गान्धारीहरूमा


प्रकाशित मिति :2020-11-09 12:01:09

-टीका आत्रेय-

गान्धारी धृतराष्ट्रले नजरको पर्दा उघारे तर
आँखामा किन बाँध्दछ्यौ रहरको पट्टी तिमी आखिर?

तिम्रो व्यर्थ उपासना समयको बाधा र हाँसो दुबै
आफैँबाट लुटेर दृष्टि दुनियाँ के त्याग गर्छ्यौ अझैँ?

तिम्रा सन्ततिको बलात् नियतमा दुख्दै नदुख्ने तिमी
लुटिन्छन् जब द्रौपदी अहँ कतै बोल्दै नबोल्ने तिमी

तिम्रो कायर अन्धता कुरु हुँदै बढ्दैछ संसारमा
गान्धारी कति पाल्दछ्यौ हठ गरी अन्धो स्वयं जीवन?

अन्धो रूप धरी धरी शकुनिको पासा सही ठान्दछ्यौ
नारीका परिघातमा तर तिमी अज्ञान झैँ बन्दछ्यौ

आँखा खोल र बोल सत्य मनमा गाँठो परेको भए
गान्धारी अतिवाद छोड घरको उत्थान सोच्ने भए

बाँधिन्छन् पशुतुल्य स्त्री घरघरै संस्कारका ढोङमा
टुक्रिन्छन् रजबाट भ्रूण सपना छोरीहरू गर्भमा

“बोक्सी”को अपराध पाशविकता आमाहरूमा हुँदा
गान्धारी अझ खोल्दिनौ नजर ती संस्कार बौलाउँदा

तिम्रो जीवनको खुला हृदयमा पर्खाल आफैँ तिमी
न्यानो घाम उदाउने सगरमा आफैँ अँध्यारो तिमी

अर्काको भरमा हिँडी विजयको के स्वप्न देखिन्छ र?
गान्धारी अब लक्ष्य भेट्नुछ भने आँखा उघारी हिँड।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: