बन्दाबन्दीले ‘बन्द’ छन्, हिंसाका घटना


प्रकाशित मिति :2020-06-02 16:52:42

-देबका के.सी-

कोभिड १९ का कारण भएको बन्दाबन्दीले गर्दा विश्व अहिले शून्य विन्दुमा अड्किएर मानिसको दैनिकी उथलपुथल भएको छ । ३१ डिसेम्बर सन् २०१९ मा चीनको वुहानबाट शुरू भएको यो महामारी अहिले लगभग विश्वभरि नै फैलेको छ । विश्वमा भाईरसको कारण मृत्युको संख्या बढे तापनि अन्य कारण जस्तै हत्या, दुर्घटनाबाट हुने मृत्युको संख्या भने घटेको छ । तर महिला हिंसा भने अत्यधिक बढेको देखिन्छ ।

चीनको हुबेई प्रान्तमा गत फेब्रुबरीमा घरेलु हिंसाका घटना ४७ थिए भने यो वर्षको सोही अवधिमा बढेर १ सय ६२ पुगे भने सम्बन्धका बिच्छेदका घटनाहरू पनि बढे । फ्रान्स, बेलायत, अमेरिका, क्यानडा जस्ता विकसित देशहरूमा लैंगिक हिंसाका घटनाहरू ३०–४०% ले वृद्धि भए भने नेपालमा २५% घरेलु हिंसाका घटना बढेको तथ्यांक बाहिर आएको छ ।

यो बन्दाबन्दीमा कोभिड १९ भन्दा ठूलो महामारीको रुपमा देखा परेको छ,–महिला हिंसा । जसका कारण घरेलु कामदेखी खेतबारीको काम महिलाले मात्रै गर्नु परेको छ । अहिले पुरुषको तुलनामा बढी शारीरिक र मानसिक दुवै हिंसाको मारमा छन्, महिला । महिलामाथि शारीरिक शोषण, यौनजन्य हिंसा र मानसिक हिंसा बढ्नुका साथै आर्थिक र सामाजिक भार थपिए । यही बेला थुप्रै दिदीबहिनीले ज्यानसम्म गुमाएका छन् । आत्महत्या गरेका छन्, उनीहरूको हत्या भएको छ तथा चरम घरेलु हिंसा भोग्दै पनि आएका छन् । बन्दाबन्दीले गर्दा दैनिक ज्यालादारी गर्ने श्रमिक, विपन्न तथा दलित महिलाहरू झन् बढी हिंसामा परेका छन् । बन्दाबन्दीको कारण घरपरिवारमा सामाजिक र आर्थिक बोझ थपिदा त्यसको नकारात्मक असर महिलामाथि नै परेको छ ।

लैंगिक हिंसा विश्ब्यापी समस्या हो । नेपालको सन्दर्भमा लैंगिक हिंसाको मुख्य कारण संरचनागत त्रुटि, पितृसतात्मक सोच र मानसिकता नै मुख्य देखिन्छ । अहिले बन्दाबन्दीको अवस्थामा स्कुल, कलेज, कार्यालय सबै बन्द भई परिवारका सबै सदस्य दिनभरि घरै बस्ने भएपछि महिलाहरूको कार्य बोझ बढेको छ । हाम्रो सामाजिक संरचनागत त्रुटिको कारण पुरुषहरूले महिलाहरूको काममा सहयोग नगर्नु, महिलालाई आर्थिक भार थपिनु, पुरुषहरू दिनभरि घरमै बस्ने हुनाले यौन हिंसा बढ्नु जस्ता घटनाले लैंगिक हिंसाका घटनाहरू बढेको देखिन्छ र हिंसा सबैभन्दा बढी श्रीमान्बाट, त्यसपछि परिवारबाट र आफूले चिनेको व्यक्तिबाट भएको देखिन्छ ।

देबका के.सी

राष्ट्रिय महिला आयोगमा मात्रै बन्दाबन्दी शुरु भएदेखि चैत्र ११ देखि जेठ ३ सम्म १ हजार १ सय ६० वटा लैंगिक हिंसाका घटनाहरू दर्ता भए । गत आर्थिक वर्षमा जम्मा १ हजार ४ सय ७४ लैंगिक हिंसाका घटनाहरू दर्ता भएका थिए । यस हिसाबले यो वर्ष घटनाहरू बढ्ने देखिन्छ ।

नेपाल प्रहरीको तथ्यांकले भने बन्दाबन्दी समयमा कमै मात्र घटेको देखिन्छ । बन्दले गर्दा घटनाहरू सम्म प्रहरीसम्म पुग्न पाएका छैनन् । लैंगिक हिंसाका घटनामा पनि सबैभन्दा बढी घरेलु हिंसा, त्यसपछि बलात्कार तथा यौन दुव्र्यबहार रहेको देखिन्छ ।

न्याय तथा अधिकार संस्था (जुरी नेपाल) ले चैत्र ११ देखि जेठ ८ सम्म विभिन्न अनलाईन न्युजहरूमा प्रकाशित भएका समाचारहरूको आधारमा गरेको अभिलेखीकरण अनुसार यो अवधिमा १ सय ९ वटा विभिन्न लंैगिकजन्य हिंसाका घटना भए । सबैभन्दा बढी ३६ बलात्कार, २५ आत्महत्या, २६ घरेलु हिंसा र अन्य लैंगिकजन्य हिंसाहरू रहेका छन् ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षकबाट बन्दाबन्दी शुरुदेखि अहिलेसम्म गरिएको अभिलेखिकरण अनुसार २० जिल्लाहरूमा ३ सय ३६ लंैगिक हिंसाका घटनाहरू दर्ता भएका छन् । जसमा घरेलु हिंसाका घटना सबैभन्दा बढी भए । त्यसपछि बलात्कार तथा आत्महत्याका घटनाहरू छन् ।

बन्दाबन्दीमा महिला हिंसाका घटनाहरू अत्यधिक बढेता पनि घटना भने बाहिर आउन सकेका छैनन् । पहिला महिलाहरू आफूलाई हिंसा हुँदा सजिलै फोन गरेर सेल्टर, प्रहरी, तथा न्यायीक समितिको सम्पर्कमा जान सक्थे भने अहिलेको अवस्था फरक छ । पीडक सधैं सँगै रहने हुनाले फोनमार्फत उजुरी गर्न समस्या भएको छ । साथै सम्बन्धित निकायहरू पनि बन्द भएकोले घटनाहरू घरभित्रै रहेका छन् । त्यसमाथि अहिले प्रहरीले पनि यस्ता घटनाहरूलाई महत्व दिएको देखिदैन । महिलाहरूले आफूमाथि भएका हिंसाका घटनाहरूको बारेमा प्रहरीलाई खबर गर्दा अहिले झिना मसिना कुराहरू लिएर नआउनुस् भनेर निबेदन दर्ता नगरेको, पीडितका कुराहरू नसुनेको कुरा सुन्नमा आएका छन् । त्यस्तै न्यायीक समिति, अदालत सबै बन्द भएकाले पनि घटनाहरू घरभित्रै गुम्सिएको अवस्था छ ।

लकडाउनकै समयमा एकदिन बिहानै एकजना बहिनीको फोन आयो । मसँग उतिधेरै फोन सम्पर्कमा नआउने ती बहिनीको फोन बिहानै आउँदा अलि तर्से जस्तो पनि भएँ । उनले यसरी फोन गर्नुको कारण रहेछ, उनका श्रीमान्ले रातभरि मरणासन्न हुने गरि कुटेर उठ्नै नसक्ने भएपछि सकि नसकी फोन गरेकी रहिछन् । ‘दिदी अब त म योसँग बस्नै नसक्ने भएँ । कति सहनु अब त सक्दिन, डिभोर्स दिन्छु । मलाई बचाउनुस् दिदी’ भन्दै रोइन् । उनलाई उचित परामर्श दिँदै अगाडिका बाटाहरू देखाई दिएँ र फेरि पछि कुनै अप्ठेरो परे अप्ठ्यारो नमानी सम्पर्क गर्नु भन्दै फोन राखें । उनी बन्दाबन्दी पछि श्रीमान्सँग सम्बन्ध बिच्छेद गर्न सम्बन्धित निकायमा जान्छु पनि भन्दै थिईन् ।

उनीमाथि भएको हिंसा सुन्दा मेरो जीउ नै सिरिङ्ग भयो । उनीमाथि यती धेरै हिंसा किन भएको छ त भनि सोध्दा उनको श्रीमान्को अर्कै महिलासँग सम्बन्ध छ रे । उनै महिलालाई भित्र्याउन घरकी श्रीमतीलाई चरम यातना र हिंसा गरेका रहेछन्, श्रीमान्ले । जसले गर्दा हार खाएर उनी डिर्भोस दिने अन्तिम निर्णयमा पुगेकी रहिछन् । उनको श्रीमान्को यो खतरनाक रणनीति लगभग सफल भयो । किनकी ती बहिनी कुनै हालतमा पनि उसँग बस्न नसक्ने अवस्थासम्म पुगिसकेकी छन् । धेरै नपढेकी, सोझी ती बहिनीको सोझोपनकै कारण पनि उनीमाथि चरम हिंसा भएको मैले पाएँ ।

विशेष गरि सिधासाधा, अशिक्षित, भुँई तहका महिलाहरू, जसलाई पितृसत्ताले टाउको उठाउँनै दिएको छैन, हो त्यस्ता महिलाहरूमाथि बढी हिंसा भएको छ । पढेलेखेका आत्मनिर्भर महिलाहरूलाई यस्ता हिंसा भएको कमै मात्र पाईन्छ । विशेष गरि श्रीमान्माथिको निर्भरताको कारण उनीहरू आफूमाथि भएको हिंसाविरुद्ध आवाज उठाउँन सकेका छैनन् । हिंसाविरुद्ध आवाज उठाई घरभित्रको कुरा बाहिर ल्याउँदा भोली त्यही घर, त्यही परिवार रहला नरहला, सम्बन्धमा झनै दरार आउला भन्ने चिन्ता । त्यस्तो अवस्थामा कहाँ बस्ने, कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता छ । भने अर्कोतिर हिंसा सहन पनि कतिसम्म सहने ? हिंसा सहेकै कारण आफ्नो ज्यानैसम्म जाने खतरासमेत महिलालाई छ ।

हिंसा सहेर बस्नु भन्दा त मजदुरी गरेर जीविकोपार्जन गर्छु भन्दा पनि महिलाहरूलाई सजिलो छैन । एकातिर शिक्षाको कमीले गर्दा राम्रो काम पाउन गाहा्रे छ । भने अर्कोतिर कम ज्यालामा शारीरिक रुपले कठिन काम गर्दा पाउने पारिश्रमिक पनि न्यून हुने, समान काममा असमान ज्याला हुने हुनाले जीविकोपार्जन गर्नै गाह्रो । त्यस्तै महिलाको श्रीमान्सँग राम्रो सम्बन्ध छैन भन्ने थाहापाई सकेपछि उनीमाथि गिद्धेनजर लगाउने पुरुषहरूको पनि कमि छैन यहाँ । विभिन्न प्रलोभन देखाउने, माया गरेजस्तो गर्ने, सपना देखाउने, भावनाहरूमाथि खेलबाड गर्ने, कसैगरि उनलाई लुटिसकेर भाग्ने घटिया सोच र प्रबृति भएका पुरुषहरूले गर्दा महिलाहरू थप हिंसामा पर्ने गरेका कैयौं प्रमाणहरू देखिन्छन् ।

उनीमाथि भएको हिंसा सुन्दा मेरो जीउ नै सिरिङ्ग भयो । उनीमाथि यती धेरै हिंसा किन भएको छ त भनि सोध्दा उनको श्रीमान्को अर्कै महिलासँग सम्बन्ध छ रे । उनै महिलालाई भित्र्याउन घरकी श्रीमतीलाई चरम यातना र हिंसा गरेका रहेछन्, श्रीमान्ले । जसले गर्दा हार खाएर उनी डिर्भोस दिने अन्तिम निर्णयमा पुगेकी रहिछन् । उनको श्रीमान्को यो खतरनाक रणनीति लगभग सफल भयो । किनकी ती बहिनी कुनै हालतमा पनि उसँग बस्न नसक्ने अवस्थासम्म पुगिसकेकी छन् । धेरै नपढेकी, सोझी ती बहिनीको सोझोपनकै कारण पनि उनीमाथि चरम हिंसा भएको मैले पाएँ ।

यी याबत् समस्याहरूको सामना गर्न डराउने, आत्मविश्वासको कमिले पनि महिलाहरू आफूमाथि भएका हिंसाहरू घरबाहिर नल्याई घरभित्रै सहेर बस्ने गरेकय छन् । त्यसैले आम दिदीबहिनीलाई म यसै लेखमार्फत अनुरोध गर्दछु कि, आफूमाथि भएको हिंसा सहेर नबसौं । हिंसा सहने व्यक्ति हिंसा गर्ने व्यक्तिभन्दा बढी पापी हुन्छ रे । हिंसा विरुद्ध आवाज उठाऔं र हिंसामुक्त जीवन बाचौं ।

हामी सबैले हाम्रा चेलीबेटी, दिदी बहिनीहरूलाई उचित शिक्षा, दिक्षा दिलाऔं, छोरीलाई शिक्षाबाट बञ्चित नगरौं । किनकी शिक्षित छोरीहरूमाथि यस्ता हिंसा कमै हुन्छन् । छोरीलाई छोरासरह अवसरहरू दिलाऔं, सानैमा विहे नगरिदिउँ । छोरीहरूले उचित शिक्षा र अवसर पाएको खण्डमा उनीहरूले भोलीका दिनमा राम्रा कामहरू पाउन सक्छन्, आफ्नो खुट्टामा उभिन्छन् । जसले गर्दा उनीहरूमाथि हिंसा पनि कम हुन्छ । किनकी हिंसा त्यसलाई हुन्छ, जो कमजोर हुन्छ ।

यो विकराल समस्याको न्यूनीकरणका लागि तीनै तहका सरकारहरूले लैंगिक हिंसाका घटना भएमा सजिलै उजुरी गर्न सक्ने व्यवस्था मिलाउने, निःशुल्क फोन गर्न सक्ने व्यवस्था मिलाउने र उक्त सूचना स्थानीय रेडियोहरूबाट प्रसारण गर्ने । प्रहरी, न्यायीक समिति, मेलमिलाप जस्ता निकायहरूले सक्रिय भएर कार्य गर्नुपर्ने, प्रत्येक स्थानीय तहले हिंसाविरुद्ध उजुरी गर्न प्रोत्साहन गर्ने र हिंसामुक्त जीवन बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चितताका लागि हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षा आवास, मनोपरामर्श, स्वास्थ्य तथा कानूनी सेवालाई प्रभावकारी रुपमा संचालन गर्ने जस्ता कार्य गर्नु आवश्यक देखिन्छ ।

यस्का साथै पीडक सधैं साथमा रहने हुनाले बोलेर गुनासो गर्न समस्या भएकाले फोनको कुनै स्वीच थिचेर सम्बन्धित ठाउँमा फोन नम्बर तथा ठेगानासहित जाने गरि गुनासो दर्ता गर्ने र तत्कार उद्धार गर्ने व्यवस्था भएको खण्डमा घरभित्र दबिएका घरेलु हिंसाका घटनाहरू बाहिर आई लैंगिक हिसा न्यूनीकरण हुने र हिंसापीडितले सहजै न्याय पाउन सक्थे ।

हरेक महामारीमा सबैभन्दा बढी प्रभाव महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरीहरूमा पर्ने हुनाले उहनीका समस्याहरूलाई केन्द्र बिन्दुमा राखेर योजना बनाउनु पर्दछ । आज लैंगिक हिंसा न्यूनीकरण गर्न सम्पूर्ण निकायलाई समेटेर, समन्वय गरेर एउटा राष्ट्रिय रणनीति बनाएर काम गर्न अति नै आवश्यक देखिएको छ । किनकी लैंगिक हिंसा न्यूनीकरण गर्दै समतामूलक समाजको निर्माण गर्नु हामी सबैको दायीत्व हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: