इलेक्ट्रा कम्प्लेक्स


प्रकाशित मिति :2020-12-03 16:04:59

-इल्या भट्टराई- 

चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई । मलाई जसरी भए पनि काठमाडौं बोलाऊ भन्छे । अनि मैले सकारात्मक जवाफ नफर्काएकोमा निकै चित्त दुुुुुखाएकी छे ।

के भनेर जवाफ फर्काउने मैले ? उसलाई सम्झाउन आफूले भन्नु पर्ने कुरा पटक पटक भन्दै आएको छु । तर ऊ मेरा ती कुराहरू सुन्न तयारै छैन । अनि उसले सोचेजस्तो जवाफ फर्काउन म सक्दिनँ । तर पनि उसको एकोहोरो लिँडेढीपिले म कता कता धर्मराउन पनि नथालेको होइन । तर त्यसरी धर्मराउन मलाई मेरो विवेकले केही गरी पनि अनुमति दिंदैन । त्यसैले उसले सोचेजस्तो जवाफ दिन म सक्दिनँ ।

मलाई थाहा छ मैले फर्काएको जवाफले एउटा अन्त्यहीन श्रंखलाको शुरुआत हुनेछ । टाढा कतै भएको विस्फोटक पदार्थको एउटा लामो तारको टुप्पामा आगो लाएजसरी हुनेछ । एउटा दुखद मोडमा टुंगिने बाटोमा हिँडेसरह हुनेछ ।

त्यसैले म उसलाई कुनै जवाफ फर्काउन इच्छित छैन । उसित कुनै पनि सम्बन्ध अघि बढाउन इच्छुक पनि छैन ।

न मानसिक…………..

न त शारीरिक

तर ऊ एकपल्ट जोडिएको भावनाको सम्बन्धलाई अर्कै सम्बन्धमा गाँस्न आतुर छे । आफूले ठड्याएको सपनाको सुन्दर संसारमा मेरो हात समाएर विचरण गर्न । चीन मैले भर्खर केही समयअघि चिनेकी एउटी विदेशी केटी …

भियतनाम गएको थिएँ एउटा सेमिनारमा कार्यपत्र प्रस्तुत गर्न । पहिलो पल्ट जान लागेको देश । हनोइ..पहिलो पल्ट देख्न लागेको शहर । कस्तो होला त्यो देश !!! मनमा उत्सुकता प्रशस्तै थिए ।

बीस वर्षसम्म अमेरिकासंग सशस्त्र युद्ध गरेको देश । अमेरिकाले युद्धमा जर्जर बनाएको देश । तर पनि युद्धमा नहारेको देश । बाध्य भएर अमेरिकाले युद्ध विराम गर्नका लागि सम्झौता गरेको देश । विश्व शक्तिसंग नझुकेको देश । तरै पनि पूर्वी एसियाको गरिब र पिछडिएको देश ।

त्यस्तो देशमा पनि के कार्यपत्र प्रस्तुत गर्न जानु भनेर मन कत्ति पनि उत्साहित थिएन । तर पछि कार्यपत्रको विषय अनि त्यहाँ हुने विश्व स्तरका विज्ञहरूको उपस्थितिले मेरो धारणा परिवर्तित भएको थियो । म हनोई जाने भएको थिएँ ।

इन्टरनेटमा हनोई निकै सुन्दर र विकसित छ भन्ने जानकारी पाएपछि बल्ल ममा त्यहाँ जानको लागि उत्साह संचार भएको थियो ।
उदघाटन समारोह भव्य थियो । पहिलो दिनको दोस्रो सत्र मै मैले आफ्नो कार्यपत्र प्रस्तुत गरेको थिएँ । मेरो कार्यपत्र सहभागीहरू धेरैले रुचाएकाले आत्मविश्वासको सुखद संवेग मेरो अस्तित्वभरि छताछुल्ल बगेको थियो । उसै त राम्रो हनोइ मेरो लागि अझै राम्रो भइदिएको थियो ।

त्यसै रात आयोजकहरूले उच्च स्तरीय रात्रिभोजको आयोजना हनोइबाट दुई घन्टा टाढाको समुद्री किनारामा गरेका थिए । त्याहाँको सीफुड निकै प्रसिद्ध रहेछ । त्यही भएर हामी सहभागीहरूलाई उच्च सम्मान दिन सो भोजको आयोजना त्यति टाढा आएर गरिएको रहेछ ।

समुद्रसंगको साइनो जीवनकै सुखद अनुभव…। किनारमा रहेका पामका वृक्षहरूको बीचमा बनाइएको चित्ताकर्षक रेस्टुरेन्ट । मलाई यतिखेर आफ्ना सबै लुगा फुकालेर पानीमा चल्न, बालुवामा लडिबुडी गर्न मन लाग्यो । तर यतिखेर म एउटा सभ्य मानिसको आवरणमा छु । मैले यहाँ आफ्नो विद्वताको कुराहरू गर्नुपर्छ । आफ्ना यस्ता बालसुलभ भाव सोच्नु पनि हुँदैन ।

तरै पनि केही अघि उदाएको चन्द्रमाको उज्यालोमा सिरसिर वतास चलेको यस्तो मोहक वातावरणमा समुद्रको तीव्र आकर्षणलाई पन्छाएर मन थाम्न मैले आफ्नै मनसंग ठूलै संघर्ष गर्नु परिहेको थियो ।

त्यतिकैमा आइपुगेकी थिई चिन । लाग्यो अत्तरको एउटा सिंगै सिसी मनुष्यको रूप धारण गरेर हामी अगिल्तिर आइपुगेको छ । मिठो सुगन्धको सम्मोहनमा सिंगै वातावरण नै लठ्ठियो ।

“ हलो म……म यो खालि सिटमा बस्न सक्छु ? यहाँ अरु कोही महानुभाव बस्न आउनु त हुने छैन ? यहाँ बसेर मैले यहाँहरूलाई डिस्टर्ब त गर्ने छैन ?” नम्रताको सिमान्तमा पुगेर त्यो केटीले सोधेकी थिई ।

उसको नाम असजिलो र लामो रहेछ । परिचयको क्रममा आफ्नो नाम बताउँदा मैले हाँस्दै “तिमी चिनीया मूलकी रहिछ्यौ, हामी तिमीलाई चीन भनेरै बोलाउँला नि त हुन्न ?”भने । उसले हाँसेर मेरो कुरामा स्वीकृतिको लालमोहर लगाई ।

पूर्णचन्द्रको ज्योत्सनामा सम्पूर्ण रूपले उज्यालिएकी भर्खर बाइस,पच्चीस वर्षकी एउटी केटी मुसुमुुसु हाँस्दै हाम्रो खाली कुर्सी तान्दै हामी छेउ बस्न आई । त्यतिखेर भियतनामी प्रोफेसरसंग आजको कार्यपत्रहरू बारेको हुँदै गरेका हाम्रा वार्ता अनायासै रोकिएको थियो ।
“सरी मैले यहाँहरूलाई डिस्टर्ब गरेजस्तो छ । म जाउँ क्यारे !”

आकासको चन्द्रमा नै पो हामी छेउ बस्न आइपुगेको हो कि भन्ने भान सके हामी दुवैलाई एकैपल्ट भएको हुनुपर्छ । त्यही भएर एकैपल्ट अकमक्किएर हामी दुवैले उसको प्रश्नको उत्तर नदिएको हुनुपर्छ ।

“होइन होइन बस्नुस ।”हामी दुवैको मुखबाट संयुक्त रूपमै निस्किएको थियो ।

“म विश्वविद्यालयकी छात्रा हुँ । मेरो विषय अंग्रेजी हो । आयोजकहरूले यस समारोहमा आउने पाहुनाहरूको सुविधाको लागि दोभाषेको काम गर्न स्वयंसेवीहरू पठाइदिनका लागि हाम्रो विभागलाई अनुरोध गर्नु भएकोले म र मेरा साथीहरू यहाँ आएका हौं । तर तपाईंहरूलाई त दोभाषेको सहयोग चाहिन्नजस्तो छ । म गलत टेबुलमा पो आइछु । उसो भए म अर्को टेबुलमा जान्छु नि ।”

“अब आइहाल्यौ अन्त किन जानु प¥यो । यहीँ बस न । अन्त तिम्रा साथीहरू छँदैछन् नि । तिमीले हामीलाई दोभाषे चाहिन्छ भन्ठाने भइहाल्यो नि ।”मसंग कुरा गर्दै गरेको चिनीया मूलको भियतनामी प्रोफेसरले जवाफ दियो ।

“ली”नाम हो यो प्रोफेसरको । तन्नेरी नै छ । भर्खर चालीस काटेजस्तो छ । चीनको तिर्मि¥याउने सौन्दर्यमा लठ्ठिएजस्तो छ । त्यही भएर होला जान्छु भन्नेबित्तिकै उसले चीनलाई त्यहीँ बस्न आग्रह ग¥यो ।

तर साठी वर्षको उमेर पार गरेको मलाई यो केटी बच्ची नै लागेकी थिई । आफ्नै छोरीकी उमेरकी ।

जुन महिनाको उखर्माउलो गर्मीको त्यो रातमा अनुदित हुँदै गरेको साँझको आनन्द सके जीवनमा थोरैमात्र पाइन्छ । मलाई यतिखेर आÇनो विद्वता देखाउनुभन्दा पनि वातावरणको सौन्दर्यलाई मुग्ध भएर पिउन मन लाग्यो

“म त पहाडको मान्छे, समुद्रसंगको भेटघाटले सधैं मलाई लोभ्याउँछ । म एकपल्ट समुद्रसंग भलाकुसारी गरेर आउँछु है ।”

“पर्सी त आयोजकहरूले हामीलाई यहाँको अति सुन्दर टापुमा लग्दैछन् त्यतिखेर समुद्रसंग मनलागेजत्ति खेल्न सक्नुहुनेछ । अहिले नै किन यस्तो हतारो ?”

“तिमीलाई थाहा छैन “ली” यो अपरिचित समुद्रप्रति मेरो मनमा कत्तिको आकर्षण छ भनेर । त्यसैले यसलाई देख्नेबित्तिकै देखि मैले यसलाई छुन आफ्मा तीब्र संवेगको अनुभूति गर्दै छु । प्लिज माइन्ड नगर है ∕ म एकपल्ट यसलाई छोएर आउँछु ।” लीको चीनप्रति अनायासै उत्पन्न भएको आकर्षणको तीव्रतालाई अनुभूत गर्दै उनीहरूलाई एकान्त दिनका लागि मैले समुद्रमा जाने प्रस्ताव राखेको थिएँ । आफूले खाइरहेको बियरको मग लिएरै बगरतिर आएको थिएँ । तर मेरो सोचाईको विपरित चीन मेरो पछि पछि नै बियरको एउटा बोतल र आफ्नो मग लिएर आइछे ।

“लौ मैले त तिमी लीसंग गफ गरेर बसौली भन्ठानेको त तिमी पनि यतै आइछ्यौ ।”

“होइन सर, उहाँ त आफ्नै देशको मान्छे । तपाईँ कुन सुदूर देशबाट आउनु भएको छ । हामीले त तपाईँहरूको पो हेरबिचार गर्ने हो ।”

“ तिमीहरूलाई त समुद्रको वास्तै हुँदैन होला । मलाई त समुद्र असाध्यै मनपर्छ । त्यही भएर अहिले आपूmलाई रोक्नै सकिनँ ।”

जूनमा छपक्कै भिजेको ती पलहरूमा लागेको थियो समयको कहिले अन्त्यै नहोस । हामी किनारबाट केही परै बसेका थियौं । तैपति बेला बेला अलि बढी नै उत्ताउलिएका कुनै कुनै छाल हाम्रो खुट्टा भिजाउन आइपुग्थे । चीन आफ्नो देशको बारे के के भनिरहेकी थिई । म भने सबैकुरा बिर्सिएर दिनभरिको छालको चहलपहलबाट थाकेर शान्त भएको समुद्रको रहस्यमयी मौनता चुपचाप चुपचाप पिइरहेका थिएँ ।
सी फुड खान रहरै थियो । यहाँ खाना नै त्यही थियो । नौलो तर निकै स्वादिष्ट । प्रफुल्लित मन ।

डिनरपछिको उन्मुक्तिको त्यो परिवेश काठमाडौं छउन्जेल मैले कल्पनै पनि गर्न कहाँ सकेको थिएँ र ¤ त्यहाँ त म “बूढो”को शब्दबाट विभूषित व्यक्ति । अनि नाच्नु मेरो व्यक्तित्वको लागि नसुहाउँदो रहर ।

त्यो रात समुद्रको किनारको त्यो रिसोर्टको चउरमा खुब नाच्यौं । मीठो खानेकुरा, स्वादिलो भियतनामी रक्सी अनि वातवरणको मात ! मैले आपूmलाई बिर्सिदिएँ । त्यतिखेर मैले बिर्सिदिएको थिएँ मेरो उमेर । अनि मलाई म भनेर चिनाउने सम्पूर्ण तथ्य । वाध्र्यक्यको बाटोमा लम्किदैं गरेको मेरो अस्तित्व चीनको यौवनको संसर्गमा तन्नेरी भइदिएको थियो । खोई कता लुकेका थिए त्यो जोश र उमंग मबाट यत्तिका वर्षदेखि टाढा ।

चीनसंगसंगै म लगभग एक घन्टा नाचेको थिएँ । त्यही एक घन्टामा मानौ मैले जीवनको सम्पूर्ण आनन्द बाँचेको थिएँ ।

तेस्रो दिन कार्यक्रमको औपचारिक समाप्तिपछि हामी सबै सहभागीहरूलाई भियतनामको सूर्यास्तको दृश्यको लागि प्रसिद्ध पर्यटकीय टापुमा लगिएको थियो एक साँझ र एउटा रात बिताउनको लागि । बसमा मसंगैको सीटमा बसेर चीनले टुरिस्ट गाइडको काम गरिरही । निकै मनोहर रहेछ टापुसम्म पुगुन्जेलको ग्रामिण बाटो र हामीलाई लगिएको टापु । सूर्यास्तको लागि मात्र नभई पौडी खेल्न र विभिन्न सामुद्रिक खेलहरू खेल्नका लागि प्रसिद्ध ठाउँ ।

सूर्यास्तलाई अभैm केही समय बाँकि थियो । त्यही भएर सबै समुद्रमा पस्नलाई आतुर भए । हामीलाई हनोइमै आपूmसित भएका पौडी खेल्ने लुगाहरू लिएर हिँड्न भनिएको थियो ।

जुन महिनाको तप्त सूर्य । पानीको शीतल स्पर्स । निस्फिक्री मनहरू सबै पानीमा हेलिएका थिए । मैले पनि धेरैपछि विशाल जलराशीको स्पर्स पाएँ । मन तृप्त भयो ।

भाग्यमानी थियौं र त बाग्मती मै पौडिन सिक्यौं । नदीको कंचन पानीमा पौडिन जान्यौ । तर धेरै भयो पौडी नखेलेको । तारे होटलको पौडी पोखरीमा रमाइलो गर्न जाने विलासी जीवन भएन । अनि दशरथ रंगशाला र बालाजुको पौडी पोखरीमा जानै पर्ने बाध्यता पनि थिएन ।

जति वर्ष भए पनि बिर्सिंदो रहेनछ पौडिन । खुब चलेँ समुद्रसंग, निकै खेलेँ पानीमा । सबै पानीमै थिए । तर चीन बगरमै एकोहोरिएर सूर्यास्तलाई हेरेर बसिरहेकी थिई । पर कतै डुब्दै गरेको रातो सूर्य समुद्रको निधारमा टीका टाँसिदिएजस्तो देखिई रहेको थियो । तर ऊ भने उदास देखिन्थी । “किन तिमी पानीमा नगएकी ? सन्चो भएन ?” स्वाँ स्वाँ गर्दै उसकै छेउमा बालुवामा उत्तानो पर्दै मैले सोधेको थिएँ ।

“मलाई पौडी खेल्नै आउँदैन । पानीमा जान कहिल्यै मन लागेन । पानीसित डर लाग्छ मलाई । यो निर्मोही समुद्रसंग कहिल्यै मोह बसेन, त्यही भएर कहिल्यै सिक्न मन पनि लागेन ।”

“कुनै विशेष कारण छ कि समुद्रसंगको तिम्रो यो विकर्षणको ? भन्न हुन्छ भने तिमीले यो कुरा मसंग शेयर गर्न सक्छ्यौ ।”

भावनात्मक रूपमा निकै नजिक रहिछे ऊ आफ्नो बुवासंग । तर उसको बुवालाई यही समुद्रले निलेको रहेछ । ऊ बालखै हुँदा आमा बुवासंग समुद्र किनारमा छुट्टि बिताउन आएका रहेछन् । त्यतिखेर त्यहीँ बिदा मनाउन आएको कुनै एउटी बच्चीलाई समुद्रको छालको चपेटाबाट बचाउन खोजेका थिए उसको बुवाले । समुद्रसंग पौंठाजोरी खेल्दै परसम्म गएर उनले त्यो बच्चीलाई त बचाए, तर आफ्नो आहारा खोसेकोमा रिसाएको समुद्रले थाकेर चूर भएका उनलाई आफूसंग लिएरै गयो । चीनका बुवा कुशल पौडिवाज थिए । तर पनि समुद्रको रिससंग उनको केही लागेनछ । रिसाएको समुद्रले केही समयपछि उनलाई किनारमा बुझाएको थियो । तर उनीसंग उनको जीवन भने खोसेको थियो ।

आफ्नै आँखा अगिल्तिर भएको त्यो घटनाले चीन स्तब्ध भएकी थिई । हेर्दाहेर्दै क्षणभर मै उसको जीवनमा बज्र परेको थियो । त्यस घटनाको केही वर्षपछि उसकी आमाले गरेको दोस्रो बिहेले उसको मायामा झनै खडेरी पारेको थियो । उसले सौतेनी बाबुलाई केही गरी पनि आफ्नो मायालु बाबुको स्थान दिन सकिन । यसले उसको आमाको गृहस्थीमा केही अल्झो पैदा गराएको थियो । पछि सम्बन्धमा धाँजा आउन लागेको अनुभूत हुनासाथै पन्ध्र वर्षको उमेरमै घर छोडेर ऊ होस्टलमा बस्न थालेकी थिई । यसले गर्दा उसको जीवन मायाको अभावमा झनै खल्लो हुन पुगेको थियो । आमा अझै पनि प्रत्येक आइतबार भेटन आउँछिन् । ऊ पनि कहिलेकाहिँ आमाको घर नजाने होइन । आमाले पछि जन्माएकी एउटा भाई र पुतलीजस्ति एउटी बहिनीलाई हेर्न उसलाई मन नलाग्ने होइन । तर पनि किन किन उसलाई यिनीहरूको उतिसारो माया लाग्दैन । आफ्नो स्वर्गीय बुवाको मायाको सम्झनामा मात्र ऊ बाँच्ने आधार पाउने गर्दछे । उसलाई मात्र आफ्नो मरेको बुवाको माया लाग्छ । उनको अभावमात्र खडकिन्छ जीवनमा ।

पर क्षितीजमा साँझले रातलाई नअँगालेसम्म चीनले आफ्नो मनको व्यथा फुकाइरही । एउटा टाढाको देशको पराई ममा उसले के अपनत्व देखी कुन्नि अहिलेसम्म मनभित्र गुम्याएर राखेका आफ्ना भावना र संवेगलाई मेरो सामु छताछुल्ल पोखिरही । उसको संवेदनाको अनुभूतिमा समय मानौ टक्क अडिएको थियो । जूनको उज्यालोमा बिस्तारै उजेलिंदै गएको आकाश, शीतल बगर, भिजेको बालुवामाथि बसेको म पनि उसको दुखेको मनको पीडामा लफ्रक्कै भिज्न पुगेको थिएँ । निकै सहानुभूति उम्लिएर आएको थियो । त्यसैले उसका हातहरू आफ्नो हत्केलामा लिएर सहानुभूतिका केही शब्दहरूले मैले उसको मुटुमा मलम लगाउने प्रयत्न गरेको थिएँ । मेरो कुरा सुनेर ऊ मेरो कुममा आफ्नो शिर अड्याएर रोइदिएकी थिई ।

पौडी खेलिरहेका सबै नै आ–आफूमा मग्न भएर कोही रक्सीमा ,कोही कुराकानीमा, कोही के मा कोही के मा अल्मलिन थालिसकेका थिए । हामीभन्दा केही पर बगर मै डिनरको चहलपहल शुरु भइसकेको थियो । हामी भने मौन भएर आकाश मै केही खोजिरहेका थियौं । मेरो मन मस्तिष्कचाहिँ चीनले भनेका कुरामा नैै अल्झिएको थियो ।

“तपाईं कस्तो ह्यान्डसम हुनुहुन्छ हगि ।” धेरै बेरको मौनतापछि उसको मुखबाट एकाएक यो उद्गार निस्किएको थियो ।
कुरै बुझिन मैले चीनले कसलाई ह्यान्डसम भनेकी हो । टाउको घुमाएर वरिपरी हेरेँ, नजिकै कोही पनि छैन । चीन एकोहोरो माथि आकाशलाई नै नियाल्दै छे ।

“कसलाई के भनेकी तिमीले ?”

“तपाईँ सारै नै ह्यान्डसम हुनुहुन्छ  जवान अनि सारै दयालु ,ठ्याक्कै मेरो बुवाजस्तै !”

वरिपरीको चहलपहल मेरो लागि अकस्मात रोकियो ।

वातावरण मौन भयो ।

यो के सुने मैले ! हैन भर्खरकी बाइस , तेइस वर्षकी यो केटी के भन्दैछे ! होइन भने साठी वर्ष नाघेका मेरा कानले कति भइसक्यो आफ्नो लागि बूढोको उपाधि सुन्दै आएको । यसले मलाई कसरी जवान देखी । कतै मलाई उल्याएकी त होइन ! तर यसलाई हेर्दा यसले मलाई उल्याएकोजस्तो देखिंदैन । यो त निकै गम्भीर भएर बसेकी छे । किन यसो भनेकी हो कुन्नि !

“ यस्तो बूढो पनि के को ह्यान्डसम हुनु अनि केको जवान हुनु र !” मेरो मुखबाट अनायासै निस्केको थियो ।

“त्यसो भनेर कहाँ हुन्छ, उमेरलेमात्रै मान्छे जवान हुन्छ र ! मैले त तपाईँजस्तो ह्यान्डसम अनि ड्यासिङ मान्छे आजसम्म देखेकै थिइन । कस्तो पर्सन्यालिटी तपाईँको । तपाईँले पहिलो दिन आफ्नो कार्यपत्र प्रस्तुत गरेदेखि नै म तपाईँसित प्रभावित भइसकेकी थिएँ । त्यही भएर म मौका खोजेरै तपाईँसंग परिचय गर्न पुगेकी थिएँ ।”

“उमेरमा त यसो हेर्न हुने थिएँ नै होला, तर अब त बूढो भइयो । यी हेर न कपाल यस्तरी सेतो भइसक्यो । अब के राम्रो हुनु ! के ड्यासिङ हुनु !

ह्यान्डसम त जवान केटाहरू पो हुन्छन । हामीजस्तालाई कसले पत्याउनु ?”

“तपाईँले भनेर हुन्छ र ! तपाईँ कस्तो हुनुहुन्छ भन्ने कुरो त अरुले बताउने पो हो ।”

“अँ साँच्चि, तिम्रो पनि त ब्याइफे्न्ड होला नि ¤ कस्तो छ ऊ ? तिमी यस्ती राम्री । तिमीले रोजेको केटो पनि पक्कै निकै राम्रो छ होला ।”

“छैन ।” चीनको छोटो उत्तर । “केटाहरू त पछि लाग्छन् नि । तर खोई प्रेम नै पर्ने खालको प्रभावशाली व्यक्तित्व भएको केटा मेरो जीवनमा अहिलेसम्म आएकै छैन । मैले लोग्ने मान्छे भनेको त मेरै बुवालाई देखेकी थिएँ । उहाँ जब बित्नुभयो म सारै केटाकेटी थिएँ ।

तैपनि उहाँको सम्झना मेरो मनमा प्रष्ट छ । उहाँजस्तो राम्रो र प्रभावशाली व्यक्ति यत्रो वर्षपछि बल्ल मैले तपाईँलाई देखेँ ¤”

“ मलाई लाग्दैछ म प्रेम गर्न थाल्दैछु !”

“ए, हो र ! एकाएक ? कहिलेदेखि ?” मैले हाँसेर जिस्काउँदै उसलाई हेरेको थिएँ । तर ऊ गम्भीर र चुपचाप थिई । मौन भएरै औंलाले बालुवामा केही कोरिरहेकी थिई । मैले जूनको उज्यालोमा त्यसलाई ठम्याएँ उसले बालुवामै मुटुलाई तीरले छेडिसकेकी रहिछे ।सके उसको आफ्नै मुटु ।

“मलाई लाग्छ म तिम्रो प्रेममा पर्दै गइरहेकी छु । म तिमीलाई प्रेम गर्न थालेकी छु ।

सिरसिर चलेको वतासले अनुहारै छोप्नेगरी अगाडि ल्याइपु¥याएको कपाललाई पन्छाउँदै समुद्रजस्तै स्थीर र शान्त भएर परको धुमिल क्षितीजलाई नियाल्दै उसले भनेकी थिई ।

“के तपाईँ पनि मलाई प्रेम गर्नुहुन्छ ?” लठ्ठ परेका आँखाले मतिर हेर्दै उसले मसंग प्रश्न गरेकी थिई । सोधुन्जेल मानौं ऊ सम्मोहनको अवस्थामा थिई । लाग्थ्यो उसको मन मस्तिष्क कुनै अर्कै प्रभावको अधिनमा थियो ।

तर मलाईभने कसैले करेन्ट लगाइदिएजस्तै भएको थियो । सम्पूर्ण अस्तित्वलाई हल्लाउन सक्ने एउटा अप्रत्यासित झड्का ।
“होइन के भन्दैछे यो केटी ?” यो विरानो ठाउँमा म आत्तिनु स्वभाविकै थियो ।

“तिमीले यो कस्तो बेहोसीको कुरो गरेकी ? तिमी झुक्कियौ क्यारे ¤ सके तिमीले अरू नै ठानेर मसंग यी कुराहरू ग¥यौ । नत्र त मजस्तो बूढो मान्छेसंग यस्ति कल्कलाउँदी तिमीले यस्तो कुरा नगर्नु पर्ने । नभए तिमीले मसित मजाक गरेकी हुनुपर्छ । तर विश्वविद्यालयकी तिमीजस्ति छात्राले मजस्तो उमेरको विदेसीसंग यस्तो सतही ठट्टा नगर्नु पर्ने ।“ म अपमानको पीडाले रन्थनिन पुगेँ ।

“अहिलेसम्म तपाईँले मलाई बुझ्न सक्नु भएन छ । मैले भनेका कुराहरू तपाईँलाई नै भनेकी हुँ ।”

डरको एउटा चीसो संवेग मुटुभित्र अनायासै कतै उब्जियो । डरको अनुभूतिले ढाडमा सरर्र पसिना निकाल्यो । यो नितान्त पराई भूमिमा, यो एउटी नितान्त पराई केटी यतिखेर मेरो अगिल्तिर के भन्दै छे सके मेरो सचेत मनले बुझ्नै सकेको थिएन ।
“यो असंभव छ ।” अत्तालिएको मनमस्तिष्कबाट बोली निस्केको थियो ।

“किन ?”

“एक त मेरो देशमा मेरो आफ्नो परिवार छ, जसलाई म धेरै माया गर्छु । अनि एउटी अपरिचित आपूmभन्दा धेरै कान्छी विदेसी केटीको लागि आफ्नो परिवार छोड्न मलाई कुनै आवश्यकता पनि छैन अनि रहर पनि छैन । दोस्रो तिम्रो र मेरो उमेरमा आकास जमिनको अन्तर छ । त्यसकारण तीन दिन अघि चिनेको एउटी विदेसीसंग तिमी यस्तो बौलठ्ठी कुरा नगर । त्यसै हावामा नउड । वास्तविक धरातलमा उभिन सिक । आफ्नो पढाई पूरा गर, अनि आफ्नो उमेर सुहाउँदो केटोसंग बिहे गर ।”

“मसंग बिहे गर्नुहोस् । म तपाईँकी पत्नीसंग मिलेर बस्न तयार छु ।” उसले आफ्नै धुनमा भनी । मानौं ऊ सम्मोहनको स्थितिमा थिई । मैले भनेका कुराहरू उसको कानबाट छिरेकै थिएन ।

“हेर एक त मेरो देशमा दुईवटा बिहे गर्नु अपराध हो । र म आफ्नो देशको एउटा इज्जतदार व्यक्ति हुँ । म सित्तैमा अरूको अगाडि अपराधिको रूपमा किन दरिने ? अरूको दृष्टिबाट किन तल झर्ने ? सबैभन्दा मूल कुरो त तिमीलाई मनलाग्यो भन्दैमा मैले तिमीसित किन बिहे गर्ने ? त्यसकारण एउटा अपरिचित विदेसीसंग यस्तो गम्भीर कुरालाई यस्तो हलुका रूपमा नगर । आफ्नै देशको, आफ्नो उमेरको केटो खोज आनन्दले घरजम गरेर बस ।”

“तपाईँ प्लिज मेरो भावना त बुझिदिनुस् । तपाईँजस्तो सबै क्षेत्रमा अघि बढेको व्यक्ति भेटिसकेपछि म अल्लारे केटाहरूलाई किन हेरुँ ? म जसरी तपाईँको यो फराकिलो छातीमा ढुक्कले शिर राखी निधाउन सक्छु के ती अल्लारे केटाहरुको कुखुरे छातीमा त्यसैगरी ढुक्कले निधाउन सक्छु र ?

ल नढाँटी भन्नुस् म तपाईँलाई मन परेकी छैन त ?”

हामी अभैm बगरमै थियौं । म अभैm पानीमा हेलिने पोसाक मै थिएँ । गर्मीको महिना । अरू परिस्थितिमा भए यो समुद्रको बगर, आकासमा पूर्णचन्द्र ….योभन्दा रमाइलो परिवेश के हुने थियो र ¤ तर यतिखेर नजानिंदो डर, अव्यक्त चिन्ताले ममा प्रसस्त छटपटी उमारिदिएको छ । अरू बेला यस्ती सुन्दरी केटीसंग कुरा गरेर बस्न रमाइलै लाग्थ्यो होला । तर यतिखेर यो केटी विस्फोट पदार्थजस्तै आतंकको कारक भएकी छे । हत्तेरी ¤ कहाँबाट झ्याउलो आइलाग्यो । कसरी पिछा छुटाउने होला योसंग ?”

हनोईबाट सातो गएसरी भएर म काठमाडौं आइपुगेको थिएँ । उमेरमा भएको भए चीनजस्ती सुन्दरीले राखेको प्रेम प्रस्तावले सके म निकै रोमान्चित हुने थिएँ होला । तर अहिले उमेरले मलाई धेरै कुरा सिकाइ सकेको छ । मलाई थाहा छ चीनले वास्तवमा प्रेमी होइन बाबु खोजेकी थिई । ऊ आठ वर्षकी हुँदा उसको बाबुको मृत्यु भएको थियो । बाचुन्जेलसम्म बाबुको लागि चीन प्राणसरह थिई । उसले बाबुबाट अति नै माया पाएकी थिई । तर बाबुको मृत्युपछि उसले पाएको आमाको ममताले मात्र बाबुको त्यो मायालाई विस्थापित गर्न सकेन । त्यसमाथि झन् केही वर्षपछि नै उसकी आमाको मायाँ बाडिएको थियो । सौतेनी बाबु र उसतर्पmबाट जन्मेका भाइ बहिनीमा । उसको भागमा आमाको मायाको एउटा सानो अंशमात्र बाँकि रहेको थियो ।

ऊ बाबुको मायाको अतृप्तिमा बाँचिरहेकी थिई । ऊ बाबुको स्नेहमा नभिजिकनै ठूली भएकी थिई । बाल्यकालदेखि नै आफ्ना साथीहरूको बाबुको पितृत्व देख्दा ऊ इर्षित हुने गरेकी थिई । बाल्यकालमा त उसले बाबु खोज्न सकिन । तर युवती भएपछि अवचेतन मनमा भएको उसको बाबुको स्नेहको अतृप्ति प्रेमीको प्रेमको रूपमा प्रकट भएर आएको थियो । त्यही भएर उसले कुनै युवकमा आकर्षण पाउन सकेकी थिइन । बाल्यकालमा उसको मनमा आफ्नो बाबुको प्रति गडेको लोग्नेमान्छेको प्रतिविम्वले गर्दा पछिल्लो जीवनमा उसले कुनै लोग्ने मानिसमा पनि आफ्नो बाबुको प्रतिविम्व भेटन सकिन । जवानीमा पनि उसले कुनै लोग्नेमानिसमा पनि आफ्नो बाबुको छाया भेटन सकिन । तर अहिले आएर जब उसले मलाई देखी उसको बाबुको मायाको भोक अर्थात इलेक्ट्रा कम्प्लेक्स जागृत भएको हुनुपर्छ । उसले प्रेमीको रूपमा वास्तवमा बाबु नै खोजेकी थिई ।

चीन अहिले पनि त्यही भएर मलाई इमेलमार्पmत पछ्याउँदै छे अनि मसित बाबुत्वको प्रेमको अनुनय गर्दैछे । तर म प्रेमी भएर उसलाई बाबुको माया दिन पटक्कै सक्दिनँ । त्यसैले उसित गाँसिएका सबै सम्बन्धहरू विच्छेद गर्न चाहन्छु । गाँस्दै नगाँसिएको मायाको सम्बन्ध पनि । मेरो परिवारले यी कुराहरू थाहा पाउलान् भन्ने मलाई ठूलो डर भएको छ । त्यही भएर उसको मेल डिलिट गर्छु । एउटा चिसो उच्छ्वास अनायासै निस्किदिन्छ “खुइइइइययययय…….”

मिर्मिरे नारी कथा विशेषांक २०७२

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: