कोरोनालाई अपराध ठान्ने समाज, बलात्कारमा किन मौन ?


प्रकाशित मिति :2020-06-10 16:03:12

-पार्वती पाण्डे-

कोभिड १९ का कारण देश लकडाउनमा छ । कोरोना संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ भने निको हुनेको संख्या पनि बढेको छ । तर कोरोना संक्रमित र उनीहरूको परिवारलाई त्रसाउने काममा समाज नै लागेको देखिन्छ । मानौं कोरोना लाग्ने व्यक्ति र उनका आफन्तहरू अपराधी हुन् जस्तो व्यववहार गरिन्छ । सधैं जनतालाई सूचना दिन अग्रस्थानमा खटिने सञ्चारकर्मीलाई पनि कोरोना लाग्यो, उनीहरूले मनोबल दह्रो बनाए र कोरोना जितेर काममा पनि फर्किएका छन् । म आफै पनि १२ दिनसम्म होम क्वारेन्टाइनमा बसें, एकान्त बासबाटै निरन्तर सूचना प्रवाह गरिरहें । पीसीआर नेगेटिभ आयो र काममा सहजता आयो ।

कोरोना संक्रमितहरू अस्पतालमै पनि रमाउने, कोरोनाको सावधानी अपनाउने बारे सबैलाई सचेतना दिएका छन् । आफ्नो सम्पर्कमा आएकाहरूलाई पीसीआर गर्न सघाउ पुर्‍याएका छन् । तर समाजका सचेत मानिसहरू कोरोना नलागेकालाई पनि कोरोना लागेको छ भन्ने र अनावश्यक हल्ला फिजाउने कार्यमा लागेको देखिन्छ । कोरोना संक्रमितहरूका परिवार, आफन्तहरूलाई लक्षित गरि अनावश्यक हल्ला फिजाउने काम भएको छ । कोरोना लागेको व्यक्तिलाई सान्त्वना दिनुको सट्टा सम्पर्कमा रहेका अन्य परिवारलाई पनि फरक व्यवहार गरेको देखियो । कोरोना लागेर निको भएका व्यक्ति घर फर्किदासमेत समाज अझै त्रसित देखियो । कोरोना सामान्य रोग हो, यसको औषधि छैन । तर पनि प्रयाप्त आराम गर्दा, सकारात्मक कुरामात्रै सोच्दा र अनि पोषिलो खादा निको हुँदोरहेछ । सचेत हुँदै उच्च मनोवलका साथ कोरोनालाई सहजै जित्न सकिन्छ भन्ने प्रमाण हालै कपिलवस्तुका एक जनप्रतिनिधि र पत्रकार हुन्, जो कोरोना निको भएर घर फर्किसकेका छन् । कोरोना लाग्ने व्यक्ति र उसको परिवारमा कुनै अप्ठ्यारो महशुस हुदैन । टोल, छिमेकमा भने फलानोलाई कोरोना लागेको छ, उ र उसको परिवारबाट टाढा हुनु पर्छ, भनी अनावश्यक हल्ला भिजाइन्छ । तर त्यही समाज एउटा भर्खरै जन्मिएकी अबोध बालिकादेखि र अशक्त वृद्धा बलात्कृत हुँदा मौन रहन्छ । यो जघन्य अपराध हो, अपराधीलाई कार्वाही हुन पर्छ भन्नेसम्म आँट गर्दैन । सकेसम्म त आफ्नो नातागोता, छिमेकी, आफन्त वा राजनीतिक पार्टीको व्यक्ति भएको हैसियतले बलात्कारी, अपराधीलाई जोगाउन लागे पुगेसम्मको सबै शक्ति खर्च गर्छ । अपराध ढाकछोछ गर्न लाग्छ । र पीडितको आवाज दबाइन्छ ।

पार्वती पाण्डे

कोरोना हामीले नचाहँदा वा निर्दोष हुँदाहँदै पनि अरुका कारण हामीलाई सर्छ । जसमा हाम्रो कुनै दोष हुन्न । तर बलात्कारी, हत्यारा, भ्रष्टाचारीले जानेरै, बुझेरै, प्रपञ्च रचेरै यस्तो जघन्य अपराध गर्छ । अरुलाई नोक्सान पुर्‍याउँछ । अरुको ज्यान लिन्छ । के समाज नामको समाज र आफन्त नामका आफन्तले यस्ता अपराधीलाई कहिल्यै छीछी र दूरदूर गरेका छन् ? यदि त्यस्तो हुन्थ्यो भने यस्ता अपराध पनि सायद कम हुन्थे । निर्दोषमाथिको अन्याय कम हुन्थ्यो । तर कोरोना जस्तो रोग लागेका मानिस र उसको परिवार भने यतिबेला आफन्त, नातागोता र छिमेकीको अपमान सहन बाध्य छन् । जुनै अत्यन्तै निर्मम र अमानवीय काम हो ।

कोरोना भाइरस ठूलो रोग होइन, त्यसलाई सावधानीले नै जित्न सकिन्छ भन्ने समाजले बुझ्न आवश्यक छ । निरन्तर रुपमा सफा र मापदण्ड अनुसारको माक्स लगाउने, शारीरिक दुरी कायम गर्ने, हात साबुन पानीले मिचीमिची धुने, व्यायाम गर्ने, पोषिलो खाने गर्दा कोरोना भाइरसलाई सजिलै जित्न सकिन्छ । यो कुरा निरन्तर डाक्टरहरूले पनि बताउँदै आएका छन । यद्यपि यसको औषधि भने बनेको छैन । केही अपवाद कारण बाहेक कोरोनालाई नेपालीले जित्दै आएका छन् । लकडाउनको ७८ दिनसम्म १५ जनाको मृत्यु भइसकेको छ । ४ हजार ८६ जनामा संक्रमण देखिएको छ भने ५ सय ८४ जना निको भएर घर फर्किसकेको अवस्था छ ।

कोरोना संक्रमित यसलाई जित्न चुकेका छैनन् । तर समाज आफ्नो दायित्व बहन गर्न भने चुकेका छ । कोरोना लागेका मानिस, उनका घरपरिवार र सम्पर्कमा रहेका व्यक्तिहरूलाई सात्वना दिन र कोरोना केही पनि होइन, सावधानी अपनाऔं भन्ने सन्देश दिनु आवश्यक छ । गाउँ समाजले अहिले आफ्नो दायित्वलाई चटक्कै बिर्सिएर हल्लाका पछि लाग्न छोड्नु पर्छ । होइन भने जाने बुझेका भनिएका, अगुवा नागरिकहरूमाथि प्रश्न चिन्ह खडा हुन्छ । नत्र भने यसबाट संक्रमितका परिवारका बालबालिकालाई पर्न गएको असरको सामाजिक क्षति चुक्ता गर्न निकै कठिन हुने छ ।

आज कोरोनाका नाममा ताजा तरकारी खाडलमा गाड्ने, दूध लिन अस्वीकार गर्ने, स्वाव संकलन गरेका तर नतिजा नआएकालाई समेत घृणाको व्यवहार गर्ने, भ्रमपूर्ण कुराहरू प्रवाह गर्ने काम जारी छ । देश पूर्ण बन्दाबन्दी (लकडाउन) मा छ । कोरोनाबाट बच्नका लागि लकडाउनको पूर्ण पालना गरौं, सावधानी अपनाऔं, पोषिलो खाने कुरा खाऔं, आफू बचौं, अरुलाई बचाऔं । कोरोना संक्रमित व्यक्ति, घर परिवार, आफन्तको मनोवल बढाउने उत्साह दिऔं, अनावश्यक हल्ला फिजाउने काम बन्द गरौं ।

(पत्रकार पाण्डे कपिलवस्तुबाट प्रकाशन हुने बुद्ध दर्पण दैनिकका सम्पादक हुनुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: