–शकुन्तला जोशी-
जसरी फुलेका छन् तिम्रा बगैंचामा गुलाबी फूल
जसरी पालिएका छन् तिम्रो कौशीमा धुर्त कुकुर
जसरी ठोकिएका छन् तिम्रो फलामे ढोकामा ताल्चा
त्यस्तो यहाँ अर्थात् मेरो वरिपरी
केही पनि छैन ।
तिमी आएर हेर्न सक्छौ
मेरो घरका कुनाकुना खानतलासी लिन सक्छौ
खासमा केही पनि छैन मसँग
तिम्रो घरमा जस्तो ब्राण्डेड रक्सिले सजिएको बार
निहत्था कञ्चटमा दाग्न सकिने गोलीको भण्डार
तिमीले जसरी कहिल्यै मृगको शिकार नगरेका मेरा ससुराको यो झुप्रोमा
खिया लागिसकेको एक नाल भरुवा बन्दुकसम्म पनि छैन ।
कहिल्यै देखेकोसम्म छैन सत्ताको तास फिटेर बस्ने
रातो गलैंचा विद्धछ्याइएको बैठक
तिमीलाई दृष्टिभ्रम नभएको भए
यो त झुप्रो हो बाँसका टाटीले बारेको
झुप्रोमा अडिएको छ सानो कोल्टिएको आँगन र भत्किदै गएका पिढींहरु
तिमीलाई जस्तो झुठ बोल्नु
समयको कुनै झट्काले सिकाएन मलाई
छन् तिम्रो शंकाभन्दा फरक केही चिज छन् मसँग
एउटा पुरानो सन्दुक
धुँवाले कट्कटिएको आमाको पुरानो थैली
थैलीभित्र छ कागजको सानो चिर्कटो
जसमा टिपिएको छ
साउदीमा भेडी गोठालो भाइको फोन नम्बर
तर कहाँ सुन्नु पाउनु
झरनाको वेगजस्तो भाइको आवाज ?
मसँग छैन मोबाइल फोन
न छ चिठी लेख्ने उसको कम्पनी ठेगाना
ढोकामाथि सधैं ढुकिबस्छ एउटा कालो माउसुली
त्यसकै ठेगाना छेउ धुँवाले मैलिएको फ्रेम फोटो छ
तिमीले मलाई वेश्या भनिरहँदा
मेरो आङमा घिनलाग्दो आँखा गाडिरहँदा
चुपचाप बसिदिन्छ त्यो फोटो
तिम्रै सत्ताले फोटो बनाइदियो –धुपिसल्लाजस्तो आकाश ताक्ने त्यो मान्छेलाई
ती मेरा स्वामी हुन् ।
हो, अझै केही छन् मसँग
खिया लाग्दै गएको पयरकल
केही टोटा धागो र नथ्थी खसेको सियो
तेल हाल्ने भाँडो
एउटा कतर्नु
सम्झन्छु, बिहानैदेखि आँगनमा
कसरी चल्थ्यो मेशिन घटट्ट
खसमको हातबाट
जसरी उनको छातिमा दागेको थियो
तिम्रो सत्ताले मेशिनगन
फरक यत्ति थियो
उनी तिम्रो छातिमा टाँस्ने
टुक्रा टुक्रा कपडा जोडेर सिउँथे इस्टकोट
तिम्रो सत्ताले उनको सग्लो छातिलाई
पारेको थियो छिद्राछिद्रा
मेरा खसम थिए त तिम्रै बालिघरे दमाई
सिउँथे मुखिनीको आङको चोलो
खसेपछि खसम मेरो सिउँदोबाट
मैले पनि तुनेकी हुँ तिनको कम्मरको पेटिकोट
तिम्रै आँगनको वरिपरी ढुन्मुनिने म
कसरी भएँ काजी– अचानक नक्कचरी ?
थाहा छैन, सहिदको गुमनाम लहरमा
कहाँनेर होला मेरा खसमको नाम ?
वा इतिहासमा कहिँ पनि छैन
सधै घेरो फाटेको टोपी लाइबस्ने
त्यो जवान टेकबहादुर सुन्दास ?
ढाल्न त मेरै आँखा सामु ढालेका थियौ
ह्वाल्ह्वाल्ती निकालेर छातिबाट तातो खुन
उनीसँगै चोपलिएको थियो खुनमा
देशले लाहाछाप मारेको नागरिकता
एउटा राष्ट्रिय झण्डा
र तयारी चाउचाउ
त्यही चाउचाउ पर्खिबसेका
छोराछोरीले अन्तिमपल्ट देखेका थिए
रगतको आहालमा निर्जिव हुँदै गएका तिनका बाबुलाई
त्यसपछि उठेको हो
मभित्र आगोको आँधी
जब छालहरु छचल्किए विद्रोहको
डराएका हुन सक्छौ मेरो स्वाभिमानसँग
र पासो थाप्यौ मेरो अभिमानको गौंडागौंडामा
म औंठाछाप गँवार दमिनी,
कसरी बुझ्नु
तिम्रो कोटको भित्री खल्तिमा
बहुराष्ट्रिय गुप्तचर संस्थाको परिचय पत्र छ ?
मलाई यति थाहा थियो,
तिमी मेरा केटाकेटीलाई
गाँजाको स्वाद चखाइरहेका थियौ
किताब बोक्ने तिनका हातमा
राहधानी थमाइरहेका थियौ
त्यसपछि म भर्ना भएकी हुँ
गाउँको प्रौढ कक्षा ।
तिमीले सोच्यौ,
मारेपछि मेरा खसमलाई
मरेर बाँच्ने छु म
जुठो भातका लागि तिम्रो ढोकामा
हात फिजाएर रुनेछन् मेरा केटाकेटी
निभिनसकेको देह भिजाउन
तिमीलाई पानी माग्नेछु
र बेचिन्छु एउटा नाकको फुलिको रहरमा ।
तर, हुँदै भएन तिमीले सोचेजस्तो केही पनि
यस्तो जब्बर समयले झापड मा¥यो तिमीलाई
कि रन्थनिएको जिब्रोले बोल्यो
‘विधुवा दमिनी वेश्या भई’
एई काजी साहेब !
म जिउँदो छु पूरा जिउँदो
मलाई जान्ने पूरा हक छ
के हो वेश्याको परिभाषा ?
कसले दियो तिमीलाई
मलाई वेश्या बनाउने अधिकार ?
म यो धर्तीको आदि–पुत्री हुँ
मलाई मेरै अतित्वबाट विमुख गर्ने को हौ तिमी ?
याद राख,
मेरै आमाले काटेकी थिइन् तिम्रो सालनाल
र गाडेकी थिइन् खिर्राको फेदमा
एई काजी बखतजंग ठकुरी !
उखेलें भनें तिम्रो सालनाल खिर्राको फेदबाट
आकाशतिर फर्किने छन् तिम्रा अस्तित्वका जराहरु
चुँडिने छौ तिमी सम्पूर्ण आधारहरुबाट
अनुहारविहिन तिम्रो टाउकोले
त्यहीबेला ढोग्नु पर्ने छ
मेरो पाइतालाले टेकिहिडेको एक टुक्रा धरती ।।
Comment Here!