म कोरोनाकालकी सुत्केरी


प्रकाशित मिति :2020-09-11 14:54:56

-हेमलता जि.सी (कुँवर)-

एउटा मानव शरीरबाट अर्को मानवको जन्म दिन सक्नु महिलालाई प्राकृतिक देन हो । त्यसैले अन्य समय भन्दा गर्भवतीे बेलामा विशेष ध्यान दिनु पर्दछ । खानपिन, सरसफाई, खोप, नियमित रुपमा डाक्टरसँग चेकजाँच, पारिवारिक सहयोग आदिले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । तर जब देशमा कुनै संकट, प्राकृतिक विपत वा कुनै महामारी रोगले ठूलो रुप लिन्छ, तब शैक्षिक, आर्थिक, धार्मिक, राजनीतिक, सामाजिक जस्ता महत्वपूर्ण क्षेत्रमा प्रत्यक्ष र परोक्ष प्रभाव पारेको हुन्छ भने स्वास्थ्य क्षेत्रमा गर्भवती महिला पनि प्रत्यक्ष मारमा परेका हुन्छन् । कोरोना भाइरसले गर्भवती महिलालाई पनि अछुतो राखेन ।

कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो की भनेर एक प्रकारको मानसिक समस्या नै उत्पन्न भएको पाइन्छ । जसको उदाहरण म आफू नै हुँ । आजको प्रसंग कोरोना भाईरसले गर्भवती महिलामा उत्पन्न भएको एक प्रकारको डर वा मानसिक पिडा हो । गर्भवती महिलाले संक्रमण भईहाल्यो भने आफू र गर्भमा रहेको बच्चालाई कसरी जोगाई राख्ने भन्ने पिरले उत्पन्न मानसिक पिडाले भावी समयमा यसको प्रभाव कस्तो होला भन्ने बारम्बार प्रश्न उत्पन्न हुनु जायज हो । यसको प्रभाव नवजात शिशु र सुत्केरी आमामा पर्छ । कोरोना भाइरसको प्रभाव तिब्र गतिमा बढिरहेको बेला म गर्भवती भएको छ महिना भएको थियो । अन्य सामान्य दिनमा नियमित डाक्टरस“ग चेकजाँच हुन्थ्यो, जब कोरोना भाइरसको संक्रमण फैलियो तब मेरो चेकजाँच पनि अनियमित हुन थाल्यो । कोरोना भाइरस फैलिनु अगाडि जसरी म लगायत अन्य गर्भवती महिला स्वतन्त्र रुपमा चेकजाँच, खानपिन, हिडडुल गर्दथे, जब कोरोना भाइरस संक्रमण फैलिन थाल्यो, मेरो दैनिक क्रियाकलापमा असर हुन थाल्यो । हेर्दा हेर्दै कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि हाम्रो देश नेपालले पनि चैत ११ गते देखि पूर्ण रुपमा लकडाउनको घोषणा ग¥यो, जुन अनिश्चित थियो । यस समयमा दीर्घ रोगी र गर्भवती महिला ठूलो मर्कामा परे ।

मेरो सुत्केरी हुने समय नजिकिदैं जाँदा डाक्टरको सल्लाह अनुसार एक/एक महिनामा चेकजाँच गर्नु पर्ने तर कोरोना संक्रमणले एकाएक चेकजा“च गर्ने काम बन्द भएपछि म भित्र भित्र आत्तिसकेकी थिए“, अब के होला भनेर । आफ्नो चिन्ता भन्दा पनि गर्भमा रहेको शिशुलाई केही हुने हो की भनेर ज्यादै चिन्ता हुन थाल्यो । नियमित रुपमा सेवन गर्ने आईरन चक्की, क्यालसियम चक्की सकिएपछि औषधि पसलबाट कसरी ल्याउने भन्ने अर्को चिन्ता थपियो । सुत्केरी नहुन्जेल सम्म ममा उत्पन्न समस्याले एक प्रकारले मलाई मानसिक तनाब भइरहन्थ्यो । लकडाउनको कारणले किराना पसल देखि फलफुल पसल सबै बन्द नै थिए । आफूले भने अनुसार पोषिलो खाना नपाइनाले अर्को पिरलो हुन्थ्यो । यदि पाए पनि दोव्वर महंगो हुन्थ्यो, जुन बाध्य भएर किन्नुको कुनै विकल्प थिएन ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पेइङमा नियमित रुपमा डाक्टर सुनीति रावलसँग जा“च गर्दै आएको थिए“ । डाक्टरले अब आउँदा भिडियो एक्सरे गराएर आउनु त भन्नु भयो तर एक्कासी लकडाउन भएपछि डाक्टरले पनि जा“च्न नमानेपछि अब आफू र बच्चाको अवस्था बारे थाहा पाउने कुरा अन्योल नै भयो । यो पनि अर्को पिडा थपियो । यस्तो अवस्था आउला भनेर सायद कसैले कल्पना समेत गरेको थिएन होला । आफूलाई कोठै भित्र बन्दको बन्द गर्दा एक किसिमको मानसिक तनाब हुन्थ्यो । घरपरिवारबाट सहयोग पाएता पनि कोरोना भाइरसले उत्पन्न समस्याका कारण आफू भित्र चिन्ता र डर भइरहने । यो लकडाउनको बीचमा आम जनतालाई समस्या भएकै होला तर गर्भवती महिलाको लागि समस्या ठूलो नै हो । यसमा कुनै दुई मत थिएन । नौ नौ महिना सम्म गर्भमा राख्नु र त्यो बीचमा आफू र नवजात शिशुलाई आवश्यक हेरविचार र पोषणयुक्त आहार खाना नपाउनाले आमा र बच्चाको स्वास्थ्यमा गम्भिर असर पर्ने हुन्छ । कोरोनाको कहरले म जस्ता अधिकांश गर्भवती महिलाको जीवनमा निकै उतारचढाब भयो । आर्थिक, पारिवारिक र मानसिक तनाबबाट मुक्त राख्नु घरपरिवारको दायित्व हो तर आजको यो विषम परिस्थितीमा आफूलाई नै सुरक्षित रहनु पहिलो प्राथमिकता हो ।

नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु जेठ २ गते सुत्केरीको भएको थियो । उनी त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी थिइन् । जसको कारण अस्पतालमा कोरोना भाइरस संक्रमण फैलिएको हो भन्ने त्राशले प्रसुति वार्ड पूर्ण रुपमा शील गरिएको थियो । त्यसपछि स्त्रिरोग डाक्टरले गर्भवती महिलाहरुको चेकजाँच नगर्ने भनि पूर्ण बन्द गरियो । जसमा म जस्ता धेरै गर्भवती महिलाहरु मर्कामा परेका थिए । मेरो द्विविधा झन बढदै गयो । डाक्टरले सम्पर्क नम्बर नदिएको कारणले पनि सम्पर्क गर्ने कुनै माध्यम थिएन । गर्भवती भएको समयमा राम्रो र सकारात्मक कुरा मात्र सोच्ने भन्छन् तर चेकजाँच नहुदाँ नकारात्मक कुरा मात्र खेलिरहने । जति समय बित्दै जाने, घट्नाको भन्दा संक्रमणको संख्या बढ्दै जाने र मृत्युको संख्या एक पछि अर्को वृद्धिले, मलाई थप चिन्ताले पिरोल्थ्यो । मेरो सुत्केरी हुने दिन जेठ २१ गते थियो । बैशाख महिनाको अन्तिम साताबाट त्रिभुवन शिक्षण अस्पतालमा एकाएक कारोना भाइरस संक्रमित देखिन थाले पछि प्रसुति वार्ड सिल भयो । अस्पतालमा सुरक्षित सुत्केरी नहोला भन्ने अर्को चिन्ताले भित्र भित्र पिरोलिएको थियो किनभने पहिला बच्चा शल्यक्रियाबाट भएको थियो । आफै जन्माउने संभावना कम थियो । शल्यक्रिया गर्दा होला कि नहोला भन्ने चिन्ता बढ्न थाल्यो । अधिकांश निजी अस्पतालले प्रसुति सेवा दिन बन्द गरेका थिए भने सरकारी अस्पतालमा कोरोना भाइरसको जोखिमपूर्ण अबस्था कायम नै थियो ।

टिचिङ अस्पतालमा पेइङ सिस्टममा गर्भवतीहरुलाई विशेष हेरविचार र सल्लाह दिने कुरा सुनेकोले मैले पनि पेइङमा दर्ता गरेकी थिए“ । मैले देखाइरहेको डाक्टर सुनीति रावलले अवस्था हेरेर मात्र जेकजाँच गर्ने र आफूले नै सुत्केरी गराउने विषयमा स्पष्ट कुरा नगर्दा अन्यौल नै रह्यो । गर्भावस्थामा देखाएको डाक्टरले नै सुत्केरी गराउने भन्ने कुरा मात्र रहेछ । कोरोना भाइरसको महामारी अवस्थामा सबै भन्दा आफ्नै ज्यान प्यारो रहेछ भन्ने डाक्टरको व्यवहारबाट स्पष्ट नै देखिन्थ्यो । डाक्टरले अब न म चेकजाँच गर्छु न सुत्केरीकोबेला नै म हुन्छु भनेर ढुक्क नबस्नु भनेपछि म थप मर्कामा परें । यस्तो थाहा भएको भए किन म हरेक पटक रु ४०० तिरेर पेइङमा देखाउँथे र ? एकातिर डाक्टरले जिम्मा लिने पक्का भएन, अर्कोतिर लकडाउनलाई निरन्तर अगाडि बढाउने सरकारको निर्णयले थप समस्या भएको थियो । यस्तै समस्यै समस्याको बीचमा कहाँ र कसरी सुरक्षित सुत्केरी होला भन्ने चिन्ता ममा थियो नै । माईती देखि घरपरिवारले समेत चिन्ता लिन थालेपछि, मैले कस्तो बेला गर्भवती भएछु भन्ने पनि मनमा लाग्यो । जस्तो कठिन परिस्थितीमा भए पनि बच्चालाई मैले जन्म दिनु त थियो नै । ईश्वरसँग सधैं प्रार्थना गर्दथें कि मलाई जे भएपनि बच्चालाई चाँहि केही नहोस् भनेर ।

अन्तत तनाब र विविध समस्याहरुसँगै प्रसब पिडाको बीचमा मेरो सुत्केरी तोकेको मिति भन्दा २ दिन अगाडि जेठ १९ गते सुरक्षित तवरले श्री विरेन्द्र अस्पताल छाउनीमा भयो । शल्यक्रिया नगरी छोरी जन्मी । कोरोना भाइरसको विषम् परिस्थितीमा बच्चा जन्माउनु सजिलो थिएन तर श्री विरेन्द्र अस्पतालका प्रसुति वार्डमा काममा रहेका डाक्टर, स्टाफ नर्स र सहयोगीहरुले गरेको हेरविचार, परामर्श र हौसलाका कारणले होला सोचेभन्दा सजिलो भयो । म उहा“हरुप्रति कृतज्ञ रहनेछु । हजारौं समस्याको अगाडि छोरीको आगमनले सबै पिडालाई विर्साई दियो । त्यसैले नै भन्छन् आमा अपरम्पार र धन्य हुन्छन् । विविध समस्याका बीच बच्चालाई जन्म दिए पनि कोरोना भाइरसको संक्रमण फैलिएको कारणले नवजात शिशुले नियम अनुसार सुरक्षित खोप लगाउन नपाउनु अर्को पनि समस्या देखा परेको छ । बढ्दो कोरोना संक्रमणले देशमा थप निषेधाज्ञा जारी छ तर नवजात शिशुले समयमा खोप लगाउन नपाएर उनीहरुको खोप लगाउने अधिकार खोसिएको छ । सरकारले सके सम्म समय तालिका अनुसार खोप लगाउने र गर्भवती महिलाको नियमित चेकजाँचको लागि वातावरण बनाईदिन महत्वपूर्ण भूमिका आजको यो विषम् परिस्थितीमा अत्यन्त संवेदनशील भई सबै पक्षहरुको कार्य आवश्यक देखिन्छ ।

कोरोना भाइरसका कारण अधिकांश गर्भवतीले मैले भोग्नु परेको समस्या भन्दा जटिल समस्या भोगेका छन् की ? सुरक्षित वातावरणमा मात्र गर्भवती महिलाले नवजात शिशुलाई सुरक्षित जन्म दिन सक्दछन् । सरकारले समयमा नै यस विषयमा विशेष ध्यान दिन जरुरी छ । कोरोना भाइरसको न्यूनिकरण कहिले होला भन्ने कुनै ठेगान नै छैन । गर्भवती महिलाले जन्म दिने बच्चा यो देशको सम्पत्ति, जनशक्ति वा कर्णधार भएका कारण सरकारले प्रसुति हुने विषयलाई सामान्य रुपमा नलिई संवेदनशील भई होसियारीका साथ सुरक्षित प्रसुति सेवा प्रदान गरी सबै गर्भवती महिलालाई सुरक्षित मातृत्व अधिकार सुनिश्चित गराउनु आजको जरुरी आवश्यकता देखिन्छ ।

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: