पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन


प्रकाशित मिति :2020-10-05 14:09:16

-महिला खबर-

कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या भएको स्थलतगत अध्ययन गरि सार्वजनिक गरिएको प्रतिवेदनले जनाएको छ । क्रियाशील दलित पत्रकार संघले हालै घटनास्थल गएर गरेको अध्ययन प्रतिवेदनले मृत्युको प्रकृति र आरोपितहरुको निर्मलासँगको सम्वन्ध, घटनाको दिनको सूचना लगायतका आधारमा उनको मृत्युको कारण आत्महत्या नभएर हत्या भएको हुनसक्ने र सोही अनुसार प्रहरी तथा सरोकारवाला निकायले गहिरो अनुसन्धान गर्नुपर्ने सुझाएको छ ।

शनिबार संघले जुम मिटिङ मार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । निर्मलाको शव फेला परेको तेस्रो दिन अध्ययन टोली घटनास्थल पुगेको थियो । अध्ययन सार्वजनिक गर्दै क्रियाशील दलित पत्रकार संघकी अध्यक्ष पवित्रा सुनारले घटनाको छुट्टै विशेषज्ञ टोलीले अध्ययन गर्ने पर्ने बताइन् । ‘प्रारम्भिक अध्ययनलाई हेर्दा शवको प्रकृति र घटनाको दिन भएका आरोपितहरु सितको गतिविधिले यो आत्मअत्या नभइ हत्या भएको देखिन्छ’ संघकी अध्यक्ष पवित्रा सुनारले भनिन् ।

प्रतिवेदनका अनुसार कैलालीको एक एफएममा कार्यरत पहराई गत भदौ ३१ गते सोही एफएममा काम गर्ने ललित जाग्री र जाग्रीकी नयाँ प्रेमिका भनिएकी साउद थरकी युवतीलाई भेट्न जान्छु भनी गएकी थिइन् । सँगै गएकी दिदी कृष्णासँग बीचबाटा मै छुट्टिएकी उनी त्यही दिनबाट वेपत्ता भएकी थिइन् ।

आफन्त तथा प्रहरी र ललित जाग्रीसहितको समूहले खोजी गर्दा ललितले नै संकेत गरेको ठाउँमा निर्मलाको शव भेटिएको प्रतिवेदनमा उल्लेख छ । ललितको घरदेखि करिव ४ सय मिटर टाढा निर्मलाको शव थियो । ‘निर्मलाको दाइसित ललितले म माथि–माथि जंङ्गलमा खोज्छु भनेका रहेछन्’ अध्ययन टोलीमा सहभागी एलबी विश्वकर्माले भने ।

जाग्रीसहितले खोजी गर्दा असोज २ गते घोडाघोडी नगरापलिका – ५ को फूलबारी जंगलमा रुखमा झुण्डिएको अवस्थामा उनी फेला परेकी थिइन् । स्थलगत अध्ययनका लागि गएको टोलीमा संघका केन्द्रीय उपाध्यक्ष टीकाराम सुनार, सदस्य मिलन विश्वमकर्मा, संघकै उपत्यका समिति अध्यक्ष एल बि विश्वकर्मा प्रदेश समितिका धन बहादुर बिक, कैलाली जिल्ला समिति सचिव मंगल बाँसकोटे सहभागी थिए ।

पहराई झुण्डिएको रुख नजिकै छाता र चप्पल भेटिनु, घटनादेखि २७ मिटर टाढा घडी भेटिनु, घाँटीमा बाँधिएको पासोमा सुर्के गाँठो नभई हाडे गाँठो हुनु, पासो घाँटीमा कस्सिएको नभई एकहात पस्ने खाली ठाउँ हुनु, घडी भेटिएको ठाउँमा निर्मलाको भन्दा अर्को ठूलो पाइलाको डोब हुनु र सँगै बोकेको मोबाइल घटनास्थलमा नभेटिनुले उनलाई हत्या गरि झुण्डयाइएको हुनसक्ने अध्ययनले औंल्याएको छ ।

त्यसैगरी घरबाट निस्केको दिन उनीसँगै कैलाली एफएममा काम गर्दाका सहकर्मी तथा प्रेमी ललित जाग्री र साउदसँग फोन सम्पर्क भएको, निर्मलाकी मिल्ने साथीसँग ती युवतीले ललितसँगै विवाह गर्नेे भनेकी र ती युवतीसँग फोन मै बिबाद भइरहेको निर्मलाकी दिदी कृष्णाले सुनेको अध्ययनमा उल्लेख छ । त्यसदिन उसले भेट्न बोलाएको कारणले पनि घटनामा ललित र ती युवती जोडिएको अध्ययनले दाबी गरेको छ ।

प्रतिवेदनका अनुसार ललित भदौ ३१ गते ४ देखि ५ बजेको बीचमा घरबाहिर माटो लिन गएको परिवारजनको भनाइ छ । तर उनको घर पक्की भएकाले माटो लिनुपर्ने औचित्य खुलेको छैन । सोधपुछका क्रममा ती ललित की साथी साउदले भदौ ३१ गते सुख्खडमा दाईसित छु भनेकी, तर को दाई भन्ने नबताएकी, घरमा नभन्नु भनी साथीसँग आफ्नो परिवारलाई आफु कहाँ छ भन्न लगाउनुले घटनामा उनीहरुको संलग्नता रहेको आशकां गर्ने ठाउँ प्रशस्त पाइएकोले अपराध अनुसन्धानका विज्ञ लिएर घटनाको छानविन हुनुपर्ने प्रतिवदेनले औंल्याएको छ ।

निर्मलाको शवमा नीलो दाग भएको र प्रहरीले त्यो दागको फोटो खिच्न नदिएको , प्रहरीले नै अनुसन्धान गर्ने आश्वस्त पारेर उनको शव जलाउन लगाउनु,निर्मलासँग पाँच वर्षदेखि प्रेम सम्वन्धमा रहेका ललित जातकै कारण उनको प्रेम सम्बन्धबाट टाढा हुँदै जानुले अन्तरजातीय कारणले प्रेम सम्वन्ध अपराधको बाटोमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

प्रेम सम्बन्धको अवधिमा आफू बसेको डेरामा पटक–पटक जाने गरेको र निर्मला तीन दिन डेरामै बसेको पनि बयानको क्रममा खुल्न आएको छ । घटनाको दुई साता बितिसक्दा पनि प्रहरीले अहिलेसम्म पोस्टमार्टम रिपोर्टका बारेमा परिवारलाई जानकारी नगराएको भन्दै रिपोर्टका बारेमा छिटो जानकारी गराउन माग गरिएको छ ।

क्रियाशील दलित पत्रकार संघ, नेपाल, कैलाली जिल्ला समितिकी सह–सचिवसमेत रहेकी पत्रकार निर्मला पहराईको घटनाका सम्बन्धमा स्थलगत अध्ययन, शवलगायत अन्य प्रमाणको आधारमा निर्मलाको मृत्युको कारण आत्महत्या नभई हत्या भएको निश्कर्ष रहेको संघले जनाएको छ । पीडित परिवारले हत्यामा सहभागी भएको दाबी गरेका जाग्री र युवती दुवैलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।

 

 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: