मलाई भने रेडियोकै झलझली


प्रकाशित मिति :2020-06-11 13:55:43

–मनुका कुँवर–

हतासको जीवन, प्रगति, प्रविधि र प्रतिस्पर्धामा रमाइरहेको थियो विश्वजगत् । बिस्तारै कोरोनाको महामारीले आक्रान्त बन्दैछ भन्नेमा विश्वास थिएन्, जब सन् २०१९ डिसेम्बरमा चीनको बुहानबाट सुरु भएको थियो । यसले विश्वको सातो खायो । तर अहिले सातोभन्दा भोकमरीको पाटो प्राथमिकता बन्दैछ । आजसम्म आइपुग्दा थुप्रै देशको बन्दाबन्दी अर्थात लकडाउन प्रतिबन्ध छ, कतै खुला त कतै स्वरुप परिवर्तन भएको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले ०७६ चैत्र ११ गतेबाट लकडाउन सुरु गर्यो । पूर्ववत् रुपमै नेपालले प्रयास गरे पनि आवश्यक व्यवस्थापन, परिचालन, ज्ञानको अभाव, स्वास्थ्य सामाग्रीको अभाव, खुला सिमाना र विश्वव्यापीकरणजस्ता अनेकौं कारणले सफल हुन सकेन । दुःख लाग्छ, लकडाउनले तीन महिना छुनै लाग्दा मर्नेको संख्या १५ पुगिसकेको छ भने संक्रमित संख्या ४ हजार ३ सय ६२ पुगिसक्यो ।
आधुनिक स्वास्थ्य तथा औषधि विज्ञानमा पोख्त भनिएका र मानिएका देशहरूका प्रयासले पनि आजसम्म उचित परिणाम दिन सकेको छैन । खासगरि शक्तिशाली देशका शासक, वैज्ञानिक, अनुसन्धानकर्ता, विद्वान, धनाढ्य व्यापारीहरूलार्ई पनि कोरोना भाइरस चुनौती भएको छ ।

जनबोलीमा भनिन्छ, ‘ऋण लागोस् तर दिन नलागोस् ।’ म सम्झिन्छु आज दिन र ऋण दुबै लागेको छ,– हामीमध्य कतिकतिलाई…..।

लकडाउन भन्ने भोगेको त्यो पहिलो दिन, दोश्रो दिन, तेश्रो दिन……..। भनेजस्तो सजिलो कस्लार्ई थियो र ? बाफ रे यत्रो दिन के भोगिएन, के देखिएन र सुनिएन । ओहो ! हरेकको जीवनमा घतलाग्ने कथा छ ।

विपद् होस् या विजय होस्, रातदिन, घरपरिवार, चाडपर्व नभनी खटिरहने पंक्तिमा पर्ने मध्येको एक पेशामा छु म । अर्थात आम संचार माध्यमबाट सूचना, शिक्षा, मनोरञ्जन प्रवाह गरिरहने संचारकर्मी । विपद्मा झनै कामको संवेदनालार्ई हामीले ध्यान दिनु थियो । रेडियो नेपाल राष्ट्रको संचार । विपद्मा झनै रेडियो प्रसारणको महत्व बढ्छ । झन् ५ वर्ष अघिको विनाशकारी भूकम्पका बेला संस्थाले खेलेको महत्वपूर्ण भूमिकाको साख जोगाउनु थियो । यद्यपि आज नेपाली जनमानसमा पनि प्रविधिको उच्चतम प्रयोग भएसँगै सूचना ग्रहण गर्ने माध्यमको विकल्पहरूले रेडियोको महत्वलाई कतै घटाइरहेको त छैन भन्ने पनि छ । यसो भन्दैमा कस्ले सुन्छ र भन्नुचाहिँ गलत बुझाइ हो, होइन र ? रेडियो नेपालले पनि हालको विविध प्रविधिलाई प्रयोगमा ल्याइसकेको छ ।

लकडाउनले रेडियो कार्यक्रमको स्वरुप परिवर्तन गर्यो । भाइरस र नेपाल सरकारको प्रयास सम्बन्धका समाचार, सूचना प्रसारण र प्रत्यक्ष कार्यक्रम संचालनको लागि निर्देशन प्राप्त भयो । रेडियो नेपाल निरन्तर २४ सै घण्टा प्रत्यक्ष प्रसारण भएको ४ वर्ष भयो । राती ११ बजेदेखि बिहान ५ बजेसम्म चल्ने रात्रिकालिन सेवामा काम गरेको पनि त्यति नै भयो । साँझ घर छिटो आइन भनेर गाली गर्नेे समाज, आफन्तका बीच हुर्किए पनि परिवारले कहिल्यै आधारातको ड्युटीलाई लिएर जागिर छोड्न दबाब दिएन । प्रसारकको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै चैत्र १४ गतेदेखि पत्र काटेरै आवश्यकलाई अफिसमै राखेर काम गराउने, आलेपालो गर्ने प्रशासकीय निर्णयबमोजिम म पनि त्यो पहिलो समूहमा परेँ । राती काम गर्ने आफूलाई भने २४ सै घण्टा अफिसमा बस्न पर्ने, कार्यक्रम संचालन, उत्पादन गर्नुपर्ने कुराले कताकता खुशी पनि मिल्यो । किनकी अब मैले केही दिन साँझमै हत्तपत्त खाना खाएर कपनदेखि सिंहदरबार पुग्न पर्ने थिएन ।

सिंहदरबारको त्यत्रो हरियाली परिसर, यसो हावा खान निस्कन पाइन्छ कि ! जस्तो लागेको थियो । तर क्यान्टिनदेखि आवासको व्यवस्था भएसम्म र स्टुडियोसम्मको मात्र पहुँच थियो । अर्थात रेडियो नेपालको गेट कट्ने अनुमति थिएन । सुरक्षा र कर्मचारीलाई आवश्यक पर्ने सबै सामाग्रीको व्यवस्था गरिएको थियो । खानपानमा क्यान्टिन संचालकहरूले पनि अझ सजगता अपनाए । एक अर्कादेखि डराउँदा डराउँदै १५ दिनदेखि भने चैन मिल्यो । त्यसपछि स्वतन्त्र भएर काम गर्न पाइयो ।

सरकारी रेडियो भएकाले बोल्ने शब्द, अतिथि, सम्बोधन र सामाग्रीमा अझ चनाखो हुनु थियो । किनकी प्रसारक र प्रसारणमा भएको सानो गल्ति अरु माध्यममाजस्तो सम्पादन गर्न नसकिने माध्यम रेडियो हो । फेरि कामको भन्दा बद्नामको उपहासमा मुन्टो तन्क्याउने मानवीय गुण पनि त छ ।

पत्रकारले पनि समाजकै भाषा बोल्ने हो र बुझाउने न हो । पत्रकारको व्यावसायिक धर्म धेरै त तपाईंलाई पनि थाहा छ, मैले के भनुँ र ।

म रेडियो कार्यक्रम संचालक हुँ । १५ मिनेट, आधा घण्टा,४५ मिनेट, एक घण्टा हेरि हेरि कार्यक्रम संचालन गर्नुपर्ने थियो यो विपद्मा । पहिलोपटक कोभिड १९, लकडाउन, आइसोलेसन, क्वारेन्टीन, स्यानिटाइजर, पीपीइजस्ता नयाँ शब्दबारे सहरदेखि गाउँसम्म अर्थसहित बुझाउनु थियो । चल्तिमा नरहेका यी शब्द उच्चारणमा मैले कतिपटक अभ्यास गरेँ गरेँ । अझ मास्क भन्नुपर्नेमा झुक्किएर कहिले त माक्स पनि भनेछु ।

कहिले तहगत सरकारका कुरा, कहिले विषय विज्ञ वर्गका कुरा, कहिले श्रमका कुरा, कहिले श्रोता महानुभावहरूका कुरा र कल्याणकारी कार्यक्रम प्रसारणमा हाम्रो समय बित्थ्यो । काम गर्ने समय यति भन्ने थिएन । अतिथिलाई सम्पर्क गर्ने माध्यम थियो टेलिफोन, भाइबर, स्काइप । स्वदेशदेखि विदेशसम्म रहेका नेपालीको मात्र होइन, विश्व नागरिकको प्रसंग, गतिविधि सुनाउनु पर्ने समयमा थियौं हामी । पूर्व उत्पादित कार्यक्रम भन्दा प्रत्यक्ष प्रसारणको कार्यक्रममा केन्द्रित हुनुपर्ने । प्रायोजित कार्यक्रमहरू सबै बन्द, नियमित कार्यक्रम बन्द, बिज्ञापन बन्द, अझ अंग्रेजीबाहेक भाषाभाषिका सबै समाचार र कार्यक्रम बन्द । २४ सैं घण्टा खाली भएको समयलाई हाम्रो टिमले सान्दर्भिक विषयवस्तुहरू उठाउँदै भर्नुपर्ने ।

ठ्याक्कै सुरु भैसक्छ बोल्ने समय । तर कहिले विज्ञका फोन नउठ्ने, कहिले सम्पर्क हुन सकेन भन्ने, कहिले मिटिङ, कहिले के कहिले के । प्रत्यक्ष अर्थात लाईभ रेडियो र टेलिभिजनमा बोल्नु र बोल्न लगाउनु चानचुने कुरो कहाँ हो र !

अझ सरकारी संचार माध्यम भनेपछि गाली गर्न माहिर बरु चम्किन्थे तर अपेक्षा गरेकाहरू अन्कनाउथे । उसो त यो समस्या अरुबेला पनि हुन्थ्यो । कहिलेकाहीँ सरकारबाट आस गरेका कतिपय विषयमा आउने श्रोताको आवेगपूर्ण कुरालाई सकारात्मक रुपले शान्त पार्न हम्मेहम्मे पथ्र्यो । विकल्प फोन काटे हुन्थ्यो तर मैले कहिले पनि काटिन । अरुबेला पनि राती संचालन हुने कार्यक्रमहरूमा आउने सकारात्मक नकारात्मक कुनै काटिएन । यसो गर्दा क्षणिक समाधान होला तर श्रोता त गुमाँउछौं नि ! आखिर पैंसा खर्च गरिगरि फोन गर्नु बिनाअपेक्षा, माया, शुभेच्छा त सम्भव छैन । रिसलाई विष नबनाई ईश बनेर सुन्दिनु पनि त कला हो ।

सबैभन्दा सजिलो साना नानी बाबुहरूसँग सिर्जनात्मक फोनइन कुराकानी गर्न थियो । ताली दिन होस् या गाली दिन, कैयौं श्रोताले स्टुडियोको फोनको घन्टी राती १/२ बजे पनि बजाउथें । साँच्चै श्रोताको माया कति छ त्यो कि त अन इयरमा रहने प्राविधिकलाई थाहा छ कि त समाचार र कार्यक्रममा काम गर्नेलाई । लकडाउन थपिएसँगै हाम्रो प्रसारण सामाग्रीहरू केही बद्लिए । हरबखत कोरोना कोरोना भनेर डर देखाउनु थिएन अब । दुःख सुखको साथी संगीत र कलाकर्मीको अनुभवलाई पनि समेट्दै गर्यौ, बेलाबेला । जनप्रतिनिधि र श्रोताका प्रत्यक्ष कुराकानी र कल्याणकारी कार्यक्रम भने थयावत रहे । कतिपय भ्रम, अफवाह चिर्नु थियो त कतिपय विषय बुझाउनु थियो ।

विश्वको खबर हेथ्र्यौ, मन चसक्क हुन्थ्यो । तर भावनात्मक रुपमा कमजोर बन्नु थिएन, बनाउनु थिएन । ढाडस, हिम्मत र सान्त्वनाका कुरा सुनाउनु थियो, कहिले औपचारिक हुँदै त कहिले अनौपचारिक हुँदै ।

नेपालमा प्रजातन्त्रको उदयसँगै २००७ चैत्र २० गतेदेखि निरन्तर इतिहासका सुखद् र दुःखद् कालखण्डको साक्षी बन्दै समायानुकूल भूमिका र दायित्व निर्वाह गर्दै आएको रेडियो नेपाल ७ दशक कटाउँदै थियो । यसबिचमा सातै प्रदेशस्तरिय विविध कार्यक्रम हुने गर्दथ्यो । तर कोरोनाको कहर बढ्दै गर्दा वार्षिकोत्सवको रहर गर्ने कुरा पनि त भएन । त्यस दिनको प्रसारण रेडियोसँग प्रत्यक्ष अप्रत्यक्ष जोडिएका अग्रजहरूसँगको रेडियोकै कुरामा बित्यो । सजग रहनुस्, सुरक्षित रहनुस्, संयमित रहनुस्, भ्रामक समाचार खबर पढेर भ्रममा रहनुभन्दा आधिकारिक, विश्वसनीय संचार माध्यममार्फत खबर लिने गर्नुस्, आफू बुझ्नुस्, अरुलाई बुझाउनुस्, भ्रमको पछि नलाग्नुस्, यो गर्नुस् उसो गर्नुस्, यस्तैयस्तै भनियो । आवश्यक टेलिफोन नम्बर, विज्ञको नाम, उपभोक्तासँग सरोकार राख्ने र सहयोग गर्नेको नाम नम्बर पनि पटकपटक भन्नु अर्को महत्पूर्ण काम थियो ।

प्रसारक महिला त्यतिबेला त्यो टिममा जम्मा दुईजना थिए, समाचार महाशाखाबाट दिदी सुमिता लामा र कार्यक्रम महाशाखाबाट म । एउटा समाचारमा खटिरहने त अर्को अन एअरमा कुदिरहने । थकाइ भन्ने कुरै भएन । किनकी म मेरो रुचिको काममा खटिरहेको थिएँ । रातको १२ बज्ने बेलातिर सुस्केरा हाल्दै आवासतिर गइन्थ्यो । जम्मा दुईजना भएकाले बस्ने व्यवस्था थियो, हाकिमको प्रशासनिक कक्ष । रमाइलो के लाग्थ्यो भने, यो त्यै कक्ष हो जहाँ पस्न म अनुमति लिँदै कति समय कुर्थें, ढोका ढक्ढक् गर्थें, डराईडराई पस्थें । तर आज गीत गाउँदै छिर्दैछु, यता ढल्दैछु, उता बस्दैछु, अझ केही मिठो थकानको निद निदाउँदैछु । हेर समय सँधै एकनास त कहाँ हुँदोरहेछ र !

त्यो बेला रेडियो नेपाल भन्नेबित्तिकै नाम सम्झिने अग्रजहरूसँग काम गर्दै थिएँ म । डा. नवराज लम्साल, हरिशरण लामिछाने, टिका भण्डारी, अमरध्वज लामा लगायतका अग्रजहरूबाट विपद्मा कसरी काम गर्ने र प्रसारकको भूमिका के ? आदि, इत्यादी । धेरै कुरा सिक्ने, बुझ्ने मौका मिल्यो । जतिबेलै जुन विषयमा पनि बोल्न सक्ने उहाँहरूबाट अझैं धेरै सिक्नु छ मलाई ।

यसो गर्दै बन्दाबन्दीको २८ औं दिन शान्त हावा खाँदै घर आइयो । कामको लागि चलिरहने हात र बोलिरहने मुख त अब पो लकडाउनमा पर्यो । अब ‘लाईफ डाउन’ हुने भो कि ! आफ्नै लकचाहिँ डाउन हुन्छ ? हेर मैले आजसम्म गरेको काम लेखेर देखिने भए आज घरमा बस्दा हेरेर थाहा पाउँथे नि ! रेडियो अन एअरको काम, इयरमा बोलियो, इयरमा हरायो । के के सोचाई आउने आउने । साँच्चै कसरी यत्रो दिन कटाएँ होला ? बल्ल आम नागरिक भएर महसुस गर्दै थिएँ । अब मलाई जसरी नि जन्मस्थान जानु थियो दोलखा । “जाने के कसरी त ? नियम पालनाका कुरा सिकाएर, बुझाएर विपद्मा लड्दै आएकी म अब भुल गर्दैछु कि ! चिन्नेले देखे भने के भन्लान् ? एउटा तह त छ नि !”

तर जे होस् म दोलखा सुरक्षित हुँदै र गराउँदै पुगे । १२ वर्षदेखिको रेडियो करिअरमा पहिलो चोटि कहिलेसम्म बस्ने भन्ने कुराको टुंगो नभै पुगेको थिएँ । दशैंमा तीन दिनको लागि परिवारको साथमा रहनु अनि तिहारचाहिँ आक्कलझुक्कल । घरका मान्छे खुशी, आफूलाई भने रेडियोकै झलझली ।

गाउँघरमा पत्रकार घर आए भन्दा अझ धेरै कुराको चासो हुने । टीभीमा देख्ने भए, पत्रिका अनलाईनमा नाम र काम देख्ने भए मुल्यांकन हुन्थ्यो होला । तर रेडियोको प्रसारण पहुँच नपुगेको स्थानमा घर छ भने त चिनजानकाले पनि हेप्छन् । किनकी काम के गरेँ त भनेर तत्काल देखाउन, सुनाउन सकिन्न । अझ अहिले फेसबुक र युट्युबले उचाल्ने विषयले चुर्लुम्म डुबेको समाजलाई यथार्थ बुझाउन गाह्रो । घरमा हरेक उमेर समूह अनुसारको सोधाइको उत्तर दिनुपर्ने । एकैछिन अपडेट नभए कस्ले आएर के सोध्ने हो भन्ने पो भयो झन् । टाउको हल्लाएर एएएएएए, वा, अँ मात्र गरेर पनि त भएन । यो फरक विपद्मा हातहातमा मोबाइल हुने घरकै सदस्यलाई अफवाह बुझाउन अझ चुनौती हुँदोरैछ । तर जे होस् अरु वर्षका भन्दा फरक र मिठो अनुभव बटुल्ने मौका मिल्यो । वर्षौंपछि माटोलाई छोइयो, प्रकृतिलाई महसुस गरियो ।

केही दिनको बसाइपछि फेरि कार्यस्थल छु । लकडाउन खुकुलो हुँदैछ । अब कोरोनाको सामना गर्दै मान्छे आफ्नो कर्मतिर बिस्तारै फर्किरहेका छन् । हुन त संक्रमित संख्या बढिरहेको छ । सजग, सतर्क भएर रोकथाम र नियन्त्रणमा जिम्मेवार हुनु छ । अब कोरोना पहिलाको जस्तो हाउगुजी रहेन । डर सबैलाई घट्यो तर संख्या बढ्यो । यसबाट सिक्दै र सिकाउँदै हाम्रा प्रसारण सामाग्रीहरू बन्न थालेका छन् । के कति गर्न सकियो यो जिम्मा श्रोताकै हातमा ।

अबको समय झन् जटिल छ नेपालको हकमा । धेरै विषयहरू समेट्नु छ, प्रसार गर्नु छ, जस्ले आहत हैन राहत देओस् । स्वदेशी रोजगारी र अर्थतन्त्रलाई बढाओस् । वर्षौदेखि हाहाकार बनेको सम्बन्धलाई जयजयकार गराओस् । मौलिकता र स्वाभिमानलाई उजागर गरोस् । अझ ठूलो कुरा स्वास्थ्य र सुरक्षामा सजग, पूर्व सावधान र जानकार बनाओस् । आखिर पेशा, व्यावसायिकता, कर्मप्रतिको धर्म जे भए पनि जीवन छ र न चलायमान छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: