-लक्ष्मी उप्रेती-
कति दयनीय उमेरको पर्खाल उफ !
आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि
उमेरको यो संघारमा आईपुग्दा नितान्त एक्लिनु
अनि ,
आफुलाई व्यर्थ ठानेर मनमनै गल्दै जानु रैछ ।
परिस्थिति बुझेर पनि अबुझ जस्तो बृद्धावस्था
केही नजाने जस्तो हुन पर्ने
शरिर दुख्दा आफै सुमसुम्याउँनु पर्ने
कुरा सुन्ने र बुझ्ने समय
न छोराको हुन्छ न छोरीको ।
न आफैलाई भन्ने मन लाग्छ
छोरा छोरीको संसार आआफ्नै
उफ!
यो धराको सत्य हो कि निर्ममताको जड
के हो कसैले भन्न सक्नु हुन्छ ?
बृद्धावस्थामा एक्लो एक्लो हुनु भनेको
निर्घात चोटका डाम सहेर थन्कनु रैछ
दुखेको मन ,
मनको सन्दुकमा सुटुक्क राखेर
कसैलाई नदेखाइ शरिरलाई नै एकदिन टुङ्ग्याउनु रैछ ।
Comment Here!