निर्भीक अन्तरमन


प्रकाशित मिति :2020-06-05 08:35:48

धमिलो सम्झना छ – बाल्यकालको

बिहानै आमाको स्वरसँग जाग्नु
कटेरोमा गाईको कुँडो पकाउनु
भान्सामा चिया तयार गर्नु
बिहानको घरधन्दा सकेर
हत्केला र नाडीमा लागेको कालो मोसो
थुकले पुछ्दै स्कूल दौडनु !

फेरि पनि
कक्षामा हार्न मन नलाग्नु
के थियो होला मभित्र त्यस्तो !

दिपा राइ पुन

भान्सामा नाच्दानाच्दै भात डढ्नु
गीत गाउँदागाउँदै तरकारी डढ्नु
कक्षामा कसरी राम्रो गर्ने सोच्दासोच्दै
दाल भुसुक्क सुक्नु !

स्कूलमा केटाहरूसँग ‘भाले जुधाई’ खेल्नु
पटक्कै हार्न मन नलाग्नु
आमाले कराएको सुन्दै नसुन्नु
केही त अर्थ थियो होला नि !

वर्षौँ बितेर गए पनि
अझै हुन्छ मनमा खुल्दुल

आमा भन्नुहुन्थ्यो
अर्काको घर जाने जात
तिमीहरूको अहिले हो काम खाने

मलाई
आमाले दिएका सबै काम सकेर
अरू थुप्रै काम गरूँ लाग्थ्यो
आमाको ज्ञानी छोरी भएर
सबैको प्रिय बनुँ हुन्थ्यो
तर, इच्छाहरूले अभिव्यक्ति पाएनन्
आफैँभित्रको मान्छे
चुपचाप आफैँसँग हुर्कियो
के म छोरी भएर जन्मेर हो रु !

वर्षौ बित्यो
केही फरक छन् हरफहरू
जीवनकथाको अनुच्छेदमा
तर उस्तै छ कथा ।

आज
कर्तव्य र जिम्मेवारी सकेर
समय निकाल्छु
र, कोर्छु
मनभित्रका केही भावहरू
अनुत्तरित प्रश्नहरू मलाई औँला ठड्याउँछन्
समयसँग हार्न मान्दैनन्

यतिखेर जीवनको कठघरामा उभिएर
आफैँलाई सोध्न मन लाग्छ
भात, तरकारी र दाल डढेजस्तै
के इच्छाहरू डढनुपर्छ ?

आफू जन्मेको घर आफ्नो नहुने
छोरी हुनुको सजाय कसले बनायो ?
घर नहुनु !
थर नहुनु !!
आफ्नै अस्तित्वको लागि
एक्लै
आफैसँग युद्ध कहिलेसम्म गरिरहनु !

दिनहरू उत्तरदायित्व बोकेरै आउँछन्
चुल्हाचौकादेखि चोटा हुँदै जागिरसम्म
रातहरू
चुपचाप हक जताएर
कुनै पनि समय
बलात्कार गरेर जान्छन्
त्यही दिन र रातको समयबाट समय चोरेर,
आमालाई छकाएर,
टेबलमुनि लाल्टिन बालेर पढेजस्तो
यो झलमल्ल शहरमा
आफ्नै मनको दियो निभ्न नदिएर
आफैँलाई पढिरहेछु

त्यो बेलादेखि यो बेलासम्म
मैले
मलाई नै खोजिरहेको रहेछु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: