आफ्नो मौनता तोडौ !


प्रकाशित मिति :2020-06-10 13:51:51

आर्टिकल १५, कुनै कानूनको धारा नभएर एउटा हिन्दी चलचित्रको कुरा गर्दै छौँ । सबैले यो चलचित्रको प्रसंशा गरेपछि हामी एकदिन यो चलचित्र हेर्ने भनि सँगै बस्यौँ । भारतको सविंधानको धारा १५ ले जात, क्षेत्र, धर्म, लिंग र वर्णको आधारमा कुनै पनि किसिमको भेदभावलाई गैरकानूनी मानेको हुनाले यही धाराको नामबाट चलचित्रको नाम राखिएको रहेछ । चलचित्रले भारतीय अछुत वर्गको राजनीतिलाई राम्रोसँग चित्रण गरेको छ, जुन हामीलाई हाम्रो नेपाली समाजमा पनि मिल्दोजुल्दो लाग्यो । दलित श्रमिकहरूले केवल तीन रुपैँया वृद्धि गर्ने माग गर्दै हडतालमा सरिक भएका दलित युवतीहरूमाथि सामूहिक बलात्कार र हत्या गरेर दलित वर्गलाई जवाफ दिएको कुरा एकदमै अमानवीय तर समाजको वास्तविकतालाई चित्रण गरेको छ ।

चलचित्र सक्किए तापनि हाम्रो दिमागमा अनेकौँ प्रश्नले घेरा हाल्यो । उकुसमुकुस भयो । तर सायद दुबैलाई त्यो आफ्नो मनमा उब्जेका भावनलाई प्रश्न बनाएर सोध्ने शब्द केही भएन । एकछिन पछि हामीले मौनता तोड्दै एक अर्कालाई प्रश्नमाथि प्रश्न सोध्न थाल्यौँ । आर्टिकल १५ मा जस्तै हाम्रो समाजमा पनि धेरै कुरा मिले जस्तो लागेन ? तेरो घरमा दलितलाई पस्न कुनै रोक छ कि छैन ? हामी कानूनको विद्यार्थी भएर कसैले भोलि हामीलाई, अझै पनि तिम्रो घरमा खुलेर दलितलाई पस्न दिने वातावरण छैन ? भन्दै प्रश्न गर्दा उही आर्टिकल १५ को पात्र जसले आफ्नो जीवन सहज गराउनका लागि मात्र दलितको नाममा राजनीति गर्दै आएको हुन्छ, कतै हामी पनि त्यही पात्र जस्तै त होईनौँ ? यसरी समाज परिवर्तन वास्तवमै सम्भव छ त ? कि हाम्रो देखाउने दाँत एउटा र चबाउने दाँत अर्को भएको जस्तै हो ? दलित वर्गले बोल्यो भने ‘औँला दिँदा डुडेल्नो निल्ने’ भनेर समाजले खेदो खन्छन् ! अनि हामी गैर दलितले उनीहरूको अधिकारको कुरा उठान गर्दै राजनीति गरेर समाज कसरी परिवर्तन हुन्छ त ?

रुकुम पश्चिम जातीय छुवाछुत मुक्त जिल्ला घोषणा भइसकेको अवस्थामा पछिल्लो पटक नवराज विक लगायत अन्य ५ साथीहरूको हत्याको घटनाले पुरा देशलाई नै स्तब्ध बनाएको छ । युवाहरूको हत्यामा समाजको गन्यमान्य भनिनेहरूको पनि संलग्नता भएको हुनसक्ने कुराले समाजलाई दुःखी र लज्जित बनाएको छ । जसरी आर्टिकल १५ मा दलित बालिकाहरूले आफ्नो हकको लागि आवाज उठाउँदा उनीहरूको औचित्य बुझाउने नियतले बलात्कार गरि रुखमा झुन्डाएर तमाम दलितहरूलाई खबरदारी गरेको देखाएको छ । ठ्याक्कै त्यही कुरासँग नवराजको घटना मिले जस्तो भान भयो । आफूभन्दा कथित माथिल्लो जातकी किशोरीसँग विवाह गर्दाको परिणाम यो हुन्छ भनेर बाहुनवादको अहंमताले निम्त्याएको घटना हो कि ! भन्ने गन्ध पक्कै आएको छ ।

आशिका चापागाई

रुकुमको घटना लगत्तै १२ वर्षीया बालिकाको शव रूखमा झुण्डिएको भेटियो । निज बालिकालाई बलात्कार गर्ने २५ वर्षीय युवकसँग बिहे गर्न भनियो । बलात्कार आरोपित व्यक्तिको परिवारले पीडित बालिका दलित जातिको भन्दै अस्वीकार गरेपछि बालिकाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको घटनाले यो समाजमा केटी र त्यसैमाथि पनि दलित हुनु कति अभिसाप रहेछ भन्ने कुराको एउटा प्रष्ट उदाहरण हो ।

२१ औं शताब्दीसम्म आईपुग्दा पनि किन कथित दलितलाई पशुलाई भन्दा तल्लो दर्जामा राखेर हेरिन्छ ? जातीय भेदभाव तथा छुवाछूत विरुद्ध ऐन, कानून बनेको एक दशक पुरा हुँदा समेत किन अझै पनि जातीय विभेदले जरा गाडेर बसेको छ ? मानव हत्यासम्मको पराकाष्टा नाघेको हुनाले यसको जरो खोज्दै जाँदा हामी हिन्दू धर्मशास्त्र, वेद, पुराण, मनुस्मृतिसम्म पुग्नुपर्ने हुन्छ । यी ग्रन्थमा लेखिएका श्लोकलाई सरसर्ती हेर्दा मानव जातिलाई प्रथम ब्राम्हण, दोस्रो क्षेत्रिय, तेस्रो वैश्य र चौथो शूद्र (हालको दलित) मा बिभाजन गरिएको छ । यो अनुमानित वि.सं ६००(६५० समयमा समाज संचालन गर्न बनेको संविधान सरहको महत्व राख्ने दस्तावेज के अहिलेको समाजका लागि उपयुक्त हुन सक्छ त ? यही दस्तावेजले हाम्रो मूल्य मान्यतालाई आकार दिने काम गरिरहेको हुनाले नै अहिलेको लोकतान्त्रिक गणतन्त्रतात्मक राज्य व्यवस्था संचालन भइसक्दा पनि जातीय विभेदको दरिलो जरा हटेको छैन । जातीय प्रथा समाजले बनाएको विभेदकारी नियम मात्र हो, जसको कुनै वैज्ञानिक आधार छैन भन्ने बुझ्न र बुझाउन जरुरी छ ।

यी घटना पछी तातेको सामाजिक सञ्जालमा दलित र गैर दलितको कमेन्ट देख्दा यो घटनाले दलितलाई अधिकार दिने भनेको गैर दलितको स्वतन्त्रता नै खोसिएको हो कि ! भन्ने झझल्को आउँछ । दलितले हिजो राज्यले संस्थागत रुपमा दमन गरेकाले आज हामी अगाडी बढ्न पाउनु पर्छ भनिरहँदा गैर दलितले इतिहासलाई केलाउन नचाहेको हो कि ! भन्ने भान हुन्छ ।

हामी हुर्केको परिवेशमा दलित समुदायको हातबाट पानी नखाने, उनीहरूको छायासमेत कुनै गैर दलितलाई पर्नु हुन्न भन्ने मानसिकता अगिल्लो पुस्तामा जस्तो छैन । हाम्रो पुस्तामा दलितलाई साथी बनाउन कुनै संकोच नभए तापनि जीवन साथी नै किन बनाउन पर्यो भन्ने बहस धेरै हुन्छन् । धेरै पटक हामीसँगै बसेर छलफल पनि गरेका छौँ, दलितसँग माया बस्यो भने त्यसको परिणाम के हुन्छ होला ? मन परे पनि माया प्रेमसम्म त अल्लिक नपुगौँला, माया प्रेम बसी हाले पनि विवाहमा परिणत हुन त असम्भव नै छ भन्ने हालैको घटनाले देखायो । यदि विवाह नै गर्ने निर्णय लिएमा आफ्नो घरपरिवारलाई मात्र नभई आफू बसेको समाजलाई समेत त्याग्न बाध्य हुनु पर्दछ । उपाध्याय बाहुन र जैसी बाहुन, जैसी बाहुन र क्षेत्रीसँगको विवाहलाई त अन्तरजातीय विवाह भनेर घर परिवारलाई मनाउन हम्मेहम्मे पर्ने स्थिति हुँदा कहाँ पानी नचल्ने जातसंग विवाह सजिलै गर्देलान् त ? यस्तै जवाफमा छलफल टुंगिन्छ, के हामीले चाहेको समाधानको टुंगो पनि यहाँसम्म मात्र हो त ?

समाज परिवर्तन खै कहाँ भएको छ ? पढे लेखेको र उच्च जातका मान्छेले आफ्नो बिरोध हुने डरले समुदायमा खुलेर जातको बिरोध गर्न कम भएको मात्र हो । हरेक वर्ष अन्तरजातीय विवाहकै कारण कसै न कसैको हत्या भइरहेको हुन्छ । अहिलेजस्तै, यसैगरी सामाजिक सञ्जाल, संसद अनि सडक तात्छन् अनि समयसँगै बिस्तारै सेलाएर जान्छन् । तर छुवाछूतको जड मनु संस्कृतिमा हुँर्किएका हामीहरू, हाम्रो मनको छुवाछूत कसरी सेलाएर जान्छ त ?

अन्जली तिवारी

यहीँ रुकुमको घटनामा नवराज दलित भएकै कारण यो घटना भएको होइन भन्ने तर्क देख्दा सजिलै अनुमान गर्न सकिन्छ कि मस्तिष्कको अन्तरस्करणमा नमेटिने गरि खोपिएको जातीवादले अपराध पनि नदेख्ने गरि हामीलाई अचेत बनाई दिएको छ । जबसम्म नियत, व्यवहार र मानसिकता सफा हुन सक्दैन, तबसम्म नीति, नियम, कानून, दस्तावेज बनाउनुको कुनै औचित्य रहदैन । कानून त केबल कागजी स्वरुप हो । यस कागजलाई कानून निर्माताले जबसम्म आफू स्वयम्ले कार्यान्वयन गर्ने प्रतिबद्धता जानउदैनन्, तबसम्म यस्ता जातीय विभेदका समस्या हाम्रो समाजमा समाधान हुन सक्दैनन् । कानून प्रस्ट भएर पनि कानून बनाउने र कार्यान्वयन गर्ने तहमा गैर दलितको पहुँच र मानसिकताले न्यायमा शून्य पहुँच जस्तै बनाई दिएको छ ।

कामको आधारमा गरिएको बिभाजनले आज मानिसमानिस बीच ठूलो खाडल बनाएको छ । जातीय छुवाछुत मानव सभ्यताकै कलंक हो । हाम्रो युवा पुस्ताले समृद्धिको कल्पना गरिरहँदा श्रमको सम्मान नभएसम्म समृद्धि संभव छैन भन्ने कुरा पनि बुझ्नु पर्ने हुन्छ । जातपातको नाममा छुवाछूत कायम रहेसम्म श्रमको पनि सम्मान हुदैन । जातपात प्रथा समृद्धिको ठूलो बाधक बनिरहेको छ । श्रम, स्वाभिमान र समृद्धिलाई अलग्याएर हेर्न मिल्दैन । शान्ति र समृद्धिको लागि पनि जतिसक्दो चाँडो जातपातको नाममा गरिने भेदभाव र छुवाछूत अन्त्य गर्नुपर्छ । दलितको पीडा उनीहरूलाई नै बोल्न दिएर गैर दलितबाट यो आन्दोलनमा सक्रिय सहभागी हुन सकेमामात्र यो आन्दोलनले मुर्त रुप लिनसक्छ ।

दलितको समस्या सबैको साझा समस्या बनाऔं। जातीय भेदभाव र छुवाछुत अन्त्यको समस्या कथित दलित जातजातिको मात्र नभई साझा समस्या हो भन्ने सोचका साथ अघि बढौँ। यो जातीय समस्या मेरो पनि हो भन्ने स्वीकार्दै हामी गैर दलित समुदायले साँचिकै आफ्नो मानसिकतालाई खबरदारी गर्न जरुरि छ।कोरोना भाइरस भन्दा डर लाग्दो छ जातीय भाइरस । कोरोना भाइरसको खोप त कुनै दिन वैज्ञानिकहरूले अवस्य निकाल्ने छन् तर मानिसको सोचमा जरा गाडेर बसेको जातीय भेदभावको भाइरसलाई निको पार्ने खोप हामी आफैले आफ्नो घरलाई सकरात्मक सुधार प्रयोगशाला बनाई सुरुवात गर्नु पर्दछ।जुन रुपमा परापुर्व कालदेखि जातीय विभेद, छुवाछुत, भेदभाव समाजमा व्याप्त छ, त्यसले गर्दा मानिसको सोचमा विभेदाभास उत्पन्न गरेको छ। यो विभेदकारी प्रवृत्ति अन्त्य नहुँदासम्म समस्याको समाधान हुन्छ भन्ने कल्पना गर्नु हाम्रो मुर्खता हो ।

सानो प्रयासले पनि जातीय विभेदहटाउनमा टेवा पुर्याउन सकिन्छ भन्ने बिका साथयो लेख लेखेर आफ्नो मौनता तोड्ने प्रयास ग¥यौँ। यो लेख सँगै सामाजिक सञ्जालमा जातीय विभेद देखिने पोस्ट, जातीय विभेद झल्किने उखान टुक्काको प्रयोग नगर्ने र गर्ने लाई सचेत गराउने प्रयासमा छौ।अझै ढिला भएको छैन, आफ्नो मौनता तोडेर, आउनुहोस् समाजलाई सुख, शान्ति र समृद्धि बनाउने बाटोमासँगै अगाडी बढौ।

(लेखक काठमाडौं स्कुल अफ ल, तेस्रो वर्षमा अध्ययनरत छात्रा हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: