महिनावारी चक्र र महिलाको स्वःस्याहार


प्रकाशित मिति :2020-06-06 18:31:19

-हिरा दाहाल-

मे २८ मा नेपालमा महिनावारी स्वच्छन्दता दिवस मनाउन थालिएको थोरै मात्र भएको छ । महिनावारीकोे भेदभावलाई न्यूनीकरण गर्नुपर्छ भन्ने विषयमा राष्ट्रिय स्तरबाटै आवाज उठ्न सुरु भईसकेको छ । यो महिलामाथि गरिएको विभेद हो भने बहस सुरु भईसक्दा पनि महिनावारीको समयमा महिला तथा किशोरीहरूलाई आवश्यक पर्ने स्वःस्याहारको विषय अझै पनि आवश्यकताको रुपमा उठ्न सकिराखेको छैन । यस सन्दर्भमा महिनावारी चक्रलाई सम्पूर्णताको रुपमा बुझ्नु सकेमा महिनावारीको प्राकृतिक प्रकृया, महिलाहरूको शरीर तथा दिमागको उर्जापन, सिर्जनाशक्तिको बारेमा जानकारीको साथै महिनावारीको समयमा स्वःस्याहारको आवश्यकताको उपयोगी सिकाई हुन सक्ने अपेक्षा गर्दैै महिनावारीको चक्र र यी चक्रहरूमा महिला तथा किशोरीहरूमा आउने शारीरीक, मानसिक तथा संवेगात्मक परिवतर्नलाई यस लेखबाट उठाउन प्रयत्न गरिएको छ ।

प्रत्येक महिला किशोरी अवस्थाबाट महिनावारी सुरु भएदेखी आफ्नो महिनावारी नरोकिएसम्म र गर्भवती हुँदाको अवस्थाबाहेक यही महिनावारीको चक्रमा रहिरहेका हुन्छन । यस लेखमा महिनावारीका ४ वटा चक्रहरूलाई एक दिनको समयसंग तुलना गरेर हेर्ने प्रयास गरिएको छ । साथै यस चारै चक्रमा एक महिलामा आउने हर्मोनल परिवर्तन, शारीरिक, मानसिक र भावनात्मक परिवर्तनलाई समेत तुलनात्मक रुपमा हेर्ने प्रयास गरिएको छ ।

प्री ओभुलेसन

महिनावारी चक्रको ८ दिनदेखी १४ दिनसम्मको समय प्री ओभुलेसनको समय हो । प्री ओभुलेसनको समयलाई दिनसंग तुलना गर्दा बिहानको समयसंग दाँज्न सकिन्छ । जसरी सूर्य उदाएर दिनको सुरुआत हुन्छ । मानिसहरू जोश जाँगरसाथ आफ्नो दिनको सुरुआत गर्छन । त्यसैगरि महिनावारीको यो चक्रमा हाम्रो शरीर र मन पनि बिहानको समय जस्तै ताजा, फुर्तिलो र जाँगरले भरिएको हुन्छ । यस समयमा शरीरले एस्ट्रोजिन हर्मोन उत्पादन गर्न सुरु गर्ने हुनाले दिमाग पनि स्पष्ट हुन्छ र शरीरमा जाँगर तथा सक्रियता बढ्छ र केही नयाँ काम गरौं जस्तो लाग्ने हुन्छ । यो समय सबै महिला तथा किशोरीहरूले नयाँ कामको योजना बनाउने खासगरि विद्यार्थीहरूले पढ्ने लेख्ने कार्य गर्दा प्रभावकारी रुपमा उपलब्धी हासिल गर्न सकिने समय हो । त्यसैगरि यो समयमा दिमागले अण्डाशयलाई अण्डा उत्पादन गर्ने खबर दिईरहेको हुन्छ र अण्डाशयमा रहेका केही अन्डाहरू सक्रिय भएर बढ्न थाल्छन् । जसरी हाम्रो दिमाग तथा पाठेघरले नयाँ जीवनको तयार गर्ने काममा सक्रिय हुन्छ त्यसैगरि हामीले पनि यस समयलाई नयाँ योजना तथा कामको थालनी गर्ने काममा लगाउन सक्छौं ।

हिरा दाहाल

ओभुलेसन

ओभुलेसन १५ दिनदेखी २१ दिनसम्मको समय हो । जसरी मध्यान्हमा सूर्य सबै भन्दा बढी चम्किन्छ, त्यसैगरि महिला तथा किशोरीहरूको लागि यो समय सबैभन्दा उर्जावान समय हो । यो समय बच्चा जन्माउनको लागि पाठेघर तयार भएको अवस्था हुनाले दिमाग तथा शरीर पूर्ण रुपमा उर्जावान भएको हुन्छ । त्यसैले यस बेलामा पाठेघर मात्र नभएर हाम्रो सिंगो शरीर र दिमाग नै सिर्जनाको लागि तयार हुन्छ र शरीर पूर्ण रुपमा उर्वर र शक्तिले भरिएको हुन्छ । हामीले प्रत्येक महिना यस समयमा हुने हाम्रो असिमित उर्जालाई विभिन्न उत्पादनमूलक र गुणात्मक काममा लगाउन सक्छौं । यस समयमा महिलाहरू मल्टिटास्किङ् हुने क्षमता राख्दछन् । एस्ट्रोजिन हर्मोनको मात्रा पूर्ण रुपमा बढ्ने हुनाले महिलाहरू प्राकृतिक रुपमै अत्यन्त जोश, जाँगरले भरिएको हुन्छन् र जस्तोसुकै काम अनि जति धेरै काम पनि पूरा गर्न सक्षम हुन्छन् । महिलाहरूले यो सक्षमता हुने अवधिलाई पहिचान गरि यस्तो उर्वर समयको भरपुर उपयोग गर्न सक्छन् । तर विडम्बना महिलाहरूलाई वर्षभरी नै यस्तै उर्जा भएको ब्यक्तिको रुपमा अपेक्षा गरिन्छ र त्यही अनुसारको हजारौं जिम्मेवारी पनि दिईएको हुन्छ । यस समयमा त महिलाहरूले पूरा गर्न सक्लान् तर के अन्य चक्रमा पनि यो क्षमता रहिरहला त ? पक्कै रहँदैन ।

प्री मेन्सुरेसन

प्री मेन्सुरेसनको समय २२ दिनदेखी २८ दिनसम्मको समय हो । दिनको समयलाई तुलना गर्दा प्री मेन्सुरेसनलाई साँझको समयसंग तुलना गरिन्छ । जसरी साँझको समय सूर्य अस्ताउने बेला तथा मानिसहरू थकित भई कामबाट घर फर्किने समय हो साथै यसबेला मानसिक तथा शारीरक रुपमा नै थकाई, अल्छि तथा झर्को लाग्ने समय हो । त्यसैगरि महिनावारीको यस चक्रमा महिलाको शरीरले पनि थकाईको महशुस गर्ने, पेट तथा कम्मर केही मात्रामा दुख्ने, शरीर भारी हुने र अल्छी लाग्ने हुन्छ । यस समयमा शरीरमा एस्ट्रोजिन हर्मोनको मात्रा घटेको हुन्छ । जसले गर्दा छिट्टै रिस उठ्ने, झर्को लाग्ने, रुन मन लाग्ने, कसैले अलिक ठूलो स्वरले बोल्यो भने पनि चित्त दुख्ने र अनेक सोचाईहरू आउने हुन्छ । धेरैजसो महिला तथा किशोरीहरूलाई आफ्नो शरीर तथा भावनामा आएका यी परिवर्तनहरूको बारेमा थाहा हुदैन, जसले गर्दा उनीहरू आफ्नो अवस्थालाई स्वीकार्नुको सट्टा स्वयंलाई दोषि ठानिरहेका हुन्छन् । त्यसैले प्रत्येक महिला तथा किशोरीहरूले आफ्नो प्री मेन्सुरेसनको समयमा आउने यी अवस्थाहरूलाई पहिचान र स्वीकार गर्नुको साथै आफ्ना परिवारका सदस्यहरूलाई पनि जानकारी गराउन सकेमा आफू एक्लो भएको महशुस गर्नुपर्ने अवस्था नआउन सक्छ । त्यसैले स्वःस्याहार तथा आफूलाई बुझ्ने प्रयास नै यस अवस्थालाई सकारात्मक रुपमा ब्यवस्थापन गर्ने एकमात्र उपाय हो ।

मेन्सुरेसन (महिनावारी)

यो महिनावारी चक्रको १ देखी ७ दिनको समय हो । दिनको समयसंग तुलना गर्दा महिनावारीको यो समयलाई रातको समयसंग तुलना गरेर हेर्न सकिन्छ । जसरी मध्यरातीको समयमा सबैजना सुत्ने र आराम गर्ने गर्दछन्, त्यसैगरि महिनावारीको समय भनेको प्रत्येक महिला तथा किशोरीहरूको आराम गर्ने समय हो । यस बेलामा शरीर पूर्ण रुपमा थाकेको हुन्छ । यस बेला पेट दुख्ने, कम्मर दुख्ने, शरीर भारी हुने तथा रगत बहिरहने हुनाले आरामको जरुरत हुन्छ । शरीरले यसबेला एस्ट्रोजिन हर्मोन उत्पादन नगर्ने हुनाले शरीर पूर्ण रुपमा सक्रिय हुदैन । जसरी हामीलाई राती राम्रोसंग निन्द्रा पुग्यो भने भोलिपल्ट दिनभरी राम्रोसंग काम गर्न सक्छौं, हो त्यसैगरि यस महिनावारीको अवस्थामा हामीले आफूलाई ध्यान दियौं, स्याहार गर्यौं र आराम गर्यांै भने आउँदो महिनाभरी राम्रोसंग काम गर्न सक्छौ र आफूभित्र रहेका क्षमताहरूको सदुयोग गर्न सक्छौ ।

महिनावारीको विभेदको अत्य अत्यन्त जरुर छ । तर यो विभेद अन्त्य गर्ने प्रयासमा महिनावारीको समयमा आवश्यक पर्ने स्वःस्याहारबाट बञ्चित गरिनु हुन्न । त्यसैले महिनावारीको समयमा भान्सामा नछिर्ने परम्परालाई तोडेर फेरि सम्पूर्ण भान्सा नै अरु दिनमा जसरी महिलाको जिम्मामा सुम्पिने परम्पराको विकास पनि कुनै हालतमा हुनु हुदैन । किनकि यो समय घरको सम्पूर्ण भार बोक्ने भन्दा पनि उनीहरूले आफ्नो स्याहार गर्ने र आराम गर्ने समय हो । त्यसैले आराम गर्ने समयको रुपमा बुझिनु जरुरी छ । सम्भव भएसम्म राज्यले प्रत्येक महिनाको २ दिन महिनावारीको आरामको लागि बिदा दिनु जरुरी हुन्छ । त्यसो गर्न सकेमा मात्र उनीहरूले स्वःस्याहारको लागि समय पाउनेछन् र बाँकी दिनहरूमा पूर्ण रुपमा उर्जाशिल भएर काम गर्न सक्षम हुनेछन् । आशा छ छिटै भविष्यमा महिलाहरूलाई महिनावारीको समयमा ‘अछुत’ बनाईने परम्पराको अन्त्य हुँदै महिनावारीको समय महिलाको लागि आरामको समय र स्वःस्याहारको समयको रुपमा विकसित हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: