तिमी र म


प्रकाशित मिति :2020-12-04 11:27:25

-कमला राई-
(मिरिक, दार्जिलिङ)

म र तिमी
तिमी र म
म छु र नै तिमी छौ।
तिमी छौ र नै म छु
मेरो यात्रा तिमीसम्म
र पर्खिरहन्छु म तिम्रो आगमन
मसम्म।
मेरो सबभन्दा ठूलो आकर्षण तिमी
तिमीतिरै बढिरहन्छन् मेरा कदम
मेरो सबभन्दा ठूलो प्रतिस्पर्धी पनि तिमी
मेरो हरेक कदम जोखिरहन्छौ जहिल्यै
तिमी।
तिमी पूर्ण छौ आफूमा जसरी
पूर्ण छु आफैमा म पनि।

यात्राहरूमा, परिस्थितिहरूमा
मेरो बैशाखी तिमी
तिम्रो बैशाखी म
तर मञ्जुर कहाँ छ तिमीलाई
केवल मेरो बैशाखी हुन
न मलाई नै स्वीकार्य छ
तिम्रो बैशाखी मात्र बन्न।

यात्राहरूमा, परिस्थितिहरूमा
हावा हुन्डरी म थाम्छु भन्छौ तिमी
खेत खलिहान म जोत्छु भन्छौ
ढुङ्गेपहरा मै फुटाउँछु भन्छौ
डढेलो पहिरो मै रोक्छु भन्छौ
म नि के रमिता हेरिरहन्छु र?
तिमी हावा हुरी थाम्न पसिना बगाइरहेको बेला
म त्यसैको मुहानमा बाँध बाँधिरहेकी हुन्छु
तिमी बञ्जर खेत जोतिरहेको बेला
म झरी बनेर धरती सिँचिरहेकी हुन्छु
तिमीले ढुङ्गा पहरा फुटाइरहेको बेला
तिम्रो बलियो हातको हम्मर म नै हुन्छु।
डढेलो पहिरोमा जल्ने र भत्कने
म र मेरो अस्मिता सिवाय अरु को हुन्छ र!

यात्राहरूमा, परिस्थितिहरूमा
तिमी उडान भर्छौ आकांक्षाहरूको पखेटाले
म तिम्रा पखेटामा शक्ति भरिरहेकी हुन्छु
तिमी जीवन-युद्धमा लङ्गडो हुन्छौ, अपाङ्ग हुन्छौ
म तिमीलाई हर बखत डोराइरहेकी हुन्छु
तिमी जब देशकोनिम्ति शहीद हुन्छौ
म जीवनभर तिम्रो वलिदानको भारी बोकिरहन्छु।

यात्राहरूमा, परिस्थितिहरूमा
तिम्रा बाटाका अँध्याराहरूमा हमेशा
म आफूलाई बालेर हिँडेकीहुँ तिम्रो अघि
तिम्रो अहम् को कुरूपतालाई ढाक्न
मैले आफैलाई जलाएर हाँसेकी हुँ तिम्रोअघि
कति कमजोर छौं तिमी र म एकलो एकलो
हात फैलाएर हरबखत दौडिरहन्छौँ एकार्कातिर तिमी र म

तर पनि
यो यात्रामा
तिमी र म
म र तिमी
न तिमी कहिल्यै मसम्म आइपुग्नसक्यौ
न म नै तिमीसम्म कहिल्यै पुग्नसकेँ!

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: