सामूहिक खेतीले फेरियो जीवन


प्रकाशित मिति :2020-07-14 10:51:06

– मिलन बिछोड-

चुलोचौकाको काम सकिएपछि प्रायः छरछिमेकी, आफन्त चेलीबेटी भेला भएर कि गफ गरेर कि अल्छी मान्दै सुतेर समय कटाउँथे । कोही–कोही लुडो, क्यान्डी–क्रस खेलेर, मोबाइलमा फेसबुक हेरेर बेला बिताउँथे ।

इटहरी उपमहानगरपालिका–२ र ३ तालतलैया क्षेत्रका महिलाहरूको दिनचर्या अचेल बदलिएको छ । उनीहरूले कृषि उद्यम महिला समूह गठन गरेका छन् । बेलाबेलामा समूहको बैठक भइरहन्छ । बैठकमा सहभागी हुन उनीहरू छिटोछिटो चुलोचौकोको कामबाट निवृत्त हुन्छन् । अल्छी मानेर सुस्ताउने, फेसबुक चलाएर बस्ने समय हुँदैन । लुडो, क्यान्डी–क्रसजस्तो खेलवाडको कुरा त उनीहरूको जीवनबाट हटी नै सक्यो भन्दा पनि हुन्छ ।

समूहमा २५ महिला आबद्ध छन् । समूहको बैठकमा कोही खेतीपातीसम्बन्धी अनुभव बाँड्छन्, कोही निर्णय लेख्छन्, कोही जिम्मेबारी बाँड्फाँट तालिका बनाउँछन् । समय व्यवस्थापनसहित बाली–सूची तयार पार्छन् । खेती र बोटबिरुवाबारे छलफल गर्छन् ।
पहिले अलग–अलग काम गर्ने, घरेलु आवश्यकताअनुसार करेसाबारी गोडमेल गर्ने महिलाहरू अचेल सङ्गठित भएर साझा व्यावसायिक कर्ममा समय लगाउँछन् । उनीहरूले अहिले अभ्यास गरिरहेको साझा व्यावसायिक कर्म हो – सामूहिक खेती । घरको काम सकेर फुर्सद रहेको समय त्यतिकै खेर जाने हुँदा उनीहरूले सामूहिक खेतीमा रमाउने मेसो मिलाएका हुन् ।

तालतलैया कृषि उद्यम महिला समूहले सामूहिक खेतीका लागि वरपरको एक बिघा १७ कठ्ठा जग्गा लिजमा लिएको छ । २०७६ माघमा वार्षिक ४० हजार रुपैयाँ भाडा बुझाउने सर्तमा १७ कठ्ठा जमिन लिजमा लिएको समूहले भर्खरै थप एक बिघा जमिन लिजमा जोडेको छ ।
यसरी सङ्गठित भएर सामूहिक खेती र उद्यमशीलता विकास गर्न उनीहरूलाई इटहरी उपमहानगरपालिकाले सहजीकरण गरेको हो । उपमेयर आत्मनिर्भर कार्यक्रमअन्तर्गत इटहरी–२ की वडा सदस्य गंगा गुरुङको पहलमा गठित सो समूहका सदस्यलाई २०७५ माघमा १० दिने उद्यमशील तालिम दिइएको थियो । तालिममा उपमेयर लक्ष्मी गौतम आफैं सहजकर्ता थिइन् ।

उद्यम र आत्मबल सँगसँगै

घरको काममा सीमित हुने महिलाहरू सामूहिक मेलोका लागि जुट्न थालेपछि उनीहरूमा उद्यमशीलता विकासमात्र भएको छैन, आत्मबलसमेत बढेको छ । सामूहिक खेतीको अभ्याससँगै उनीहरूले घरबाहिरको संसार बुझ्ने मौका पनि पाएका छन् ।

पहिले घरधन्दा सकेर दिनभर फुर्सदिली हुने तालतलैया कृषि उद्यम महिला समूहकी अध्यक्ष रमा लिम्बुलाई अचेल खेतमा लगाएको बाली व्यवस्थापन, सदस्यहरूका लागि तालिका निर्माण तथा जिम्मेबारी बाँडफाँट गर्न भ्याइनभ्याई हुन्छ ।

तालिममा सहभागी भएर फर्केपछि महिलाहरूले समूह निर्माण गरे । तालिममा सहजकर्ताले सुझाएअनुसार आ–आफ्नो जग्गामा केही भाग छुट्याएर सामूहिक रूपमा तोरी र फापर लगाउने, तोरीको गुन्द्रुक र फापरको पिठो बनाएर बेच्ने निर्णय गरे ।

‘गाउँका दिदीबहिनी मिलेर सामूहिक खेती र उत्पादन गरिरहेका छौं । सुरुमा आफ्नै जग्गामा साझा बाली लगाएका थियौं,’ लिम्बु भन्छिन्, ‘समूह दर्ता गरेपछि केही जग्गा लिजमा लिएर काम थाल्यौं । अहिले थप जग्गा लिजमा लिएर कारोबार अघि बढाइरहेका छौं ।’

सुरुमा लिजमा लिएको जग्गामा उनीहरूले तोरी र फापर लगाए, जुन पूरै अग्र्यानिक थियो । दोस्रो बाली मकै लगाए । मकैपछि धान खेती गर्ने योजना छ । समूहका तर्फबाट उपमहानगरपालिकासँग बोरिङ माग गरिएको छ । हुन्छ भन्ने आश्वासन पनि मिलेको छ । बोरिङ गाडिसकेपछि नगदे बाली लगाउने सोच छ । बेमौसमी तरकारी खेतीको योजना पनि छ ।

समूहमा रहेका महिलाहरूको पहिलेको र पछिको आत्मबलमा धेरै परिवर्तन आएको छ । ‘म पहिले आफैँमा सीमित थिएँ । अरूसँग बोल्न पनि धक लाग्थ्यो,’ मकैका घोगा छोडाउने काम एकछिन बिसाएर समूहकी सदस्य रेनुका राईले भनिन्, ‘कतै परिचय दिनुपर्दा नामसमेत मिलाएर भन्न मेसो नपाउने मजस्ता दिदीबहिनीहरू अचेल ढुक्कसँग परिचय र कुरा राख्न सक्ने हुुनुभएको छ ।’
राईका अनुसार समूहमा काम गर्दा आपसमा भएको सीप बाँडिदो र सजिलो हुुँदो रहेछ । समाजमा आफूले केही गर्न सक्ने रहेछु भन्ने आत्मबल पनि बढ्दो रहेछ ।

बचत अर्को पाटो

समूहका सदस्यहरूमा कोही दुई नम्बर वडाका र कोही तीन नम्बर वडाका छन् । समूहका छलफल गरी साझा धारणा बनाउने उनीहरूको अभ्यासले दुुई वडाबीचको सम्बन्ध थप बलियो बनेको छ भने सो समूह आर्थिक गर्जाे टार्ने विकल्पसमेत बनेको छ ।

हरेक महिनाको १८ गते समूहको अनिवार्य बैठक बस्ने कार्यतालिका छ । बैठकमा सबैले सय रुपैयाँ नियमित बचत गर्ने गरेका छन् । समूहले महिनाभरि गरेको कारोबारको हिसाब गर्दा खर्च कटाएर बाँकी रहेको बचत रकम सदस्यले कृषि प्रयोजनका लागि न्यून ब्याजदरमा ऋण लिन पाउँछन् ।

समूहकी सदस्य सीता ढुुङ्गानाका अनुसार समूहमा आबद्ध भएपछि धेरै कुराको सुविधा भएको छ । दुुई वडाका साथीहरूको मेलमिलाप भएको छ । एकले नजानेको अरूले सिकाउँदा धेरै कुरा जानिएको छ । ‘ऋणमै भए पनि समूहबाट सस्तो ब्याजमा पैसा चलाउन पाएका छौं,’ ढुुङ्गाना भन्छिन्, ‘बिस्तारी आम्दानी पनि बढ्दै छ । बजारको माग के रहेछ र कसरी सामान बेच्नुपर्दो रहेछ भन्ने जानकारी पनि हुँदै छ ।’
अग्र्यानिक उत्पादनलाई प्राथमिकतामा राखेको सो समूहले इटहरी बजारमा कृषि उपज बेच्ने गरेको छ । उत्पादन गरेका सामान ठाउँ–ठाउँ लगेर बेच्न सकिने जानकारी भएसँगै आत्मनिर्भरता अनुभव भएको सुनाउँदै समूहकी अर्की सदस्य बालकुमारी लुइटेलले भनिन्, ‘हिजो–अस्ति फोगटिया, बेरोजगारजस्तै भएर बसिरहेका थियौं । समूहमा आइसकेपछि चाहिँ हामीले केही गर्नुपर्ने रहेछ, उद्यमी बन्नुपर्ने रहेछ भन्ने लाग्यो ।’

सो महिला समूहका सदस्यलाई उपमहानगरमातहतको कृषि शाखाका दुई जना महिला कर्मचारी आएर बेर्ना तथा बिरुवाको जगेर्ना गर्नेबारे व्यावहारिक प्रशिक्षणसमेत दिएका छन् । भर्खरै उक्त समूहले बोडी, रामझिँगनी, लौका, काँक्रा र करेलाका उन्नत जातका बिउ उपमहानगरपालिकामार्फत प्राप्त गरेको छ ।

समूहकी सदस्य रेनुका राईका अनुसार उपमेयर लक्ष्मी गौतम पनि बेलाबेलामा समूहले गरेको कामको अनुगमन गर्न आउने गरेकी छन् । त्यसरी अनुगमनमा आएका बेला उपमेयरले समूहका सदस्यहरूलाई उत्पादनमूलक काममा निरन्तर लाग्न र बचत गर्न प्रेरित गर्ने गरेकी छन् ।

व्यवसायमा मिश्रित अनुभव

समूहले जग्गा लिजमा लिएपछिको पहिलो बाली तोरी र फापर हो । जग्गा लिजमा लिनुअघि पनि उनीहरूले साझा धारणा बनाएर आआफ्नो जग्गामा तोरी र फापर खेती गरेका थिए ।

त्यो बेला उत्पादन भएको तोरीको साग सुकाएरलाई गुन्द्रुक बनाए, फापरको दानालाई पिठो । त्यो गुन्द्रुक र पिठो २०७६ भदौमा उपमहानगरपरिसरमा आयोजना गरिएको स्थानीय उत्पादन प्रदर्शनी (उद्यमी मेला)मा अग्र्यानिक गुन्द्रुक र पिठो भन्दै प्रस्तुत गरे । प्रदर्शनी हेर्न आउनेहरू प्रायः उनीहरूको उत्पादनप्रति आकर्षित भए । व्यापार राम्रो भयो ।

त्यो बेला उनीहरूले समूहको नामबाट भिजिटिङ कार्ड बनाएका थिए । प्रदर्शनीमा आउनेलाई भिजिटिङ कार्ड दिँदै फापरको पिठो प्रयोग गर्ने तरिका र फाइदाबारे बताए । तोरीको गुन्द्रकको स्वाद र प्रयोगबारे प्रायः नेपाली जानकार नै छन् । उनीहरूले फापरको पिठो चनाको बेसनजस्तो पकौडा, चप आदि बनाउन, रोटी, ढिँडो आदि बनाएर खान सकिने बताए । नभन्दै उनीहरूको प्रयास सफल भयो । सफलमात्र भएन सोचेभन्दा बढी सफल भयो ।

प्रदर्शनीमा आएका, भिजिटिङ कार्ड पाएका र उनीहरूको उत्पादनबारे थाहा पाएकाहरूबाट तोरीको गुन्द्रुक र फापरको पिठोको माग राम्रै भयो । उत्पादित सामग्रीको पर्याप्त प्रचार गरेका कारण अहिलेसम्म पनि अग्र्यानिक गुन्दु्रक र फापरको पिठोको माग भइरहकै छ ।

माग बढ्दै जाँदा उनीहरूले समूहभन्दा बाहिरबाट उत्पादित फापर किनेर पिठो बनाएर पनि पु¥याए । यही सफलताको आधारमा उनीहरू जग्गा लिजमा लिएर खेती गर्न प्रेरित भएका हुन् । समूहद्वारा उत्पादित सामग्री उनीहरूले ‘अर्डर’ अनुसार बिक्री गर्ने गरेका छन् ।

पहिलो कमाइले हौसिएका उनीहरूले लगानी उठेर बाँकी रहेको केही रकम समूहको बचतका नाममा बिउ पँुजी राखे, केही रकमले समूहको प्रचारका लागि भिजिटिङ कार्ड बनाए । भिजिटिङ कार्डमा उनीहरूले अर्डरअनुसार अग्र्यानिक गुन्दु्रक, फापर र कोदोको पिठो, भटमास, मकैको चामल आदि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले समूहमा नभएका उत्पादन गाउँबाट संकलन गरेर भए पनि ग्राहकको माग पूरा गर्ने गरेका छन् ।

समूहले लगाएको दोस्रो बाली मकै हो । तर पहिलो बालीले जति हौसला र्दिको थियो दोस्रोले त्यति दिएन । कारण हो लकडाउन र मकैको गाबो कुहिने रोग । मकैमा फौजी किरा लागेर गाबो नै बढ्न नपाउने समस्या देखियो । यसको नियन्त्रणबारे समूहका सदस्यलाई ज्ञान नहुँदा मकैको उत्पादन अपेक्षित भएन ।

यस्तो समस्या परेका बेला मद्दत माग्न कहाँ जाने, के गर्ने भन्ने अन्योल हुँदाहुँदै लकडाउन सुरु भइदियो । अरू बेला भएको भए इटहरी बजारमा पोलेको मकैको माग राम्रो थियो र घोगाघोगै बिक्री हुनेथियो । तर लकडाउनले त्यो सम्भावना पनि खाइदियो । हरियो घोगा बिक्री गर्दा हुने मुनाफाबाट समूह वञ्चित भयो ।

अहिले उनीहरूले मकै भाँचेर सुरक्षित ठाउँमा थन्क्याएका छन् र सबै जना मकै छोडाउने काममा लागेका छन् ।

यान्त्रीकरणमा जोड

समूहको काममा उनीहरूले अहिलेसम्म कुनै जन (समूहबाहिरको कामदार) लगाएका छैनन् । समूहका २५ सदस्यले पालो मिलाएर कामको बाँडफाँट गरेका छन् । मकै छोडाउन उनीहरू आफैं भिडिरहेका छन् ।

तर धेरै मकै हातले छोडाउँदा गाह्रो हुन थालेपछि उनीहरूमा मकै छोडाउने मेसिनको आवश्यकता अनुभव भएको छ । मकै छोडाउने पोर्टेबल मेसिन उपमहानगरपालिकासँग राहतमा माग गर्ने योजना रहेको समूहकी सदस्य रेनुका राईले बताइन् ।

तालतलैया कृषि उद्यम महिला समूहआबद्ध महिलाजस्तै उपमेयर आत्मनिर्भर कार्यक्रमअन्तर्गत नगर क्षेत्रका पाँच सय महिलालाई उद्यमी बनाउने लक्ष्य रहेको छ । तीन वर्षमा तीन सय महिलालाई उद्यमी बन्ने बाटोमा हिँड्न सहजीकण गरिसकेको उपमहानगरले दुई वर्षभित्र थप दुई सय महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको उपमेयर लक्ष्मी गौतम बताउँछिन् ।

उपमेयर आत्मनिर्भर कार्यक्रमको उद्देश्य सिर्जनशील हातहरू सङ्गठित गर्दै उत्पादन तथा उत्पादनका लागि यान्त्रीकरणमा जोड दिनु रहेको छ । कार्यक्रमअन्तर्गत गाउँ र सहर केन्द्रित बेग्लाबेग्लै मोडल तथा परियोजनाहरू छन् ।

दूध, तरकारी र माछा–मासुमा आत्मनिर्भर हुने लक्ष्य लिएको इटहरी उपमहानगरले सङ्गठित किसानलाई यस कार्यक्रमअन्तर्गत जोड्दै पशु, बिउबिजन, कृषि औजार तथा उपकरणहरू वितरणसमेत गर्दै आएको छ ।

‘व्यवसायी युवालाई आत्मनिर्भर बनाउने पक्षमा नगरपालिका रहेको छ,’ उपमहानगरपालिकामातहत रहेको कृषि शाखाकी निमित्त प्रमुख विमला राईले भनिन्, ‘हामीले कृषिलाई आधुनिकीकरण गर्न यान्त्रीकरणमा विशेष जोड दिएका छौं ।’

आत्मनिर्भरको मापदण्ड

उपमेयर आत्मनिर्भर कार्यक्रमका लागि छनोट गर्ने मापदण्ड तथा आधार दुुई खालका छन् । पहिलो, उपमहानगरको नयाँ संरचना बन्नुअघि अस्तित्वमा रहेका, समाजको विकृतिविरुद्ध आवाज उठाउँदै आएका आमा समूह वा महिला समूहलाई अब उद्यमी बन्न प्रेरित गर्ने गरिएको छ । उनीहरूलाई मोडालिटीअनुसार प्रस्ताव लिएर आउन भनिएको छ ।

अर्को, आफू केही गर्छु भनी आत्मनिर्भर हुन चाहने महिलालाई कम्तीमा तीन जना र त्योभन्दा माथि जति पनि सदस्य रहने गरी समूह बनाएर योजनसहित आउन भनिएको छ । सो समूहले पेस गरेको प्रस्तावअनुसार बजेट र तालिम दिने गरिएको छ ।

कृषि तथा उद्यमशीलतातर्फ केन्द्रित यो कार्यक्रममा विशेषगरी निम्न आय भएका गृहिणीलाई समेट्ने गरिएको छ । अल्पसंख्यक, एकल महिलाको हकमा भने व्यक्तिगत रूपमै भए पनि साना पसल सञ्चालनदेखि एक्लै सम्भव हुने पशुपालन तथा तरकारी खेतीका लागि सहयोग हुँदै आएको छ ।

कार्यक्रमअन्तर्गत नगरका विभिन्न ग्रामीण क्षेत्रमा महिला समूहले सामूहिक खेती गरिरहेका छन् भने बजार केन्द्रित उद्यमशील योजना पनि कार्यान्वयमा छन् । खनार र पकलीका केही महिलाले कागजको दुना–टपरी बनाउने तालिम लिएर उत्पादनसमेत सुरु गरिसकेका छन् । इटहरी बजार क्षेत्रभित्रकै केहीले भुजिया र केहीले मैनबत्ती उत्पादन गरेर मुनाफा लिन थालिसकेका छन् ।

उपमेयर आत्मनिर्भर कार्यक्रममा कृषि उत्पादन तथा आत्मनिर्भरतालाई निरन्तरता दिने कुरा मात्र छैन, महिलाको उत्पादनलाई बजारीकरणका लागि पहल गर्ने योजना पनि छ । यसअन्तर्गत गत भदौमा कृषि उत्पादन मेला लगाएको नगरपालिकाले अब तीन सय महिलाको उत्पादनलाई एकै थलोमा राखेर बृहत् प्रदर्शनी गर्ने सोच बनाएको छ ।
कोभिड–१९ को सङ्क्रमण सकिनेबित्तिकै सबै महिला तथा समूहलाई बोलाएर उत्पादनको बजारीकरणका लागि पहल तथा सहजीकरण गरिने उपमेयर लक्ष्मी गौतमले बताइन् ।

गौतमका अनुसार उत्पादित वस्तुको बजार पहुँचका लागि नगरपालिकाको पहलमा कोसेली घर खोल्ने योजनासमेत रहेको छ । कोसेली घरका लागि नगरपालिकाले एक पटक लगानी गरिदिनेछ भने सो घरमा सबै उद्यमी महिला तथा महिला समूहको सेयर हुनेछ ।

तेस्रो विकल्प भनेको कृषि सहकारी मोडेल हो । नगरले गरेको एक पटकको सहयोग सधैं नहुने हुँदा महिलाको उद्यमशीलतालाई निरन्तर बनाइराख्न कि सहकारीको रूपमा विकास गर्नुपर्ने कि कुनै कृषि सहकारीसँग उद्यमी कृषि महिलाको समूह जोड्नुपर्ने हुन्छ ।

‘यसरी सहकारी मोडेलमा जाँदा महिलाहरूको उत्पादन बजारसम्म जाने सहज र भरपर्दो माध्यम बन्छ भन्ने लाग्छ,’ उपमेयर गौतमले भनिन्, ‘कार्यक्रमको उद्देश्यअनुरूप महिलाहरू उद्यमी बनिरहुन् भन्नका लागि सहकारी मोडेल उचित हुन्छ भन्ने मेरो बुझाइ छ ।’…

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: