-सृजना शर्मा-
म उर्मिला तिम्री
तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग
ए राम अनुज, तिम्रै खातिर
मैले मेरा जीवनका दिनहरू बिसर्जन गरिदिएँ ।
हाँसेरै मैले चरण निद्रा देवीको
स्वीकार गरिदिए जीवन पर्यन्त
तर तिम्रो त्यो हाँसो फगत
व्यर्थताको संसूचक हो ?
मैले मेरा कृत्यमा
समर्पित गरेको व्यर्थ ती दिनको उपहास
भन राम अनुज,
सुमित्रा नन्दन किन आइरहेछ आज क्रन्दन ?
मेरा सपनामा तिम्रो उपस्थिति
मेरो आजीवनको रहर मात्रै हो त ?
राम ,
के , गर्भमै मेरो सपनाहरू तुहाउनु नै मेरो नियती हो ?
अनुज अनुकरण गर्दै तिमी लाग्यौ वनको गति
तर ,
मैले महलमै सहेँ १४ वर्षको दुर्गति ।
भन, मेरा यी एक्ला रातको के छ कुनै अन्दाज ?
दशरथ नन्दन सुन्दैछौ के मेरो क्रन्दन ?
सीता त पतिसँग लागिन्
तर ,
मेरो कुनै अस्तित्व तिमीसित जोडिएन ।
यस्तै रीतसित पनि आजीवन
सुतिदिएँ तिम्रै निद्रा, तिम्रै लागि
तर हाँस्यौ तिमी मेरो निदमा
के यसको सार्थकता यतिमै सीमित ?
भन ,
ए राम अनुज सुमित्रा नन्दन मेरो प्राप्ति के ?
केवल यस्तै क्रन्दन ?
भन न ए सुमित्रा नन्दन भन न ए दशरथ नन्दन ।
(बेलतोला आसाम)
Comment Here!