यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले


प्रकाशित मिति :2020-10-02 15:27:24

-विमला तुम्खेवा-

८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र शालिन आँखा । सेतै फुलेका छोटो कपाल । कलेजी रङ्गको बख्खु । धागोले बुनेको साधारण झोला अनि आँखामा कालो चश्मा । आम रुपमा साहित्यिक र समाजिक सभा समारोहहरुमा भेट्दा र देख्दा देखिने सधैँको रुप हो ।

बुबा कृष्ण बहादुर घले र आमा भक्तकुमारी घलेको कोखबाट काठमाडौंको डिल्लीबजारमा १९८८ फागुन १९ गते मंगलबारको दिन उनको जन्म भयो । यो घर अहिले काठमाडौँको ३३ नम्बर वार्डमा पर्छ । संजोग पनि कस्तो भने जुन घरमा जन्म भयो, यो बुढेसकालमा पनि आफूले पालेको छोरीसँगै एक्लै त्यहीँ बस्छिन् । त्यही घरमा केही वर्ष अघिसम्म २० जनाको भान्सा पाक्थ्थो । तीन छोरी र एक छोरा मध्ये भद्र माइली । सानोमा सधैँ बिरामी भैरहने ख्याउटे शरीर । “अहिले सम्झँदा मर्छ भनेर नै दुई वर्षकै उमेरमा आमापट्टिको मामली घर ओखलढुङ्गा जरायेटार पु¥याइदिएका रहेछन् । आमाको माया कस्तो हो मलाई थाहै छैन । त्यति सानो बच्चालाई पाहुनाको साथ लगाएर कसरी मलाई पठाए ।” यसो भनिरहँदा भित्तामा झुन्डिरहेको आफ्नै तस्बीरलाई हेरिरहेकी थिइन्, उनी । यो तस्बीर वनिता प्रकाशनले ७५ वर्षको उमेरमा अभिनन्दन गर्दा दिएको थियो । आमाकै सम्झनामा हजुर आमाको लाम्टा चुस्दै पहाडको उकाली–ओराली गर्दै हुर्किइन् । जीवनमा सघर्ष पनि त्यही समयबाट सुरु भयो । फेरि सात वर्षको उमेरमा बुबापट्टिको मामलीघर उनलाई पढाउनको निम्ति लगियो ।

बाजे ब्रिट्रिश आर्मी । सानैदेखि तीक्ष्ण र तेज भद्र बाजेको मुखबाट युद्धको भयानक संस्मरण सुनेर हुर्किइन् । गुन्यु चोली लगाएर हुर्कँदै गरेकी भद्रले पहिलोपल्ट बाजेबाटै सुनेको हो— गोराको छोरीहरूले फ्रक लगाउछन् भन्ने । त्यसपछि फ्रक लगाउने रहर जागेको, सो गोरखपुर पढ्न गएपछि मात्र पूरा भयो । यस्ता कैयौं संस्मरणहरूमध्ये उनीसँग गाँसिएको यो एउटा मिठो संस्मरण हो।

किशोर अवस्थासम्म पनि राजनीतिमा खासै चासो थिएन । तर राजनीति के हो बुझ्न भने थालिसकेकी थिइन् । जब कि घरै राजनीतिको अखडा थियो । गुरुङको छोरी तर सात वर्षको उमेरमै भगवती श्लोक, दुर्गा कवाज, बुद्वि कवाज , कृष्ण चरित्र, रामायण, महाभारत कण्ठ थियो तर अर्थ थाहा थिएन । नातिनीले यसरी कण्ठ बनाएर सुनाएपछि हो बाजेले १९९५ सालमा भद्रलाई गोरखपुरको पल्टन बजारको आर्मी स्कुलमा पढ्न पठाएको । यो अवसर राजाले सीधै प्रदान गर्ने छात्रवृत्ति अन्तर्गत थियो । पछि २०१७ सालमा बनारसबाटै शास्त्रीसम्मको अध्ययन पुरा गरिन् । त्यसो त उबेला सबै उच्च शिक्षा पढ्न बनारस नै जानुपथ्र्यो । नेपालको सबै उच्च तहमा पुग्ने उबेलाको व्यक्तित्वहरू बनारस नै पढ्न जान्थे । भद्रको जीवनको संजोग कस्तो भने राजनीति राजावादी, जीवनशैली गान्धीवादी, रुचि कला साहित्य र समाजसेवा। ८९ वर्षको यो उमेरसम्म आइपुग्दा घलेको जीवनको मूलमार्ग यही रह्यो ।

बाउ प्रचण्ड शमशेरको बैठके । आमा तीन कार्यकालसम्म प्रधानपञ्च । मामली बाजे सात गाउँको मुखिया । पारिवारिक संचरना नै सत्ता र शक्तिको नजिक । यति हुँदाहुँदै पनि जन्म दिने आमासँग छुटिएको १३ वर्षपछि मात्र भेट हुनु । बाजेको रहरमा पढ्नको निम्ति गोरखपुर आर्मी स्कुल पुग्नु । त्यहीँ छँदा गान्धी दर्शनसँग नजिक हुनु । त्यो जमानामा धनी र गरिब भन्दा पनि छोरीलाई किन पढाउने भन्ने मान्यताको बीच पनि परिवारमा छोरीलाई पढाउनु पर्छ भन्ने चेतना हुनु । यो नै भद्रको जीवनको सुखद् संजोग भयो । गान्धीको दर्शनले यसरी प्रभाव पा¥यो कि अहिले उनी शाकाहारी छिन् ।

उनको जीवनमा आउँदै गरेको परिर्वतनको निम्ति खासगरि गोरखपुर यात्रा टर्निङ प्वोइन्ट थियो । राजनीतिको दाउपेच त खुनमै थियो । अझ उनमा सानैदेखि नेतृत्व लिन सक्ने क्षमता र केही गर्छु भन्ने स्वभाव हुनु अनि बोलेपछि गरिछोड्ने अठोट यी पर्याय थिए— उनको जीवनको । तर राजनीतिमा त्यति मन थिएन, बरु नर्र्सीङ्ग पेशामा रहर थियो र यसैमा कार्यरत् थिइन् । पछिसम्म यही पेशालाई अगाडि बढाउन चाहन्थिन् तर २०१८ सालमा जनकपुरको तत्कालीन अञ्चालाधीश दिलबाहादुर श्रेष्ठको जोड र पहलमा महिला संगठन जनकपुरको अञ्चल सभापति भएपछि सुरु भएको राजनीतिक यात्राले भद्रलाई नेपालको इतिहासमा चार पटक माननीय र आदीवासी जनजाति महिलाहरू मध्ये पहिलो श्रम तथा समाज कल्याण राज्यमन्त्री बनायो । उबेला महिला हक र अधिकारको निम्ति देशव्यापी रुपमा नेपाल महिला संगठन मात्रै सक्रिय थियो । महिला शसक्तीकरण र विकासको निम्ति राज्यको तर्फबाट यो पहिलो संगठन थियो । उनी सत्तामा रहँदा भर्खर–भर्खर मात्र महिला हक र अधिकारको आवाज सदन, सत्ता र सडकमा उठ्न थालेको थियो । पंचायत विरुद्धको आन्दोलनमा उबेला सडकमा साहना प्रधान, असारी सुब्बा, साधना प्रधान लगायतका महिलाहरू थिए । भद्र भन्छिन्— “ सडक आन्दोलनमा सबै दल जात र वर्गका महिला थिए । सत्तामा न्युन मात्रामा मात्र महिला थियौँ । कतिपय अवस्थामा सडकको बलले काम गथ्र्यो ।” आफू मन्त्री छँदा महिला शसक्तीकरण र सामाजिक सुधारका धेरै सुरुवाती कार्य सुरु भएको, जस्तै– ग्राम सेविका तालिम लगायतको नीति पनि उनकै नेतृत्वमा सञ्चालनमा ल्याएको हो ।

राजा महेन्द्रले लागू गरेको ‘पञ्चायत व्यवस्था र म’ शीर्षक अन्तर्गत परियोजनालाई खुलेर सहयोग गरेको र सामाजिक आर्थिक र सांस्कृतिक क्रान्तिको निम्ति यो नीति अहिले पनि त्यत्तिकै उपयोगी रहेको उनको ठहर छ । त्यस्तै, भूमि सुधार आयोग, गाउँ फकै अभियान आज पनि त्यत्तिकै सान्र्दभिक रहेको उनको भनाइ छ । “राजा महेन्द्र ठीक थिए तर वरिपरिका मान्छे ठीक भएनन् । माओवादीले केही गर्छ भन्ने आशा थियो तर बाघको छाला ओढेको स्याल नै रहेछन् !” यो देशको शासन व्यवस्थाले आदिवासी महिला दलित र सीमान्तकृत समुदायलाई जहिले आफू अनुकूल प्रयोग गरेको उनको ठम्याइ छ । अर्को समस्या चाहिँ सम्पूर्ण जनजाति एक नहुनु पनि ठुलो दुभाग्र्य रहेको उनको ठम्याइ छ । मधेस आन्दोलनले जुरुक्क पहिचानको मुद्धालाई नबोकेको भए यतिको सङ्ख्यामा जनजाति महिलाहरू नीति निर्माण तहमा नपुग्ने उनको ठहर छ । उबेला निर्दलीय शासन व्यवस्थाको अन्त्यसँगै सबै आदिवासी जनजातिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने उदेश्यका साथ जनजाति पार्टी खोल्न गएको, त्यसको योजनाकार मध्ये भद्र पनि एक थिइन्, तर तत्कालीन समयको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आदेशमा निर्वाचन आयोगले दर्ता नगरेपछि त्यो उदेश्य त्यसै तुहिएको थियो ।

सांगठनिक रुपमा २००४ सालबाट सुरु भएको महिला आन्दोलन अनि राजनैतिक परिवर्तनसँगै जनजाति महिलाहरू सभामुख, परराष्ट्र मन्त्री लगायत महत्वपूर्ण र सम्माननीय पदहरूमा पुगिसकेका छन् । यतिका धेरै जनजाति महिलाहरू निर्णायक तहमा पुग्नुलाई सकारात्मक रुपमा लिनुपर्ने उनको तर्क छ । अहिले पनि घलेको आमा भक्तकुमारीलाई सिन्धुली जिल्लाको ‘सेरेनी’ भनेर चिनिन्छ ।

महिला त्यसमा पनि एउटै मान्छे तीनपल्टसम्म प्रधानपञ्च हुनु उबेला धेरै ठुलो अवसर थियो । देश संघीय लोकतान्त्रिक शासनकालमा आइसक्दा त राज्यको हरेक निकायमा समग्र महिलाकै उपस्थिति न्यून छ भने त्यस समयमा महिलाको अवस्था कस्तो थियो, अनुमान लगाउन सकिन्छ । सत्ता र शक्तिको परिवर्तनसँगै यो देशमा धेरै परिवर्तन भयो तर यति हुँदाहुँदै पनि जनजाति महिलाको उपस्थिति राज्यको हरेक तह र संरचनामा अझै अत्यन्तै न्यून छ भन्दै गर्दा माओवादी जनयुद्धको समयमा युद्धको अग्रमोर्चामा जनजातिहरूले बलिदान दिएको कुरा स्मरण गर्दै यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकी रहेको उनको निस्कर्ष छ ।

भद्र चित्रकार पनि हो भन्ने पछिल्लो पुस्तालाई कमै मात्र थाहा छ । धेरै वर्ष अघि ‘नेपाल चर्खा प्रचारक गान्धी तुलसी मेहर गुठी’ को अध्यक्ष छँदा प्रयोगमा ल्याएको बेसार, निर, गेरुमाटो अनि मट्टितेलबाट बनाइएको गाजललाई रङको रुपमा प्रयोग गरेर उनले बनाएको चित्रहरू आज पनि उनको बैठक कोठामा सजिएको छ । कति चाहिँ नेपाल प्रज्ञा प्रतिष्ठानको वालमा छ । पछिल्ला दशकहरूमा साहित्य कला र समाजसेवामा सक्रिय देशमा बहुदल आएसँगै घले विस्तारै राजनीतिको शक्तिबाट ओझेल भइन् । देशमा आज पनि उही शासन रहेको हुन्थ्यो भने सत्तामै हुनु हुन्थ्यो कि भन्ने प्रश्नको जवाफमा— “लाइन ठीक थियो तर शासन सत्ता बदलियो ।” उनी लामो हासो हासिन् ।

किस्सा र संघर्षको लामो लस्कर छ उनको जीवनसँग गाँसिएको । उबेला स्वास्नीमान्छे घोडा चढेर सभा समारोह अड्डा अदालत जानु अचम्म नै मानिथ्यो । घलेको आमा घोडा चढेरै काठमाडौं आउ–जाउ गर्थिन् । पछि भद्र पनि घोडाबाटै काठमाडौं र सिन्धुली आउ–जाउ गर्न थालिन् । त्यो बेला काठमाडांै खुल्ला थियो । अहिले जस्तो भीड थिएन । भित्री बाटोहरू खोलिएकै थिएन । अनामनगरको पक्की सडक उबेला सानो गोरेटो बाटो थियो । घट्टेकुलो भित्रको भाग पोखरी नै थियो । मैतीदेवीमा पातला घरहरू थिए । तर डिल्लीबजारको पिपलको बोट उहाँकै जिजुबाजे हजुरीया कर्णेल नैनसिंह घलेले रोपेको हो । उबेला देशको राजा रणोद्धीप शाह थिए । महिलाको विकासको मूख्य बाधा शिक्षामा पहुँच नहुनु र आर्थिक सशक्तीकारण नहुनु हो । र, अबको क्रान्ति शिक्षामा समान पहुँच र आर्थिक क्रान्ति हो भन्ने उनको बुझाइ छ । यसै कारण आफ्नो करोडौँको सम्पत्ति दान दिइसकेकी छिन् । चाबहिल क्याम्पसलाई महिला छात्रबासको निम्ति २२ कोठाको घर र एघार आना दूई पैसा जग्गा अहिलेको हिसाबमा करिब दश करोड दान दिइसकेकी छिन् भने भद्रकुमारी सेवा सदन मार्फत् अरबौँ मूल्यको सम्पत्ति मृत्यु पश्चात् सबै सरकारीकरण हुने गरी स्कुल सञ्चालनमा ल्याएकी छन् । जहाँ नर्सरीदेखि १२ कक्षासम्मका बालिकाहरू अध्ययनरत् छन् ।

समाजसेवाको आदत २०११ सालमा सन्त तुलसी मेहरसँगको संगतले नै मनभित्र गढेर बसेको थियो । जसलाई नेपाली गान्धी भनेर चिनिन्छन् । उबेला गान्धी आश्रमसँगको आवद्धतासँगै सुरु भएको समाजसेवा र उनले पु¥याएको योगदान बारे जनकपुर, सिन्धुली, दोलखा, रामेछाप, धनुषा, महोत्तरी, सर्लाहीका वृद्धा महिलाहरूले आज पनि सम्झिन्छन् । उहिलेको जस्तो चटारो छैन तर पनि घरमा हरेक दिन जसो लेखक र समाजसेवीहरूको आवत–जावत भैरहन्छ । पछिल्ला दिनहरूमा लेखनमा सक्रिय घलेको गुरुङ जातिको वेद, इतिहास लेखन, कथा, कविता, संस्मरण, निबन्ध, महाकाव्य, मुक्तक, गजल गरी १४१ कृति प्रकाशित छन् ।

पितृसत्ताको विरुद्ध र महिला हक समानताको निम्ति आठ दशकदेखि निरन्तर सक्रिय घलेले पूरै जीवन समाज परिवर्तन र राजीनतिमा समर्पण गरिरहिनु । यो आफँैमा एउटा कठिन यात्रा हो । राजनीति जुनसुकै दलबाट गरिएको भए पनि यो यात्रामा घले आफैँमा अक्करे भीर जस्तो एउटा ज्याद्रो बिम्ब हो । जतिसुकै महिला र पुरुषबीच समानताको कुरा गरे पनि अहिले त यस्तो अवस्था छ भने ८० वर्ष अघिको समाज कस्तो थियो होला ! अनुमान गर्न सकिन्छ । भद्र भन्छिन्— “उबेला के जनजाति, के अरु सबै महिलालाई उतिकै गाह्रो थियो, अझ काठमाडौं उपत्यकाको समाजको मानसिकता महिलाको निम्ति निक्कै सकसपुर्ण थियो ।” बिहे गर्ने उमेर कतिखेर फुत्की गयो पत्तै भएन । जीवनभर अविवाहित, सधैँ हँसिलो देखिने, सावली रुपरङको यी वृद्धा नेपाली आदिवासी जनजाति महिलाहरूबीच भोलिको दिनमा आशा र सफलताको गोरेटो बाटो जस्तै हो— उनले बाँचिदिएको जीवन ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: