निडर युवतीको रोकिएको यात्रा


प्रकाशित मिति :2020-06-05 18:20:20

‘अब के मैले जीवनभर अदालतको धाइराख्नु ? बुझ्न थालेदेखि अहिलेसम्म मेरो जीवन कानूनी लडाइँमै बित्यो । अब कति ? म थाकि सकें दिदी …।’ धेरै पछि उनीसंग भेट हुँदा उनले मलाई भनेको कुरा यही नै थियो ।

किरण यादव । यो नाम कुनै समय सुनसरी जिल्लामा एक निडर र साहसी युवतीको रुपमा चिनिन्थ्यो । मैले उनलार्ई चिनेको पनि उनले आफ्नो पढाइको लागि आफ्नो परिवारमा गरेको विद्रोहको घटनाबाटै हो । म त्यतिबेला सुरक्षा र न्यायको विटमा रेडियोमा कार्यक्रम चलाउँथे । पढाइको लागि आफ्नो अभिभावकसँग मुद्दा नै गर्न आँट गरेकी किरण मैले भेटेको तीन वर्षमै गलिसकेकी रहिछन् ।

उनी जन्मे, हुर्केको ठाउँ सुनसरीको देवानगन्ज गाउँपालिका । सानैदेखि पढाइमा मेहनती र अब्बल थिइन् रे । ९ कक्षामा पढ्दै गर्दा १६ वर्षमै बुवाले विहे गरिदिने कुरा गरेछन् । विहे गर्न अस्वीकार गरे बुवाले पढाइ नै रोकिदिने धम्की दिएछन् । तर जवाफमा उनले आफ्नै बुवाविरुद्ध अंश मुद्दा दर्ता गरिन् । र ५ वर्षको कठिन संघष पछि मुद्दा पनि जितिन् र अंशमा जग्गा पाइन् । मुद्दा लड्दै गर्दा ज्यानै लिनेसम्मका धम्की आए पनि उनी रतिभर डराइनन् । ‘मुद्दा गरेर अंश त पाएँ तर बदलामा परिवार गुमाएँ’ उनले भनेकी थिइन् । बुवा र दाजुभाइ मात्र थिए उनको परिवारमा । आमा त उनले सानैमा गुमाएकी रहिछन् । अंश मुद्दा दर्ता गरेपछि उनलार्ई दाजुभाइहरूले घरबाट निकालिसकेका थिए । त्यसैले उनी नाता पर्ने दाइभाउजूको घरमा बस्थिन् । त्यही घरमा पहिलो पटक कुरा गर्दा दाइभाउजूले मुद्दाको बेला सहयोग गरेको भनेर भनेकी थिइन् । बालविवाहविरुद्ध उनले उठाएको कदमलार्ई मैले सफलताको कथा भनेर रेकर्ड गरिसकेपछि उनले भनिन्, ‘दिदी बुवाले मेरी बिरामी आमालार्ई त्यतिबेला अस्पताल मात्र लगिदिएको भए मेरा आमा बाँचेकै हुन्थिन । आमा भएकी भए सायद म एक्लो हुदैन्थे । तर तपाइसँग चिनजान भएर दिदी पाएँ’ भनेर आत्मियता जोड्दै मलाई विदा गरेकी थिइन् ।

रुमा रिजाल

उनको कथा सुनेपछि मैले महिला खबरका लागि किरणको संघर्षको स्टोरी रेकर्ड गर्न पहिलो पटक भेट्दाको दिन मलार्ई अझै सम्झना छ । उनी निकै आत्मविश्वासी थिइन् । उमेरमा म भन्दा सानी भए पनि उनको उत्साह र हिम्मत मेरो भन्दा निकै धेरै थियो । त्यो पछि पनि उनले मलाई प्राय फोन गरिरहन्थिन् । ‘दिदी तपाईं रेडियोमा कति मजाले बोल्नु हुन्छ । तपाईं बोलेको देखेर मेरो आत्म विश्वास बढ्छ’ यस्तै यस्तै कुरा गरिरहन्थिन् । अझ महिला सम्बन्धी रिर्पोट वा वहस कार्यक्रममा उनको निकै चासो हुन्थ्यो । त्यस्तो कार्यक्रम प्रशारण सकिनेवित्तिकै पहिलो फोन उनैको आउँथ्यो । रेडियोकी उनी नियमित श्रोता थिइन् । त्यसैको प्रभावले होला उनको चेतनाको स्तर उनको समुदायका अरु भन्दा भिन्न थियो । घुघटमा अनुहार लुकाएर हिँडने समाजमा हुर्किएकी भए पनि किरणलाई त्यो कुप्रथाले कुनै प्रभाव पारेको थिएन । उनकी दिदीको बालविवाह भएर पाएको दुःख देखेर नै किरण बालविवाहको विरुद्धमा खुलेरै लागेकी थिइन् । किरण मेरो आवाज र व्यक्तित्व खुब मन पर्छ भन्थिन् । खासमा मचाहि उनको व्यक्तित्वबाट असाध्यै प्रभावित थिएँ । म सधैं आफूलार्ई उनको समुदायमा जन्मेको भए ‘के म त्यस्तो गर्न सक्थें ?’ भनेर प्रश्न गर्थें ।

२०७४ सालको शुरुतिर एकदिन बिहानै उनको फोन आयो । त्यो दिन मेरो विहान ड्यूटी नभएकोले घरकै काम गरिरहेकी थिएँ । फोनमा उनको कुरा सुनेर म छक्क परें । उनी साँच्चैकी निकै आटिली थिइन् । जुन समुदायमा छोरी मान्छेले घरबाट बाहिर निस्किदा त अनुमति लिएर जानु पथ्र्यो, त्यही समुदायमा उनले निकै ठूलो आँट गर्न लागेकी थिइन् । देशमा निर्वाचन हुनै लागेको बेला किरण म्यादी प्रहरी बन्छु भनेर कस्सिएर मसँग सल्लाह मागिरहेकी थिइन् । उनको आँटले म फेरि अचम्म परें, त्यो भन्दा केही दिन पहिले मात्र उनको समुदायका थोरै महिलाहरूको मात्र मतदाता नामावलीमा नामदर्ता भनेर समाचार मैले नै बनाएकी थिएँ । त्यही समुदायमा हुर्किएकी उनी निर्वाचनकै लागि म्यादी प्रहरी बन्न तम्सिएकी थिइन् । मैले उनको उत्साहलार्ई कमजोर गर्ने कुरै भएन ।

किरण म्यादी प्रहरी भएको समाचार बनाउने कुरा सोचेर पनि म थप उत्साहित थिएँ । निर्वाचनको मुखैमा उनले एकदिन फोन गरिन् र भेट्न चाहेको सुनाइन् । उनको कुरालाई टार्ने मसँग बहाना थिएन त्यो बेला । खासमा म उनको कुरा टार्न पनि चाहन्न थिएँ । किनभने धेरै कुरा भइरहने हुँदा आत्मियता पनि बढिसकेको थियो । साथै उनी मेरो लागि एउटा समाचार पनि त थिइन् ।

इनरुवा बजारको चियापसलमा म पुग्नु अघि नै उनले खानेकुरा अर्डर गरिसकेकी रहिछिन् । चिया र चाट खाँदै उनले सुनाइन्, ‘दिदी म त म्यादीमा जान सकिन ।’ मैले सोचे सायद उनी छनौटमा परिनन् । मैले उनको कुरा अगाडि नसुन्दै भनें, ‘भनसुन पनि धेरै चल्छ रे, म कोसिस गरौं ?’ त्यति बेला सुरक्षा र न्याय सम्बन्धी कार्यक्रम रेडियोमा चलाउने भएकोले जिल्लाका प्रहरी अधिकृतहरूसंग मेरो चिनजान बाक्लै थियो । मैले भनेको उनीहरूले मान्थे मान्थेनन् थाहा छैन । तर पनि मैले उसलाई भनसुन गर्छु भनेर भनी हाले । किनभने किरणले आफ्नो लक्ष्य प्राप्त गरोस् भन्ने म पनि चाहन्थे ।

तर कारण अर्कै रहेछ । उनी बसेको घरको दाइले म्यादीमा भर्ना हुन नजाउ भनेको कुरा उनले टार्न नसकेको रे । उनले भनिन्, ‘दिदी उनीहरूले मलाई मुद्दा गर्दादेखि नै सहयोग गरिरहेका छन् । मलाई आश्रय दिएका छन् । उनीहरूको भावनालाई मैले कदर गर्नु पर्छ ।’ म उनको कुरा सुनेर खिन्न भएकी थिएँ । उनैले फेरि भनिन्, ‘अरु कुनै अवसर फेरि आउला नि ! हैन त ? उनले आफूभित्रको निरासालाई पुनः आशामा परिणत गरेर जिज्ञासा छोडिन् ।

निरास नहुने, संकटमा पनि सम्भावना खोज्न सक्ने बढो गज्जवको खुबी थियो उनमा । म्यादीमा जान नपाएको मनको गुम्सो पोख्न आएकी थिइन् सायद । किनभने उनको मनको कुरा पोख्ने ठाउँ अन्त कतै थिएन । मसँग त्यही कुरा पोख्न उनी आएकी थिइन् । तर मेरो निन्याउरो अनुहार देखेपछि उनले आफूलाई झन बलियो बनाएर गइन् ।

समय बितेको थाहै भएन । निकै लामो समयदेखि किरणसँग कुरा भएको थिएन । फोन गर्छु गर्छु भन्दा भन्दै समय नै मिलेन । आखिर ‘बुहारी पत्रकार’ न जो परे म पनि । मसँग कुरा गरिराख्ने मान्छेले फोन नगरेपछि एकदिन मैले आफै फोन डायल गरे । उनको फोन अफ थियो । समय मिलेको बेला उनलाई डायल गर्न थाले, फोन अफ नै हुने । मेरो मनमा चिसो पस्न थाल्यो । किरणलाई केही पो भयो कि ! भनेर । तर उनको पत्तो लागेन । कहिल्यै मैले बिर्से हुँला, सम्झेको बेला फोन गर्थें अफ नै आउँने ।

धेरै समय पछि नचिनेको नम्बरबाट आएको फोन भए पनि मैले आवाज चिनें–उनै थिइन् मैले एकै सासमा सबैकुरा सोधें । उनले ‘दिदी मैले त विहे गरे नि !’ पो भनेर सुनाइन् । मलाई एकदमै खुशी लाग्यो । मैले उनलाई बधाइ दिनु अघि नै उनले बधाइ चै नदिनुस् है, भनिन् । मैले अचम्म मानेर किन भने ? उनले खुलाइन्, ‘विहे त गरें तर धोका भयो ।’ म छाँगोबाट खसे जस्तो भए । भगवानले संघर्ष र दुःख जति यही केटीको भाग्यमा लेखेका रहेछन् भन्ने लाग्यो ।

उनले विहेको निर्णय गर्नु परेको कारण पनि सुनाइन् । मुद्दा लड्दादेखि उनले सहयोगी मानेका दाइले उनको सम्पतीमा आँखा लगाएका रहेछन् । मुद्दा जितिसकेपछि किरणलाई दाइभाउजूले मानसिक रुपमा निकै दबाव दिएछन् । मुद्दा लड्न र बस्न दिएको बदलामा केही नपाएको भन्ने बचन सुनेपछि उनले जग्गा बेचेर उनीहरूको मुखमा बुजो लाइदिएकी रहिछन् । उनीहरूको नियत बुझेपछि इनरुवामा डेरामा बस्न थालिन् रे । त्यहीबेला अर्को एकजना दाइ नाता पर्नेले उनको लागि केटा खोजेछन् । प्रहरीमा जागिरे केटोको परिवारसँग दाइको कुरा भएको रहेछ । जीवनमा एक्लो बस्नु भन्दा साथी पाउने आसमा उनी बिहे गर्न सहमत भएकी रहिछन् ।

किरण यादव

थप केही जग्गा बेचेर उनले आफ्नो विहेको खर्च जुटाइन् । विहे भएकै रात श्रीमान्को मोबाइलमा एकोहोरो फोन बजिरह्यो । भोलिपल्ट बिहानै श्रीमान् अफिसको कामले काठमाडौं फर्किनु पर्यो भनेर निस्किए । त्यसपछि छ महिनासम्म घर फर्किएनन् । दुइ महिनासम्म किरणको सम्पर्कमै नआएका उनले फोन गरेर आफू निकै बिरामी परेको र उपचारमा धेरै पैसा सकिएको भन्दै पैसा पठाइदिन भने । बिहे गरेर अलपत्र पारेर हिँडेको श्रीमान् बिरामी भन्दा किरणको मनमा माया पलायो । उनले साथमा पैसा नहँुदासमेत गहना धितो राखेर पैंसा पठाइन् । प्रहरीको जागिर यस्तै होला सोचेर चुप बसेकी उनलाई यही बीचमा बुबाले लुकाएको जग्गासमेत आफूले पनि पाउनु पर्छ भन्दै पेश गरेको मुद्दाको तारिखका लागि काठमाडौं जानु पर्ने भो । श्रीमान् काठमाडौंमै भएकोले उ निकै उत्साहका साथ काठमाडौं पुगिन् । तर त्यहाँ उनको जीवनमा दुइटा फैसला भए । एउटा फैसला अदालतले उनका विरुद्धमा गरेछ । अनि अर्कोचाहिँ उनले श्रीमान्संग छुट्टिने फैसला आफै गरेर सुनसरी फर्किछन् । कारण किरणसँग विहे गर्नु अघि नै उनले घरमा नभनेर विहे गरिसकेको रहेछ । पहिलो श्रीमतीबाट बच्चा पनि भइसकेको थाहा पाएपछि उनी निरास भएर सुनसरी फर्किएकी रहिछिन् ।

उनको कुरा सुनिरहेकी म बोल्न सकिरहेकी थिइन । उनले आफ्नो त भाग्य नै यस्तै रहेछ भन्दै पहिलोपटक निरासा सुनाइरहेकी थिइन् । अनि मैले त्यो विहेको कुरा गर्ने दाइको बारेमा सोध्नेवित्तिकै भनिन्, ‘दिदी अहिले फोन राख्छु, दाइको कुरा अर्कोदिन भनौंला ।’

उनले फोन राखिन् । तर मेरो मनमा उनैको कुरा खेलिरहेको थियो । अर्को दिन विहानैदेखि उनको फोनको प्रतिक्षामा थिएँ म । तर पुरै दिन बित्यो, फोन आएन । यही बीचमा कोरानाका कारण लकडाउन शुरू भयो । लकडाउनले केही फुर्सदिलो बनाएकाले उसलाई फोन गर्न खोजें । तर फोन अफ । म दुबिधामा परें उसलाई केही भयो कि ! भनेर । किन भने आफ्नो अधिकारको लागि उ नडराउने केटी हो । उनको नयाँ घर कहाँ पनि थाहा थिएन । सोध्ने अरु कुनै ठाउँ पनि थिएन । उनको कुराले म विचलित भइरहेको थिएँ । सम्पती र सम्बन्धका कारण महिलाले ज्यान नै गुमाएका समाचार धेरै पढेकोले पनि होला । मेरो मन आत्तिएको थियो ।

लकडाउन भएको एक महिनापछि उनले फोन गरिन् । सन्चो बिसन्चो केही नसोधी शुरुमै भनिन्, ‘दिदी म मुद्दा नलड्ने भएँ । मैले उसलाई हिम्मत नहार्न भन्दै उनको आँटिलो विगत सम्झाएँ । तर उनले कुरा मोडिन् । बरु कठोर हुँदै भनिन्, ‘मलाई अब कसैको विश्वास छैन ।’ उनी भक्कानिएर रोइन् । निडर किरण पहिलो पटक मेरो सामु निरास र कमजोर भावमा विगतका सबै कुरा सम्झिदै मात्रै भक्कानिन थालिन् ।

उनले हिम्मत हारेको देखेपछि मैले उनलाई सम्झाउँदै कानूनी उपचार खोज्नु पर्ने कुरा दोहोर्याएँ । आफूले सहयोग गर्ने विश्वास पनि दिलाउन खोजे । तर उनले मुद्दा नलड्ने निर्णय सुनाइन् । मैले उ अन्यायमा परेकोले दोषिले सजाय पाउनै पर्ने कुरा दोहर्याएँ । तर उनले मलिन आवाजमा भनिन्, ‘दिदी मैले जीवनभर अदालत कति धाइराख्नु ? बुझ्ने भएदेखि अहिलेसम्म मेरो जीवन कानूनी लडाइँमै बित्यो ? अब कति ? म थाकि सकें दिदी ।’ उनले फोन राख्दिन्…।

मैले उसलाई सम्झाउन तुरुन्तै फोन गरें तर अफ आयो । धेरै दिनदेखि कोसिस गरिरहेकी छु । तर अहिले उनको फोन अफ नै छ । उनको फोनको प्रतिक्षामा छु । जति दिन बित्दैछ, उती नै मनमा कुरा खेल्छन् । आजकल एउटै कुरा सोचिरा’को छु । १५,१६ वर्षकै उमेरमा परिवारसँग विद्रोह गर्ने, जीवनको हरेक संकटमा पनि अवसर देख्ने उनी किन आज थाकिन् ? उनीमाथि कुनै दवाव र करकाप भएर पो न्याय खोज्न हिच्किचाएकी हुन् कि ! वा एउटी महिला भएकै कारण उनी एक्ली भइन् ?

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: