-बिना थिङ तामाङ-
यो त्यहि शहर हो
जहाँको फराकिलो सडकमा
साँघुरो गल्लिहरुमा
श्रीपेचधारी चोक चोकमा
अनि देवालयको छेउछाउमा
आफ्नै शरीर धरौटी राखेर जित्न हिडेका थियौं
एउटा लामो युद्द
जसको मोर्चा सम्हाल्नेको अनुहार सपाट थियो
बादल डम्म लागेको एक बिहान् त्यो अनुहार
कृतिम घाम बोकेर आईपुगेको थियो हाम्रो आँगनमा
र हामी उभिएको एक चोक्टो भुगोल देखाउँदै भनेको थियो
हेर्नुस त त्यो पहिरो, तपाईँहरुकै पहिचानको त हो
उबड खाबड परेको त्यो गोरेटो, तपाईँहरुकै जीन्दगीको हो
पहेलिदैँ गएको छ तपाईँहरुको हरियो अस्तित्व
हामी तपाईँहरुलाई स्मरण गराउन आईपुगेका हौं
कि तपाईँहरुले लगाईराख्नुभएको लबेदा कसैले च्यातिसकेको छ
त्यसैले तपाईँहरुको आँङ प्रष्टसंग देखिईरहेको छ
अब तपाईँहरुले थाहा पाउनुपर्छ
किन त्यो शिरको कुलागी एकातिर मात्र ढल्किरहेको छ ?
कसरी तपाईँहरुको अँगेनुबाट अगुल्टो चोरियो ?
उसले अझ देब्रे मुठ्ठी कस्दै भनेको थियो
आउनुस हामीसंग
एउटा लामो यात्रा तय गरौं
एउटा गहिरो संवेदना खन्नुछ
च्यातिएको लबेदा सिलाउनुछ
पत्ता लगाउनुछ, कुन किराले खाईरहेको छ हाम्रो अस्तित्वको जरा ?
अब अगुल्टो चोर्ने हातहरुमा हतकडी लगाउनुछ
त्यो शिरको कुलागी सन्तुलित राख्नुछ
सुनेपछि संवेदनाको आकाश छोएर बोलिएका भाकाहरु
भेटेपछि हाम्रै गोरेटो भएर बगेका पैतालाहरु
अनि उभरिएपछि हाम्रै जस्तो देखिने अनुहारहरु
एउटा दमित युग फेर्न लालायित हुदैं
उमेरको बहीखाता बन्द गरेर
हामीले उठाएका थियौं औजार
र प्रयोग गरेका थियौं, ड्याम् ड्याम्
तर अचानक
एक अपरान्ह त्यो लामो युद्दको
एकदमै छोटो अन्त्य गरेर
गायब भयो त्यो सपाट अनुहार
लामो समय पछि
अचेल, टेलिभिजनका स्क्रीनहरुमा
त्यो सपाट अनुहार
पल्याक् पुलुक् गर्छ
एक पटक आँखा गोल गोल घुमाउँछ
आप्mनो अनुहार फुकालेर संसदको डेस्कमा राख्छ
अनि हाम्रो काढिएको छालामा लेखिएको ऐनमा
ल्याप्चे ठोक्छ, ड्याम् ड्याम्
उसले नबिर्सनुपर्ने हो
सोच्न सक्ने मासुको डल्ला यो खप्परभित्र अझै सुरक्षित छ
त्यस्तै औंला हाम्रो पनि छ
जसले आगामी चुनावमा स्वस्तिक चिन्ह समाएर
उसको बहिर्गमनमा
ठोक्नेछ छाप, ड्याम् ड्याम्
Comment Here!