अरुकै लागि बाँच्नुपर्दो रहेछ


प्रकाशित मिति :2020-06-16 15:09:51

–यशोदा अधिकारी–

लकडाउन । जीवनमा पहिलो अनुभूति । सायद मलाई जस्तै सबैलाई नयाँ अनुभूति थियो । पहिलो संक्रमति निको भइसकेपछि दोस्रो संक्रमित भेटिएकै दिन बैठक बसेर लकडाउनको घोषणा गर्यो सरकारले । पहिलो संक्रमितको कोरोना चेकजाँच गर्न हङकङ पठाइएको अस्तिजस्तै लाग्छ । लकडाउन जारी भएको ९० दिन पुग्न लागिसकेछ ।

लकडाउनको पहिलो बिहान । सबेरै उठेँ । गेटबाहिर निस्केँ । अलि परसम्म गएँ तर कुनै पसल खोलिएको थिएन । कोही मानिस हिँडेको पनि देखिएन । आफू भने दस बजे अफिस जानुछ । मनमा अनेक कुरा खेलाउँदै बिहान बितिगो । दस बज्न १५ मिनेट बाँकी हुँदा अफिस निस्किएँ । बाटो सुनसान । चोकचोकमा प्रहरी तैनाथ । भय बोेकेरै अफिस पुगेँ । साथीहरू आइसकेका थिए । घरमा सात महिनाको बच्चा छोडेको छु । सानो नानी छोडेर निस्कनु मेरा लागि असाध्यै जोखिम थियो । साथीहरू पनि घरिघरि ‘किन अफिस आएको बच्चा छोडेर’ भनिरहन्थे । सहानुभूति राखेर हो वा ‘यो अफिस नआए हामी मात्रै आउन पाउँछौं’ भनेर हो बारम्बार सानो बच्चा छोडेर अफिस नआउनु भनिरहन्थेँ । अफिस आउनु मेरो रहर थिएन तर साथीहरूले होइन काम लगाउने शाखाका प्रमुखले नआउनु भनेपछि मात्रै म अफिस नआउन सक्थेँ । हाकिम भने मसँग सहयोग मागेँ झैं तपाईको नजिकै छ बसाइ, एकछिन आएर केही रिपोर्टिङ गरेर जानु भन्नुहुन्थ्यो । मलाई उहाँको कुरा ठिकै लाग्यो ।

महामारीको समयमा हाकिमले नभने पनि आफ्नो काम गर्नु कर्तव्य नै ठानेँ तर सहकर्मीहरूले भने अफिस पुग्नासाथ किन आउनुभो भन्न छाडेनन् । उनीहरूले प्रत्येक कुराकानीमा त्यसो भनिरहँदा म एक प्रकारको तनावमा परेँ भन्ने अनुभूति हुन थाल्यो । चौथो दिनको अफिस पुगेँ त्रासका साथ । अफिस क्वारेन्टाइनमा राखेर रेडियो प्रसारणलाई श्रोतासम्म पुर्याउने निर्णय भएछ । आफू सानो बच्चाको आमा । पक्कै पनि मलाई राख्दैनन् होला, राखे भने पनि आग्रह गरेर मिलाउनुपर्ला भन्ने सोचेँ । त्यो भन्दा बढी त सहकर्मी महिला साथीहरू बस्नुहुन्छ, अब त उहाँहरूको घरिघरि किन आको भन्ने पनि सुन्न नपर्ने भयो भनेर बढी मन हर्षित भयो । आखिर रिर्पोटिङबाट कोही पनि महिला अफिस क्वारेन्टाइनमा नराख्ने भयोे अफिसले । खुसीले गद्गद् हुँदै घर फर्केँ । बाटोभरी २४ घण्टै अफिस बसेर रिपोर्टिङ गर्न तयार महिला साथीहरूलाई किन राखिएन भन्ने खुल्दुली लागिरहे पनि मेरा लागि तत्कालका लागि अफिस जान नपर्ने, घरबाट सकेसम्म रिपोर्टिङ् गर्ने कुरा नै त्यतिखेरको सबैभन्दा खुसीको कुरा भयो ।

झण्डै एक महिना घरमै बसेर काम गरियो । समाचार लेख्ने रिपोर्ट बनाउने र सम्पादन गर्ने कामलाइै घरबाटै निरन्तरता दिइयो । लगभग एक महिना घरबाट बाहिरै निस्किएन । यो अवधिमा केही महिला साथीहरूसँग सम्पर्क भने भइरहन्थ्यो । धेरै साथीहरू अब कसरी बाँच्ने भन्ने त्रासमा हुनुहुन्थ्यो । केही साथीहरू फोन गरेर सरकारी तलव आइहाल्छ, हामीलाई पनि दिनुपर्छ भनेर ठट्टा गर्थे । केहीले त सरकारको विरोध गर्ने बहानामा सरकारी तलव खाने भनेर होला मलाई पनि गाली गर्न भ्याएँ । जे भने पनि सुनिरहेपछि साथीले त राहत बाँड्न जाँदा रक्सी समेत मागे । लकडाउनले मान्छेलाई मानसिक तनाव पनि दिन थालेको अनुभूति भयो । साथीहरूको सामान्यकरणका लागि रक्सी दिएँ । सकेको जति केही पत्रकार साथीलाई राहत दिएँ । लकडाउनकै बीचमा झण्डै ३५ जना पत्रकार महिला साथीलाई खाद्यान्न, प्रेस ज्याकेट, सेनिटाइजर, सर्जिकल मास्क र केही आर्थिक सहयोग गरेँ ।

म असाध्यै सम्पन्न भएर राहत बाँडेको थिइन । सरकारले भने अनुरुप मैले एक महिनाको घरभाडा छुट पाएको रकममा अर्को एक महिनाको तलव थपेर साथीहरूलाई राहत बाँडेकी हुँ । राहत लिएर साथीहरूको घरघरै पुग्न निकै कठिन थियो । कतिपय ठाउँमा सहयोगी मनहरूको साथका कारण सम्भव भयो । भने कतिपय ठाउँमा दस किलो चामल, दुई किलो आँटा, दुई लिटर तेल, दुई किलो दाल बोकेर एक घण्टासम्म हिँडेर पनि गएँ । भक्तपुरबाट एकजना पत्रकार बहिनीले समस्या परेको भनेर फोन गर्नुभयो । आफूसँग साधन नहुँदा त्यहाँसम्म हिँडेर जाने आँट आएन । उनको समस्याले निकै दिन पोलिरह्यो । झण्डै २० दिन पछि सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितसँग यो कुरा शेयर गरेँ । नितुजीले ती बहिनीलाई सहयोग गर्नुभयो । साँच्चिकै समस्या थियो ती बहिनीलाई । धेरै दिनपछि उनले पेटभरी खान पाएको सुनाउँदा औधी खुसी लाग्यो ।

यसरी नै बित्यो लकडाउनको एक महिना । त्यसपछि पुनः अफिस जानुपर्ने भयो । अफिस जाँदा उच्च सर्तकता भने अपनाइएकै जस्तो लाग्थ्यो । काम नपर्दा बाहिर पनि निस्किएन । नभइ नहुने तरकारी र केही खानेकुरा हप्ता दस दिन जतिलाई पुग्ने किनेर राखिन्थ्यो । दिनभरी आफ्नो काम गरिन्थ्यो । काममा जाँदा, राहत लिएर जाँदा मास्क लगाएर भौतिक दुरी कायम त गरिन्थ्यो । तर डर भने अति नै थियो । आफूलाई कोरोना संक्रमण भयो भने अस्पताल बस्नुपर्ने, त्यही पनि निको हुने वा नहुने केही ठेगान थिएन । मरियो भने साना छोराछोरी छन् । काठमाडौंमा आफ्ना भन्ने कोही छैनन्, कसले हेरिदिन्छ ? भन्ने चिन्ता लागिरहन्थ्यो । महिलाहरू आफ्ना लागि नभइ अरुका लागि भए पनि बाँच्नै पर्ने रहेछ । मैले पनि बाँच्नैपर्छ । नबाँचे साना बच्चाहरू अलपत्र पर्छन् । एउटी आमाले सन्तानका लागि यस्तै त सोच्छन् होला । म पनि यस्तै सोचिरहन्थें ।

अफिस जान थालेपछि साथीहरू उही पुरानै प्रश्न गर्छन् र पटकपटक मलाई ‘किन आएको अफिस’ भनिरहन्छन् । म भने हाकिमले बोलाएपछि आउनै पर्यो भनेर कहिले त रिसाइदिन्थेँ पनि ।

कोरोना भाइरसले पत्रकारलाई पनि छोडेन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीजस्तै सञ्चारकर्मी पनि अग्रमोर्चामै काम गर्नुपर्ने । विरगंजमा पत्रकारलाई कोरोना संक्रमण भएको समाचार आएपछि अफिस गएका पत्रकारका छोराछोरीले आमाबुबाले नै कोरोना चेक नगरिकन घरभित्र पस्न दिएनन् भनेर फोन आयो । पत्रकार महिलाहरूको हकहितमा लामो समय क्रियाशील संस्था सञ्चारिका समूहको सचिव भएको हिसाबले पनि मलाई फोन गरेको हुनुपर्छ साथीहरूले । समस्या पर्ने साथीहरू समस्या साँट्थे । आखिर गर्न सक्ने पनि केही थिएन । मध्यस्थकर्ताको रुपमा केही साथीहरूलाई सहयोग गरेँ, कतिलाई केही गर्न सकिएन । महामारीको समयमा दुःखमा परेका, समस्या भोगेका साथीहरूलाई सकेजती सहयोग गर्न नसकेकोमा दुःख लागेको छ ।

फोटो खिच्ने, दृश्य खिच्ने साथीहरूले कोरोना चेक गर्ने व्यवस्था मिलाउनुपर्यो भनेर आग्रह गरिरहेका थिए । स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाल पत्रकार महासंघले त्यो व्यवस्था मिलायो । अग्रमोर्चामा काम गर्ने पत्रकार महिलाहरू पनि पीसीआर चेक गर्न सहभागी भए । आफूले पनि चेक गर्न पाएँ । सबैको रिपोर्ट नेगेटिभ आयो । कोरोना विशेष अस्पताल, प्रधानमन्त्री निवास, विभिन्न मन्त्रालय, संसदीय समितिहरूसम्म रिपोर्टिङमा हिँडेको थिएँ । जब रिपोर्ट नेगेटिभ आयो, एक प्रकारको शान्ति मिल्यो । मास्क लगाएर दुरी कायम गरेपछि संक्रमण हुने सम्भावना न्यून हुन्छ भन्ने लाग्न थाल्यो । दुःखको कुरा लकडाउन हेर्न घुम्न निस्केका साथीहरूले पहुँचको आधारमा पीसीआर चेक गराउनुभयो तर केही फिल्डमा काम गर्ने साथीहरू अझै छुट्नुभएको छ । उनीहरूको चेकका लागि पनि पहल भने गरिनै रहेको छु तर सरकारले क्वारेन्टाइनमा बस्नेलाई प्राथमिकता दिएको छ ।

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरिसकेको छ । दुईजना संक्रमित भेटिँदा कडाइका साथ सुरु भएको लकडाउन ६ हजार संक्रमित पुग्दा खुकुलो भयो । १९ जनाको त दुःखद् निधन पनि भइसकेको छ । यस अवधीमा केही पत्रकार साथीहरू समेत संक्रमित भएर निको हुनुभयो भने केही पत्रकार महिला साथी संक्रमण भएर उपचार गराइरहनुभएको छ । उनीहरूले पनि कोरोना जित्ने छन् भन्नेमा विश्वास जागेको छ । पहिला भन्दा मान्छेहरू सचेत भएका छन् र कोरोना भाइरसको संक्रमणबाट मात्रै मृत्यु भइहाल्दैन भन्ने आत्मविश्वासले पनि काम गर्न थालेको छ ।

कोरोना भाइरसको संक्रमणले नैतिकता र अनुशासनको पाठ सिकाएको छ । भौतिक दुरी कायम राख्दै जनजीवन सामान्य बन्दै गए पनि धेरै पत्रकार महिला साथीहरू कामबाट निकालिएका छन् । काम गरिरहेकाले पनि तलव पाइरहेका छैनन् । पेशागत सुरक्षाका लागि विगतजस्तै अब पनि हामीले नलडी सुखै छैन । लडाईँ निरन्तर लड्नै पर्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: