चीत्कार


प्रकाशित मिति :2020-12-06 14:10:39

-सुनिता खनाल-

मेरै मलामीले बिच्छ्याएको
सोला काँडाहरूको चिहानमाथि
आधा मर्दै, आधा बाँच्दै
बिताइरहेकी छु बधशालाभित्रको जिन्दगी
अझै माथिल्लो तल्लामा
गुञ्जिरहेको छ शोक धून
र बजिरहेको छ मेलोडी ब्लुज
एउटा उदास सिम्फोनीसँगै
एउटै ताल र एउटै लयमा
नाचिरहेछन् सरकार र मलामीहरू ।

उनीहरूले मलाई देखेनन्
या नदेख्नुको अभिनय गरे
कुनै विरानो पराइले ल्याएको होइन
मलाई यो नर्कको सुरुङभित्र
मुटु चिरिन सक्छ मेरी आमाको
मलाई साबुनजस्तै बेचिदिने
उनकै सहोदर भाइ थियो
मेरो मलामी ।

छोरी सहरमा जागिर खाँदै छे भन्दै
परेवा झैँ घुरिरहन्छन् मेरा बा
सपनामा बाडुल्की लाग्ने गरी
सम्झिरहन्छन् सँगिनीहरू
तर मेरो जिउभरि ठुगिरहेका छन् गिद्दहरू
आफ्नै रगतको मसीले
उधारेको चुन्नीमा लेख्दै छु
म विरह गीत
रगतको लेप लागेको छ
मेरो आँसुका अक्षरहरूमा
मुर्दाघरको सातौँ तल्लाबाट
जमिनमा फालिदिएकी छु
मेरो जीवनको एउटा बेनाम महाकाव्य ।

सुन ए सरकार मेरो रामकहानी
हेर ए मलामी मुर्दाको जवानी !
सोकेशमा पुतली झैँ नाचिरहेकी छु म
मेरो छातीका नीला डामहरूको
मौन चीत्कार सुनेका छौ तिमीले ?
नङ्ग्राका डोबहरूको निस्शब्द लय
र दाँतका क्षतहरूको मृत सङ्गीत
सुनेका छौ तिमीले ?
रगत र वीर्यले भिजेको रात फेर्न
ढोकामा चुपचाप उभिरहेकी
एक्ली गणिका जस्ती समयलाई
देखेका छौ तिमीले ?

कसको चित्कार हो यो सुन –
मलाई यो रगतको आहालबाट उतार
समयको शरीरमा भेटिएको छ
एच.आइ.भी. पोजेटिभ
म मर्नु अगाडि अन्तिम पटक
बाआमाको आशिर्वाद लिन चाहन्छु
मलाई यो समयको चिहानबाट उतार ।

म देवी बन्न चाहन्छु देवी !
र राक्षसका शिरहरूको माला लगाएर
सिङ्गै पृथ्वीको छातीमा
अन्तिम पटक नाच्न चाहन्छु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: