-पवित्रा थापा-
अचानक
लामो लकडाउनसँगै
जान नपाएर साहुको मेला
मेरो परिवार
भयावह महामारीलेभन्दा
गरीबीले थला पर्दैछ
कोरोनालेभन्दा
भोकको भाइरसले
सख्त घाइते भएको छ
मेरी सासु
औषधीको अभावमा
अन्तिम श्वास फेर्दैछिन्
मुटुरोगी श्रीमानका
मुटुको धड्कन कमजोर हुँदैछ
तुरियो
दुईपाथी चामल र एक प्याकेट नून समेत
अभावका बेला
अविरल झरेका आँसुमा
मिसाएका छौं आँट र हिम्मत
र
त
धानेका छौं आजसम्म प्राण !
झरि पर्दा छानोबाट चुहिने बलेनीले
हामी सुत्ने परालका ओछ्यान
अनि
दाउराका सिरानी भिज्छन्
र
एकाएक चिसिन्छ्न
मान्छे भएर बाँच्ने अतृप्त सपनाहरु !
रित्ता भाँडाहरु
चुपचाप छन् एकोहोरो
भोकले खाली पेटहरुमा
बुर्कुसी मारे कै छन्
घरकाभित्ता भत्किएका छन्
खाली छन् खुट्टाहरु
कुपोषित सन्तानहरु
भोकका चीत्कार सुनाई रहेका छन्
झुपडीमा
म
आश्वासनका ढुङ्गा पकाईरहेकी छु
जहाँ
अभावका थालमा
प्रतीक्षाका पन्यूले
आँसु
पस्कि रहेकी छु !
Comment Here!