

बिहेको केही समयसम्म सबै कुरा ठिकठाक थियो । उनी पढाईलाई निरन्तरता दिन माइतीमै बसिन् । १० कक्षा पनि पास गरिन् । ११ मा भर्ना भएकी उनलाई अब धेरै माइतमा बस्न हुदैन भनेर घरमा ल्याइयो । घरमा आएको ३/४ महिनासम्म श्रीमान्, परिवार सबैको माया पाइन् । उनी खुशी थिइन् । तर त्यो खुशी बिस्तारै निमोठिन थाल्यो । श्रीमान्ले बिनाकारण दोष लाउने, गाली गर्ने, कुटपिट गर्ने गर्न थाले । परिवारले पनि त्यसमा मलजल गर्नेबाहेक राम्रो व्यवहार गर्न छाडे ।

यही बीचमा उनी गर्भवती भइन् । उनलाई लागेको थियो,–दुई जिउकी भएपछि यातना कम हुन्छ कि ! श्रीमान्ले सन्तानको लागिी पनि आफूलाई माया गर्छन् कि ! तर त्यसो भएन । बरु यातनाको स्तर बढ्न थाल्यो । घास, दाउरा, मेलापात, घरको काम त थियो नै, दिनभर थाकेको दुई ज्यानको शरीरले रातभर श्रीमान्को यौन यातना सहन पनि तयार हुनुपर्ने । नमान्दा क्रूर तरिकाको पिटाइ । बरु उनी श्रीमान्ले जतिबेला, जसरी यौन सम्पर्क गर्न चाहान्छन्, त्यसरी नै तयार हुन थालिन् । त्योबाहेक उनीसंग बिकल्प पनि त थिएन ।

पोषिलो खाना र थप स्याहार चाहिने गर्भावस्थामा उनले पेटभर खानसमेत पाइनन् । पेट बढ्दै जाँदा बढ्दै गएको कुटाई सहनै नसकेर माइत गइन् । श्रीमान्ले ‘मबाट गल्ती भयो । अब यस्तो हुन्न । घर जाऔं’ भनेर फकाए । माफी मागे । उनको मन पगिल्यो । आमाबुबाले पनि बिहे गरेकी छोरी माइतीमा बस्नु हुन्न भन्दै ज्वाइँसंगै जान आग्रह गरे । उनी श्रीमान्को घर फर्किइन् । तर जब घर पुगिन्, यातना उस्तै । माइत जाने भएकी भन्दै गाली र मुड्कीका प्रहार बढे ।

हेला, अपमान र यातनाका बीच उनले दुई छोरा जन्माइन् । तर श्रीमान् र परिवारको मन पग्लिएन । उनले त के उनका छोराहरूले पनि परिवारको माया पाएनन् । आमा काममा गएको बेला भोकभोकै बसे । अहिले उनको पहिलो सन्तान ४ र अर्को २ वर्षका छन् ।

‘म जस्तो अभागी र दुःखी त कोही छैन जस्तो लाग्थ्यो । हुँदै नभएको कुरामा समेत निहुँ खोजेर पिट्ने श्रीमान् र श्रीमान्लाई कुट्न उकास्ने सासूससुराको व्यवहारले कतिपटक जीवनसंग हार खाएँ ।’ उनले सुनाइन्, ‘पिडा सहेर पनि उनलाई घघर टुट्नु हुँदैन । घर छोड्दा सबैको हेलामा परिन्छ भन्ने लागेरै यतिसम्म सहें ।’ तर अति भएपछि भने के गर्नु त ? अन्ततः ज्यान जोगाउनै लागि भए पनि उनले कदम चाल्नु पर्यो । उनी न्यायका लागि प्रहरीमा जान थालिन् । श्रीमान्ले त्यहाँ पनि त्यस्तै गरे । माफी माग्ने । आफू सुध्रिएको नाटक गर्ने । अनि सबैले घर जान दवाव दिने । घर गयो, फेरि उही पारा । ‘मलाई प्रहरीकोमा पुर्याउने तैँ होइनस्’ भन्दै थप यातना । प्रहरीकोमा जाने, श्रीमान्लाई प्रहरीले पक्राउ गर्ने, छोड्ने यो प्रक्रिया करिब एक वर्ष चल्यो ।

घरेलु हिंसाको सिलसिला नरोकिएपछि अधिकारकर्मीको सहयोगमा उनी जिल्लामा रहेको सेफ हाउस र एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा पुगिन् । उनलाई ज्यान जोगाउन मुस्किल भो । कहिले कहाँ, कहिले कहाँ बस्न पर्ने अवस्थासम्म आयो ।

उनको पीडा देखेपछि जिल्लामा महिला अधिकारको क्षेत्रमा काम गर्नेहरूले उनलाई रोजगारीको लागि पहल गरे । तत्कालीन जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टले एक सरकारी कार्यालयका काम गर्ने अवसर जुराइदिए । अहिले उनी त्यहाँ कार्यालय सहयोगीको रुपमा काम गरिरहेकी छिन् ।

काम गर्न थालेपछि उनी घर फर्किइन् । परिवारको व्यवहार सुध्रिएको थिएन । बरु उनले कमाएको पैंसा श्रीमान्ले डराई, धम्काई गाँजा अत्तरमा सक्न थाले । यो सहन नसकेपछि उनले दुई महिना अघि घर छोडेर एक्लै बस्ने निर्ण गरिन् । छोराहरूलाई माइतीमा राखिन् । आफू सदरमुकाममा कोठा लिएर बस्न थालिन् । अनि जिल्ला प्रहरी कार्यालयको सहयोगमा अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालिन् । उनको मुद्दा अलालतमा गएको छ । फैसला हुन बाँकी छ ।

अहिले उनले सुखको सास फेर्न पाएको महसूस गरेको बताइन् । उनले भनिन्, ‘करारको जागिर भएकाले कतिबेला सकिन्छ र छोराहरूलाई कसरी पढाउने भन्ने चिन्ता छ । नत्रभने हिंसा सहेर बस्नु भन्दा एक्लो जीवन सुखी छ । यस्तै बस्छु । बरु आफ्नो कानूनी अधिकारका लागि लड्छु ।’
……..
२०७२ सालमा जिल्लाको मेलौली नगरपालिकामा पहिलो पटक सडक पुगेपछि गाउँलेहरूमा खुशीको बहार आयो । अब जिल्ला सदरमुकाम र अन्य ठाउँमा पुग्न पैदल हिँडनु पर्दैन, हाम्रो गाउँ पनि सडक सञ्जालसंग जोडियो भनेर हर्षबढाई भो । तर उनको जिन्दगी त्यही सडक पुगेपछि गञ्जागोल भो । जुन कुरा सायदै कसैले सोचेका थिएनन् ।

सानैमा आमाको मृत्यु भो । बुबाले दोस्रो बिहे गरे । १३ वर्षको उमेरमैै बुबा र सौतनी आमाले कल्पनाको बिहे छिमेकको गाउँमा गरिदिए । आफ्नै अभिभावकका लागि बोझ भएपछि बिहे नामको बन्धनमा बाँधिदिएकी उनीमाथि श्रीमान्को घरमा कुनै इज्जत मिलेन । बिबाहका मूल्य मान्यता नै नबुझेकी उनलाई शुरुबाट नै अनेक बहानामा दुःख दिन थालियो । तर पनि कलिलो दिमागले मुक्तिको विकल्प पहिल्याउन नसकेपछि जेनतन सहेकै थिइन् । बिहेको एक वर्षपछि त श्रीमान् र सासूससुराले घरबाटै निकालीदिए ।

गाडी चालकले उनलाई अत्तरियामा अर्कै गाडीवालाको जिम्मा लगाइदिए । उनले पनि केही दिन आफैसंग राखेर पटकपटक बलात्कार गरे । त्यसपछि अर्कै गाडीवालाको जिम्मा लगाए । यसरी एकपछि अर्को गर्दै गाडी चालकले उनलाई यस्तो जञ्जालमा फसाए कि त्यहाँबाट कसरी उम्किने सोच्नै नपाई उनी अर्कैसित हुन्थिन् । त्यही सिलसिलामा उनलाई दाङको घोराही पुर्याइएको रहेछ । एक महिनापछि उनी मेलौली पुगिन् । तर त्यो बेलासम्म उनले आफैलाई बिर्सन थालिसकेकी थिइन् । पटकपटक, फरकफरक व्यक्तिको यौन यातनाको शिकार भएपछि उनले आफूलाई सम्हाल्न निकै गाह्रो भइरहेको थियो ।

१४ वर्षको उमेरमा बिहे गरेको घरबाट निकालिएपछि उनी माइतीघर फर्किइन् । तर माइतीमा पनि घर खान सकिन भन्दै बस्न दिइएन । उनका बिकल्पका सबै बाटाहरू बन्द भए । अनि उनी मेलौली बजारमा होटलमा भाँडा माझ्ने र टाढाबाट पानी बोक्ने काम गरी दिनहरू बिताउन थालिन् ।

मेलौलीमा सडकसंगै सवारी साधन पुगिसकेका थिए । एक दिन एकजना गाडी चालकले गाडी चढेर घुम्न जाने प्रस्ताव राखे । सधैं होटलमा देखिरहने व्यक्तिले यसो भन्दा उनले अन्यथा सोचिनन् । पहिलो पटक गाडी चढ्न पाउने भएपछि खुशी हुँदै गाडी चढिन् । तर त्यो खुशी धेरै बेर टिकेन । मेलौलीबाट छुटेको गाडी अलि पर पुर्‍याएपछि गाडी चालकले बलात्कार गरे । मेलौलीदेखि कैलालीको अत्तरियासम्म पुग्दा उनी कतिपटक बलात्कृत भइन् उनलाई नै थाहा भएन ।

गाडी चालकले उनलाई अत्तरियामा अर्कै गाडीवालाको जिम्मा लगाइदिए । उनले पनि केही दिन आफैसंग राखेर पटकपटक बलात्कार गरे । त्यसपछि अर्कै गाडीवालाको जिम्मा लगाए । यसरी एकपछि अर्को गर्दै गाडी चालकले उनलाई यस्तो जञ्जालमा फसाए कि त्यहाँबाट कसरी उम्किने सोच्नै नपाई उनी अर्कैसित हुन्थिन् । त्यही सिलसिलामा उनलाई दाङको घोराही पुर्याइएको रहेछ । एक महिनापछि उनी मेलौली पुगिन् । तर त्यो बेलासम्म उनले आफैलाई बिर्सन थालिसकेकी थिइन् । पटकपटक, फरकफरक व्यक्तिको यौन यातनाको शिकार भएपछि उनले आफूलाई सम्हाल्न निकै गाह्रो भइरहेको थियो ।

उनको दिमागले पनि राम्रो संग काम गर्न छोडिसकेको थियो । यसै अवधीमा उनको पेटमा बच्चा बसिसकेको थियो । तर उनी कसको बच्चा भनेर भन्न सक्ने अवस्थामा पनि थिइनन् ।

केही महिनासम्म पुरानै होटलमा जुठा भाँडा सफा गर्ने गरेपनि गर्भमा रहेको बच्चा बढ्दै गएपछि होटलबाट पनि निकालिइन् । त्यहि सबैसंग मागेर खान थालिन र मेलौलीमै रहेको एक पुरानो भत्किएकोे घरमा बस्न थालिन् । गर्भवती भएको र सुत्केरी हुनसक्ने कुरा नजिकै रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको जानकारीमा आएपछि स्वास्थ्यकर्मीहरूले सबै स्थानीय सरोकारवाला र आफन्तसंग सम्पर्क गर्दा पनि आफन्त सम्पर्कमा आएनन् । २०७२ साल फाल्गुन २३ गते उनले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा छोरी जन्माइन् । फाल्गुन २४ गते आमा र शिशु दुवैलाई केशरपुर मेलौलीबाट जिल्ला अस्पताल ल्याइयो । त्यतिबेलासम्म पनि उनको मानसिक अवस्था ठिक थिएन ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तत्कालीन् महिला तथा बालबालिका कार्यालय, सयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को पहलमा २८ दिनपछि उनलाई कञ्चनपुरस्थितसेफ हाउसमा पठाइयो ।

यही अवधिमा यू्एनएफपीएको सहयोग र महिला तथा बालबालिका कार्यालय पाटनको समन्वयमा पाटन नगरपालिकामा सुरक्षित आवास गृह स्थापना गरियो र उनलाई कञ्चनपुर सेफ हाउसबाट पाटनको सेफ हाउसमा ल्याइयो । नियमित प्रदान गरिएको मनोसामाजिक परामर्शले गर्दा उनी पूर्ण रुपमा ठिक भएकी छन् ।

स्थानीय निकायका जनप्रतिनि र सेफहाउसको समन्वयमा उनी तीन वर्षदेखि एक अस्पतालमा काम गरिरहेकी छन् भने छोरी नीजि विद्यालयमा पढिरहेकी छन् ।

सानैमा आमा गुमाउनु परेपछि दोस्रो बिहे गरेर सौतेनो भएका बुबाको बेवास्ताका कारण बालविवाह र बलात्कारको चञ्गुलमा फसेकी उनले सबैको सहयोगले नयाँ जीवन पाएको अनुभव गरेकी छन् ।

……….

उनी सानै छँदा बुबाआमाको मृत्यु भयो । परिवारमा दाजुभाउजू मात्रै थिए । उनीहरूको पनि आर्थिक अवस्था निकै कमजोर थियो । त्यसैले बाल्यकाल निकै कष्टसंग बितिरहेको थियो । परिवारमा उनलाई सहयोग र माया गर्ने कोही थिएनन् । अनि उनी अरुको लहलहैमा १६ वर्षको उमेरमै भागीविवाह गर्न पुगिन् ।

बिहेपछि श्रीमान्को घरमा पनि उनलाई राम्रा भएन । विवाह दर्ता र नागरिकता बनाइदिनुपर्यो भन्दा श्रीमान्ले दिनहुँजसो झैझगडा र कुटपिट गर्न थाले । दुई छोरीसहित उनलाई घरमा बस्न समस्या हुन थाल्यो । श्रीमान् र परिवारको रातदिनको किचलोले उनी जीवनसंग निरास हुन थालिन् । जिन्दगी बेकार र अर्थहिन लाग्न थाल्यो । उनी बिस्तारै आफैलाई बिर्सन थालिन् । के ठिक, के बेठिक छुट्याउन नसकन्े हुन थालिन् ।

उनको अवस्था थाहा पाएपछि चिनेका व्यक्तिले उनलाई जिल्लास्थित सेफ हाउसलमा पुर्याए । घरेलु हिंसाका कारण मानसिक रुपमा विक्षिप्त उनलाई त्यहाँ औषधिपोचार र लामो अवधीकोे मनोविमर्श सेवा दिइयो । जसले गर्दा उनको शारीरिक र मानसिक अवस्था ठिक हुँदै गयो ।

आफूलाई ठिक भएपछि उनले हिंसा गर्ने श्रीमान्विरुद्ध जिल्ला अदालत बैतडीमा मुद्दा दर्ता गरिन् । श्रीमान्बाट मासिक ६ हजार पाउने गरी मुद्दाको फैसला भयो ।
अहिले उनी कानूनी अधिकार पाएपछि आफ्नै घरमा रमाएर बसिरहेकी छन् । न्याय पाउदा जिन्दगी खुशी भएको अनुभव उनको छ । उनी भन्छिन्, ‘हिंसा सहेर आफैलाई मारेर बाँच्नुभन्दा हिंसाको डटेर सामना गर्नुपर्छ । आफ्नो अधिकारका लागि आफैले बोल्नु पर्ने रहेछ ।’

……….

यी तीन पात्र जस्तै पछिल्लो समय हिंसामा परेका महिलाहरूको न्यायमा पहुँच बढेको । उनीहरूले न्यायसंगै खुसी पनि पाउन थालेका छन् । हिंसाविरुद्ध कडा संर्घषका बीच जीवनलाई सुन्दर बनाउन सफल भएका छन् ।

४/५ वर्ष अघिको तुलनामा अहिले महिला हिंसाका घटनाहरू सम्बन्धित निकायमा जाने क्रम बढेको छ । पहिले हिंसामा परेकालाई खोज्नुपर्ने अवस्था थियो । अहिले हिंसापीडित स्वयं खुलेर न्यायका लागि बाहिर आउने गरेका छन् । यसर्थमा हिंसापीडितको संख्या बढ्नु भनेको हिंसाका घटना बढे भन्न नमिल्ने सरोकारवालाको बुझाइ छ ।

यूएनएफपीएका जिल्ला कार्यक्रम अधिकृत गणेश शाही समस्या लुकाएर बस्नेहरू बाहिर आउन थालेपछि हिंसा बढेको देखिए पनि यसलाई हिंसा बढ्यो भन्न नमिल्ने बताउँछन् । उनी भन्छन्, ‘पीडितले आफ्नो अधिकारका लागि बोल्दा दुःखलाई जितेर खुशी साट्न पनि पाएका छन् । यो निकै सकरात्मक पाटो हो ।’ यसो हुनुको पछाडि संघसंस्थाहरूका जनचेतनामूलक कार्यक्रमसंगै संञ्चार माध्यमको देन हो भन्छन् उनी ।

समाजमा चेतना बढेपछि घटनाको उजागर हुने क्रम बढेको बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सांसद लिलाधर भट्टको बुझाई छ । महिलाहरूले आफूमाथी भएका घटना उजागर गर्न थालेपछि उनीहरूको न्यायका पहुँच पनि बढेको भट्ट बताउँछन् ।

२०७३ भदौ ३० गते जिल्लाको पाटन नगरपालिकामा स्थापना भएकोे सेफ हाउसबाट अहिलेसम्म १ सय ८१ जना महिलाले सेवा पाएका छन् । उनीहरूको विभिन्न किसिमले पुनस्र्थापना पनि भएको छ । कसैले कार्यालयमा काम गरिरहेका छन् भने कसैले आफ्नै व्यवसाय गरिरहेका छन् ।

२०७५ वैशाखमा जिल्ला अस्पतालमा स्थापना भएको ओसीएमसीबाट पनि अहिलेसम्म १ सय १५ जना लंैगिक हिंसा प्रभावितले सेवा लिइसकेका छन् । सेवा लिने सबै महिला रहेको जिल्ला अस्पतालका निमित्त प्रमुख ओसीएमसी प्रतिनीधी डाक्टर बसन्तराज जोशीले बताए ।

स्वास्थ्य जाँच गर्नेदेखि लिएर प्रहरी, सरकारी वकिलसम्मको व्यवस्थापन आफूहरूले गर्दै आइरहेको उनले सुनाए । हिंसा पीडितहरू खुलेर बाहिर आउन थालेपछि हिंसामा पर्ने महिलाको संख्या बढी देखिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०७३ देखि चालु आर्थिक वर्षसम्म जिल्ला प्रहरी कार्यालयमा ३ सय २२ महिला हिंसाका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेय भन्छन्, ‘महिलाले हिंसा सहेर बस्न हुदैन भनेर थाहा पाइसकेका छन् । यो सकारात्मक कुरा हो ।’

समाजमा चेतना बढेपछि घटनाको उजागर हुने क्रम बढेको बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सांसद लिलाधर भट्टको बुझाई छ । महिलाहरूले आफूमाथी भएका घटना उजागर गर्न थालेपछि उनीहरूको न्यायका पहुँच पनि बढेको भट्ट बताउँछन् ।

हिंसा पीडित महिलाहरू न्यायिक समितीमा पनि आउने क्रम बढेको दोगडाकेदार गाउँपालिकाकी न्यायीक समिती संयोजक पार्वती कार्कीले बताइन् । ‘हिंसा सहेरै बस्नु पर्छ भन्ने गलत बुझाईबाट दिदीबहिनीहरू माथी उठ्न थालेका छन्’उनले भनिन्, ‘समस्या आएपछि पो समाधानको लागि बाटो खोजीने हो । अहिले यो क्रम चलिरहेको छ । महिलाले हिंसा सहेरै बस्नु भन्दा आवाज उठाउन पर्छ । आफ्नो स्वतन्त्र अस्तित्वका लागि बोल्नु पर्छ । अनिमात्रै समाज हिंसामुक्त हुन्छ ।’

(पत्रकार शाही कान्तिपुर दैनिकका बैतडी समाचारदाता हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: