सात महिनाकी गर्भवती भन्छिन्, ‘मर्न र मारिन चाहान्न’


प्रकाशित मिति :2020-06-14 16:09:10

–महिला खबर–

ललितपुर । बन्दाबन्दीको समय । घरबाहिर कतै जान सम्भव छैन । तराईंको प्रचण्ड गर्मी । त्यसैमा दुई जिउकी उनी बिरामले थला परेकी छन् । औषधि ल्याइदिने र तातो चिसो खान्छौं कि ? भनेर सोधिदिने कोही छैन । अनि घरिघरि चिनेजानेका र नाम चलेका अधिकारकर्मी र पत्रकारको नाम, नम्बर खोज्दै फोन गर्छिन् र भन्छिन्, ‘मलाई न्याय दिलाउन सहयोग गरिदिनुस् । मेरो गर्भको शिशुलाई जन्माउन चाहान्छु । मर्न र मारिन चाहान्न ।’

उनी सुत्केरी हुने दिन आउन डेढ महिना पनि छैन । डाक्टरले साउनको १५ गते सुत्केरी हुने दिन तोकेका छन् । जतिजति सुत्केरी हुने दिन नजिकिँदै छ, आफ्नो मन र शरीर भने गल्दै र थाक्दै गइरहेको आभास हुने थालेको उनले महिला खबरलाई बताइन् ।

‘दुई दिनदेखि लगातार बान्ता भइरहेको थियो । खाना पनि बनाउन सकिन । आज बल्लतल्ल उठेर मेडिकल पुगें । गर्मीले होला भनेर औषधि दिएका छन् । अहिले औषधि खाएर आराम गरिरहेकी छु’ उनले भनिन्, ‘त्यसैमाथि अस्पताल पुग्ने अवस्था छैन । कहाँ देख्छन् र मारिदिन्छन् भन्ने चिन्ताले मुख छोपेर गएँ ।’

जनकपुरकी उनी भर्खर २० वर्षकी पुगिन् । काठमाडौंमा ११ कक्षा पढ्दै गर्दा धनुषाको महेन्द्रनगर घर भएका २० वर्षका शिवराज श्रेष्ठसंग प्रेममा परेपछि काठमाडौं छोडेर जनकपुर पढ्न थालिन् । र एक अर्कासंगको भेट बाक्लिन थाल्यो ।

शिवराज श्रेष्ठसंग उनी ।

प्रेम गाढा हुँदै गएपछि उनीहरूले केही समय पछि बिहे गर्ने योजना बनाए । बिहे गर्ने नै पक्का भएपछि शिवराजले अहिले शारीरिक सम्बन्ध राख्न किन नहुने ? भन्दै प्रस्ताव गर्न थाले । शिवराजको प्रस्ताव केही समयसम्म भोलि पर्सी गर्दै टारेकी उनले अन्ततः धेरै दिन टार्न सकिनन् । भविष्यको हुनेवाला श्रीमान्, अहिलेको माया गर्ने प्रेमी । उनलाई शिवराजभन्दा राम्रो र मायालु अरु पनि कोही केटा होलान् र ? जस्तो लाग्न थाल्यो । ‘अनि जनकपुरमा पटकपटक शारीरिक सम्बन्ध भयो । डेढ वर्षको सम्बन्धमा म गर्भवती भएँ । गर्भ रहेको थाहा पाएपछि भने उ बेपत्ता छ ।’ उनले महिला खबरसंगको कुराकानीमा बेलिविस्तार लगाइन् ।

अति माया र ख्याल गर्ने मान्छे यसरी धोका दिन्छ भन्ने उनले सोचेकी पनि थिइनन् । किनकी शिवराजसंग भेट भएको केही समयपछि उनले हुनेवाला श्रीमती भन्दै आफ्नो घर लगेर परिवारसंग परिचय पनि गराइदिए । त्यसले उनी झनै ढुक्क बनिन् । केटाको नियतमा खोट होला भन्ने सोच्दै सोचिनन् ।

तर उनी गर्भवती भएको थाहा पाएपछि शिवराजले गर्भपतन गराउने प्रस्ताव राखे । ‘मेरो पहिलो सन्तान । म कसरी उसलाई नजन्मिदै मार्न सक्छु ? मैले गर्भपतन गर्न सक्दै सकिन । जे जे पर्छ सहन्छु भन्दै गर्भ नफाल्ने निधो गरें’ उनले थपिन्, ‘माया गर्छु भन्ने मान्छेबाट यतिसम्म धोका हुन्छ भन्ने सोचेकै थिइन । उ र उसको परिवारले मसंग खेलवाड गरेको रहेछ ।’

शिवराज आफूलाई अलपत्र छोडेर गएपछि त्यो कुरा उसको परिवारलाई भन्दा उनकी आमा राधा श्रेष्ठले फोन गरेर पटकपटक गर्भ तुहाउन दवाव दिएको उनले बताइन् ।

यस्तै आफू शिवराजसंगको प्रेम सम्बन्धमा रहँदा गर्भवती बनेको र अहिले शिवराज सम्पर्कमा नरहेको कुरा आफ्ना आमाबुबालाई भन्दा आमाबुबाले पनि गर्भ फाल्न र अर्को केटासंग बिहे गर्न दवाव दिएपछि घर जाने बाटो पनि बन्द भएको उनले बताइन् ।

आमाबुबाको लाडप्यारमा हुर्किएकी उनी सुत्केरी हुने बेलामा अहिले बेसहारा छिन् । गर्भवती भएको थाहा पाएदेखि नै शिवराजको परिवारका सदस्यबाट गर्भ फाल्ने दवाव मात्रै होइन, नमाने जे पनि हुने धम्की आइरहन्छ । अहिले पनि हरेक दिन नयाँ नयाँ नम्बरबाट केटाको आवाजमा फोन आउँछन् । अश्लील शब्द बोल्छन् । धम्की दिन्छन् र फोन काट्छन् । त्यो कुरा प्रहरीलाई भन्दा कुनै वास्ता हुन्न ।

उनले रुँदै भनिन्, ‘मेरो लागि जन्म दिने आमाबुबा र माया गर्छु भन्ने मान्छे नै टाढा भइदिए । मेरो भाग्य यस्तै रहेछ । बच्चाको भाग्यले अबको बाटो निर्धारण गर्छ होला ।’

उनी फागुनदेखि एक जना साथीको घरमा मासिक तीन हजार भाडा तिरेर कोठामा बसेकी छन् । पढ्दै औषधि पसलमा काम गरेर जोगाएको पैंसाले दाल भात त पुगेको छ । फलफूल र पोषिलो खानेकुरा किन्दा भात खान नपाइएला भन्ने पीर छ । तर अब त्यही पैंसा पनि सकिन थाल्यो । कोठा भाडा नतिरेको पनि तीन महिना भइसक्यो । ‘झण्डै घरबेटी मनकारी रहेछन् । अहिले भाडा नदिए पनि हुन्छ भनेका छन् । दिने त अवस्था पनि छैन’ उनले सुनाइन् ।

आफूलाई बिहेको आश्वासन दिई गर्भवती बनाएर छोड्ने शिवराजविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिए पनि राजनीतिक दवाव र प्रभावमा परेर प्रहरीले कुनै वास्ता गरेको छैन ।

केही गरि सिकिस्त बिरामी भए, थला परे वा सुत्केरी व्यथा नै लाग्यो भने अस्पतालसम्म कसरी जाने र कसलाई भन्ने पनि उनलाई थाहा छैन । उनले रुँदै भनिन्, ‘मेरो लागि जन्म दिने आमाबुबा र माया गर्छु भन्ने मान्छे नै टाढा भइदिए । मेरो भाग्य यस्तै रहेछ । बच्चाको भाग्यले अबको बाटो निर्धारण गर्छ होला ।’

यस्तै आफ्नो न्यायका लागि आवाज उठाइदिन जिल्लामा रहेका अधिकांश गैरसरकारी संस्था र अधिकारकर्मीकोमा धाएकी उनले गर्भ फाल्नुबाहेकको कुनै सल्लाह र सहयोग नपाएपछि भगवान भरोसामा गर्भमा हुर्कँदै गरेको शिशुको सुखद् आगमन कुर्नको विकल्प नदेखेको बताइन् । ‘मेरो लागि कोही भएनन् । नाम चलेका व्यक्ति र एनजीओले पनि मलाई गर्भ फाल्न दवाव दिए’ उनले भनिन्, ‘धोका दिनेलाई कार्वाही हुनुपर्छ । म र मेरो बच्चाले न्याय पाउनु पर्छ भनेर कसैले सोचेनन् । के गर्भको शिशुलाई जीवन दिने आट गरेर मैले अपराध गरे त ? यदि यो अपराध हो भने म यसको भागिदार हुन राजी छु । बच्चा जन्माएका कारण आमाले सजाय पाउनु पर्छ भने म अपराधी आमा हुन तयार छु । बस् म मर्न र मारिनचाहिँ चाहान्न ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: