समाजले छेउ पारेका महिलाको सफलता


प्रकाशित मिति :2020-06-27 18:20:21

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका ७, कि सत्य चौहानको १२ वर्ष अघि छिमेकी गाउँका देव चौहानसंग माया बस्यो । त्योबेला उनको उमेर १४ वर्षमात्रै थियो । प्रेम झाँगिदै गएपछि उनले देवसंग भागेर विवाह गरिन् । जिन्दगी ठिकै चल्दै थियो । दुईटा फूलजस्ता छोरी जन्मिए । परिवारमा खुशी नै खुशी थियो ।

जब देव एसएलसी पास गरेर पढ्नका लागी धनगढी गए । उनको जीवन कथाले नसोचेको मोड लियो । पढ्न गएका देव आठ महिनापछि दशैं विदामा घर फर्किए । लामो समयपछि फर्किएका श्रीमान्संगै, पहिलेजस्तै मायालु व्यवहार भने फर्किएन । उनी अर्कै भैसकेका थिए । देवको व्यवहारमा आएको यो परिर्वतन देखेर सत्य चकित भइन् ।

‘मलाई आफूभन्दा बढी माया गर्ने उनले घर फर्केपछि अर्कै व्यवहार देखाउन थाले । कुनै न कुनै बहाना बनाएर कुट्न थाले । ‘घर छोडेर जा भन्न थाले’ उनले भनिन् । एक महिना जती घर बसेर फेरि धनगढी गएका देव अर्काेपटक आउदाँ झनै क्रूर भैसकेका थिए । सत्य भन्छिन्, ‘घर पुग्नेवित्तिकै अहिलेसम्म यहीँ छस् । घर छोडेर गएकी छैनस् ? भनेर कुटपिट गर्न थाले । दिनरातको पिटाईले थिलोथिलो भएँ । उनी त अर्कै केटीसंग लागेका रहेछन् । मलाई घरबाट निकाल्न पो यस्तो गरेका रहेछन् ।’

छोराले अर्की भित्र्याउन लागेको कुरा थाहा पाएका सासूससुरा पनि छोराकै पक्षमा उभिए । यातनाको पारो दिनदिनै बढ्न थाल्यो । उनले थपिन्, ‘शुरूका दिनमा त कुटपिटमात्र गर्थे । पछि खाना पनि नदिएर कुटन थाले । घरबाट निस्किनस् भने मारेर फाल्दिन्छौ भने ।’ केही समय पछि श्रीमान्् घर छोडेर फेरि धनगढी गए । तैले घर नछोड्दासम्म फर्किन्न, भनेर गएका उनी लामो समय घर फर्केनन् । छोरा नफर्केपछि सासूससुराले उनीमाथि झनै याताना थोपर्न थाले । ‘तेरोकारण मेरो छोरा प्रदेशी भयो । तँ घर छोडेर भागिहाल’ भन्न थाले ।

वसन्तप्रताप सिंह

उनी आफ्नो घर छोडेर कान्छा ससुराको घरमा बस्न थालिन् । त्यहाँ पनि उनलाई शान्तपूर्वक बस्न दिइएन् । त्यहीँ गएर पनि कुटन थाले । श्रीमान्को घरको यातनाले थिलोथियो भएकी उनी केही सीप नलागेर माइतीको शरणमा पुगिन् । ‘माइतीले पनि उतिबेला आफूखुशी विहे गरिस्, अहिले कुन नाक लिएर हाम्रो दैलोमा आउछेस् भनेर बचनले घोचे’ उनले दुःखका श्रृंखला सुनाइन् ।

सानैमा विहे गरेका कारण पाएको पीडा र पछुतोको भारी बोकेर उनी सदरमुकाम चैनपुर पसिन् । के खाने, कहाँ बस्ने, कुनै टुङ्गो थिएन । अनिश्चित भविश्य लिएर हिँडेकी उनलाई जिल्लामा संचालित सुरक्षित आवास गृह (सेफ हाउस)ले सहारा दियो । एकजना जानकारको सहयोगमा सेफ हाउसमा पुगेकी सत्यलाई सेफ हाउसले खाना र बस्न मात्रै दिएन, आत्मनिर्भरताको बाटोमा पनि लगायो । श्रीमान्संग कानूनी लडाई लडिरहेकै बेला उनलाई सिलाई कटाई तालिम दिनका लागि महेन्द्रनगर पठाइयो । उनले एक वर्ष त्यहीँ बसेर सिलाइको काम सिकिन् ।

त्यही तालिम अहिले उनको जिउने आधार भएको छ । हाल उनी सेफ हाउसमा आउने पीडित महिलालाई आफूले सिकेको सीप सिकाउछिन्् । आफ्नो कहालीलाग्दो विगत सुनाएर अरु पीडितलाई पनि आत्मनिर्भर हुन प्रेरित गर्छिन् । आफूले पनि छुट्टै सिलाई सेन्टर खोलेकी छिन्् । कानूनी लडाई पनि जारी छ । यसमा उनलाई सेफ हाउसका कर्मचारीहरूले सहयोग गरिरहेका छन् । ‘अब म बेसहारा छैन । कानूनी लडाई हारे पनि आफ्नो सीप चलाएर खान सक्छु’ उनले भनिन्् ।
???? ????
बझाङको तल्कोट गाउँपालिकाकी शान्ती धामी कक्षा १० मा पढ्दै थिइन् । वर्ष दिन अघि उनको बाजुरा गौमुल गाउँपालिकाका हरी धामीसंग प्रेम भयो । विवाह पनि गरिन् । तर उनको प्रेम धेरै टिक्न सकेन । विवाह भएको केही महिनामै श्रीमान्ले शंका गर्ने र अनावश्यक आरोप लगाउन थाले । शुरूमा आरोप मात्र लगाउने उनका श्रीमान् बिस्तारै कुटपिटमा उत्रिए । हुँदाहुँदा खाना दिन नै बन्द गरे । प्रेममा विश्वास गरेर जीवन सुम्पिएकी उनी अन्ततः ज्यान बचाउनकै लागी घर छोडेर हिँडिन्् । तर जाने कहाँ ? ‘घर जाउँ भने माइतीका अगाडि मुख देखाउन गाह्रो । अन्त जाने ठाउँ छैन’ उनले भनिन्, ‘मरौं कि बाँचौ भन्ने दोधारमा भएको बेला सेफ हाउसमा आएकी हुँ ।’

श्रीमान्को यातनाबाट पीडित भएर सेफ हाउसमा पुगेकी उनलाई श्रीमान् पक्षले मानसिक यातना दिइरहेकै थिए । ‘तँलाई मैले विहे गरेको हो । अन्त कसैसंग गइस् भने जारी लिन्छौ’ भनेर धम्काइरहेका थिए । उनी भने प्रेमको नाटक गरेर राक्षसी व्यवहार गर्ने हरीसंग छुट्टिन चाहान्थिन् । अनि आफ्नो छुटेको पढाई शुरू गर्न चाहान्थिन् । सेफ हाउसका कर्मचारीहरूले यसमा सहयोग गरे । बाजुराको सेफ हाउस र प्रहरीसंग समन्वय गरेर उनको बालविवाह बदर गराईयो । उनका माइतीलाई सम्झाउन सेफ हाउसका परार्मशदाताहरू उनकै घर पुगे । अहिले उनी आफ्नै घरमा पढाईलाई निरन्तरता दिइरहेकी छिन् । उनी भन्छिन्, ‘सेफ हाउसमा नपुगेकी भए सायद म मरिसक्थें होला ।’

???? ????कक्षा ६ मा पढ्दापढ्दै प्रेम विवाह गरेकी तल्कोटकै शिल्पा सार्कीको उमेर १४ वर्षमात्रै थियो । संगै जिउने र संगै मर्ने बाचा गरेर प्रेम बन्धनमा परेकी उनले प्रेमीसंग छुट्नु पर्ला भन्ने कल्पनासम्म पनि गरेकी थिइनन् । अफसोच, भैदियो त्यस्तै ।

विवाहको केही वर्षमै अर्काे केटीलाई प्रेमजालमा फसाएका शिल्पाका श्रीमान्ले उनलाई भने यातना दिनथाले । यातनाले सिमा नाघ्दै गयो । हुँदाहुँदा शिल्पाकै अगाडि अर्की महिलालाई श्रीमतीको रुपमा घर भित्र्याए ।

एकातिर दिनहुँको शारीरिक र मानसिक यातना, अर्काेतिर सौता । शिल्पालाई यो पीडा असह्य हुन थाल्यो । उनले अन्याय नसहने अठोटका साथ श्रीमान्विरुद्ध गाउँमै रहेको इलाका प्रहरीमा उजुरी गरिन् । प्रहरीले गाउँका मानिसहरू, पीडित र उनका माइती बोलाएर जवरजस्ती मिलापत्र गरेर पठायो । प्रहरीमा मिलापत्र गरेको भए पनि श्रीमान्को यातनाको क्रम रोकिएन । उनले उजुरी दिने र प्रहरीले मिलापत्र गरिदिने यो सिलसिला कैयौंपटक दोहोरियो । कागजमा मिल्छु भनेर प्रत्येकपटक सही धस्काउने श्रीमान्ले केही दिनभित्रै यातनाको श्रृङखला फेरि दोहोर्याउथे ।

पटकपटकको प्रयासमा पनि न्याय नपाएपछि उनमा गहिरो मानसिक तनाव उत्पन्न भयो । २० वर्षको कलिलो उमेरमा कहालीलाग्दो दुःख खेपेकी शिल्पालाई पटकपटक आत्महत्या गर्ने सोच आउथ्यो, उनी आफूलाई सम्हाल्थिन् । न्यायको खोजीमा अदालत जाने उनको चाहाना ‘धेरै खर्च लाग्छ, कहाँबाट ल्याउछेस् ?’ भन्ने शुभचिन्तकहरूको प्रश्नले निराशामा बद्लिन्थ्यो । घर नै यातनागृह जस्तो बनेपछि उनले एकदिन घर छोड्न्,ि तर जाने कहाँ ?

उनको अन्तिम आसा सदरमुकाम गए न्याय पाइन्छ कि ! भन्ने थियो । महिलाको लागी काम गर्ने सेफ हाउस छ, भन्ने एक साथीको सल्लाह पछ्याउँदै उनी चैनपुर पुगिन् । सेफ हाउसका कर्मचारीले उनको पीडा सुनेपछि न्याय खोज्न सघाए । अन्नतः सेफ हाउसकै सहयोगमा चलेको अदालती प्रक्रियामा उनलाई आधा अंशसहित सम्बन्ध विच्छेद गर्ने फैसला भयो ।

मनोपरामर्शकर्ताबाट पाएको साहस र आडका भरमा उनले मुद्दा मात्रै जितिनन्, गरिखाने सीप पनि सिकिन् । उनी अहिले आफ्नै सिलाइ कटाई व्यवसाय गरेर जीवन निर्वाह गरिरहेकी छिन् । मनोविर्मशकर्ता सावित्री थापा भन्छिन्, ‘शुरूमा आउँदा उहाँ मानसिक रुपमा एकदमै विक्षिप्त हुनुहुन्थ्यो । सेफहाउसमै राखेर धेरै परामर्श दियौं । मुद्दा पनि जितेपछि अहिले उहाँमा छुट्टै खालको आत्मविश्वास पलाएको छ ।’
???? ????
शिल्पा, शान्ती र सत्यकोभन्दा फरक कथा छ, थलाराकी देवकी सिंहको । उनलाई वर्षात्को समयमा एलर्जी हुने समस्या थियो । जब बर्खा शुरू हुन्थ्यो, शरीरमा आउने सानो चिलाउने फोका शरीरभर फैलिन्थ्यो । पानी भरिएको फोका फुट्दा जिउभरी सेतैसेता दाग बस्थे ।

सेफ हाउसबाट न्याय पाएकी हिंसापीडित महिला ।

विडम्बना, परिवारका मानिसहरू उनको उपचार गर्नुको साटो यहीँ स्वास्थ्य समस्यालाई लिएर घृणाको पात्र बनाउथे । उनलाई कुष्ठरोग लागेको भन्दै मानसिक यातना दिन्थे । पछि त घर छोड्न भन्दै कुटपिट पनि गर्न थाले ।

दुईटा छोरीकी आमा देवकीलाई मानसिक र शारीरिक पीडाले असह्य हुन्थ्यो । उनमा धेरैपटक आत्महत्याको सोच पनि नआएको होइन, तर छोरीहरूको मायाले रोक्यो । उनी घरभित्रै परित्यक्त र घृणाको पात्रमात्रै भइनन्, हुँदाहँुदा श्रीमान् दिपकले सौता भित्र्याए । सौता आएपछि यातना र लान्छनाको सिलसिला झन् बढ्यो । घरमा बसे मार्छन् भन्ने लागेर एकदिन उनले पनि घर छोडिन् ।

उनी पनि पतिको घरमा पाएको पीडाको भारी बोकेर सेफ हाउसको शरणमा आइन् । केही समय सेफ हाउसकै आश्रयमा बसेकी उनी कानूनी लडाई लड्दैछिन् । त्योभन्दा ठूलो कुरा अहिले उनी आफ्नै खुट्टामा उभिएकी छन् । यूएनएपीएको आर्थिक सहयोगमा सेक्युरिटी गार्डको तालिम पाएकी उनी अहिले रोजगार भैसकेकी छिन् । आफ्नो उपचार गरेर पूर्ण स्वस्थ देवकीले दुई छोरीहरूलाई काठमाडौंकै सुविधायुक्त नीजि स्कुलमा पढाईरहेकी छिन् । ‘सेफ हाउसका कारण मैले मात्रै होइन, मेरा छोरीहरूले पनि पुनर्जन्म पा ए। नभए हाम्रो विचल्ली हुने थियो’ उनले खुशी हँुदै भनिन् ।

माथिका दुखान्त र उद्धारका कथाहरू चारजनाको व्यक्तिगत विवरण मात्रै हैनन् । यी बझाङ जिल्लाभरिका कैयन हिंसापीडित महिलाहरूलाई सेफ हाउसले पीडा मुक्त गरेका प्रतिनिधी घटना पनि हुन् ।

२०६९ सालमा संचालनमा आएको अल्पकालिन सुरक्षित महिला आवास गृहले बझाङ जिल्लाका यस्ता सयौं महिलाहरूको पीडामा मल्हम लगाउने काम गरेको छ । यूएनएफपीएको आर्थिक सहयोगमा संचालित यो सेफ हाउसले बलात्कार, घरेलु हिंसा, बालविवाह, बहुविवाहजस्ता घटनाले अन्यायमा परेका महिलाहरूलाई आश्रय मात्रै होइन, कानूनी सहयोग, मनोपरामर्श दिएर आत्मविश्वास भरिदिने गरेको छ । अनि सामाजिक लाञ्छना र विभेदको सिकार बनेर शिर झुकाएर हिँड्नुपर्ने बाध्यतामा परेका दिदीबहीनीलाई सीप सिक्न सहयोग गर्छ । सेफ हाउसकै कारण समाजले छेउ पारेका महिलाहरू छाती फुलाएर हिँड्न सक्ने भएका छन् ।

धेरैलाई सम्मानसहितको आत्मनिर्भर जिन्दगी जिउन सहयोग पुर्याएको सेफ हाउसले अहिलेसम्म ८ सयभन्दा बढी विभिन्न समस्यामा परेका महिलाहरूलाई सेवा दिइसकेको छ । सेफ हाउस स्थापना भएदेखी हालसम्म विचल्लीमा परेका करिब दुई सय महिलाले यहाँ आश्रय पाएका छन् । चार जना बालबालीकालाई गुणस्तरीय शिक्षामा सहयोग पुगेको छ भने १ सय ५० जना भन्दा बढीले विभिन्नखालका सीप सिकेर आत्मनिर्भर भएका छन् ।

यस्तै हिंसापीडित २९ महिलाले १० देखी २१ हजारसम्म आर्थिक सहयोग पाएका छन् । अल्पकालिन सुरक्षित महिला आवास गृहकी मनोविमर्शकर्ता सरिता ओलीका अनुसार पाँच सय भन्दा बढी घरेलु हिंसाका घटनामा मेलमिलाप गराउन सेफ हाउसले भूमिका खेलेको छ । छ सय भन्दा बढीेले मनोपरामर्श सेवा पाएका छन् ।

यस्तै विभिन्न कारणले न्याय खोज्न नसक्ने ४ सय ६० जना भन्दा बढीलाई सेफ हाउसले कानूनी सेवासम्म पहुँच पुर्याइदिएको छ । ४० जना भन्दा बढीले अदालतमा गएर न्याय पाएका छन् ।

यीमध्ये अधिकांस काममा संयुक्त राष्ट्र जनसंख्या कोष (यूएनएफपीए)को सहयोग छ । ‘थुप्रै पीडित दिदीबहिनीहरूको दुःखमा साथ दिन पाउँदा हामीलाई गर्व लाग्छ’ सेफ हाउस प्रमुख गिता शाही भन्छिन्, ‘स्थापनादेखी अहिलेसम्म यूएनएफपीएले गरेको निरन्तर सहयोगले पनि हामी यसमा सफल भएका हौं ।’

सेफ हाउसले गरेको कामको अन्य क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाहरूले पनि खुलेर प्रसंशा गर्ने गरेका छन् । ‘सेफ हाउस मात्रै नहुँदो हो भने धेरैजसो पीडित दिदीबहिनीको विचल्ली हुने थियो होला’ जयपृथ्वी नगरपालिकाका महिला शाखा प्रमुख टिटा मगरले भनिन्, ‘स्थापना भएको छोटो समयमै असाहायको सहाराको रुपमा सेफ हाउसले आफ्नो परिचय बनाईसकेको छ । यो सेवा नियमित हुनुपर्छ ।’

(पत्रकार सिंह कान्तिपुर दैनिकका लागि बझाङबाट काम गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: